गाउँमा समृद्धि ल्याउन लिम्चुङबुङ गाउँपालिकाको पर्यटन महाअभियान
काठमाडौं । उदयपुरको लिम्चुङबुङ गाउँपालिकाले गाउँ समृद्ध बनाउने उद्देश्यका साथ महाअभियान चलाएको छ । लिम्चुङबुङ गाउँपालिका अथाह पर्यटनको सम्भावना बोकेको स्थान भएकाले पर्यटन प्रवर्द्धन गरेरै गाउँ समृद्ध बनाउने उद्देश्यले गाउँलाई प्राथमिकतामा राखेर ‘एउटै पुस्तामा गाउँ समृद्ध बनाउने लिम्चुङबुङको सपना’ नारासहित महाअभियान सञ्चालन गरिएको हो । लिम्चुङबुङ गाउँपालिकाका अध्यक्ष मेजरकुमार राईले गाउँपालिकको समृद्धिका लागि सबैभन्दा पहिला मदन भण्डारी हाइ–वेबाट गाउँपालिकासम्म पक्की सडकको निर्माण गर्न केन्द्रित रहेको बताएका छन् । लिम्चुङबुङ गाउँपालिका अथाह पर्यटनको सम्भावना बोकेको स्थान भएको र यहाँबाट सगरमाथासहित ६ वटा ८ हजार मिटर अग्ला मनोरम हिमाल आँखा अघिल्तिरबाट हेर्न सकिने अध्यक्ष राईको भनाइ छ । यस क्षेत्रमा रहेका प्राकृतिक स्रोतको भरपूर उपयोग गर्न प्रकृति, संस्कृति र कृषिलाई बेच्नमात्र सके पनि यस क्षेत्रका बासिन्दाले राम्रो लाभ लिने सकिने बताइएको छ । लिम्चुङबुङ गाउँपालिकाका पर्यटन सल्लाहकार एवं उद्यमी रामसुन्दर बके गाउँपालिकाको पर्यटन प्रवर्द्धन गर्न सके स्थानीय कृषिजन्य उपजले राम्रो बजार पाउनुका साथै स्थानीयस्तरमा समेत रोजगारी सिर्जना हुने बताउँछन् । ‘युवालाई आफ्नै स्थानमा रोजगारीको सिर्जना गर्न सक्ने प्रमुख माध्यम भनेको पर्यटन क्षेत्र हो,’ उनले भने, ‘गाउँका युवालाई वैदेशिक रोजगारीमा जान रोक्नका लागि पनि गाउँपालिकाले यो महाअभियान चलाउन लागेको हो ।’ पर्यटन प्रवर्द्धनका लागि गाउँपालिकामा होम–स्टे सञ्चालन गर्ने तयारी रहेका बके नेपालमा रहेका ७ सय होमस्टेलाई ७ लाख बनाउने योजनाका साथ अगाडि बढेको बताउँछन् । उनी भन्छन्, ‘७ सय हाेम-स्टेलाई ७ लाख पुर्यायौं भने ७ लाखले देशमै रोजगारी पाउँछन् ।’ गाउँपालिकामा रहेको एभरेष्ट भ्यूटावरबाट आँखैअघि सेताम्मे हिमाल, पहाडलगायत तराईका फाँटहरूको मनोहर दृश्य अवलोकन गर्न सकिने भएकाले एकपटक लिम्चुङबुङ गाउँपालिका भ्रमण गर्न पनि बकेले आग्रह गरेका छन् ।
धुलिखेल जीपलाइनमा ‘विन्टर अफर’, कति लाग्छ शुल्क ?
काठमाडौं । नेपालकै पहिलो सुपरम्यान जिपलाइन सञ्चालनमा ल्याएर देशभर जिपलाइनको माहोल सिर्जना गर्न सफल भएको धुलिखेल जिपलाइनले ‘विन्टर अफर’ सार्वजनिक गरेको छ । अफर अन्तर्गत सबैखाले जिपलाइन खेल्दा २० प्रतिशत छुट पाइनेछ । नेपालमा जिपलाइन सुरू भएको करिब एक दशकसम्म जिपलाइन खेल्नकै लागि झन्डै १० हजार छुट्याउनुपर्ने समयमा धुलिखेलमा ३ हजारमा फोटो, भिडिओसहित जिपलाइन नै खेल्न पाइने भएपछि यसप्रति आकर्षण ह्वात्तै बढेको हो । राजधानी नजिकै भएकाले पनि धुलिखेल यसको सहज गन्तव्य बनेको छ । सर्वसुलभ मूल्य धुलिखेल जिपलाइनको अर्को आकर्षण बन्यो । क्लासिक जिपलाइन, उडेझैं खेल्न मिल्ने सुपरम्यान जिपलाइन र टेण्डम (दुई जनासँगै खेल्न मिल्न) जिपलाइन वर्ल्ड–वाइड एडभेन्चर प्रालिले धुलिखेलमा सञ्चालनमा ल्याएको ४ वर्ष भएको छ । सुपरम्यान र टेण्डम जिपलाइन नेपालमै पहिलोपटक धुलिखेलमा सुरू गरिएको हो । धुलिखेल नगरपालिकाको थाक्लेदेखि ११ सय मिटरको जिपलाइनले पाँचखालको खावालाई जोडेको छ । जिपलाइन औसत ७५ किमि प्रतिघण्टाको गतिमा हुत्तिन्छ । करिब ३०० मिटर भर्टिकल ड्रपमा उडिरहँदा नजिकका खेतबारी, जङ्गलको हरियालीसँगै लाङटाङ, दोर्जे लाक्पा, फुर्बीच्याचु लगायतका हिमालको समेत दृश्यावलोकन गर्न सकिन्छ । सिन्धुपाल्चोकका केदार थापा र काठमाडौंका भुपेश श्रेष्ठले धुलिखेल जिपलाइन सुरू गरेका हुन् । युरोपियन र अमेरिकी सुरक्षा मापदण्डमा आधारित भएर निर्माण गरिएको र सुरक्षामा कुनै कसर बाँकी नराख्ने भएकाले ढुक्कसँग जिपलाइनको मज्जा लिन सकिने सञ्चालक बताउँछन् । कति लाग्छ शुल्क ? क्लासिक जिपलाइन २५ सय रुपैयाँ रहेकोमा छुटपछि जम्मा २ हजार रुपैयाँमा खेल्न सकिन्छ । सुपरम्यान ३५ सय रुपैयाँ रहेकोमा छुटपछि जम्मा २८ सय रुपैयाँमा खेल्न पाइन्छ । टेन्डम (जोडी) खेल्दा ४ हजार ५ सय रहेकोमा छुटपछि जम्मा ३६ सय रुपैयाँमा जीपलाइनको मज्जा लिन सकिन्छ । यो अफर डिसेम्बर २८ सम्म उपलब्ध रहेको सञ्चालकले जानकारी दिए । कसरी पुग्ने ? काठमाडौंको बानेश्वरदेखि ३५ किलोमिटर दूरीमा रहेको धुलिखेल जिपलाइन पुग्न सार्वजनिक सवारीसाधन सहजै पाइन्छ । धुलिखेल बजारबाट पाँचखालतर्फ तीन किलोमिटर अगाडि थाक्लेमा जिपलाइनको टेकअफ स्टेशन रहेको छ । जिपलाइन गरिसकेपछि ल्याण्डिङ स्टेशनबाट टेकअफ स्टेशनसम्म कम्पनीकै गाडीले फिर्ता ल्याइदिन्छ । सुकुटे, कालिञ्चोक, तातोपानी क्षेत्र यात्रा गर्दै हुनुहुन्छ भने धुलिखेल जिपलाइन बाटोमै पर्छ । केही मिनेट रोकिएर जिपलाइनको मज्जा लिएर जान सकिन्छ ।
हिमालय एअरलाइन्सद्वारा काठमाडौं-चोङकिङ उडान सेवा पुनः सुचारु
काठमाडौं । नेपाल-नेपाल-चीन संयुक्त लगानी भएको हिमालय एअरलाइन्स्ले मंगलबारदेखि काठमाडौं-चोङकिङ-काठमाडौं उडान सेवा पुनः सुचारु गरेको छ । यो सेवा बिस्तारलाई एअरलाइन्स्ले नेपाल र चीनबीचको कनेक्टिभिटी बढाउने र द्विपक्षीय सम्बन्धलाई प्रवद्र्घन गर्ने प्रतिबद्धताका रुपमा लिएको जनाएको छ । यस काठमाडौं-चोङकिङ-काठमाडौं रुटले यात्रुहरूलाई नेपालको राजधानी र चीनको व्यस्त सहरको बीचमा सहज यात्राको विकल्प प्रदान गर्नेछ। दुई सहरका बीच हुने प्रत्यक्ष सम्पर्कले सहज, सुरक्षित एवम् प्रभावकारी यात्रा प्रदान गर्ने हिमालय एअरलाइन्स्कोे प्रतिबद्धतालाई समेत प्रतिविम्बित गरेको छ । समृद्ध सांस्कृतिक सम्पदा, आधुनिक सहरी परिदृश्य र आर्थिक गतिशीलताका लागि प्रसिद्ध चोङकिङले ऐतिहासिक, विशिष्ट विविध पाक-कला एवम् उच्च प्रविधि विकासयुक्त ठाउँको अनुपम सम्मिश्रण समेत प्रदान गर्दै नेपाली यात्रुहरूमाझ आकर्षक गन्तव्यको आफूलाई प्रस्तुत गरेको छ । पहिलो आउटबाउन्ड उडान, एन ९७८७, त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट स्थानीय समय अनुसार बिहान १०ः०७ मा प्रस्थान गरेको थियो र चोङ्किङ्कोे जियाङ्गबेइ अन्तर्राष्ट्रिय विमानस्थलमा स्थानीय समय अनुसार साँझकोे १५ः५० बजे अवतरण गर्ने छ । यस उडानको अवधि ३ घण्टा १४ मिनेटको रहनेछ । पहिलो उडानमा कूल यात्रु संख्या एक सय पच्चिस रहेको थियो । डिसेम्बर १२ पश्चात् एअरलाइन्स्ले हरेक मंगलबार र शनिबार गरी हप्तामा दुई पटक यी दुई सहरहरूका बीचमा उडान सेवा सञ्चालन गर्ने छ। यस उडान सेवासँगै नेपाल र चीनबीच हिमालय एअरलाइन्स्को यो चौथो सिधा उडान सेवा हुनेछ । एअरलाइन्स्ले यस अघि नै बेइजिङ, छिन्ताओ र सांघाईमा नियमित रूपमा उडान सेवा सञ्चालन गर्दै आएको छ ।