४ महिनापछि रारा विमानस्थलमा उडान, स्थानीयहरू र पर्यटक उत्साहित

मुगु । मुगुको रारा विमानस्थलमा चार महिनापछि नेपाल एयरलाइन्सले सोमबार उडान भरेको छ । नेपाल सरकारको स्वामित्वमा रहेको नेपाल एयरलाइन्सले यसअघि गत वैशाख महिनासम्म रारा विमानस्थलमा हप्ताको तीन दिन उडान भर्दै आएको थियो । नियमित उडान हुँदा मुगालीहरुले राहत महसुस गरेका थिए । तर चार महिनायता उडान नहुँदा यो विमानस्थल भएर नेपालकै ठूलो ताल राराताल घुम्न आउने पर्यटक र अन्य यात्रुले हवाई यात्राका लागि सास्ती भोग्दै आएका थिए । आजदेखि नेपाल एयरलाइन्सले रारा विमानस्थलमा पुनः उडान सुरु भएको नेपाल एयरलाइन्स रारा विमानस्थल कक्षका प्रमुख नवीनकुमार विष्टले जानकारी दिए ।    नेपालगञ्ज उपचारका लागि नेपाल एयरलाइन्सबाट यात्रु सुमित्रा रावल भन्छिन्, 'नियमित उडान गरिदिए दुर्गमका जनताले राहत पाउँथ्यौँ ।' विविध कारणले नियमित उडान नभए पनि अब नियमित उडानका लागि आफ्नो तर्फबाट पहल गर्ने प्रमुख विष्ट बताउँछन् । रारा विमानस्थलमा समिट एयर, तारा एयर, सीता एयर र नेपाल एयरलाइन्सले उडान भर्दै आएका छन् ।

दशैं मनाउन राजधानीबाट पाँच दिनमा एक लाख ८९ हजार यात्रु बाहिरिए

काठमाडौं । मुलुकको संघीय राजधानी काठमाडौंबाट चाडपर्व मनाउनका लागि पछिल्लो पाँच दिनमा एक लाख ८९ हजार २१८ यात्रु बाहिरिएका छन् । काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयका अनुसार असोज १ गतेदेखि ५ गतेसम्म २९ हजार ३६० सार्वजनिक यातायातमा एक लाख ८९ हजार २१८ यात्रु उपत्यकाबाट बाहिरिएका हुन् । कार्यालयका प्रहरी नायब उपरीक्षक लोकेन्द्रसिंह गुरुले देशका विभिन्न क्षेत्रबाट काठमाडौं उपत्यकामा अध्ययन, व्यापार व्यवसाय, रोजगारीको लागि आएकाहरू दसैँ मनाउन घर जान थालेको जानकारी दिए । उनका अनुसार थानकोट, साँगा, दक्षिणकाली र बालाजु नाकाबाट ती यात्रुहरू गन्तव्यस्थलमा गएका हुन् । कार्यालयका अनुसार असोज १ गते ३४ हजार ५५६, असोज २  गते ३६ हजार १००, असोज ३ गते ४० हजार ५५५, असोज ४ गते ३४ हजार ८७९ र असोज ५ गते ४३ हजार १२४ यात्रु उपत्यकाबाट बाहिरिएका हुन् । यस वर्ष सडकको दूरावस्थाका कारण यात्रुहरूलाई आवतजावतमा समस्या परेको छ । नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघका महासचिव डेकनाथ गौतमले बर्सातका कारण राजमार्गमा पहिरो जाँदा सवारीसाधनलाई आवतजावतमा समस्या परेको बताए । ‘मुग्लिङ–नारायणघाट सडकखण्डमा पहिरो जाँदा घन्टौँसम्म बस बाटोमा रोकिएका छन्, जसका कारण समयमै काठमाडौंमा बस नआउँदा यात्रुलाई गन्तव्यस्थलसम्म पठाउन समस्या भएको छ’, महासचिव गौतमले भने । अवरुद्ध राजमार्ग समयमै सञ्चालन गर्न उहाँले सरकारलाई आग्रह गरे । पछिल्ला दिनमा काठमाडौं गोङ्गबुस्थित राष्ट्रिय बसपार्क नयाँबसपार्कमा समेत दसैँमा घर जाने यात्रुको चाप बढ्न थालेको छ । नयाँबसपार्क सञ्चालन गरेको लोत्से बहुउद्देश्यीय प्रालिका मानव संशाधन प्रमुख पङ्कज मल्लले अन्य समयको तुलनामा नयाँ बसपार्कबाट घर जाने यात्रुको सङ्ख्या बढेको छ । उनका अनुसार अन्य समय चार पाँच हजार हाराहारीमा यात्रु नयाँबसपार्कबाट बाहिरिने गरेकोमा अहिले उक्त सङ्ख्या बढेर दैनिक १५ हजारभन्दा बढी पुगेको छ । रासस

१ अर्ब ८५ करोड लगानीमा एकै ठाउँ होटल र सपिङ स्टोर, लक्ष्मी सनराइज बैंकको सहकार्य

चितवन । चितवनमा होटल ‘लर्ड्स’ सिबिसी प्लाजा र सपिङ स्टोर ‘सेल्सबेरी’ एकसाथ सञ्चालनमा आएका छन् । भरतपुर महानगरपालिका–१०, विमानस्थल अगाडि एउटै भवनबाट होटल र सपिङ स्टोर सञ्चालनमा आएका हुन् । चितवन बिजनेस कम्प्लेक्स होटल प्रालि (सिबिसी) र चितवन बिजनेसन मार्टले सञ्चालन गरेको सेल्सबेरीले आज पत्रकार सम्मेलनको आयोजना गरी दुवै सेवा एकसाथ सञ्चालनमा आएको जनाएको छ । चितवन बिजनेस कम्प्लेक्स होटल प्रालि (सिबिसी) का कार्यकारी अध्यक्ष दिनुप बरालले भवन र होटलमा गरी कुल १ अर्ब ६० करोड र सपिङ स्टोर ‘सेल्सबेरी’मा २५ करोड लगानी रहेको बताए । उनका अनुसार दुई तला अन्डरग्राउन्डसहित ११ तल रहेको उक्त कम्प्लेक्समा अन्डरग्राउन्ड दुई तलामा पार्किङ, तीन तलामा सेल्सबेरी, छवटा तलामा होटल सञ्चालन गरिएको बरालले जानकारी दिए । अन्तरराष्ट्रिय रूपमा ख्यातिप्राप्त अमेरिका, भारत, नेपाललगायत विभिन्न देशमा चेन होटल सञ्चालन गरेको लर्ड्स हस्पिटालिटीसँगको सहकार्यमा होटल सञ्चालनमा ल्याइएको बरालले बताए । ‘होटलमा ५८ वटा कोठा रहेका छन् । तीमध्ये प्रेसिडेन्टियल एक, स्विट तीन, सुपर डिलक्स १०, प्रिमियम १५ र बाँकी स्ट्यान्डर्ड कोठा रहेका छन्,’ उनले भने । होटल शुभारम्भका अवसरमा  सन् २०२५ भरि २५ प्रतिशतसम्म छुटको व्यवस्था गरिएको उनको भनाइ छ । होटलमा ५०० क्षमताको सभा कक्ष, १०० क्षमताको कन्फ्रेन्स हल, ३० जना क्षमताका तीनवटा बैठक कक्ष रहेको भन्दै कार्यकारी अध्यक्ष बरालले भने, ‘रेष्टुरेन्टमा बाहिर र भित्र गरी १२५ जना एकै पटक बसेर सेवा लिन सक्ने क्षमता रहेको छ ।’ भवनको माथिल्लो तलामा स्वीमिङ पुल छिट्टै सञ्चालनमा आउने गरी तयारी गरिएको उनले जानकारी दिए । कम्प्लेक्सको तीनवटा तलामा सेल्सबेरीको ३८औं शाखा सञ्चालनमा आएको भन्दै उनले भने, ‘ग्रोसरी, हाउसवायर, इलेक्ट्रोनिक्स, कस्मेटिक्स, मदिरा (लिक्वायर) लगायत घरायसी सम्पूर्ण सामग्री सेल्सबेरीमा रहेका छन् ।’ कपडा, फर्निचरलगायतका सामग्री निकट भविष्यमा उपलब्ध हुने उनको भनाइ थियो । भवनको अन्डरग्राउन्ड दुई तलामा पार्किङको व्यवस्था गरिएको भन्दै उनले जहाँ चारपाङ्ग्रे (कार) ८० वटा र दुईपाङ्ग्रे (मोटरसाइकल स्कुटर) २०० वटा पार्किङका लागि सहज व्यवस्था रहेको बताए । यहाँका स्थानीय १८ जना व्यवसायीको लगानी रहेको यो व्यवसायमा लक्ष्मी सनराइज बैंकसँग सहकार्य गरिएको छ । रासस