जुम्लामा हवाई सेवाको टिकट व्यवस्थित गरिँदै
जुम्ला । हिमाली जिल्ला जुम्लामा हवाई सेवाका लागि टिकट व्यवस्थित गरिने भएको छ । स्थानीय प्रशासनको आयोजनामा जनप्रतिनिधि, एयरलाइन्सका प्रतिनिधि, नागरिक समाज, मानव अधिकार आयोग र पत्रकार सहभागी बैठकमा विमानस्थलमा हरेक वायुसेवा कम्पनीले यात्रुको नाम लेखेर पारदर्शिता गराउनुपर्ने र भोलिपल्टको उडानको टिकट अघिल्लै दिन वितरण गर्नुपर्ने निर्णय भएको नेपाल नागरिक उड्डयन प्राधिकरण कार्यालयका प्रमुख सन्तोष अधिकारीले जानकारी दिए। वायुसेवा कम्पनीले दश सिट बिरामी, अशक्त, सुरक्षाकर्मी र अन्य आकस्मिक काम परेका व्यक्तिका लागि सिट सुरक्षित गर्ने भएको छ । सीता एयरलाइन्सको हकमा भने सात सिट सर्वसाधारणका लागि एक दिन अगावै वितरण हुने प्रमुख जिल्ला अधिकारी जयकुमार घिमिरेले बताए । सर्वसाधारण नागरिक र आन्तरिक पर्यटकका लागिसमेत टिकट पाउन अब सहज हुने विश्वास गरिएको प्रजिअ घिमिरेको भनाइ थियो । नागरिक समाजका अध्यक्ष राजबहादुर महतले कुनै पनि हालतमा विमानस्थलको द्वारबाहिर कार्यालय खोल्नुपर्ने र टिकट वितरणमा पारदर्शिता हुनुपर्ने बताए। हवाई उडान क्षेत्रको टिकट सर्वसाधारणको पहुँचसम्म पुग्नुपर्ने आवश्यकताको विषय हो । पहिलो चरणमा जुम्लामा हुने उडानमा टिकट प्रणाली व्यवस्थापन गरी कार्यान्वयमा ल्याउनुपर्ने जिल्ला समन्वय समितिका प्रमुख गौरीनन्द आचार्यको भनाइ थियो । लामो समयदेखि जहाजको टिकट वितरण सहज नहुँदा यहाँका नागरिकले सास्ती खेपिरहेको स्थानीय पत्रकार पूर्णप्रसाद चौलागाईले बताए । नेपालगञ्जदेखि जुम्लासम्म हप्ताको एकपटक नेपाल वायुसेवाको एयरलाइन्स र नियमित रुपमा समिट एयरले उडान गर्दै आएका छन् । सीता र तारा एयरले समेत जुम्लाका लागि उडान भर्दै आएका छन् । रासस
सुदूरपश्चिमको पर्यटन क्षेत्रमा लगानी गर्न आह्वान
काठमाडौं । सुदूरपश्चिम सरकारले प्रदेशमा पर्यटनका प्रचुर सम्भावना भएकाले लगानी गर्न आह्वान गरेको छ । काठमाडौँमा आज सुदूरपश्चिम लगानी तथा विकास सम्मेलन र पर्यटन व्यवसायीको भूमिका विषयक अन्तरक्रियामा प्रदेश सरकारले लगानीको वातावरण निर्माण गर्ने प्रतिबद्धता व्यक्त गर्दै लगानी गर्न आह्वान गरेको हो । नेपाली कांग्रेसकी नेत्री तथा प्रतिनिधिसभा कृषि, सहकारी तथा प्राकृतिक स्रोत समिति सभापति डा.आरजु राणा देउवाले सुदूरपश्चिम प्राकृतिक स्रोत, संस्कृति तथा वेशभूषामा सम्पन्न भएको उल्लेख गर्दै भौतिक पूर्वाधारको विकास भइरहेको बताइन् । उनले भनिन्, “सुदूरपश्चिममा प्रचुर सम्भावना छ र अब लगानीकर्तालाई सुरक्षित महसुस गराउने गरी वातावरण बनाउन प्रदेश सरकारले पहल गर्नुपर्छ ।” क्षेत्रको पर्यटन प्रवद्र्धनमा जोड दिनुपर्नेमा जोड दिँदै उनले भनिन्, “दिगो पर्यटन विकासका लागि समुदायमा आधारित पर्यटन विकासलाई जोड दिनुपर्दछ । यसका लागि हामीले स्थानीय समुदायमा जनचेतना जगाउने र उनीहरूलाई पर्यटन क्षेत्रबाट आम्दानी गर्न सकिन्छ भन्ने बुझाउन जरुरी छ ।” सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले सुदूरपश्चिममा जन्मिएर देश र विदेशमा विभिन्न पद र ओहदामा बसेकाहरूले आफ्नो अनुभव, बौद्धिक, भौतिक, आर्थिक लगानीलाई सुदूरपश्चिममा लगानी गर्न आह्वान गरे । उनले भने, “अब सुदूरपश्चिममा सम्भावनाका ढोका खुलिसकेका छन् । हामीसँग ठूलो बजार छ । हामी नीतिगत र कानुनी अड्चन फुकाउने र लगानीका लागि वातावरण निर्माण गर्छौं र तपाईंहरु आएर लगानी गरिदिनूस् ।” सुदूरपश्चिमका पर्यटनमन्त्री रमेश धामीले सङ्घ सरकारले सुदूरपश्चिममा लगानी गर्नुपर्छ भन्ने महसुस गर्न नसकेकोप्रति दुःख व्यक्त गर्दै निजी क्षेत्रलाई लगानीका लागि आह्वान गरे । उनले भने, “सुदूरपश्चिममा लगानी गर्न सरकारी निकाय तयार हुनुपर्छ अनि मात्र निजी क्षेत्रलाई आकर्षित गर्न सकिन्छ । हामीले दक्ष जनशक्ति उत्पादनका लागि नेपाल पर्यटन तथा होटल व्यवस्थापन प्रतिष्ठान (नाथम) सुदूरपश्चिममा स्थापना गर्ने गरी काम अघि बढाइसकेका छौँ । अब लगानीकर्ताले डराउनुपर्ने स्थिति छैन, ढुक्क भएर लगानी गर्नुस् ।” लगानी बोर्डका प्रमुख कार्यकारी अधिकृत सुशील भट्टले सरकारले लगानी सम्मेलन गर्न लागेको उल्लेख गर्दै प्रदेशलाई आफ्ना योजनाहरु प्रस्तुत गर्न आग्रह गरे । लगानी बोर्डले प्रदेश सरकारले ल्याएका योजनालाई स्वकेश गराउन सहयोग गर्ने र अन्य परियोजनामा पनि लगानी गर्न आग्रह गरेको छ । त्यसैगरी, नेपाल राष्ट्र बैङ्कका कार्यकारी निर्देशक गुणाकर भट्टले आन्तरिक लगानीलाई मात्रै पनि परिचालन गर्न सकेको अवस्थामा सुदूरपश्चिमको पर्यटन विकासका लागि धेरै समय नलाग्ने बताए । नेपाल नदी संरक्षक मेघ आलेले कर्णालीको सभ्यतालाई जोगाएर पर्यटन प्रवद्र्धन गर्न आग्रह गरे । युरोपियन युनियन व्यापार तथा लगानी कार्यक्रमको सहकार्यमा भएको कार्यक्रममा इयूको वरिष्ठ अधिकृत मिम हमालले पर्यटन प्रवद्र्धनका लागि इयूले सक्ने सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरे । त्यसैगरी, पर्यटन व्यवसायी दिनेश भण्डारीले सुदूरपश्चिममा पर्यटन विकासको सम्भावना र चुनौतीबारे प्रस्तुतीकरण दिएका थिए । त्यसैगरी सुदूरपश्चिम प्रदेश लगानी तथा विकास सम्मेलन पर्यटन उपसमिति संयोजक अमरबहादुर शाहीले पर्यटनको सम्भावना बोकेको सुदूरपश्चिममा लगानी गर्न आग्रह गरे । कार्यक्रममा होटल व्यवसायी सङ्घका अध्यक्ष विनायक शाह, नेपाल पर्यटन बोर्डका वरिष्ठ निर्देशक हिक्मत सिंह ऐरी, नेपाल पर्वतारोहण सङ्घका अध्यक्ष निमानिरु शेर्पा, टानका अध्यक्ष नीलहरि बास्तोला, र्याफ्टिङ एसोसिएसन नेपालका अध्यक्ष शिव अधिकारी, नाटाका महासचिव शिवराज पाण्डे, टुटलका सिइयो शिक्षित भट्टलगायत पर्यटन व्यवसायीहरुले सुदूरपश्चिमको पर्यटन विकासका लागि गुरुयोजना बनाएर अघि बढ्नुपर्नेमा जोड दिएका थिए ।
सौराहामा बढ्दै सांस्कृतिक पर्यटक, सबैको रोजाईमा थारु गाउँ
चितवन । पछिल्लो एक वर्ष यता चितवनको सौराहा घुम्न जाने पर्यटकहरुका लागि नयाँ गन्तव्य थपिएको छ । सौराहा जाने आन्तरिक तथा वाह्य पर्यटकहरु सौराहा थारु भिलेजमा गएर मात्रै फर्किने गर्दछन् । एक पटक उनीहरु थारु भिलेजमा पुगेर थारुहरुको संस्कृति र संस्कारमा रम्ने र रमाउने गर्दछन् । सौराहा थारु भिलेज विदेशी र आन्तरिक पर्यटकहरुका लागि रोजाइमा पर्दै गएको छ । सौराहा थारु भिलेज पर्यटकहरुका लागि थारु गाउँको पर्याय झैँ बनेको छ भन्दा फरक नपर्ला । किनभने सौराहा जाँदा जसरी जंगल सफारी गर्न पर्यटकहरु लालयित हुन्थे त्यसैगरी पछिल्लो समय सौराहा पुगेका पर्यटकहरु थारु कला र संस्कृति हेर्नका लागि एक दिन भएपनि थारु भिलेजमा पुगेर नरमाइकन फर्किन सक्दैनन् । चितवनको सौराहामा आएका स्वदेशी तथा विदेशी पर्यटकहरु थारू संस्कृतिमा लोभिँदै गएका छन् । समूहगत रुपमा थारू युवायुवती मिलेर झमटा नाच, ठेकरा नाच, लौरो नाच, झुमरा डम्फु नाच प्रश्तुत गर्दै पर्यटकहरुलाई आकर्षित र रोमाञ्चित बनाउँछन् । नेपालकै मुख्य पर्यटकीय गन्तव्य चितवनको सौराहामा कतिपय पर्यटकहरु त थारु संस्कृति र कला हेर्न पटकपटक जाने गरेका छन् । दोस्रो पटक थारु संस्कार र संस्कृति हेर्न पुगेका लक्ष्मी निरौलाले संस्कृतिसँग पर्यटकलाई जोडेर हेर्दा चितवनले राम्रो प्रगति गरेको बताए । उनले थारु गाउँको संस्कृति, संस्कार र सांस्कृतिक पर्यटकको सम्भवाना चितवनस्थित सौराहा थारु भिलेजले देखाएको जानकारी दिए । यसले सांस्कृतिक पर्यटनलाई जोगाउन महत्वपूर्ण योगदान गर्ने उनको ठम्याइ छ । चितवनमा जति धेरै थारु संस्कृतिलाई विकास गर्न सकिन्छ त्यति नै पर्यटकको सम्भावना बढ्ने बताए । चितवलाई जंगल सफारीकासाथै संस्कृतिको रुपमा पनि चिनाउनसके पर्यटकहरु अझै बढ्नसक्ने बताए । उनले भने ‘नेपाल प्रशस्त पर्यटकीय सम्भावना भएको देश हो । यहाँको तराईदेखि पहाड र हिसालसम्मका विभिन्न परम्परा र रितिरिवाजहरुले हामीलाई धानेको छ । कल्चरसँग पर्यटकलाई जोडेर हेर्दा चितवनले एउटा ठूलो फड्को मार्नेछ । चितवनले थारु कल्चर जति प्रमोट गर्छ, यसको सम्भावना त्यत्तिकै बढ्दै जान्छ । चितवन जंगल सफारी गर्न जो पर्यटक जान्छन् उनीहरुलाई हाम्रो कल्चरसँग मिलाउन र चिनाउनसके राम्रो हुन्छ ।’ त्यस्तै ललितपुरबाट आफ्ना विद्यार्थीहरुलाई लिएर चितवन पुग्नुभएका दिनेश रावल विद्यार्थी र बालबालिकाहरु अनलाइन केन्द्रित हुँदै गइरहेको बेलामा बाहिरि संस्कार र संस्कृति बुझाउन यस्त गन्तव्यहरु महत्वपूर्ण हुने बताउँछन् । उनले यस्ता क्षेत्रहरु मनोरञ्जनका साथसाथै अध्ययनका लागि पनि काम लाग्ने बताए । उनले थारु समुदायझै अन्य समुदायहरुले पनि लोप हुन लागेका आफ्ना संस्कार र संस्कृतिहरुको जगेर्ना गर्न आवश्यक रहेको बताए । उनले भने ‘विदेशमा पनि आफ्नो, कला, संस्कृति जोगाउन लागेको हामी देख्छौँ, हाम्रोमा पनि यसरी बचाउन लाग्नुपर्छ । अरु समुदायहरुले यो कुरा सिक्नुपर्छ, अरुले प्रमुख आयआर्जनको श्रोत बनाउन सक्नुभएको छैन, थारु समुदायले मात्रै सौराहामा यो संस्कार र संस्कृतिको जगेर्ना गरेर अघि बढ्नुभएको छ । अन्य समुदायले पनि संस्कार र संस्कृति जोगाउन लाग्नुपर्छ ।’ पर्यटन व्यवसायी रञ्जन भण्डारी चितवन थारुको पहिचान स्थल भएकाले लोप हुँदै गएको अवस्थामा सौराहा थारु भिलेजले थारु संस्कार र संस्कृति बचाइरहेको बताउँछन् । थारु गाउँहरु लोप हुँदै जाँदा उनीहरुका संस्कार र संस्कृतिहरु थारु भिलेजमा सहजै देख्न पर्यटकहरुले पाउने बताए । उनले चितवनको आदिवासीको पहिचानसँगै स्थानीय थारु समुदायलाई भिलेजले रोजगारी दिएको बताए । संस्कार र संस्कृति जोगिनुका साथै यस्ता कामले पर्यटनमा पनि ठूलो योगदान पुगिरहेको बताए । उनले भने, ‘थारु मात्र नभइ अरुअरु पनि कल्चरहरु छन् तर चितवन भनेको एउटा थारुको पहिचान हो । त्यसकारण यो हुन जरुरी छ । थारु गाउँ यो एकदमै महत्वपूर्ण नै छ । चितवनको आदिवासीको पहिचानसँगै यहाँका स्थानीय चौधरीहरुलाई रोजिरोटी दिनुभएको छ, युवाहरु विदेश जानबाट जोगिएका छन् ।’ त्यस्तै सौराहा थारु भिलेजका सञ्चालक मधुसुदन सिलवाल थारु समुुदायको परम्परा, संस्कृति र संसकार बचाउने अभियानले बिस्तारै सार्थकता पाउँदे गएको बताउँछन् । उनले थारुको बाहुल्य भएको ठाउँ चितवनमा थारु संस्कृति लोप हुँदै गएपछि विदेशबाट आएर आफूले थारु भिलेजका रुपमा अघि बढाइ संस्कृति र संस्कार जोगाउने काममा लागेको बताए । उनले अहिले आन्तरिक तथा वाह्य पर्यटकहरु थारु गाउँ खोजिखोजि आउन थालेको बताए । सौराहामा जंगल सफारीसँगै थारु भिलेज पनि प्रमुख गन्तव्यस्थ्ल बन्दै गएकोमा खुशी लागेको बताए । भिलेजमा थारु संस्कृति हेर्न र रम्न पाइने उनको भनाइ छ । थारु समुदायले लगाउने कपडादेखि खाने खाना र उनीहरुको संस्कृतिमा रमाउन सकिने बताए । भिलेजमा चौधरी स्थानीयहरु ५२ जनालाई रोजगारी दिएको र अझै १५० जनासम्मलाई रोजगारी दिने आफ्नो योजनाअनुसार काम गरिरहेको बताए । उनले ढिँकीमा कुटेको चामल, जाँतोमा पिँधेको दाल, तोरी कोलमा पिँधेको तेलहरु विदेशमा पठाइ अग्र्यानिक खाना दिने सोचअनुसार काम गरिरहेको बताए । उनले भने, ‘थारुको बाहुल्य भएको ठाउँ चितवन । जतिपनि विदेशीहरु, पाहुनाहरु जतिपनि सौराहा घुम्न आउनुहुन्छ, थारुको संस्कृति, खाना, गाउँ, घुम्न नै आउने हो । कहाँ जाने भन्दा थारु गाउँ जाने भन्ने छ । धेरै जना सोधीसोधी आउनुहुन्छ । स्पेशल थारु खाना खाने र कल्चर हेर्नका लागि आउनुहुन्छ । ५२ जनाले रोजगारी पाउनुभएको छ, स्थानीयहरु, चौधरीहरु नै हुनुहुन्छ, १५० जना पु¥याउने योजना छ, ढिँकीमा कुटेको चामल, जाँतोमा पिँदेको दाल, तोरी कोलमा पिँदेको तेलहरु नेपालमा मात्रै नभइ विदेशमा पनि सप्लाइ गरेर अग्र्यानिक खाना दिने प्लान छ । ६ देखि ७ करोड लगानी छ । एक वर्ष भयो यो, यो समयमा राम्रो चलिरहेको छ । दशैँपछि धेरै नै राम्रो माहोल छ, यत्तिकै राम्रो भयो भने पर्यटन धेरै राम्रो हुन्छ ।’ उनले एक वर्षअघि ७ करोड लगानीमा शुरु गरेको सौराहा थारु भिलेजलाई पर्यटकको मुख्य रोजाइमा पर्दै गएको छ । दशैँपछिका दिनहरुमा पर्यटकहरुको संख्यामा उल्लेख्य वृद्धि भएको र यही स्तरमा पर्यटकहरु आइरहने हो भने पर्यटनको सम्भावनाका साथै व्यवसाय पनि उत्तिकै फस्टाउँदै जाने बताए । पर्यटकीय आकर्षणका लागि सञ्चालित थारु गाउँमा थारु संस्कृतिका सामग्री र खानाको परिकार पाइन्छ । झन्डै तीन विगाहा क्षेत्रफलमा उनले थारु भिलेज बनाएका छन् । थारुको पोशाक, थारु जातिले प्रयोग गर्ने सामान, घरलगायत थारु संस्कृतिका सामग्री राखिएको छ । तर सांस्कृतिक ग्रामकै उत्पादनबाट सञ्चालन गर्नसके मात्रै यस्ता सांस्कृतिक ग्राम चल्न सहज हुने र पर्यटकहरुको मुख्य आकर्षण हुनेछ ।