बेनीमा शान्ति पार्क बनाउने योजना कार्यान्वयन भएन

म्याग्दी । म्याग्दीको सदरमुकाम बेनीमा शान्ति पार्क निर्माण गर्ने योजना कार्यान्वयनमा अलमल र अन्योल सृजना भएको छ । पार्क निर्माण गर्ने ठाउँको टुङ्गो नलाग्दा तीन वर्षअघि बेनी नगरपालिकाले अघि सारेको शान्ति पार्क निर्माण योजनाका लागि बर्सेनि बजेट विनियोजन भए पनि कार्यान्वयन हुन नसकेको हो । म्याग्दी हुँदै मुस्ताङ जाने आउने पर्यटकलाई भुलाउने उद्देश्यले शान्ति पार्क निर्माणका लागि रु १० करोड लागत अनुमान गरिएको विस्तृत परियोजना प्रतिवेदन (डिपिआर) तयार गरेर स्रोतको व्यवस्था भए पनि योजना कार्यान्वयन नहुँदा बजारवासी निराश भएका छन् । पार्क निर्माणका लागि गत आर्थिक वर्ष २०८१/८२ मा बेनी नगरपालिका र गण्डकी प्रदेश सरकारले रु २०–२० लाख बजेट विनियोजन गरेका थिए । यस वर्ष नगरपालिकाले रु २५ लाख बजेट विनियोजन गरेको योजना स्थानको टुङ्गो नलाग्दा हालसम्म कार्यान्वयन हुन नसकेको बेनी नगरकार्यपालिकाको प्रवक्तासमेत रहनुभएका वडा नं ७ का वडाअध्यक्ष रमेश श्रेष्ठले बताए ।  'नगरपालिकाले वीरेन्द्रचोकस्थित रेडक्रस, वन डिभिजनको नर्सरी, आवासभन्दा पछाडिको १० रोपनी जग्गामा पार्क बनाउन प्रस्ताव गरेको थियो', उनले भने, 'बराहपाखो सामुदायिक वनमा पर्ने उक्त क्षेत्रमा पार्क बनाउने कार्ययोजनामा समेटेर योजना कार्यान्वयनको पहल भए पनि वन क्षेत्रमा काम गर्न जोखिम लिन नचाहेकाले समस्या भएको हो ।' हाल प्रस्तावित ठाउँमा पार्क बनाउन नमिल्ने अवस्था भएमा महारानी थानस्थित बराहपाखोको सार्वजनिक जग्गामा निर्माण भएका पूर्वाधारलाई व्यवस्थित गरेर पार्क सञ्चालन गर्नुपर्ने वडाध्यक्ष श्रेष्ठको भनाइ छ । महारानी थानमा पार्कका लागि पोखरी, चौतारी निर्माण, जग्गा व्यवस्थापनलगायतका काम सकिएको छ । बालबच्चा, ज्येष्ठ नागरिकलाई टहलिन तथा घुम्न आउने पाहुनाहरूलाई भुलाउने उद्देश्यले २०६० साल चैत ७ गते बेनी भिडन्तसँग सम्बन्धित सामग्री राखेर शान्ति पार्क बनाउने योजना प्रस्ताव गरिएको थियो । शान्तिपार्कलाई नगरपालिकाले पछिल्लो तीन वर्षयता गौरव र प्राथमिकताप्राप्त योजनाको सूचीमा राख्दै आएको छ । बराहपाखो सामुदायिक वन उपभोक्ता समूहका अध्यक्ष विष्णु गौतमले नगरपालिका र वन डिभिजन कार्यालयले समन्वय गरेर पार्क निर्माणस्थल छनोट गरेमा योजना कार्यान्वयनमा समस्या नरहेको बताए । वन समूहको कार्ययोजनामा समेटिएकाले आफूहरूको तर्फबाट कुनै समस्या नभए पनि नगरपालिकाकै इच्छाशक्ति र सक्रियता आवश्यक रहेको उनले बताए । बेनी नगरपालिकाका प्रमुख सुरत केसीले पार्क निर्माणस्थलको टुङ्गो लगाएर योजना कार्यान्वयनका लागि पहल गरिरहेको बताए । उनका अनुसार शान्ति पार्क निर्माणस्थल टुङ्गो लगाउन बेनी बजार रहेको वडा नं ७ र ८ को आमभेला बेलाएर परामर्श र सल्लाह सुझाव लिने तयारी भएको छ । रासस  

वैशाख १५ देखि काठमाडौंबाट लुम्बिनीसम्म ‘शान्तिका लागि साइकल यात्रा’ हुने

काठमाडौं । नेपालमा शान्तिको सन्देश फैलाउने उद्देश्यसहित ‘टुर डे लुम्बिनीस्पेडल फर पीस २०२६’ आयोजना हुने भएको छ । टुर दी लुम्बिनीका संस्थापक मेघ आलेका अनुसार यही वैशाख १५ देखि १९ गतेसम्म काठमाडौंदेखि लुम्बिनीसम्म साइकल यात्रा हुने भएको हो । यस शान्तिका लागि साइकल यात्रामा नेपाल तथा विदेशका साइकल यात्री, युवा, कर्पोरेट क्षेत्रका प्रतिनिधि तथा सञ्चारकर्मीहरूको सक्रिय सहभागिता रहने जनाइएको छ । शान्ति, सहअस्तित्व र पुनर्निर्माणको सन्देशलाई जनस्तरसम्म पुर्‍याउने लक्ष्यसहित आयोजना हुँदै आएको यो अभियान सन् २०१२ देखि निरन्तर सञ्चालनमा छ । सामाजिक उद्यमी तथा अशोका फेलो मेघ आलेको अवधारणामा सुरु भएको यस अभियानलाई विश्व साइकल यात्री पुष्कर शाहले नेतृत्व गर्दै आएका छन् । गौतम बुद्धको जन्मस्थल लुम्बिनीबाट विश्वभर शान्तिको सन्देश प्रवाह गर्ने उद्देश्यसहित अभियानले नेपाललाई अन्तर्राष्ट्रिय स्तरमा ‘शान्ति केन्द्र’का रूपमा स्थापित गर्ने दीर्घकालीन लक्ष्य लिएको छ । नेपाल भारत र चीनजस्ता दुई ठूला अर्थतन्त्रबीच अवस्थित भएकाले विश्व शान्तिमा महत्वपूर्ण भूमिका खेल्न सक्ने सम्भावना रहेको संस्थापक आलेले जानकारी दिए । यस अभियानमार्फत नेपाललाई शान्ति संवादको केन्द्रका रूपमा प्रवर्द्धन गर्ने प्रयास गरिएको जनाइएको छ । यस वर्षको संस्करण विशेषगरी युवाहरूको सक्रिय सहभागितामा केन्द्रित रहनेछ । डिजिटल युगमा युवाको संलग्नतालाई शारीरिक सहनशीलता र सामाजिक उत्तरदायित्वसँग जोड्दै दिगो, पारदर्शी र शान्तिपूर्ण भविष्यका लागि आवाज उठाउने मञ्चका रूपमा यस अभियानलाई विकास गर्ने लक्ष्य राखिएको जनाइएको छ । यात्राका   विभिन्न चरणहरूमा स्थानीय समुदायको पनि सहभागिता रहने जनाइएको छ। पत्रकार सम्मलेनमा बोल्दै संस्थापक आलेले भने, “विश्वव्यापी रूपमा रूस–युक्रेन युद्ध तथा अमेरिका–इरान तनावजस्ता घटनाले बढाएको अस्थिरताको सन्दर्भमा यस किसिमका शान्ति अभियानहरूको महत्त्व अझ बढेको छ ।” अभियानले भविष्यमा शान्ति क्षेत्रमा योगदान पुर्‍याउने व्यक्तित्वहरूलाई ‘लुम्बिनी शान्ति पुरस्कार’ प्रदान गर्ने योजना पनि अघि सारिएको छ । नेपाल पर्यटन बोर्डका वरिष्ठ अधिकृत रोबिन रेग्मीले यस किसिमका कार्यक्रमले नेपाललाई अन्तर्राष्ट्रिय रुपमा ब्रान्डिङ गर्न थप मद्दत पुग्‍ने विश्‍वास व्यक्त गरेका छन् । उनले यस कार्यक्रममा अन्तर्राष्ट्रिय सहभागीहरुको संख्या बढाउन सकिएको अवस्थामा यो अभियानले थप बलियो हुने र पर्यटन प्रबर्द्धनमा पनि टेवा पुग्‍ने उनले बताएका छन् ।  

पर्यटकका रोजाइमा सिन्धुपाल्चोकको भैरवकुण्ड

चौतारा । सिन्धुपाल्चोकको भोटेकोशी गाउँपालिकामा स्थित भैरवकुण्ड क्षेत्रमा पछिल्लो समय पर्यटकको चाप बढेको छ । कुण्डमा हिन्दू तथा बौद्ध धर्मावलम्बी पूजाआज समेत गर्दछन् ।  यसलाई शेर्पाहरुले आमा छ्यूमेनका रुपमा पूजा गर्दछन् । समुद्री सतहबाट छ हजार ५६७ मिटरको उचाइमा पर्ने फुर्वी घ्याचु भञ्ज्याङको फेदीमा अवस्थित सो कुण्ड समुद्री सतहबाट चार हजार १२४ मिटरको उचाइमा पर्दछ । भोटेकोशी गाउँपालिका अध्यक्ष पासाङनोर्बु शेर्पाका अनुसार  सो ताल करिव ८४ हजार १९३ वर्गमिटरमा फैलिएको छ । तर तालको गहिराइको मापन भने अझैसम्म गरिएको छैन । कुण्डकै पानीले कुण्डभन्दा केही तल पर्ने  १९८ मिटर अग्लो छहरा आकर्षण थपेको छ । पर्यटक यहाँको प्राकृतिक सुन्दरतासँग आकर्षित पर्दछन् । यहाँबाट सम्मुख जुगल हिमशृङ्खला पर्दछ । प्राकृतिक रुपमा अलौकिक मानिने भैरवकुण्डमा जति कठिनसाथ पुगिन्छ प्राकृतिक रसस्वादनले त्यहाँ पुगेपछि त्यो पीडा भुलिन्छ । अरनिको राजमार्गको १०९ किलोमिटरमा पर्ने तातोपानीको लार्चाबाट अप्ठेरो ठाडो उकालो भिरको बाटो हिँडेर डेढदेखि दुई दिनमा पुग्न सकिन्छ ।  विशेषगरी जनैपूर्णिमामा यहाँ धर्मावलम्बीहरुको खचाखच हुने गर्दछ । विसं १९११ मा भोटसँगको युद्धको बेला निर्मित ऐतिहासिक दुगुनागढी पनि यसै क्षेत्रमा रहेको छ । तत्कालीन जङ्गबहादुर राणाको पालामा भोटसँग लडाइँ गर्दा घुयँत्रो मार हान्न बनाइएको दुगुनागढी किल्लाबाट पनि भैरवकुण्डको यात्रा गर्न सकिन्छ ।  भैरवकुण्डमा अरनिको राजमार्गको डाक्लाङ, काङलाङ, लिस्तीको लिस्तीमाई अर्थात् उग्रचण्डी भगवती मन्दिर हुँदै छगाम, बगाम र चकोरमकोर हुँदै पनि पुग्न सकिने स्थानीय वीना रोक्का अधिकारी बताउँछन् । यहाँ भगवान् शिव र पार्वतीको वासस्थान रहेको किवंदन्तीे छ । महादेवको उग्ररुपअर्थात् भैरव सम्हारकर्ताका रुपमा मानिन्छ । भगवान् शिवको क्रिडास्थलका रुपमा भैरवकुण्डलाई लिने गरेको पाइएकाले भैरवकुण्डमा जनैपूर्णिमाका दिनमा ठूलो मेला लाग्ने गरेको हो । भैरवकुण्ड नजिकै अर्को प्रख्यातस्थल देउढुङ्गा पनि रहेको छ । कोदारी सडकको चाकु र हिन्दीबाट ४५ किलोमिटर यात्रा गरेपछि दोलखाको बिगुसँग सिमाना जोडिएको देउढुङ्गा पुगिन्छ । यो वर्ष यी दुई धार्मिकस्थलको हजारौँ भक्तजनले तीर्थयात्रा गरेका छन् । किंवदन्ती विश्वासको आधारमा आन्तरिक पर्यटक भैरवकुण्ड र देउढुङ्गाको धार्मिक यात्रा गर्छन् । ‘जे माग्यो त्यही प्राप्त हुने’ धार्मिक जनविश्वास भएकोले मुलुकभरका तीर्थयात्रु भैरवकुण्ड पुग्छन् । आन्तरिक तीर्थालु भौगोलिक कठिनताको पर्वाह नगरी मेला भर्न त्यहाँ पुग्छन् । आन्तरिक मात्रै होइन, चीन, भारत र पश्चिमा मुलुकका पर्यटकको रोजाइमा यी क्षेत्र रहेका छन् । भूकम्पअघि वार्षिक एक हजार विदेशी पर्यटकले दुगुनागढी किल्ला र भैरवकुण्डको यात्रा गर्दथे । यहाँबाट जिल्लासहित तिब्बतको विभिन्न भूभाग दृश्यावलोकन गर्न पाइने भएकाले पर्यटक लोभिएका स्थानीय बुद्ध श्रेष्ठको भनाइ छ ।  तिब्बतको खासा तथा कुतीसम्मको भूभाग र काठमाडौँको धरहरासमेत स्पष्ट देखिने भैरवकुण्डबाट मनमोहक नेपाल तथा तिब्बतका हिमालहरु देख्न सकिन्छ । भदौदेखि कात्तिक र चैतदेखि जेठसम्म पर्यटक जाने सो स्थानमा युरोपियन, अमेरिकन र जापानी पर्यटक बढी आउने गरेको र सरदर एक हप्तासम्म बस्ने गरेको पनि पाइन्छ । चिसो हावापानीको यस क्षेत्र यार्सागुम्बा, सुनपाती, पाँचऔँले, ठूलोओखती, जटामसी, नीरमसी, मजेठो, चिराइतोलगायतका जडीबुटीको भण्डार हो । त्यसैगरी भैरवकुण्ड बाघ, भालु, चितुवा, ब्वाँसो, बँदेल, थारल, घोरल, हिउँ चितुवालगायतका दुर्लभ वन्यजन्तुको वासस्थान पनि हो । हरेक वर्ष जनैपूर्णिमामा भैरवकुण्ड जाने धर्मावलम्बीको सङ्ख्या बढ्दो छ । यात्राका क्रममा विभिन्न बाधा, अड्चन अनि अभाव छिचोलेर यहाँ पुग्ने गरिन्छ । बीचमा चौँरीका गोठहरुमा बास बस्नुपर्ने हुन्छ । पर्यटकहरुलाई थप सहजताका लागि अब भने बाटामा पानी, तथा बासका लागि पाटीको निर्माण गर्ने योजना ल्याएको भोटेकोशी गाउँपालिका अध्यक्ष शेर्पा बताउँछन् । पदमार्गको व्यवस्थापनका साथै सडकले जोड्ने लक्ष्य गाउँपालिकाको रहेको उनको भनाइ छ ।  पछिल्लो समय आन्तरिक तथा बाह्य पर्यटकको रोजाइमा परेको यो कुण्डलाई थप व्यवस्थितका साथै उचित प्रचारप्रसार गरी सम्बन्धित सरोकारवाला निकायको पहलमा झनै पर्यटक पहिलो रोजाइमा राख्न सके सिन्धुपाल्चोकवासीलाई आर्थिक लाभ हुने मात्रै नभई सिङ्गो जिल्ला विश्वमा चिनिन सहयोग पुग्ने गाउँपालिकाले जनाएको छ । रासस