काठमाडौं । सन् २०२६ को वसन्त ऋतुमा विश्वको सर्वोच्च शिखर सगरमाथासहित विभिन्न हिमाल आरोहण गर्ने काम मैझारो (सम्पन्न) भएको छ । सगरमाथासहित विभिन्न हिमाल आरोहणका लागि यस वर्ष १ हजार १९५ स्वदेशी तथा विदेशी आरोहीले अनुमति लिएका थिए ।
पर्यटन विभागले ६ हजार ५०० मिटरभन्दा बढी उचाइ भएका हिमाल आरोहणका लागि आरोहीलाई अनुमति प्रदान गर्दै आइरहेको छ । त्यसभन्दा सानो हिमाललाई नेपाल पर्वतारोहण सङ्घ (एनएमए)ले अनुमति दिँदै आएको छ ।
यस वर्ष आरोहणका लागि अनुमति लिनेमा सबैभन्दा धेरै चीनका १५९, अमेरिकाका १५२, भारतका १०१, जर्मनीका ७५, बेलायतका ७४, रसीयाका ७०, नेपालका ४४, क्यानडाका ४१, पोल्याण्डका ३२, फ्रान्सका २७ जना रहेका छन् ।
पर्यटन बोर्डका सूचना अधिकारी हिमाल गौतमले यस वर्ष ३१ वटा हिमाल चढ्नका लागि १ हजार १९५ आरोहीले अनुमति लिएकामा सगरमाथा आरोहण अनुमति लिने ४९५ रहेको जानकारी दिए । सगरमाथा आरोहण अनुमति लिनेमा ५६ देशका ३९० पुरुष र १०५ महिला रहेका थिए । अनुमति लिएका आरोहीबाहेक आरोहीका सहयोगी तथा ‘गाइड’ गरी करिब १ हजारभन्दा बढीले सगरमाथाको सफल आरोहण गरेको उनले बताए ।
यस वर्ष सगरमाथामा सबैभन्दा धेरै १०९ जना छिमेकी मुलुक चीनका आरोही पुगेका छन् । यसबाहेक अमेरिकाका ७७, भारतका ६१, बेलायतका ३२, रसीयाका १८, अष्ट्रेलीयाका १५, जापानका १४, क्यानडाका १२, नेपालका १२, आयरल्यान्डका ११ आरोही पुगेका छन् ।
यस वर्ष सगरमाथाको चुचुरोमा ३२औँ पटक पुगेर कामीरिता शेर्पाले विश्व कीर्तिमान कायम गरेका छन् । सोलुखुम्बुका शेर्पा गत जेठ ३ गते सगरमाथा चुचुरोमा पुगेर आफ्नो रेकर्ड ताेडेका हुन् । यस्तै, महिला आरोहीमा सङ्खुवासभा मकालुकी लाक्पा शेर्पाले ११ पटक सगरमाथा आरोहण गरी विश्व कीर्तिमान कायम गरेकी छिन् । उनले पनि आफ्नै रेकर्ड तोडेकी हुन् ।
सरकारले सगरमाथा आरोहण अनुमतिबाट १ अर्ब ८ करोड १० लाख ७२५ रुपैयाँ राजस्व सङ्कलन गरेको छ । यस्तै, लोत्से हिमालबाट ६ करोड ६८ लाख ७१ हजार ९९० रुपैयाँ, मकालु पहिलोबाट ३ करोड १७ लाख ८५ हजार ८०० रुपैयाँ, आमादब्लमबाट १ करोड ६६ लाख ९ हजार २०० रुपैयाँ, कञ्चनजङ्गाबाट १ करोड ६५ लाख ४० हजार ५०० रुपैयाँ, अन्नपूर्ण पहिलोबाट १ करोड २० लाख ४९ हजार १७५ रुपैयाँ राजस्व सङ्कलन भएको छ ।
यो वर्षको वसन्त ऋतुमा नेपालका विभिन्न हिमाल आरोहणको अनुमति दिएबापत सरकारले १ अर्ब २६ करोड ४७ लाख ४१ हजार ३०६ रुपैयाँ राजस्व सङ्कलन गरेको छ ।