आकाशमा पदयात्रा शुक्रबारदेखि, २४औं तलामा रेस्टुरेन्ट, शुल्क एक हजार

काठमाडौं । कमलादीस्थित स्काईवाक टावर असार १५ गतेदेखि सञ्चालनमा आउने भएको छ । निर्माण कम्पनी वन्डर्स नेपाल प्रालिले सो टावरको काम सम्पन्न भएको र शुक्रबार टावरको उद्घाटन गरी आम सर्वसाधारणका लागि प्रवेश खुल्ला गरिन लागेको वन्डर्स नेपालका अध्यक्ष आकर्षण पोखरेलले बताए । आन्तरिक तथा वाहिय पर्यटकलाई नयाँ अनुभव दिने उद्देश्यका साथ कम्पनीले उक्त टावर निर्माण गरेको हो । अध्यक्ष पोखरेल अनुसार स्काईवाक टावर २ अर्बको लगानीमा तयार भएको छ । साहसिक पर्यटकको लागि नयाँ गन्तव्य, मनोरञ्जनको नयाँ क्षेत्रको रूपमा टावर स्थापित हुने पनि उनको भनाइ छ । सो टावर चढ्नको लागि प्रति व्यक्ति एक हजार रुपैयाँ शुल्क लाग्ने पोखरेलले बताए । उनका अनुसार विदेशी पर्यटनलाई पनि एक हजार रुपैयाँ नै शुल्क लाग्ने छ । अशक्त अपाङ्ग भएकाहरूलाई टावर चढ्नको लागि ५० प्रतिशत छुट अर्थात् ५०० रुपैयाँ लाग्ने पनि पोखरेलले बताए । यसै गरी ७० देखि ८० वर्षकालाई पनि ५०० रुपैयाँ लाग्ने छ भने ८० वर्ष माथिकालाई र ३ फिटसम्मको बच्चालाई निःशुल्क टावरमा प्रवेश छ । कम्पनीले टावर चढ्न अनलाइनबाटै प्रि-बुकिङ तथा बुकिङ गर्न सक्ने व्यवस्था पनि मिलाएको छ । टावरमै रेस्टुरेन्टदेखि पार्किङसम्मको सुविधा  स्काईवाक अर्थात् ‘आकाशमा पदयात्रा’ बाट काठमाडौंको दृश्यलाई निहाल्न सकिन्छ । भुईँबाट धेरै माथि चढ्ने र पूर्ण पारदर्शी शीशाको संरचनामा पदयात्रा गर्ने ठाउँ हो । उक्त टावरमा हिँड्दा आकाशमा हिँडेको अनुभूति हुन्छ । माथि अविराम आकाश देखिन्छ । करिव ७८ मिटर अग्लो यो टावर काठमाडौं उपत्यकाकै अग्लो संरचना हुनुका साथै यहाँबाट उपत्यकाको ३६० डिग्री भ्यु देखिन्छ । काठमाडौंको उचाइमा उभिएर मानिसहरूलाई आकाशमा हिँडेजस्तो अनुभूत गराउन यो टावर सञ्चालनमा ल्याएको पोखरेलले बताए । कम्पनीले कमलादीमा १३ रोपनी जग्गा २३ वर्षसम्मको लागि लिजमा लिएर स्काईवाक टावर बनाएको हो । लिज अवधि सकिएपछि सबै संरचना जग्गाधनीलाई छोडिदिनुपर्छ । यो टावरको निर्माण कार्य २०७७ सालबाट सुरु गरिएका थियो । टपको सिसामा हिँड्दा ७८ मिटर तलको बगैँचा, पार्किङ, बजार देखिन्छ । नजिकका सडकमा शान्तसँग सवारी बगिरहेको देखिन्छ । टावर सत प्रतिशत सुरक्षित रहेको पनि कम्पनीले बताएको छ । ‘भवन विभागको मापदण्ड अनुसार यसको सम्पूर्ण संरचना तयार पारेका छौं, यस भवनमा चढ्दा कुनै असुरक्षित हुन्छ कि भनेर कुनै संङ्का गर्नु पर्दैन, यो टावर सत प्रतिशत सुरक्षित छ,’ उनले भने । यस्तै, टावरको माथि सीमा हिँड्ने स्पेश २ हजार स्कवायर फिट छ । वरिपरि ६ फिट अग्लो ग्लासको रेलिङ छ । स्काईवाक एरियामा एकै पटक ५ सय जनासम्म अट्ने बताइएको छ । उक्त टावरमा लिफ्ट मात्र नभई भर्याङबाट पनि चढ्न तथा ओर्लन सकिने सुविधा छ । टावर २५ तलाको छ । २२ तलासम्म जान दुई वटा लिफ्टको व्यवस्था छ । एउटा लिफ्टमा करिव २४ जना अट्छन् भने दुइटै लिफ्टमा गरी एकपटकमा ४८ जना चढेर तलमाथि गर्न सकिन्छ । टावरमै बसेर चिया कफीको लिँदै काठमाडौंको रमणीय दृश्य निहाल्न सकिन्छ । किनभने टावरको २३ औं र २४ औं तलामा रेस्टुरेन्ट छ । यसै गरी भुईँ तलाको साइटमा गार्डेन, सपिङ सेन्टर, रेस्टुरेन्ट छ । त्यस क्षेत्रमा ५० वटा गाडी र २ सय वटा मोटरसाइकल पार्किङ गर्न ठाउँ रहेको पनि पोखरेलले सुनाए । उनका अनुसार सोही ठाउँमा पार्किङले नपुगे ग्राहकको लागि अन्य ठाउँमा व्यवस्था मिलाइएको छ ।

पर्यटनमन्त्री किराँतीले महानिर्देशक अधिकारीलाई सोधे ९ बुँदे स्पष्टिकरण

काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उडड्यन मन्त्री सुदन किराँतीले नागरिक उड्डयन प्राधिकरणका महानिर्देशक प्रदिप अधिकारीलाई स्पष्टिकरण सोधेका छन् । अधिकारीको कार्यक्षमता र कार्यशैलीमाथि प्रश्न उठाउँदै उनले ९ बुँदे स्पष्टिकरण सोधेका हुन् । उनले ९ बुँदे स्पष्टिकरणको सात दिनभित्र जवाफ माग गरेका छन् । उनले प्राधिकरणलाई अलग नबनाउन चलखेल गरेको, उनको पालामा धेरै हवाई दुर्घटना भएको र उनले सरकारको नीति विरुद्द अभिव्यक्ति दिने गरेको लगायत प्रश्न गर्दै स्पष्टिकरण सोधिएको हो । यस्तो ५ ९ बुँदे स्पष्टिकरण माग : (१) तपाइँलाई नेपाल सरकारले नेपाल नागरिक उड्डयन प्राधिकरण ऐन, २०५३ को दफा १९ बमोजिम नेपाल नागरिक उड्डयन प्राधिकरणको महानिर्देशकमा नियुक्त गरेको र नेपाल सरकारका नीति, नियम, कार्यक्रमहरुको पालना गर्नु गराउनु तपाइँको कर्तव्य र जिम्मेवारी हो । आ.व. २०७९/८० को संघीय संसदले पास गरेको बजेट तथा कार्यक्रमको बुँदा नं. १०१ मा नेपाल नागरिक उड्डयन प्राधिकरणलाई नियामक निकाय र सेवा प्रदायक निकायको रुपमा छुट्याउने भनी उल्लेख भएको छ, सोही बमोजिम प्रक्रिया अघि बढिरहेको अवस्थामा तपाइँले नेपाल सरकारको उक्त नीति विपरित विभिन्न कार्यक्रममा अभिव्यक्ति दिने, उक्त नीतिको प्रतिकुल सञ्चार माध्यमहरुमा अन्तर्वार्ता तथा अभिव्यक्त दिने जस्ता कार्यहरु गरी नेपाल सरकारको नीतिको परिपालन नगर्ने र उल्टै त्यसलाई चुनौति दिने कार्यमा संलग्न रहेको पाइएको छ । तपाईंको उक्त कार्य नेपाल नागरिक उड्डयन प्राधिकरण, कर्मचारी सेवाका शर्त र सुविधा सम्बन्धि नियमावली २०५६ को नियम ११.२६ को प्रावधान विपरित रहेकोले के कति कारणले तपाइँले आफ्नो पदीय जिम्मेवारी विपरित सरकारको नीति विरुद्धका कार्य गर्नुभएको हो ? (२) प्राधिकरणको महानिर्देशको स्टेट सेफटी प्रोग्रामको अकाउन्टेबल एक्जुकेटीभ भएको र नेपालमा हवाई उडान सुरक्षाको प्रत्याभूति गर्ने प्रमुख जिम्मेवार अधिकारी पनि तपाइँ भएको तर तपाइँ महानिर्देशक भएपछि नेपाली दर्ताका २ वटा यात्रु विमानहरु र ३ वटा हेलिकप्टरहरु दुर्घटना भइ धनजनको क्षति भएको, वायूयानसँग सम्बन्धित गम्भीर घटना निरन्तर भइरहँदा देशले क्षति व्यहोर्नु परिरहेको र नेपालको उड्डयन सुरक्षामाथि पनि गम्भीर प्रश्न उठिरहेको छ । अतः उड्डयन सुरक्षालाई प्रभावकारी बनाउनु पर्ने आफ्नो कर्तव्य र जिम्मेवारी निर्वाह गर्न तपाईं असफल रहेको किन मान्नु नपर्ने ? (३) वायुयान घटना, दुर्घटना रोकथामका लागि अपनाउनुपर्ने निरोधात्मक उपायभन्दा अन्तर्राष्ट्रिय नागरिक उड्डयन संगठनको सिद्धान्त विपरित घटना दुर्घटना पछि प्रतिक्रियामा जाने गरेको देखिंदा नियामक निकायको प्रमुखको रुपमा तपाइँको नेतृत्व क्षमता र राज्यले उडान सुरक्षाका लागि सुम्पेको जिम्मेवारी बहन गर्न सक्ने तपाईंको क्षमतामा किन प्रश्न नगर्ने ? (४) नेपाल नागरिक उड्डयन प्राधिकरणलाई नियामक निकाय र सेवा प्रदायक निकायको रुपमा छुट्याउने नेपाल सरकारको नीति तथा कार्यक्रम र अन्तराष्ट्रिय नागरिक उड्डयन संगठनले अप्रिल १३ देखि २५, २०२२ मा गरेको नेपालको उड्डयन सुरक्षा परिक्षणमा भएको सिफारिस विपरित कार्यात्मक विभाजन नै प्रर्याप्त छ भन्ने अभिव्यक्ति दिने तपाइँले हवाई सेवाको क्षेत्रमा स्वार्थको द्वन्द्व हुन नहुने मान्यता विपरित विमानस्थलहरुको उडान सुरक्षा नियमन गर्न स्थापित एरोड्रम सेफ्टी स्ट्याण्डर्ड विभागको प्रमुख र राष्ट्रिय गौरवका आयोजनाको प्रमुखको जिम्मेवारी एउटै व्यक्तिलाई बनाई निजकै नेतृत्वमा पोखरा अन्तर्राष्ट्रिय विमानस्थलको प्रमाणीकरण गरेको, फ्लाइट क्यालिब्रेसनको अन्तिम प्रतिवेदन प्राप्त नभई तथा अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनका लागि उडान सुरक्षा मूल्यांकन लगायतका गर्नु पर्ने सम्पूर्ण पूर्व तयारी सम्पन्न नगरी विमानस्थल सञ्चालनमा किन ल्याएको ? परीक्षण उडान गराइ सोको प्रतिवेदन प्राप्त नगरी पोखरा विमानस्थलमा एयरबस ३२० विमानलाई उडान गर्न दिई उडान सुरक्षामा चरम लापरवाही के कति कारणले गर्नु भएको हो ? (५) मिति २०७९ पुष १७ गते पोखरा अन्तर्राष्ट्रिय विमानस्थल उद्घाटनको दिन तपाईंको आदेशमा पोखरा विमानस्थलको समय समाप्त भइसकेपछि पनि सिभिल एभिएसन रिक्वायरमेन्ट : रुल अफ द एयरको ४.३ एआईपी नेपालको ईएनआर १.२ विपरित विभिन्न वायूसेवा कम्पनीका ५ वटा उडान गराइएको पाइयो । नियामक निकायको प्रमुखको हैसियतले यस्तो कार्यलाई रोक्नु पर्नेमा उडान सुरक्षामा प्रतिकुल असर गर्ने चरम लापरवाहीपूर्ण कार्य किन र कसरी हुन गएको हो ? (६) मिति २०७९ जेठ २ गतेदेखि सञ्चालनमा ल्याइएको गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल र मिति २०७९ पुष १७ गतेदेखि सञ्चालनमा ल्याइएको पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा नियमित अन्तर्राष्ट्रिय उडान हुन सकेको छैन । राज्यले दातृ निकायहरुबाट अरवौं रुपैयाँ ऋण लिएर बनाइएका अन्तर्राष्ट्रिय विमानस्थलहरु सञ्चालनमा ल्याउन नसक्नुमा विमानस्थल सञ्चालकको समेत मूख्य भूमिकामा रहनु भएका तपाइँको कार्यक्षमता कमजोर रहेको किन नमान्ने ? (७) महालेखा परीक्षकको ६० औं वार्षिक प्रतिवेदन, २०७९ मा पोखरा अन्तर्राष्ट्रिय विमानस्थल आयोजना सम्बन्धी उपशीर्षक (८९.२) मा उल्लेख भएको विमानस्थलको रनवेको पूर्वतर्फ १.५ कि.मी. मा रहेको छिनेडाँडाको उचाई ३० मिटर काट्नुपर्ने गरी साविकमा व्यवस्था भएकोमा रन–वे को उचाई कम हुँदा डाँडाको हाइट ४० मिटर काट्नुपर्ने अवस्था सिर्जना भएको, रन–वे को उचाई घटाउँदा निस्केको ग्राभेल मिसिएको ढुंगा माटो निर्माण व्यवसायीले वाह्य डिस्पोज गरेको नदेखिएकोले निस्केको सबवेस (ढुंगा सहितको ग्राभेल) उक्त रन वेमा नै प्रयोग गरेको अवस्था देखियो भन्ने उल्लेख छ । रन–वे को उचाई घट्नुको कारण के हो ? रन–वेको उचाई घटाउँदा छिनेडाँडाको उचाई बढि काट्नु परेको र यसबाट आर्थिक नोक्सानी परेको देखिन्छ । हवाई सुरक्षामा समेत यसबाट प्रतिकूल असर पर्ने देखिएकोले यस्तो कार्य किन गरिएको हो ? (८) महालेखा परीक्षकको ६० औं वार्षिक प्रतिवेदन, २०७९ को पोखरा अन्तर्राष्ट्रिय विमानस्थल आयोजनाको उपशीर्षकको बुँदा नं. ८९३ मा उल्लेख भएको विमानस्थल निर्माण कार्यका लागि प्राधिकरण र निर्माण व्यवसायीबीच भएको सम्झौतामा प्रोभिजनल सम बापत अमेरिकी डलर ९० लाख व्यवस्था गरेकोमा सो रकम घटाइ अमेरिकी डलर ३१ लाख ७० हजार कायम गरेको छ । निर्माण व्यवसायीले परामर्शदाताको व्यवस्था गर्न बि. ओ. क्यू. मा समावेश भएको अमेरिकी डलर २८ लाखलाई घटाइ सो आइटममा व्ययभार बढ्ने गरी छुट्टै परामर्शदाता नियुक्ति गरेको पाइयो । सम्झौतामा नै परामर्श सेवा वापतको खर्चको व्यवस्था रहेको भएता पनि प्राधिकरणले त्यसैबाट खर्च नगरी छुट्टै सम्झौता गरी प्राधिकरणको बजेटबाट खर्च हुने गरी डिजायन रिभ्यूको लागि परामर्श सेवाका लागि अर्को परामर्शदातासँग रु. ३७ करोड ९५ लाख ९० हजारमा सम्झौता भएको देखिन्छ । सम्झौता गर्दाका बखत प्रति अमेरिकी डलर रु. ८२००९ को दरले परामर्श खर्चको लागि ई.पि.सि.मा रु. २२ करोड ९८ लाख ५२ हजार बराबरको खर्चको व्यवस्था भएता पनि छुट्टै सम्झौता अनुसारको रकम पहिले गरेको अनुमान भन्दा ६५ १५ प्रतिशतले बढी हुनुले निर्माणमा मितव्यिता कायम भएको देखिएन । सुपरभिजन कन्सल्टेन्सी सेवाको ठेक्कामा प्रोभिजनल सम बापत रु १९ करोड ५२ लाखको व्यवस्था गरेको देखिन्छ । परामर्श सेवाको ठेक्कामा ५३ प्रतिशत भार प्रोभिजनल सममा राखेको औचित्यपूर्ण देखिएन भन्ने विषयमा तपाइँको भनाइ के छ ? यसरी छुट्टै सम्झौता गरी प्राधिकरणलाई गम्भीर हानी नोक्सानी किन पुर्याएएको हो ? (९) नेपाल नागरिक उड्डयन प्राधिकरणको मिति २०७९/०४/०२ को यस मन्त्रालयका सचिवलाई सम्बोधन गरी लेखेको पत्रमा पोखरा महानगरपालिका वडा नं. १५ कोलपाटनमा नेपाल खानेपानी संस्थानद्वारा जाइकाको सहयोगमा निर्माणाधीन खानेपानी ट्याङ्की अन्तर्राष्ट्रिय विमानस्थलको इीक् भित्र पर्ने भएकाले यथाशीघ्र सो ट्याङ्कीको उचाइ २० मिटरबाट घटाएर १५.५७ मिटर वा कम कायम गर्ने व्यवस्थाका लागि कारबाही अघि बढाइदिन भनि उल्लेख भएको । महालेखा परीक्षकको ६० औं वार्षिक प्रतिवेदन, २०७९ मा पोखरा अन्तर्राष्ट्रिय विमानस्थल आयोजना सम्बन्धी उपशीर्षक (८९.२) मा उल्लेख भएको पोखरा अन्तर्राष्ट्रिय विमानस्थलको रनवेको पूर्वतर्फ १.५ कि.मी. मा रहेको छिने डाँडाको उचाई ३० मिटर काट्नुपर्ने गरी साविकमा व्यवस्था भएकोमा रन–वे को उचाई कम हुँदा डाँडाको हाइट ४० मिटर काट्नुपर्ने अवस्था सिर्जना भए जस्तै रन–वे को उचाई घटाउँदा सो पानी ट्याङ्कीको समेत उचाइ घटाउनु पर्ने अवस्था सिर्जना भएको देखिन्छ । पानी ट्याङ्कीको उचाइ घटाउनु पर्ने भएबाट राज्यलाई परेको र पर्न सक्ने नोक्सानीको जिम्मेवारी तथा जवाफदेहिता तपाइँले लिनु किन नपर्ने ?

५ हवाई कम्पनी समस्यामा : सेयर बेच्दै, कर्मचारी कटौती गर्दै

काठमाडौं । पछिल्लोे समय सरकारी स्वामित्वमा सञ्चालित नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स) सँगै निजी क्षेत्रका अधिकांश वायुसेवा कम्पनीहरु समस्यामा देखिएका छन् । वायुसेवा कम्पनीमा आर्थिक संकट देखिन थालेपछि हाल सञ्चालीत वायुसेवा कम्पनीहरुले साझेदार भित्र्याउनेदेखि कर्मचारी कटौतीका रणनीतिहरु अगाडि सारेका छन् । समस्या भएको भन्दै यती एयरलाइन्सले साझेदार भित्र्याउने तयारी गरेको छ भने सौर्य एयरलाइन्सले कर्मचारी कटौती समेत गर्न थालेको छ । यती एयरलाइन्सले साझेदार भित्र्याउने  आन्तरिक उडानमा २५ प्रतिशत हिस्सा रहेको यती एयरलाइन्स पछिल्लो समय आर्थिक समस्यामा छ । आन्तरिक उडानमा यती र तारा एयर मार्फत उडान गर्दै आएको एयरमा आर्थिक संकट देखिएपछि कम्पनीले सेयर बिक्रीको तयारी थालेको हो । यती ग्रुपमा ५१ प्रतिशत सेयर राखेर बाँकी ४९ प्रतिशत सेयर बिक्री गरेर आर्थिक संटक हटाउने रणनीतिमा कम्पनी लागि परेको छ । कोरोना महामारी गत माघ १ गते पोखरा तथा गत जेठमा पोखरामा भएका दुई ठूला दुर्घटनापछि कम्पनी आर्थिक संटकमा परेको जनाइएको छ । कम्पनीका तत्कालीन अध्यक्ष आङछिरिङको हेलिकप्टर दुर्घटनामा मृत्यु भएपछि यती एयरलाइन्स नोक्सानीमा जान थालेको हो । शेर्पाको मृत्यु भएपछि लाक्पा सोनाम शेर्पा (उनका दाई) कम्पनीको अध्यक्ष छन् भने उनकी श्रीमती चन्दा शेर्पा प्रबन्ध निर्देशक छिन् । मुख्य व्यक्तिको निधन भएपछि त्यसको असर कम्पनीमा परेको हो, पर्यटन उद्योगमा एकछत्र राज रहेको शेर्पा ग्रुप उनले मृत्युसँगै आर्थिक संकटमा थसिन थालेको छ । ‘आङछिरिङ सरको मृत्यु, कोरोना महामारी र गत वर्ष भएका दुई ठूला दुर्घटना पछि यतीको व्यवसाय पुरानै अवस्थामा फर्कन सकेको छैन, फूल अकुपेन्सी नहुँदा पछिल्लो समय सञ्चालन खर्च धान्नै समस्या हुनथाल्यो’, यएरलाइन्स स्रोतले भन्यो, ‘खर्च धान्नै सक्ने अवस्था नभएपछि त्यसको समाधानका लागि साझेदार भित्र्याउने तयारी भएको हो, जसका लागि नेपाली तथा विदेशी उद्योगी व्यवसायीसँग छलफल भैरहेको छ ।’ डेढ वर्षदेखि नोक्सानीमा सौर्य एयर निजी क्षेत्रको लगानीमा सञ्चालित अर्काे वायुसेवा कम्पनी सौर्य एयरलाइन्स पनि आर्थिक समस्यामा परेको छ । हाल सिआरजे २०० मोडलको जहाजबाट आन्तरिक उडान गर्दै आएको सो वायुसेवा कम्पनी डेढ वर्षदेखि आर्थिक संकटमा परेको हो । कम्पनी लामो समयदेखि नोक्सानीमा चल्दै आएको भन्दै पछिल्लो समय कर्मचारी कटौती गर्न थालेको छ । गत जेठ महिनामा मात्रै कम्पनीले धेरै कर्मचारी भएको भन्दै ३४ जना कर्मचारीलाई हटाएको छ । जसमा २ जना क्यापटेन, ३ जना इन्जीनियर र बाँकी मार्काेटीङका कर्मचारीहरु रहेको एयरलाइन्सले जनाएको छ । अरु वायुसेवा कम्पनीले सञ्चालन गरेको भन्दा हाम्रा जहाजको उडान खर्च नै बढी हुन्छ, लामो समयदेखि नोक्सानीमा उडान हुँदै आएपछि धेरै भएका कर्मचारी कटौती गरिएको हो, एयरलाइन्सका उपमहाप्रबन्धक उमेश आचार्यले बताए । उनका अनुसार कम्पनीले हाल सञ्चालित सिआरजे जहाज फेजआउट गरेर एटीआर जहाज भित्र्याउने तयारी गरेको छ । ‘हामीले एटीआर जहाज ल्याउने तयारी सुरु गरिसकेका छौँ, एटीआर ल्याएपछि थप कर्मचारी आवश्यक पर्ने भन्दै भएका कर्मचारी कटौती गरिएको थिएन, तर जहाज आउन केही समय लाग्ने भएपछि पछि राख्ने शर्तमा कर्मचारी कटौती गरिएको हो’, उनले भने, ‘बाहिर भएको हल्ला जसरी कम्पनी बन्द हुन लागेको होइन ।’ उनले सौर्य एयरलाइन्स बन्द नभई एटीआर जहाज ल्याएर नयाँ ढाँचामा कम्पनी सञ्चालन हुने दाबी गरे । दाजु भाईको झगडामा बुद्ध एयर ६३ प्रतिशत बजार हिस्सा रहेको बुद्ध एयरमा पछिल्लो समय सम्पत्ति विवाद चर्किएको छ । बुद्ध एयरका संस्थापक अध्यक्ष सुरेन्द्रबहादुर बस्नेतको निधनसँगै दुई छोराहरु विरेन्द्रबहादुर बस्नेत र भाई शिवेन्द्रबहादुर बस्नेतबीच सम्पत्ति विवाद सुरु भएको हो । कम्पनीमा आफ्नो ४० प्रतिशत सेयर रहेको तर बुबाको निधनपछि दाजु विरेन्द्रवहादुर बस्नेतले आफूखुशी निर्णय गर्न थालेको भाइले आरोप लगाएका छन् । दाजुले ठूलो आर्थिक घोटाला गरेको भन्दै उनले प्रश्न समेत उठाएका थिए । विरेन्द्रले भने भाईले २०५६ सालमा नै बुद्धको सेयर बिक्री गरेर नयाँ एयरलान्यस कम्पनी सञ्चालन गरेको भन्दै बुद्धसँग कुनै सम्बन्ध नरहेको बताउँदै आएका छन् । भाइले पत्रकार सम्मेलन गर्दै दाजुले सम्पत्ति हडपेको आरोप लगाएपछि दाजुले विज्ञप्ती जारी गर्दै यसअघि नै सबै सेयर बिक्री गरेर बाहिरिएको बताएका थिए । दुई दाजुभाईको झगडाको असर पछिल्लो समय दुद्धको उडानमा पर्न थालेको स्रोतको दाबी छ । दुई भाईको आन्तरिक कलहको हसर बुद्धमा देखिन थालेको स्रोतको दाबी छ । कम्पनीले राम्रै बिजनेस गरिरहेको भएपनि दाजुभाईको झगडाले कम्पनीको ग्रोथमा नकारात्मक संकेत देखिन थालेको हो । फागुनदेखि बन्द गुण एयर कर्मचारीलाई तलब समेत भुक्तानी गर्न नसकेपछि गुण एयरलाइन्स बन्द भएको छ । कर्मचारीले तीन महिनादेखि सेवासुविधा नै नपाएको गुनासो गरेपछि नेपाल नागरिक उडड्यन प्राधिकरण (क्यान) ले ०७९ को फागुन १ गतेदेखि ग्राउण्डेड (बन्द) गरेको हो । २०७८ को असोजदेखि गुण एयरले नियमित उडान गर्दै आएको छ । सिम्रिक एयरलाइन्सको नामबाट उडान सञ्चालन गर्दै आएकोमा २०७८ को असोजदेखि गुण एयरको नामबाट उडान सुरु भएको थियो । पुरानै नामबाट एयरलाइन्स सञ्चालनमा आएसँगै गुणले अधिकांश गन्तव्यमा नोक्सानीमा नै उडान गर्दै आएको थियो । अन्य वायुसेवा कम्पनीलाई टक्कर दिन न्यूनतम मूल्यामा उडान गरेको छोटो समयमा नै कम्पनी बन्द भएको हो । प्राधिकरणले कर्मचारीको गुनासो आएको भन्दै उडान ग्राउण्डेड गरेर अनुसन्धान गर्दा आर्थिक अवस्था कमजोर देखिएको थियो । क्यानले उडान नै बन्दको घोषणा गरेको चार महिना वितिसक्दा समेत गुणले उडानका लागि पुनः केही तयारी नगरेको प्राधिकरणले जनाएको छ । ‘हामीले ग्राउण्डेड गरेपछि उडानका सम्बन्धमा एक पटक पनि प्राधिकरणमा गुण एयरका सञ्चालक आएका छैनन्, अवस्था निकै कमजोर भएर नै त होला,’ प्राधिकरण स्रोतले भन्यो । हवाई इन्धनको मूल्य उच्च हुँदा नोक्सानी एक वर्षको अबधिमा हवाई इन्धनको मूल्यमा आएको उत्तारचढावका कारण त्यसको असर हवाई सेवा कम्पनीमा परेको सञ्चालकहरु बताउँछन् । रुस-युक्रेन युद्धका कारण हवाई इन्धनको मूल्यमा बढ्दा त्यसको असर वायुसेवा कम्पनीमा परेको उनीहरुको भनाइ छ । गत वर्षसम्म आन्तरिक हवाई इन्धनको मूल्य प्रतिलिटर ७० रुपैयाँसम्म थियो, अहिले १५० रुपैयाँ पुगको छ, हवाई इन्धनको मूल्य झन्डै दोब्बर हुँदा अहिले कुनै पनि वायुसेवा कम्पनी नाफामा छैनन, एक वायुसेवा कम्पनीका सञ्चालकले भने, ‘हवाई इन्धनको मूल्यसँगै प्राधिकरणले आन्तरिक शुल्क बढाउँदा त्यसको प्रत्यक्ष असर देखियो ।’ प्राधिकरणले गत वर्षसम्म हवाई प्रति टिकट २ सय रुपैयाँ सेवा शुल्कका रुपमा उठाउने गरेकोमा चालु आर्थिक वर्षदेखि त्यसलाई बढाएर ५ सय रुपैयाँ बनाएको छ । यस्तै, कमिशनका रुपमा प्रति टिकट ३ सय गरी हवाई टिकटबाट मात्रै वायुसेवा कम्पनीले ८ सय रुपैयाँ प्राधिकरणलाई भुक्तानी गर्दै आएका छन् । यस्तै, विभिन्न सेवा सुविधा अन्तर्गत वार्षिक रुपमा ६ हजार रुपैयाँसम्म बुझाउनु पर्नेमा गत वर्षदेखि त्यसलाई बढाएर १४ हजार रुपैयाँ पुर्याईएको ती सञ्चालक बताउँछन् । नेपाल नागरिक उडड्यन प्राधिकरणका प्रवक्ता जगन्नाथ निरौला गुण एयरलाइन्स बाहेक अन्य कम्पनीको विषयमा कुनै जानकारी नआएको बताए । ‘हामीले केही समय अगाडी गरेको फाइनान्सीङ अडिटमा सबै कम्पनीको रिपोट राम्रै देखिएको थियो, संकट नै आयो भन्ने खालकोे गुनासो हामीकहाँ आएको छैन’, उनले भने ।