धवलागिरी गाउँपालिकाको पर्यटकीय गन्तव्य दोभान सडक सञ्जालमा जोडियो

म्याग्दी । यहाँको धवलागिरी गाउँपालिका–४ स्थित पर्यटकीयस्थल दोभान सडक सञ्जालमा जोडिएको छ । म्याग्दी हुँदै मुस्ताङ र धौलागिरि आरोहण गर्न जाने पर्यटकहरूले प्रयोग गर्ने धौलागिरि चक्रीय पदमार्गमा समेटिएको दोभानसम्म गाडी चल्न थालेपछि पर्यटक र स्थानीयवासीलाई सहज भएको छ । यो स्थान समुन्द्री सतहदेखि तीन हजार मिटर उचाइमा रहेको छ ।  यहाँ ६५ मेगावाट क्षमताको म्याग्दी खोला जलविद्युत् आयोजनाले धौलागिरि चक्रीय पदमार्गको अन्तिम मानवबस्ती बगरदेखि दोभानस्थित बाँध निर्माणस्थलसम्म नौ किलोमिटर सडकको मार्ग खोलेपछि आवतजावत र ढुवानीमा सहज भएको व्यवसायी सोम पुनले बताए ।  'यसअघि बगरदेखि दोभान पुग्न पूरै दिन भीर, जङ्गल र खोल्साको बाटो हिँड्नुपर्ने थियो', उनले भने, 'हाल यहाँ जिप, मोटरसाइकल, ट्याक्टर र ट्रक चल्न थालेपछि ढुवानी र आवतजावतमा सहज भएको छ ।'  सडकको मार्ग खोलेपछि अब बेनीदेखि पाँच घण्टामा दोभान पुग्न सकिने भएको छ । विदेशी पर्यटकले पछिल्ला दिनमा मार्फादेखि आधार शिविर जाने पदमार्ग र हेलिकप्टर प्रयोग गर्न थालेपछि दोभानमा चहलपहल घटेको थियो । यातायात सुविधा पुगेपछि यहाँ आन्तरिक पर्यटकहरूको सङ्ख्या बढ्न थालेको व्यवसायी लक्ष्मण घर्तीले बताए ।  धौलागिरि पहिलो र चौथो हिमालको फेदीमा रहेको समथर फाँटमा अवस्थित दोभान शान्त वातावरण र वनजङ्गलका साथै कुनाबन तालको अवलोकन, च्याउ र टुसालगायत परिकारका लागि प्रसिद्ध छ ।  ‘हाइड्रो भिलेज’ प्रवर्द्धक रहेको म्याग्दी खोला जलविद्युत् आयोजनाले गत पुस महिनादेखि बगरबाट डोजर र विस्फोटक पदार्थ प्रयोग गरेर बाँधसम्म पहुँचमार्ग निर्माण थालेको थियो । आयोजना प्रमुख उत्तम पौडेलले बगर–तातोपानी खण्डको भीरमा मार्ग खुलाउने काम भइरहेको र म्याग्दी नदीको किनारै किनार ‘डाइभर्सन’ बनाएर यातायात सञ्चालनको व्यवस्था मिलाएको बताए । यहाँ बर्खाअघि नै करिब एक किलोमिटर दूरीमा रहेको भीर छिचोलेर सडकमार्ग खुलाउन काम सुरु भएको उनले जानकारी दिए । रासस  

मस्कोको एक्लो नेपाली रेष्टुरेन्ट, जहाँ मःमले जोड्छ नेपालीको मन

कमलकुमार बस्नेत मस्को । सन् २०२६, अप्रिलको मध्यतिर । राजधानी मस्कोमा घाम र छाँयाको लुकामारी चलिरहेको थियो । चिसो हावा कहिले मन्द त कहिले उडाउला जस्तो गरी चल्थ्यो ।      रुसी नागरिकका अनुसार यो मस्कोको ‘समर सिजन’ थियो । उनीहरु यो त हाम्रा लागि सबैभन्दा राम्रो मौसम हो, अन्य समयमा यहाँ घुँडासम्म हिँउ पर्नु सामान्य हो भन्दै थिए । यही चिसो मौसममा रिम्साय मेट्रो स्टेसन नजिकैको नेपाली रेष्टुरेन्ट ‘करि हाउस’मा नेपालीहरुको जमघट बाक्लो हुँदै थियो । ‘करी हाउस’ मस्कोमा अहिले सञ्चालन भइरहेको एक मात्र नेपाली रेष्टुरेन्ट हो । नेपाली जमघट हुने भएकाले यहाँ सबै किसिमका नेपाली खाना पाइन्छन । नेपाली मःमः यहाँको विशेष बनेको छ । मःमःका पारखी नेपाली मात्रै होइन, रुसी नागरिकहरु पनि बनेका रहेछन् ।      'नेपाली परिकार पाउने इन्डियन रेष्टुरेन्ट पनि होलान् तर नेपालीले सञ्चालन गरेको र नेपाली परिकार पाउने यो एउटा मात्रै रेष्टुरेन्ट हो, अहिले त मःमः पाउने पनि मस्कोको यो एक्लो रेष्टुरेन्ट हो', सञ्चालक डिल्ली खरेल ‘सुमन’ले भने ।      त्यसो त, यहाँ मःमःसँगै खसीको भुटन पनि उत्तिकै मन पराइएको छ । नेपाली खाना (दाल, भात, तरकारी र अचार) पनि रुसी नागरिकले खुबै मन पराएका छन् । तर चिसो मौसममा स्टिम र झोल मःमःको स्वाद भने बेग्लै छ । रेष्टुरेन्टमा सबै प्रकारका नेपाली खानाका परिकार पनि पाइन्छन् ।      सञ्चालक खरेलका अनुसार यसअघि आफूले अर्को ठाउँमा रेष्टुरेन्ट सञ्चालन गरेका थिए । तर त्यहाँ आगलागी भएपछि झण्डै दुई करोड रुपैयाँ डुब्यो । झण्डै ३० वर्ष मस्कोमा बिताएका खरेलले केही महिना अघि मात्रै यो रेष्टुरेन्ट सुरु गरेका हुन् । जुन अहिले नेपालीका लागि भेटघाट गर्ने चौतारी बनेको छ ।         करि हाउसमा नेपाली मःमःको स्वाद लिएपछि माल्दिभ्सका पत्रकार नाजिम हसनले आफूले मस्को आएदेखि सबैभन्दा मीठो परिकार खाएको बताए । नेपाली शैलीका ‘स्टिम’ र ‘झोल’ दुवै प्रकारका मःमः आफूलाई निकै मन परेको उनको भनाइ थियो । उनी चार साता लामो फेलोसिप कार्यक्रमका लागि मस्को आएका हुन् ।   हसनसँगै मस्को आएका पत्रकारहरु श्रीलङ्काका आसन्का निलगराथा, भारतकी अर्पिता चौधरी र सौम्या शुक्ला तथा भुटानकी दोर्जी चोदेनले पनि मःमःको स्वाद निकै मीठो भएको प्रतिक्रिया दिए । करि हाउस नेपाली रेष्टुरेन्ट मात्रै होइन, मस्कोमा रहेका नेपालीहरुको चौतारी हो भन्दा फरक पर्दैन । करि हाउसको अगाडिको भाग पाहुनाहरुका लागि छु¥याइएको छ भने भान्छासँगै जोडिएको पछाडिको सानो हल नेपालीका लागि छुट्याइएको छ । यही हलमा हरेक दिनजसो नेपाली नागरिक जम्मा हुन्छन् ।      यही सानो कोठामा गैरआवासीय नेपालीका समस्यादेखि विद्यार्थी र व्यवसायीका समस्याबारे मन्थन हुन्छन् । एउटा टेबलमा एनआरएनसम्बन्धी छलफल छलिरहँदा अर्को टेबलमा थकान मेट्दै गरेका नेपालीहरु भेटिए । मस्कोमा पनि नेपाली मःमः जस्तै पेलमेनी (डम्पिलङ) पाइन्छ । तर यो मःमः जस्तै देखिए पनि स्वाद भने निकै फरक हुन्छ । एकपटक मःमः खाएपछि दोहोरिएर आउने रुसी नागरिक धेरै भएको सञ्चालक खरेलले बताए ।       गैरआवासीय नेपाली सङ्घ, रसियाका अध्यक्ष सिताराम कट्टेल ‘मिलन’ले आफूहरुका लागि यो पायक पर्ने ठाउँ भएको बताए । उपाध्यक्ष सङ्ज्ञान कार्कीलगायतको टोली नयाँ वर्ष, २०८३ को अवसरमा सांस्कृतिक कार्यक्रमको तयारीका लागि छलफलमा व्यस्त थियो ।          'कोरोना महामारीपछि नयाँ वर्षमा हुने सांस्कृतिक कार्यक्रम आयोजना हुन सकेको थिएन, तर यसपटक हामीले यसलाई पुनः निरन्तरता दिने जमर्को गरेका छौँ, यो विदेशमा नेपाली कला र संस्कृति संरक्षण गर्ने एउटा अवसर हो', एनआरएनए, रसियाका अध्यक्ष कट्टेलले सुनाए ।      उक्त हलमा रुसी सेनामा २२ महिना काम गरेर अवकाश पाएका एक जना भेटिए । सत्र वर्ष भारतीय सेनामा काम गरेपछि अवकाश भएर उनी दुबई पुगेका हुन् । त्यहाँबाट मस्को पुगेर उनी रुसी सेनामा भर्ना भएका हुन् । उनका अनुसार रुसी सेनाबाट अवका पाएकाहरु त्यहाँ करिब ३५ जना रहेछन् ।      'हामीहरु यहाँ रमाइलो गर्न आउँछौँ, नेपाली मःमः, भुटनदेखि जे भन्यो त्यही पाइन्छ । त्यसैले यो ठाउँ हामी सबैको जमघटको थलो बनेको छ', उनले भने । उनले आफू करि हाउसमा आउँदा नेपाल आए जस्तो लाग्छ भने । छेवैमा रहेको मादल देखाउँदै उनले भने, 'कहिलेकाँही यही मादलको तालमा गाउँदै नाच्दै रात बित्छ ।' यहाँका नेपालीहरुको एउटा गुनासो छ, कमाएको पैसा नेपाल पठाउन पाइएन । केही वर्षअघिसम्म यो समस्या थिएन, तर अहिले विभिन्न कारणले यहाँ कमाएको पैसा नेपाल पठाउने अवस्था छैन । रुस र युक्रेनबीचको युद्धका कारण पश्चिमा देशहरुले लगाएको प्रतिबन्धका कारण समस्या भएको हो । विशेष गरी सन् २०२२ यता रुसी बैंकहरुले विश्वव्यापी भुक्तानी प्रणाली ‘स्वीफ्ट’मार्फत कारोबार गर्न नपाउने भएपछि समस्या सृजना भएको हो ।      रुसी सरकारका उप–परराष्ट्रमन्त्री एन्ड्रे रुडेन्कोले रासससँग कुरा गर्ने क्रममा आफूलाई उक्त समस्याबारे जानकारी भए पनि तत्काल समस्या समाधान गर्न नसकेको बताए ।      'पछिल्ला केही वर्षहरूमा विभिन्न प्रतिबन्धहरूको कारण स्थितिले झनै गम्भीर रूप लिएको छ, विशेष गरी हाम्रो बैंकिङ प्रणालीमा समस्या भएका कारण रूसबाट नेपालमा पैसा पठाउनु पहिलेको जस्तो सजिलो छैन', उनले भने, 'तर जहाँ इच्छा हुन्छ, त्यहाँ उपाय पनि हुन्छ ।'      मन्त्री रुडेन्कोले उदाहरणका लागि, भारत, चीन र भियतनाम जस्ता देशहरूसँग सहकार्यमा पैसा पठाउन केही छिटो तथा प्रभावकारी तरिका हुनसक्ने बताए । 'उदाहरणका लागि भारतमा रुसको सबैभन्दा ठूला बैङ्कहरू मध्ये एक, स्बेरबैङ्कको शाखा छ जसले प्रभावकारी रूपमा काम गरिरहेको छ, त्यो पनि भविष्यमा विकल्प हुनसक्छ ।'      करि हाउसका सञ्चालक खरेलका अनुसार करि हाउस आउने अधिकांशको समस्या पैसा पठाउन नसक्नु हो । यद्यपि भविष्यमा यो समस्या छिट्टै समाधान हुनेमा आफूहरु आशावादी भएको उनले बताए । रासस    

दिगोपन र संस्कृतिसँग जोडिँदै काठमाडौं मेरियटको सात वर्ष

काठमाडौं । काठमाडौं मेरियट होटलले अप्रिल २८, २०२६ मा सातौं वार्षिकोत्सव मनाएको छ । नेपाललाई विश्व आतिथ्य (हस्पिटालिटी) क्षेत्रमा स्थापित गर्ने लक्ष्यसहित सुरु भएको होटलको यात्रा आज मानिस, साझेदारी र उद्देश्यमा आधारित प्रेरणादायी कथामा परिणत भएको बताइएको छ । स्थापनादेखि नै होटलले केवल व्यवसायिक गतिविधिमा सीमित नभई नेपाली संस्कृति, आत्मीयता र स्थानीय विशेषतालाई आफ्ना सेवामा समेट्दै आएको जनाएको छ । होटलका सञ्चालक गौरव अग्रवालले सुरुवाती दिन सम्झँदै नेपालले विश्वस्तरको आतिथ्य क्षेत्रमा स्थान पाउन सक्छ भन्ने विश्वासकै आधारमा होटल स्थापना गरिएको बताए । 'हामी केवल भवन निर्माण गरिरहेका थिएनौं, विश्वास र उच्चस्तरीय मापदण्ड निर्माण गरिरहेका थियौं,' उनले भने । महाप्रबन्धक शंकुष महाजनका अनुसार सात वर्षपछि लक्जरीसँगै जिम्मेवारी पनि थपिएको छ। होटल एलईईडी गोल्ड सर्टिफाइड भएको उल्लेख गर्दै उनले दिगोपन र ऊर्जा दक्षतामा आफूहरू प्रतिबद्ध रहेको बताए। वार्षिकोत्सव समारोहमा विशिष्ट अतिथि, ग्राहक, ट्राभल एजेन्ट तथा सरोकारवालाको उल्लेख्य उपस्थिति रहेको थियो । कार्यक्रममा प्रमुख अतिथिका रूपमा मिंग्मा डेभिड शेर्पा सहभागी भएका थिए, जो गिनिज वर्ल्ड रेकर्डधारी तथा ‘पिओलेट डि’ओर एशिया’ सम्मान प्राप्त गर्ने पहिलो नेपाली हुन् । कार्यक्रममा दिगोपनाको सन्देश दिन पाहुनालाई गमलासहितको बिरुवा उपहार दिइएको थियो। साथै, तीन पटक राष्ट्रिय पुरस्कार प्राप्त कलाकार कृष्ण लामाका कलाकृतिहरू प्रदर्शन गरिएका थिए, जसको बिक्रीबाट प्राप्त रकमको एक हिस्सा प्रिजनर्स असिस्टेन्स नेपालाई प्रदान गरिने जनाइएको छ । संस्थाकी अध्यक्ष सुवानी आले मगरको उपस्थिति पनि कार्यक्रममा रहेको थियो । होटलले सन् २०१९ देखि मेरियट इन्टरनेशनलको विश्वव्यापी अभियानमा सहभागिता जनाउँदै आएको छ । सन् २०२३ सम्म आइपुग्दा होटलले नेपालको पर्यटन तथा आतिथ्य क्षेत्रमा महत्वपूर्ण योगदान दिँदै अन्तर्राष्ट्रिय ब्रान्डलाई स्थानीय सन्दर्भमा सफलतापूर्वक रूपान्तरण गरेको जनाएको छ ।