रिलायन्स फाइनान्सका ग्राहक तथा कर्मचारीलाई स्काइवाक टावरमा छुट
काठमाडौं । रिलायन्स फाइनान्सका ग्राहक तथा कर्मचारीले वन्डर्स नेपालको स्वामित्वमा रहेको स्काइवाक टावरको टिकटमा १० प्रतिशत छुट पाउने भएका छन् । सो सम्बन्धमा रिलायन्स फाइनान्स र वन्डर्स नेपाल प्रा.लि बीच द्विपक्षीय सम्झौता भएको हो । रिलायन्स फाइनान्सले डिजिटल लेनदेनहरूलाई प्रोत्साहन गर्ने र त्यस्ता साझेदारीहरू मार्फत ग्राहकहरूको फाइदा बढाउने लक्ष्य राखेको छ । रिलायन्स फाइनान्स डिजिटल बैंकिङ च्यानलहरू विस्तार गर्न प्रतिबद्ध छ र ग्राहकहरूलाई डिजिटल भुक्तानी विधिहरू प्रयोग गर्न प्रोत्साहित गर्दछ । डिजिटल लेनदेनका लागि थप विवरणहरू फाइनान्सको वेबसाइटमा हेर्न सकिने संस्थाले जानकारी गराएको छ । हाल फाइनान्सले आफ्ना मुख्य कार्यालय, कमलादी काठमाडौंसहित अन्य २१ वटा शाखा कार्यालय मार्फत् आफ्ना ग्राहकहरुलाई सहज तथा सर्व सुलभ तरिकाले विभिन्न शीर्षकहरुमा कर्जा प्रदान गरिरहेको छ । साथै, संस्थाले विभिन्न निक्षेप योजना लागू गरि आकर्षक व्याज प्रदान गर्दै निक्षेप संकलन गर्दै आएको छ ।
लुम्बिनी सम्मेलनको शान्ति सन्देश उपप्रधानमन्त्री श्रेष्ठलाई हस्तान्तरण
काठमाडौं । ‘समृद्धिका लागि विश्व शान्ति’ भन्ने नारासहित लुम्बिनीमा आयोजना भएको लुम्बिनी सम्मेलनले पारित गरेको शान्ति सन्देश आइतबार उपप्रधान तथा विदेशमन्त्री नारायणकाजी श्रेष्ठलाई हस्तान्तरण गरिएको छ । गत ९ र १० चैतमा लुम्बिनीमा आयोजना भएको सम्मेलनले पारित गरेको सन्देशमा उपप्रधानमन्त्री श्रेष्ठ, परराष्ट सचिव सेवा लम्साल लगायत नेपालका कार्यरत सवै अवैतनिक वाणिज्यदुतहरुले हस्ताक्षर गरेका हुन् । लुम्बिनी शान्ति सन्देशको क्यानभासलाई अवैतनिक वाणिज्युदुतको संस्था अनररी कन्सुलर कर्पस नेपाल (एचसीसीएन)का अध्यक्ष विष्णु अग्रवालले उपप्रधानमन्त्रीलाई हस्तान्तरण गरेका हुन् । एचसीसीएन नेतृत्व तथा परराष्ट्र मन्त्रालयका समन्वयमा आयोजित लुम्बिनी सम्मेलनले अन्तराष्ट्रिय शान्ति र समृद्धिका लागि विश्व समुदायलाई आव्हान गरेकोछ । मानविय शान्ति, विकास तथा सामुहिकताको लागि शान्ति अपरिहार्य रहेको सम्मेलनको ठहर छ । हस्तान्तरण समारोहमा उपप्रधानमन्त्री श्रेष्ठले नेपालको हित प्रवद्र्धन गर्ने खालका कार्यक्रमको आयोजना गर्न एचसीसीएनलाई आग्रह गरे । उनले सम्मेललनले विश्व शान्ति, नेपालमा लगानी प्रवद्र्धन तथा पर्यटन विकासमा महत्वपुर्ण भूमिका खेलेको बताए । उक्त कार्यक्रममा बोल्दै एचसीसीएनका डिन विष्णु अग्रवालले विश्व शान्तिको सन्देश दिन सम्मेलन सफल भएको बताए । उनले सहभागी कुटनीतिक प्रतिनिधिले सम्मेलन आयोजनाको समय र सन्देश दुवै सान्दर्भिक रहेको बताएको चर्चा गरे । लुम्बिनी कन्क्लेभको अन्तमा जारी गरिएको सो सन्देशमा विश्वभाइचारा, सदभाव र समृद्धिका लागि लुम्बिनीको विशेष महत्व रहेको उल्लेख गरिएको छ । विद्यमान विश्वमा रहेको अशान्ती, अन्यौल तथा द्वन्द्वलाई अन्त गर्न विश्व समुदायले आफ्नो प्रयासलाई सशक्त पार्न सम्मेलनले आव्हान गरेको छ । बुद्धको जन्मस्थल लुम्बिनीको प्रचारप्रसार, समृद्धिका लागि विश्व शान्तिको आवश्यकता, पर्यटन प्रवद्र्धन र नेपालमा विदेशी लगानी अभिवृद्धिमा सम्मेलनले महत्वपुर्ण योगदान गर्ने विश्वास एचसीसीएनले लिएको छ । सम्मेलनमा ग्रिस, साइप्रस, आयरल्यान्ड, स्पेन, लात्भिया, कोस्टारिका, मरिसस, इन्डोनेसिया, मंगोलिया, सर्बिया, अस्ट्रिया, बुल्गेरिया र इस्टोनियाका साथै चेक रिपब्लिक, तान्जानिया, स्लोभेनिया, पोल्यान्ड र डोमिनिकन रिपब्लिक रोमानिया लगायत १९ वटा मुलुकका गैरआवासीय राजदूत सहभागी थिए । सम्मेलनमा सहभागी कैयन देशका कुटनीतिक प्रतिनिधीहरुले नेपाल पहिलो पटक भ्रमण गरेका थिए । यसैगरी, उक्त सम्मेलनमा नेपालमा कार्यरत ४५ देशका अवैतनिक वाणिज्यदुतहरु, परराष्ट्र मन्त्रालय, लगानी बोर्ड, नेपाल पर्यटनको उच्च अधिकारी लगायतका उपस्थिति थियो । सम्मेलनका क्रममा लगानी बोर्ड र नेपाल पर्यटन बोर्डको सहकार्यमा भएको विजनेस सेसनमा सहभागीलाई नेपालमा लगानी तथा पर्यटनका अवसर तथा छिटै आयोजना हुन लागेको नेपाल लगानी सम्मेलनका बारेमा जानकारी गराइएको थियो । बुद्ध जन्मस्थल लुम्बिनीको प्रचारप्रसार, समृद्धिका लागि विश्व शान्तिको आवश्यकता, पर्यटन प्रवद्र्धन र नेपालमा विदेशी लगानी अभिवृद्धिमा सम्मेलनले महत्वपुर्ण योगदान गर्ने विश्वास गरिएकोछ । लुम्बिनी सम्मेलनका दौरान कला प्रदर्शनी, परम्परातगत नृत्य, लागनी तथा पर्यटन प्रवर्धनका विषयमा प्रस्तुती र छलफल भएको थियो ।
एक वर्षमा थपिए २ सय होटल, पर्यटन उद्योगमा उत्साह
काठमाडौं । कोरोना महामारीपछि बिस्तारै लयमा फर्किन थालेको मुलुकको पर्यटन उद्योगका सकारात्मक खबर आइरहेका छन् । यहीबीच होटल क्षेत्रमा पनि लगानी विस्तार भएर होटल र कोठा (रुम) संख्या बढेको तथ्यांक सार्वजनिक भएको छ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले सार्वजनिक गरेको चालु सन् २०२३ को पर्यटन प्रतिवेदनअनुसार २०२३ मा झन्डै २ सय नयाँ होटल थपिएका छन् । तिनमा तारेस्तरका नयाँ ९ होटल थपिएका छन् भने तारेस्तर नभएका १ सय ८८ वटा नयाँ होटल छन् । प्रतिवेदनअनुसार २०२२ मा मुलुकमा तारे होटलको संख्या १ सय ७३ थियो । एक वर्षपछि २०२३ मा बढेर १ सय ८२ पुगेको छ । तारेस्तर नलिएकातर्फ २०२२ मा १ हजार २ सय २८ थियो भने २०२३ सम्म आइपुग्दा १ हजार ४ सय १६ पुगेको छ । ती सबै र नयाँ बनेका होटलमा रुम संख्या पनि राम्रै बढेको छ । २०२२ मा तारे र तारेस्तर नभएका होटल दुवैमा गरी ५३ हजार ३ सय ६५ रुम थियो । एक वर्षपछि २०२३ मा आइपुग्दा ५४ हजार ३ सय ७० पुगेको छ । यो भनेको नयाँ १ हजार ५ रुम थपिएको हो । यसैगरी मन्त्रालयले सार्वजनिक गरेको प्रतिवेदनले २०२३ मा नेपालमा ७२ वटा ट्राभल एजेन्सी थपिएको देखाएको छ । २०२२ मा ट्राभल एजेन्सीको संख्या ४ हजार ७ सय ७३ वटा थियो भने २०२३ मा आइपुग्दा त्यसको संख्या बढेर ४ हजार ८ सय ४५ पुगेको छ । यस्तै ट्रेकिङ एजेन्सीको संख्यामा पनि बढोत्तरी भएको छ । २०२२ मा ट्रेकिङ एजेन्सीको संख्या ३ हजार १ सय ३६ थियो भने २०२३ मा आइपुग्दा यो संख्या बढेर ३ हजार १ सय ९१ पुगेको छ । यो २०२२ को तुलनामा २०२३ मा ५५ वटा नयाँ ट्रेकिङ एजेन्सी थपिएका छन् । पर्यटन क्षेत्रसँग जोडिएको एउटा महत्वपूर्ण पाटो हो, ‘टुरिस्ट गाइड’ । २०२२ को तुलनामा टुरिस्ट गाइडको संख्या पनि बढेको छ । २०२३ मा १ सय ४८ जना टुरिस्ट गाइड थपिएका छन् । २०२२ मा टुरिस्ट गाइडको संख्या ४ हजार ९ सय ७५ थियो भने २०२३ मा पुग्दा यो संख्या बढेर ५ हजार १ सय २३ पुगेको छ । यस्तै, ट्रेकिङ गाइड पनि २०२२ को तुलनामा २०२३ मा बढेका छन् । २०२२ मा ट्रेकिङ गाइडको संख्या २५ हजार ४ सय ८३ थियो । २०२३ मा आइपुग्दा यो संख्या बढेर २६ हजार २ सय ९२ पुगेको छ । यो संख्या अघिल्लो वर्षको तुलनामा ८ सय ९ ले बढी हो ।