इटहरीमा ५ तारे होटल, बस्नेतले भित्र्याए विश्वप्रसिद्ध रमडा

इटहरी । विश्वप्रसिद्ध अमेरिकी चेन होटल ब्राण्ड ‘रमडा’ नेपाल भित्रिएको छ । व्यवसायी देशबन्धु बस्नेतको लगानीमा इटहरीमा निर्माणाधिन ग्राण्ड सेन्ट्रल होटल ‘रमडा’को रुपमा सञ्चालनमा आउने भएको हो । रमडाको मातृ कम्पनी विंडहाम होटलस् एण्ड रिसोर्टसँ भारतको दिल्लीमा सम्झौता गर्दै ग्रान्ड सेन्ट्रल होटल प्रालिका अध्यक्ष बस्नेतले नेपालको पर्यटन प्रबद्र्धन र होटल व्यवसायको प्रबद्र्धनमा नयाँ खुड्किलो भएको बताए । विंडहाम होटेल्स कम्पनीसँग आफ्ना आगामी परियोजनामा समेत सहयोगको साझेदारी गर्ने उनको भनाइ छ । विंडहाम होटलस् एण्ड रिसोर्ट युरेशियाका बजार प्रबन्ध निर्देशक निखिल शर्माले समेत नेपालमा आफ्नो ब्राण्ड विस्तार गर्न पाएकोमा खुसी व्यक्त गर्दै आगन्तुकहरुलाई विश्वस्तरीय आतिथ्यता दिने बताए । यस्तो हुनेछ होटल निर्माणाधिन ५ तारे उक्त होटलमा कुल ८ तला छन् भने ८० वटा कोठा रहने छन् । २०२४ को सुरुवातदेखि सञ्चालनमा ल्याउने गरी निर्माण भइरहेको होटलमा रेष्टुरेन्ट, बार, लाउन्ज, हेल्थ क्लब, स्पा र आउटडोर स्वीमिङ पुल आदि सेवा रहनेछन् । होटलमा विवाह, पार्टी, सेमिनारहरुका लागिसमेत कोठाहरु व्यवस्थापन गरिनेछन् । भारतीय सीमा जोगबनी तथा विराटनगर एअरपोर्टबाट आधा घण्टाको समयमा पुग्न सकिने होटलले धेरै मात्रामा भारतीय पर्यटकहरुलाई विश्वस्तरीय होटलको सुविधा दिने दावी गरिएको छ । पुर्वी नेपालमा भित्रिने पर्यटक तथा व्यवसायीहरुलाई आरामदायी र सुरक्षित आवासका साथै व्यवशायीक कार्यक्रमसमेत गर्ने वातावरण होटलले प्रदान गर्ने बताइएको छ । होटलले एक सय जनाभन्दा बढीलाई रोजगारी दिनेछ भने विदेशी मुद्रा भित्राएर देशको आर्थिक विकासमा समेत योगदान दिने बस्नेतको भनाइ छ ।  के हो रमडा ? विंडहाम होटल्स एण्ड रिसोट्र्सलाई विश्वकै सबैभन्दा ठूलो र तीव्र गतिमा आफ्ना फ्रेन्चाइजी वितरण गरिरहेको चेन होटल कम्पनि मानिन्छ । यो अमेरिकी कम्पनीले ९५ देशका ९ हजार बढी होटलको व्यवस्थापन हेरिरहेको छ । एशियामा मात्र २० वटा देशका १ हजार ६ सय बढी होटल सञ्चालनमा ल्याएको छ । होटल व्यवसायमा अघि बढ्दै बस्नेत नेपालमा एक पछि अर्को स्टार तथा अन्तर्राष्ट्रिय स्तरका होटल तथा रिसोर्ट संचालनमा ल्याइरहेका बस्नेतले हालै मात्र काठमाडौमा निर्माणाधिन पाँच तारे होटलमा एक्कोर समूहको मक्र्योर ब्राण्ड भित्र्याएका थिए । नेपाल उद्योग वाणिज्य महासंघमा लगातार दुई कार्यकाल सदस्य रहेका उनी अहिले महासंघको पर्यटन तथा हवाई यातायात समितिको सभापतिको रुपमा नेपालको पर्यटन विकासमा व्यवशायीहरुको संस्थागत नेतृत्व गरिरहेका छन् । यस्तै उनले पर्यटकीय एवं धार्मिक स्थल मनकामनामा समेत ५० रोपनी क्षेत्रफलमा पाँच तारे स्तरकै सरोवर प्रिमियम ब्राण्डमा सरोबर होटल्स एण्ड रिसोर्ट संचालनमा ल्याउन लागेका छन् । पेशाले इन्जिनियर रहेका बस्नेत नेपालका लागि जाम्बियाका वाणिज्य दूत तथा सार्क चेम्बर अफ कमर्सका समेत कार्यसमिति सदस्य हुन् । एवी होल्डिङ्सका अध्यक्ष रहेका बस्नेतले आफ्नो नेतृत्वमा परियोजना र पूर्वाधार विकास, होटल पर्यटन, उत्पादन, स्वास्थ्य, रियल स्टेट र पोर्टफोलियो अन्तरगत विभिन्न परियोजनामा लगानी गर्दै आएका छन् ।

नेपाल एयरलाइन्सका दुई पाइलट निलम्बित

काठमाडौं । नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान)ले नेपाल एयरलाइन्सका दुई पाइलटलाई निलम्बन गरेको छ । काठमाडौं–नारिता उडानका क्रममा उडान सुरक्षा नियम उल्लङ्घन गरेको पाइएकाले उनीहरुलाई उडान सेवाबाट निलम्बन गरिएको नागरिक उड्डयन प्राधिकरणका प्रवक्ता जगन्नाथ निरौलाले जानकारी दिए । उनका अनुसार निलम्बमा परेका पाइलटले ए ३३० मापदण्ड ‘अपरेटिङ प्रोसिजर’ पनि पालना नगरेको पाएकाले निलम्बन गरिएको हो । प्राधिकरणले अर्को सूचना जारी नभएसम्मका लागि उडान सेवाबाट निलम्बन गरेको बताए पनि निलम्बनमा परेका दुई पाइलट कोको हुन् भन्ने खुलाएको छैन ।

चितवन भित्रिने पर्यटकको सङ्ख्या बढ्दै, वार्षिक ७ लाख पर्यटक भित्रिने

चितवन । चितवन राष्ट्रिय निकुञ्ज स्थापना भएयता सबैभन्दा बढी पर्यटक यस वर्ष भित्रिएका छन् । विगतका वर्षमा विदेशी पर्यटक धेरै हुने भए पनि यस वर्ष भित्रिएका धेरै पर्यटक नेपाली हुन् । जिल्लामा निकुञ्ज भित्रिएका पर्यटकको मात्रै तथ्याङ्क राखिने हुँदा सङ्ख्या कम देखिने गर्दछ । पर्यटनविद्हरुले गरेको सूक्ष्म अध्ययनले भने जिल्लामा वार्षिक सात लाखभन्दा बढी पर्यटक भित्रिने गरेको देखाएको छ । निकुञ्जमा चालु आर्थिक वर्षको जेठ मसान्तसम्ममा दुई लाख ८८ हजार तीन सय ५९ पर्यटक भित्रिएका छन् । यीमध्ये एक लाख ९८ हजार आठ सय २६ नेपाली, ३५ हजार आठ सय ८६ सार्क मुलुकका र २९ हजार पाँच सय ७६ विदेशी पर्यटक रहेका छन् । त्यसबाट १७ करोड ३० लाख तीन हजार नौ सय रुपैयाँ राजस्व सङ्कलन भएको छ । निकुञ्जका सूचना अधिकारी गणेशप्रसाद तिवारीका अनुसार यसअघि आव २०७८-७९ मा एक लाख ९० हजार चार सय ५८ पर्यटक भित्रिएका थिए । यो आवमा ११ करोड ४९ लाख ९७ हजार चार सय १३ रुपैयाँ राजस्व सङ्कलन भएको थियो । आव २०७५-७६ मा एक लाख ८७ हजार एक सय नौ पर्यटक निकुञ्ज घुमेका थिए । यसैगरी आव २०७७-७८ मा ९८ हजार नौ सय २८ पर्यटक भित्रिँदा रु तीन करोड ५० लाख ८३ हजार तीन सय ७६ राजस्व सङ्कलन भएको छ । आव २०७६/७७ मा एक लाख ८२ हजार चार सय ३५ पर्यटक निकुञ्ज प्रवेश गरेका छन् । सो आवमा १९ करोड ९२ लाख ५५ हजार छ सय ८१ रुपैयाँ राजस्व सङ्कलन भएको छ । तिवारीका अनुसार निकुञ्ज स्थापनासँगै आव २०३१-३२ बाट निकुञ्जमा पर्यटकको तथ्याङ्क राख्न थालिएको हो । त्यस वर्ष आठ सय ३६ पर्यटक निकुञ्ज घुमेको तथ्याङ्क छ । यसबाट एक लाख ४० हजार दुई सय ९८ रुपैयाँ राजस्व सङ्कलन भएको थियो । दोस्रो वर्ष अर्थात् आव २०३२/३३ मा दुई हजार दुई सय छ पर्यटक निकुञ्ज छिरेका थिए । यसबाट दुई लाख एक हजार चार सय २१ रुपैयाँ राजस्व सङ्कलन भएको थियो । आन्तरिक पर्यटकको सङ्ख्या बढी भएकाले राजस्वको हिसाबले भने आव २०७५/७६ मा सङ्कलन भएको २९ करोड ४४ लाख ६६ हजार छ सय ४० रुपैयाँ अहिलेसम्मको सबैभन्दा बढी हो । निकुञ्ज प्रवेश गर्ने नेपालीले एक सय ५० रुपैयाँ, सार्क देशकाले एक हजार रुपैयाँ र अन्य देशकाले दुई हजार रुपैयाँ राजस्व बुझाउँछन् । भरतपुर महानगरपालिकाका पर्यटनविज्ञ डा विश्व सुवेदीले जिल्ला भित्रिने सबै पर्यटक निकुञ्ज नजाने बताए । एक अध्ययन गर्दा सौराहा आएका पर्यटकमध्ये ४० प्रतिशत निकुञ्ज नछिरेको भेटिएको थियो । पश्चिम चितवनका पर्यटकीय गन्तव्यमा पनि उस्तै उस्तै अवस्था छ । भरतपुरका होटलहरुमा बस्नेहरु कम मात्रै निकुञ्ज छिर्छन् । देवघाटधाममा आउने धार्मिक पर्यटक निकुञ्ज कम मात्रै जान्छन् । उनले भने, ‘देवघाट आउने भारतीय पर्यटक दैनिक सरदर एक सय हुँदोरहेछ ।’ मेलाहरुमा यो सङ्ख्या निकै बढी हुन्छ । सुवेदीले भने, ‘यकिन तथ्याङ्क ननिस्किएको भए पनि चितवन जिल्ला प्रवेश गर्ने पर्यटक वार्षिक सात लाखभन्दा बढी हुन्छन् ।’ यसका अतिरिक्त स्वास्थ्य उपचारका लागि आउने पर्यटकको सङ्ख्या अरू बढी छ । महानगरपालिकाले सन् २०२४ लाई भरतपुर भ्रमण वर्षका रुपमा मनाउँदै छ । यस वर्षलाई लक्षित गरेर तथ्याङ्क सङ्कलन गर्ने योजना बनाइएको छ । होटलको तथ्याङ्क लिने क्रममा छ । मनकामना दर्शन गर्न आउने पर्यटकको सङ्ख्या बर्सेनि १० लाखभन्दा बढी हुने गर्दछ । चितवन देशकै तेस्रो पर्यटकीय गन्तव्य हो । यहाँ अन्यत्र जिल्लाबाट राजधानी प्रवेश र बाहिरिने क्रममा समेत छोटो समयका लागि घुमफिर गर्ने पर्यटकसमेत हुन्छन् । यद्यपि अन्यत्रको तुलनामा यो सङ्ख्या निकै न्यून हो । यहाँ आउने पर्यटकको पहिलो रोजाइ जङ्गल सफारी हुने गर्छ  । यससँगै धार्मिक, ऐतिहासिक, सांस्कृतिक गतिविधिमा पर्यटक रमाउने गर्छन् । रासस