पुरानै लयमा पर्यटन फर्केपछि थप १५ ठूला तारे होटल खुल्दै

काठमाडौं । सन् २०२३ मा १० लाखभन्दा बढी विदेशी पर्यटक नेपाल भित्रिएका छन् । नेपाल पर्यटन बोर्डको तथ्याङ्कअनुसार शनिवार बिहान ५ बजेसम्म १० लाख ८ हजार ६१४ पर्यटक भित्रिएका हुन् । योसँगै सन् २०२३ मा १० लाख विदेशी पर्यटक भित्र्याउने सरकारको लक्ष्य पूरा भएको छ । सरकारले चालु आर्थिक वर्षको बजेटमा सन् २०२३ मा नेपाल भ्रमण गर्ने विदेशी पर्यटकको सङ्ख्या १० लाख पुर्याइने उल्लेख गरेको थियो । कोभिड–१९ महामारीले शिथिल बनेको मुलुकको पर्यटन करिब पुनःरुत्थान भएको हो । पर्यटन बोर्डका अनुसार महामारीपछि यो वर्ष ८५ प्रतिशत पर्यटन पुनःरुत्थान भएको छ । सन् २०१९ मा १२ लाख हाराहारी विदेशी पर्यटक आएका थिए । सोही आधारमा सन् २०२३ मा ८५ प्रतिशत पर्यटन पुनःरुत्थान भएको बोर्डका निर्देशक मणिराज लामिछानेले बताए । उनले भने, “यसवर्ष पर्यटक आगमन उत्साहवर्द्धक छ । आगामी दिनमा पर्यटक बढाउन भैरहवा र पोखरामा रहेका अन्तर्राष्ट्रिय विमानस्थल पूर्ण क्षमतामा सञ्चालन र पर्यटक स्रोत बजारमा प्रभावकारी बजारीकरणका लागि बोर्डले रणनीतिक कार्ययोजना बनाउनेछ ।” पर्यटक आगमन उत्साहवद्र्धक रहेको र आगामी दिनमा थप वृद्धि हुने होटल सङ्घ नेपाल (हान)का अध्यक्ष विनायक शाहका अपेक्षा छ । “सरकारको १० लाख पर्यटक पुर्याउने लक्ष्य पूरा भएको छ, यो नै उपलब्धि हो”, उनले भने, “एकपछि अर्को ठूला तारे होटल खुल्नेक्रम जारी छ । २०८१ सालसम्म थप १५ बढी होटल थपिदैछन् । सरकारले निजी क्षेत्रसँगको साझेदारितालाई फराकिलो बनाएर लगेको खण्डमा आगामी दिनमा पर्यटक बढ्छन् ।” काठमाडौंस्थित त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भएर १० लाख बढी पर्यटक भित्रिएको भन्दै उनले थप दुई अन्तर्राष्ट्रिय विमानस्थल भैरहवा र पोखरालाई प्रभावकारी सञ्चालन गर्नसकेको खण्डमा अर्को वर्ष दोब्बर सङ्ख्यामा पर्यटकलाई स्वागत गर्न कुनै कठिनाइ नहुने उनको विश्वास छ । पर्यटकको सङ्ख्या कीर्तिमानकै रूपमा वृद्धि सरकारले अर्को वर्ष विदेशी पर्यटकको सङ्ख्या झण्डै दोब्बर बनाउने लक्ष्य लिएको छ । सरकार एक वर्ष पूरा भएको अवसरमा पुस १० गते देशवासीका नाममा सम्बोधन गर्दै प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले यो वर्ष पर्यटकको सङ्ख्या लगभग कीर्तिमानकै रूपमा वृद्धि भएको बताएका थिए । “अहिले सुन्दा अपत्यारिलो लाग्ला तर क्षेत्रगत तयारी र योजनाबाट अर्को वर्ष हामी पर्यटकको सङ्ख्या झण्डै दोब्बर बनाउँछौँ भन्ने मेरो विश्वास छ”, प्रधानमन्त्री दाहालले भनेका थिए । सरकारले सन् २०२५ लाई नेपाल भ्रमण वर्षका रुपमा मनाउने घोषणा गरेको छ । साथै सन् २०२३ देखि २०३२ लाई पर्यटन दशकका रुपमा मनाएर ३५ लाख पर्यटक भित्र्याउने लक्ष्य लिइएको छ । चालु आव २०८०/८१ को बजेटमा मुलुकलाई सुरक्षित र आकर्षक पर्यटकीय गन्तव्यको रुपमा विकास गरिनुका साथै पर्यटन प्रवद्र्धन र पूर्वाधार विकास गरी राष्ट्रिय अर्थतन्त्रमा पर्यटन क्षेत्रको योगदान वृद्धि गरिने उल्लेख गरिएको थियो । नेपालको प्राकृतिक, धार्मिक, ऐतिहासिक तथा सांस्कृतिक सम्पदालगायत पर्यटकीयस्थल र सेवाको अन्तर्राष्ट्रियस्तरमा सघन प्रचारप्रसार गरिने उल्लेख गरिएको छ । भारतीय पर्यटक बढे पर्यटन बोर्डका निर्देशक लामिछानेका अनुसार यसवर्ष भारतीय पर्यटकको सङ्ख्या उल्लेख्य रुपमा वृद्धि भएको छ । सन् २०१९ मा २ लाख ५४ हजार १५० भारतीय पर्यटक नेपाल आएकामा यस वर्ष ३ लाख १७ हजार ४८१ पर्यटकले नेपाल भ्रमण गरेका छन् । भारतपछि अमेरिकी पर्यटक बढेका छन् । अमेरिकी पर्यटकको सङ्ख्या यसवर्ष ९९ हजार ९८५ एक लाख पुगेको छ । सन् २०१९ मा ९३ हजार २४१ अमेरिकी पर्यटक आएका थिए । बङ्गलादेशबाट पनि नेपाल आउने पर्यटक बढेका छन् । सन् २०१९ मा २४ हजार हाराहारी आएका बङ्गलादेशी पर्यटकको सङ्ख्या यस वर्ष ३६ हजार १९१ पुगेको छ । त्यसैगरी चिनियाँ पर्यटकको सङ्ख्या पनि क्रमशः बढिरहेको छ । यस वर्ष ६० हजार १६० चिनियाँ पर्यटक नेपाल भित्रिएका छन् । सन् २०१९ मा १ लाख ६९ हजार ५४३ चिनियाँ पर्यटक नेपाल आएका थिए । कोभिडपछि सीमा नाका खुलेका र चिनियाँ एयरलाइन्सको उडान पनि बढिरहेकाले आगामी दिनमा चिनियाँ पर्यटक बढ्ने बोर्डको विश्वास छ । यस अवधिमा म्यानमारबाट १२ हजार ६८८, श्रीलङ्काबाट २१ हजार ८४४, संयुक्त अधिराज्य बेलायतबाट ५२ हजार ७९१ विदेशी पर्यटक भित्रिएका छन् । कुन महिनामा कति पर्यटक ? पर्यटन बोर्डका अनुसार यस वर्षको अक्टोबरमा सबैभन्दा बढी १ लाख १७ हजार ३०६ पर्यटक आएका थिए । जुन आँकडा कुनै एक महिनामा भित्रिने विदेशी पर्यटकको सङ्ख्या हालसम्मकै बढी हो । वर्षको सुरु जनवरीमा ५५ हजार ७४, फेब्रुअरीमा ७३ हजार २५५, मार्चमा ९९ हजार ४२८, अप्रिलमा ९८ हजार ७७४, मेमा ७७ हजार ७०२, जुनमा ७२ हजार २४८, जुलाईमा ५७ हजार ७२५, अगष्टमा ६७ हजार १५३, सेप्टेम्बरमा ९१ हजार १२, नोभेम्बरमा १ लाख ८६ हजार २८ र डिसेम्भरमा ९० हजार ३०९ पर्यटकले नेपाल भ्रमण गरेका छन् । आज र भोलि वर्षको अन्तिम दिनसम्म यो सङ्ख्या केही बढ्ने अनुमान गरिएको छ । पर्यटन पुरानै लयमा संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किरातीले कोभिड–महामारीपछि मुलुकको पर्यटन करिब पुरानै लयमा फर्किएको बताए । उनले सरकारको लक्ष्यअनुरुप विदेशी पर्यटक भित्रिएको र अगामी वर्ष विदेशी पर्यटकको सङ्ख्या दोब्बर बनाउन प्रभावकारी कार्यक्रमअघि बढाइने बताए । पर्यटनमन्त्री किरातीले भने, “देशको पर्यटन करिब पुरानै लयमा फर्किएको छ । यो वर्ष १० लाख बढी विदेशी पर्यटक भित्रिएका छन् । नेपाल वायुसेवा निगम सुधार्न र जहाज थपेर सेवा प्रभावकारी बनाउन रणनीतिक महत्वका काम अघि बढाइएको छ । हवाई क्षेत्रको सुधारका लागि धेरै काम भएका छन् । यसले पनि पर्यटन बढोत्तरीमा मद्दत पुग्नेछ ।” प्रधानमन्त्री दाहालको सम्बोधनमा ठूलो खर्च भएका पोखरा र भैरहवास्थित अन्तर्राष्ट्रिय विमानस्थललाई पूर्ण सञ्चालनमा ल्याउन र भैरहवा अन्तर्राष्ट्रिय विमानस्थलबाट छिमेकी मुलुकका नजिकका विमानस्थलसम्म कम उचाइमा उडान गर्ने साना विमान सञ्चालनको पहल भइरहेको उल्लेख छ । भैरहवा र पोखरा विमानस्थलबाट अन्तर्राष्ट्रिय उडान र अवतरण गर्ने विमानलाई इन्धन, टर्मिनल, ग्राउण्ड ह्याण्डलिङ र अन्य सेवा शुल्कमा सहुलियत दिएर प्रोत्साहन गरिने उनको भनाइ छ । साथै, निजगढ विमानस्थलको निर्माण सुनिश्चित गरी काठमाडौँ, भैरहवा र पोखरा विमानस्थलको विस्तार तथा सञ्चालन पनि सार्वजनिक–निजी साझेदारी मोडेलमा अघि बढाउने विकल्पमा छलफल भएको जानकारी दिएका थिए ।

पर्यटन क्षेत्रमा जागेको आशा, एक वर्षमा १० लाख बढीले गरे नेपाल भ्रमण

काठमाडौं । लामो समय कोभिडका कारण थला परेको पर्यटन व्यवसायमा अहिले केही आशा पलाएको छ । निराशा र अस्थिरताको स्थितिबाट गुज्रिरहेको विश्व पर्यटन बजारमा हालका महिनामा आशाका किरण देखिएका अब नेपालको पर्यटन पहिलेकै अवस्थामा फर्किने आशा देखिएको छ । नेपालका पर्यटकीयस्थलहरुमा आन्तरिक तथा बाह्य पर्यटकहरुको सङ्ख्या बढेसँगै व्यवसायीहरु पनि उत्साहित देखिन्छन् । पर्यटकीय गतिविधि बढेसँगै विभिन्न देशबाट भित्रिने पर्यटक आगमन सङ्ख्या बढिरहेको छ । विशेषगरी सेवा तथा आथित्य सत्कार र हिमाल आरोहणलगायत साहसिक गतिविधिसँग जोडिएको पर्यटन वैदेशिक मुद्रा आर्जनका लागि रेमिट्यान्सपछिको नेपालको सबैभन्दा ठूलो उद्योग हो । पछिल्लो समय यो क्षेत्र विदेशी मुद्रा आर्जन र राजस्वको प्रमुख स्रोत पनि बनिरहेको छ । वर्तमान सरकार गठनपछि पर्यटन क्षेत्रलाई दिइएको उच्च प्राथमिकताले गर्दा निजी क्षेत्रको लगानीमा वृद्धि तथा पर्यटकीय पूर्वाधारहरुको विकासले पर्यटक आगमनमा उल्लेख्य वृद्धि भएको छ । आजको दिनमा ३५ लाख पर्यटकलाई धान्न सक्ने पर्यटन क्षेत्रको क्षमता विकास भइसकेको छ । राज्यले घोषणा गरेको सन् २०२३ मा १० लाख पर्यटन, सन् २०२५ लाई विशेष पर्यटन वर्ष र पर्यटक दशकको कार्यक्रमहरुलाई निजी क्षेत्रसँगको सहभागिता र समवन्यमा कार्यक्रमहरु द्रुत गतिमा अगाडि बढाउने काम भइरहेको छ । नेपालको सन्दर्भमा साहसिक पर्यटनको गन्तव्यका रूपमा देशलाई पुनस्र्थापित गर्न विद्यमान पर्यटन नीतिमा समेत समयसापेक्ष सुधार आवश्यकको महसुस गरिएको छ । अन्य मुलुकहरुसँगको हवाई सम्झौता विस्तार हुने क्रममा छ । नेपाल तथा रुवाण्डाबीच हवाई सेवा सम्झौता सम्पन्न भएको छभने स्विट्जरल्यान्ड तथा इन्डोनेसियासँग द्विपक्षीय हवाई सम्झौताको प्रक्रिया अन्तिम चरणमा रहेको छ । नेपाल भ्रमण दशक अवधारणाको कार्यान्वयन सरकारले नेपाललाई विश्वको एक पर्यटन आगमनको केन्द्र बनाउने गरी नेपाल भ्रमण दशक (२०२३–३२) अवधारणा स्वीकृत भई कार्यान्वयनमा ल्याएको छ । कोभिड महामारीबाट प्रभावित बनेको पर्यटन क्षेत्रको दीर्घकालीन सोचसहितको पुनरुत्थान आवश्यक भएकाले पर्यटन दशकको घोषणा भएको हो । ‘सबैका लागि पर्यटन’ भन्ने अवधारणासहित आगामी १० वर्षभित्र मुलुकका वार्षिक ३५ लाख पर्यटक आउने वातावरण बनाउने गरी भ्रमण दशकले लक्ष्य लिएको छ । विश्वका परम्परागत पर्यटन बजारबाट नेपालले पर्यटकलाई आतिथ्य प्रदान गर्न सन् १९९८ मा नेपाल भ्रमण वर्षलगायत सन् २००० र २०१० को दशकका अवधिमा अनेकन अभियान सञ्चालन गरे पनि लक्षित उपलब्धि हासिल हुन सकेको छैन । विगतको अनुभवबाट पाठ सिक्दै भ्रमण दशकको कार्यान्वयन गर्न ल्याइएको कार्ययोजनाअनुसार देशैभर बहुपक्षीय पूर्वाधारको विकास गर्ने, पर्यटन क्षेत्रको पुनरुत्थान गर्दै सन् २०२४ सम्म पर्यटन आगमनलाई २०१९ को पूर्ववत् अवस्थामा पुर्याउने लक्ष्य लिइएको छ । पर्यटक आगमन हरेक वर्ष १५ प्रतिशतले बढ्दा २०३२ सम्म वार्षिक ३५ लाख पर्यटक आउने सरकारको विश्वास छ । आगामी १० वर्ष भित्र वार्षिक १ लाखका दरले थप रोजगारी सिर्जना हुने समेत कार्ययोजनाको लक्ष्य रहेको छ । पर्यटन दशक कार्ययोजनाको प्रभावकारी कार्यान्वयनका लागि तीनै तहका सरकारसँग समन्वयमा जोड दिइएको छ । सरकारले पर्यटन क्षेत्रलाई चलायमान बनाउन नेपाल भ्रमण दशक मनाउने निर्णय गरेको छ । कोभिड महामारी र विशवका विभिन्न देशमा भएका द्वन्द्व र आर्थिक मन्दीका कारण शिथिल बनेको पर्यटन पुनरुत्थान गर्दै चलायमान बनाउन नेपाल भ्रमण दशक मनाउने निर्याण गरेको हो । कोभिडले सबैभन्दा बढी प्रभावित बनेको पर्यटन उद्योगको प्रवद्र्धनका लागि निजी क्षेत्रसँग समन्वय र सहकार्य गरी भ्रमण दशकका रुपमा मनाएर विदेशी पर्यटक आवागमनमा बढोत्तरी गर्ने सरकारको उद्देश्य छ । भ्रमण दशकसँगै नेपालमा पर्यटकको प्रतिदिन खर्च ४८ डलरबाट एक सय २५ पुर्याउने लक्ष्य राखेको छ । कूल गार्हस्थ्य उत्पादनमा पर्यटनको योगदानलाई समेत १० प्रतिशत पुर्याउने लक्ष्य पर्यटन मन्त्रालयले लिएको छ । यसका लागि संस्थागत सुदृढीकरण, पूर्वाधारको स्तरोन्नति, लगानी प्रवद्र्धन, पर्यटन सेवा सुदृढीकरण तथा विस्तार, पर्यटन प्रवद्र्धन तथा जनसम्पर्क विस्तार, पर्यटन क्षमता विकास, आन्तरिक पर्यटन प्रवद्र्धन, पर्यटन उपजको विकास र विस्तार र देशैभर पर्यटनसम्बन्धी अभियान चलाइने समेत कार्यदलको सिफारिसमा उल्लेख छ । कोभिड महामारीपछि करिब शून्यमा झरेको पर्यटक आगमन गत वर्षदेखि लयमा फर्किएकामा यो वर्ष उत्साहजनक रुपमा वृद्धि भएको छ । यस वर्ष १० लाखभन्दा बढी पर्यटकले नेपाल भ्रमण गरेका छन् । कोभिडले विश्वव्यापी महामारीको रूप लिनुअघि सन् २०१९ मा नेपाली पर्यटन उद्योगको इतिहासमै धेरै ११ लाख ९७ हजारभन्दा बढी पर्यटक नेपाल भ्रमणमा आएका थिए । त्यसयता पर्यटक आगमन क्रमशः ओरालो लागेकामा गत वर्षदेखि सुधार भएको छ । यही गतिमा बढ्दै जाने हो भने आगामी वर्ष पर्यटक आगमनले २०१९ को रेकर्ड तोड्ने आशा गर्न सकिन्छ । पर्यटक आगमनको लक्ष्य पूरा सन् २०२३ मा १० लाख पर्यटक भित्र्याउने सरकारी लक्ष्य पूरा भएको छ । १ जनवरीदेखि डिसेम्बर २७ सम्म १० लाख एक हजार आठ सय ४४ विदेशी पर्यटक भित्रिएको तथ्याङ्क छ । चालु आर्थिक वर्षको बजेटमा सन् २०२३ मा नेपाल भ्रमणमा आउने पर्यटकको सङ्ख्या १० लाख पु¥याउने घोषणा गरेको थियो । सन् २०२२ मा केवल छ लाख १४ हजार विदेशी पर्यटकले नेपाल भ्रमण गरेका थिए । पर्यटन बोर्डको तथ्याङ्कअनुसार सन् २०२३ मा पनि छिमेकी भारतबाटै सबैभन्दा धेरै पर्यटक भित्रिएका छन् । यस वर्ष तीन लाख १३ हजार नौ सय एक पर्यटक नेपाल आएका छन् । त्यसैगरी, अमेरिकाबाट ९९ हजार तीन सय २६ र चीनबाट ५९ हजार पाँच सय ८३ पर्यटकले नेपाल भ्रमण गरेका छन् । संयुक्त अधिराज्य ९युके०बाट ५२ हजार चार सय ९६ पर्यटक भित्रिँदा अस्ट्रेलियाबाट ३८ हजार एक सय ४९, बङ्गलादेशबाट ३५ हजार चार सय ९२, जर्मनीबाट २६ हजार सात सय ९३, थाइल्यान्डबाट २५ हजार दुई सय ७०, दक्षिण कोरियाबाट २३ हजार चार सय ३७ पर्यटक नेपाल भ्रमणमा आएको तथ्याङ्क छ । सन् २०२३ मा पर्यटक आगमनको सङ्ख्या जनबरी ५५,०७४ फेब्रुअरी ७३,२५५ मार्च ९९,४२६ अप्रिल ९८,७७३ मे ७७,७०३ जुन ७२,२५० जुलाई ५७,७२६ अगष्ट ६७,१५३ सेप्टेम्बर ९१,०१२ अक्टोबर १,१७,३०६ नोभेम्बर १,०८,६३० डिसेम्बर बुधबारसम्म ८३,५३६ जम्मा १०,०१,८४४ खेल पर्यटनमा जोड प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले वर्तमान सरकारले एक वर्ष पूरा गरेको अवसरमा हालै देशवासीका नाममा गरेकाे सम्बोधनको क्रममा खेल पर्यटनको विकास गर्न सरकारले कुनै कसर बाँकी नराख्ने प्रतिबद्धता व्यक्त गरेका थिए। गत कात्तिकमा नेपालमै सम्पन्न भएको खेलमा नेपालले संयुक्त अरब इमिरेटस् (युएई)लाई पराजित गर्दै विश्वकपको यात्रा तय गरेसँगै देशमा खेल पर्यटनको ठूलो आधार तयार भएकाले त्यसका लागि पूर्वाधार निर्माणमा जोड दिइएको प्रधानमन्त्री दाहालको भनाइ छ । सरकारले कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालयको क्रिकेट मैदानलाई सार्वजनिक निजी साझेदारी (पिपिपी) मोडलमा विस्तार गरिने तथा मूलपानी, विराटनगर र कैलालीको फाप्ला क्रिकेट मैदानलाई राष्ट्रिय गौरवको आयोजनाका रूपमा निर्माण गर्न लागिएको जनाएको छ । चितवनको गौतमबुद्ध क्रिकेट रङ्गशालालाई पनि राष्ट्रिय गौरवकै आयोजनाका रूपमा तीन तहकै सरकारको समन्वयमा निर्माण गर्ने सरकारको योजना छ । ‘ग्रासरुट’बाटै खेलाडी, खेलकुद र खेल पूर्वाधारको विकास गरी खेल पर्यटनको ठूलो सम्भावना हासिल गर्न सरकारले कुनै कसर नछाड्ने प्रधानमन्त्री दाहालको भनाइ छ । उड्डयन क्षेत्रमा सुधार वर्तमान सरकार गठनको एक वर्षको अवधिमा नागरिक उड्डयनको क्षेत्रमा पनि उल्लेखनीय प्रगति भएको पाइन्छ । नेपाल वायुसेवा निगमको व्यापार विस्तार गरी नाफामा लगिएको र निगमको तिर्न बाँकी दायित्वमध्ये करिब चार अर्ब ऋण चुक्ता गरिएको छ । दुर्गम स्थानमा हवाईसेवाको पहुँच बढाउन नेपाल वायु सेवा निगमबाट थप तीनवटा साना जहाज खरिद प्रक्रिया अगाडि बढेको छभने प्रयोगविहीन भई भूमिस्थ रहेका पाँचवटा चिनियाँ जहाजहरूको लिलाम बिक्रीका लागि बोलपत्र आह्वान गरिएको छ । यस अवधिमै राष्ट्रिय गौरवको आयोजनाका रूपमा रहेको पोखरा क्षेत्रीय अन्तरराष्ट्रिय विमानस्थलको उद्घाटन भएको छ । भरतपुर आन्तरिक विमानस्थलको सुविधा सम्पन्न टर्मिनल भवन निर्माण र विमानस्थल विस्तार कार्यको शिलान्यास भएको छ । गौतमबुद्ध अन्तरराष्ट्रिय विमानस्थलबाट अन्तरराष्ट्रिय उडान सहजीकरण गर्न प्रक्रिया अघि बढाइएको छ । यसैगरी नेपाल वायुसेवा निगमद्वारा गौतम बुद्ध अन्तरराष्ट्रिय विमानस्थलबाट साताको एक दिन काठमाडौं–क्वालालम्पुर–भैरहवा–काठमाडौं नियमित उडान थालनी भएको छभने साताको एक दिन काठमाडौं–इलाम–काठमाडौँ नियमित उडान सञ्चालन भएको छ । नेपाल वायुसेवा निगमबाट गुल्मीको रेसुङ्गा विमानस्थलमा परीक्षण उडान सम्पन्न गरी व्यावसायिक उडानको थालनी भएको छ । तुम्लिङटार तथा सुर्खेत विमानस्थलमा एटिआर–७२ विमानबाट सेवा सुरु गरिएको छ । काठमाडौं–इलाम–काठमाडौं हप्ताको एक दिन नियमित उडान सुरु भएको छ । साथै, जुम्ला, रुकुम, रारा तथा सिमकोट विमानस्थल विस्तार स्तरोन्नतिका लागि जग्गा प्राप्ति प्रक्रिया पनि अगाडि बढेको छ । आन्तरिक र अन्तरराष्ट्रिय अनलाइन टिकेटिङ्ग सेवाको सुरुआत भएको छ । जुगल हिमशृङ्खलामा पर्ने पाँचवटा नयाँ हिमाल आरोहणका लागि खुला गरिएको छ । सूचना प्रविधिको माध्यमबाट होटल दर्ता व्यवस्थापन, पर्वतारोहण अनुमति प्रणाली, नेपाल वायुसेवा निगमको अन्तरराष्ट्रिय र आन्तरिक हवाई टिकट अनलाइनबाट लिन सकिने व्यवस्था र राष्ट्रिय सङ्ग्रहालयमा भर्चुअल टुरको व्यवस्था गरिएको छ । सम्पदा क्षेत्रको प्रवर्द्धन जुगल हिमशृङ्खलामा पर्ने छवटा नयाँ हिमाल आरोहणका लागि खुला गरिएको छ । सो सहित हालसम्म आरोहणका लागि खुला गरिएको हिमालको सङ्ख्या चार सय १९ पुगेको छ । नेपाल र मित्रराष्ट्र चीनबीच सांस्कृतिक सम्बन्धलाई अझै प्रगाढ बनाउन दुवै देशका पुरातात्विक, ऐतिहासिक तथा सांस्कृतिक दस्तावेजहरूलाई नेपाली तथा चिनियाँ भाषामा प्राज्ञिक अनुवादसम्बन्धी कार्य अगाडि बढाइएको छ । कपिलवस्तुको तिलौराकोटलाई विश्व सम्पदा सूचीमा समावेश गर्न गत २०२३ सेप्टेम्बर ३० मा युनेस्कोमा पेस गरिएको प्रोभिजनल कागजातमा प्राप्त सुझावका आधारमा तयार गरिएको नोमिनेसन डोसियर स्वीकृतिका क्रममा रहेको बुझिएको छ । युनेस्कोको समन्वयमा रामग्राम स्तूपको उत्तर पश्चिम भागको उत्खनन कार्य सम्पन्न भई रामग्रामको बृहत्तर विकासका लागि पूर्वाधार निर्माण गर्न गुरुयोजना निर्माण गर्ने तथा सोही अनुसार पूर्वाधार तथा संरक्षणका कार्य अगाडि बढाइएको छ । रासस ।

मानवीय त्रुटिले विमान दुर्घटना भएको निष्कर्ष

काठमाडौं । गत माघ १ गते पोखरामा भएको यती एयरलाइन्सको एटीआर–७२ जहाज दुर्घटना मानवीय कारणले भएको निष्कर्ष निकाल्दै दुर्घटना जाँच आयोगले बिहीबार अन्तिम प्रतिवेदन सरकारलाई बुझाएको छ । पूर्वसचिव नगेन्द्रप्रसाद घिमिरे संयोजकत्वको जाँचबुझ आयोगले ८ महिना ३ दिन लगाएर तयार पारेको प्रतिवेदन बिहीबार संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किरातीलाई हस्तान्तरण गरेको हो । “जहाज अवतरणको क्रममा ककपिटमा रहेका पाइलटले फ्लेप लिभर तान्नुपर्ने थियो तर, कन्डिसन लिभर तानेको पाइयो । यसले गर्दा जहाजस्थिर हुनसकेन”, जहाज दुर्घटनाको कारण बताउँदै आयोगका सदस्यसचिव बुद्धिसागर लामिछानेले भने, “पाइलटका लागि नयाँ विमानस्थल थियो । धावनमार्ग वरिपरी टेरेन्ट पनि थियो । यो पनि दुर्घटनाको कारक थियो । उक्त दुर्घटनामा मानवीय पक्ष बढी जिम्मेवार देखिन्छ ।” एटीआर–७२ हवाईजहाज दुर्घटनाको मुख्य कारण मानवीय कमजोरी देखिएको आयोगका अध्यक्ष नगेन्द्रप्रसाद घिमिरेले जानकारी दिए । उनले भने, “पाइलटले फ्लेप लिभर (जहाजको स्पिडलाई स्लो गर्ने) तान्नुपर्नेमा दुर्भाग्यवस ‘कन्डिसन लिभर’ तानेको देखिन्छ । जसले गर्दा जहाज ‘फिदर कन्डिसन’ मा गएपछि अगाडिको ‘मोसन’ जहाजले नपाएकाले दुर्घनाग्रस्त हुन पुगेको हो । दुर्घटनाको विश्लेषण गर्दा मानवीय त्रुटी बढी देखियो ।” अध्यक्ष घिमिरेका अनुसार जहाज दुर्घटनाको अर्को कारणमा नयाँ विमानस्थल पूर्ण तयारी नभइकन सञ्चालनमा ल्याइनु पनि हो । प्रतिवेदन ग्रहण गर्दै मन्त्री किरातीले प्रतिवेदनमा दिइएका सुझावका विषयमा सञ्चालक, नियामक निकाय र मन्त्रालय तिनै पक्षले कडाइका साथ कार्यान्वयन गर्न आवश्यक निर्देशन दिने विश्वास व्यक्त गरे । आयोगले आगामी दिनमा यस्ता दुर्घटना हुन नदिन वायुसेवा सञ्चालक, नियामक र मन्त्रालयलाई ८ बुँदे सुझाव दिएको छ । विमान दुर्घटना भएकै दिन सरकारले पूर्वसचिव घिमिरेको संयोजकत्वमा पाँच सदस्यीय जाँचबुझ आयोग गठन गरेको थियो । आयोगमा हवाई विज्ञ नेपाली सेनाका अवकाशप्राप्त क्याप्टेन दीपकप्रकाश बाँस्तोला, अवकाशप्राप्त क्याप्टेन सुनिल थापा, जहाज मर्मतसम्भार विषयका इञ्जिनियर एकराजजङ्ग थापा र आयोगको सदस्य सचिवमा संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका सहसचिव बुद्धिसागर लामिछाने थिए । सहसचिव लामिछानेले अहिलेसम्मकै बढी समय लगाएर दुर्घटनाग्रस्त जहाजबारे विस्तृत अध्ययन अनुसन्धान गरिएको दाबी गरे । विभिन्न मुलुकका यात्रु पनि दुर्घटनामा परेकाले अन्य मुलुकको चासो रहेको थियो । जहाजको उपकरण फ्रान्सको सुविधासम्पन्न ल्याबमा परीक्षण गरिएको थियो । दुर्घटना जाँचका सम्बन्धमा सिङ्गापुरमा विज्ञसँग पनि छलफल गरिएको थियो । जहाज प्राविधिक कारणले नभई मानवीय (पाइलट)को त्रुटिका कारण दुर्घटनामा परेको अयोगले निष्कर्ष निकाल्दै जहाजले जम्मा २८ हजार ७३१ घण्टा ३३ मिनेट (दुर्घटनाको समयसम्म) मात्र उडान भरेको पाइएको जनाएको छ । एटीआर फ्रान्सः एभियसन डी ट्रान्सपोर्ट रिजिनल तथा इटालियनः एयरी डी ट्रान्सपोर्ट रिजिनलले उत्पादन गरेको उक्त जहाज ३० हजार १०४ साइकल उडेको आयोगको प्रतिवेदनमा उल्लेख गरेको छ । जहाजको नियमित चेकजाँच, सर्भिसिङको समय सन् २०२३ अप्रिल २४ सम्म रहेकामा समयअगावै प्राविधिक समस्या नरहेको जनाउँदै १४ जनवरी, २०२३ मा जहाज दुर्घटनामा परेको प्रतिवेदनमा उल्लेख गरिएको छ । जहाज उडानका क्रममा दुवै इञ्जिनका प्रोपेलरहरु फेदरमा गएपछि तत्काल गतिशीलता दिन नसक्दा जहाज दुर्घटना परेको अध्ययन समितिको निष्कर्ष छ । प्रतिवेदनमा जनाइए अनुसार बिहानको १०ः५१ बजे काठमाडौँबाट पोखराका लागि उडेको जहाज अवतरण गर्ने क्रममा पोखरा अन्तर्राष्ट्रिय विमानस्थलको मौसम, भिजिविलिटी तथा प्राविधिक पक्ष राम्रो रहेको थियो । “भीएनपीआरमा टेक अफ, चढाइ, क्रूज र अवतरण सामान्य थियो । मौसम अनुकूल थियो । भीएमसी गन्तव्य एयरपोर्टको बाटोमा भीएनपीआर टावरसँगको पहिलो सम्पर्कको समयमा, एयर ट्राफिक कन्ट्रोलर (एटीसी)सँग विमान अवतरणका लागि अनुमति माग गरेकामा रनवे ३० को अनुमति प्रदान गरिएको थियो । तोकिएको धावनमार्गमा नभएर पाइलटले अकस्मात् रनवे परिवर्तन गरेर १२ को अनुमति माग गरेको पाइएको छ”, प्रतिवेदनमा भनिएको छ । रनवे १२ अवतरणका लागि योग्य रहेको एटीसीले सन्देश पठाएको थियो । जहाज ६ हजार ५ सय फिटमाथिबाट एकैपटक ७२१ फिटमा झरेर फेरि माथि उठाउन खोज्दा इञ्जिनको गति स्थिर हुनपुगेपछि जहाज तल झर्नपुगेको देखिएको प्रतिवेदनमा उल्लेख गरिएको छ । उक्त जहाज सेती नदीको खोँचमा खसेको थियो । जहाज भूइँमा बजारिएलगत्तै आगजनी हुँदा जहाजमा सवार ७२ यात्रुकै मृत्यु भएको प्रतिवेदनमा जनाइएको छ । दुघ्रटनाग्रस्ता जहाजमा चालक दलका ४ सहित ७२ जना सवार थिए ।