छनोट उपसमिति गैरकानुनी भन्दै पर्यटन बोर्ड सीईओ छनोट तत्काल रोक्न अदालतको आदेश

काठमाडौं । नेपाल पर्यटन बोर्डका प्रमुख कार्यकारी अधिकृत (सीईओ) छनोट प्रक्रिया तत्कालका लागि रोक्न उच्च अदालत पाटनले अल्पकालीन अन्तरिम आदेश दिएको छ । न्यायाधीश सुदर्शनराज पाण्डेको एकल इजलासले १० वैशाखमा बोर्डका सदस्यद्वय मिलन देवकोटा र मदन आचार्यको नियुक्ति गैरकानुनी भएको भन्दै बोर्डको सीईओ छनोट सम्बन्धी कुनै पनि कार्य नगर्न नगराउन अन्तरिम आदेश दिएको हो । कुन्दन शर्मा मिश्रसमेतको निवेदनसहित मिसिल अध्ययन गरी अधिवक्ताहरू रमेश बडाल, रमेशप्रसाद धिताल र हरिप्रसाद मैनालीको बहस सुनेपछि न्यायाधीश पाण्डेको एकल इजलासले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयसमेतका नाममा अल्पकालीन अन्तरिम जारी गरेको छ । के कसो भएको हो ? निवेदकको माग बमोजिम आदेश किन जारी हुनु नपर्ने हो ? माग बमोजिम आदेश जारी हुनु नपर्ने कुनै आधार, कारण र प्रमाण भए सबुद प्रमाणसहित म्याद सूचना तामेल भएको मितिले बाटाको म्यादबाहेक १५ दिनभित्र विपक्षीका हकमा आफैं वा प्रतिनिधि राखेर लिखित जवाफ पेस गर्नुपर्ने उक्त आदेशमा छ । पर्यटन बोर्ड सञ्चालक समिति सदस्यहरू मिलन देवकोटा र मदनकुमार आचार्यको मनोनय गैरकानुनी भएको, उनीहरू अन्तर्गत रहेको सीईओ छनोटसम्बन्धी उपसमिति अवैधानिक भएको र सीईओ नियुक्ति सिफारिस सम्बन्धी कार्यविधि, २०८० समेत नेपाल पर्यटन बोर्ड ऐन, २०५३ को विपरीत भएको निवेदनपत्रमा उल्लेख छ । बोर्डको ऐनले बोर्ड सदस्य सरकारले नियुक्त गर्ने व्यवस्था गरेको छ ।

शुक्लाफाँटामा बाघ बढे

कञ्चनपुर । महेन्द्रनगरस्थित शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा पाटेबाघको संख्या बढेको छ । १० वर्षअघि १३ वटा बाघ रहेकामा अहिले बढेरर ४४ पुगेको छ । निकुञ्जका अनुसार सन् २०१८ मा १६, २०२१ मा १९ वटा बाघ थिएभने २०२२ मा त्यो बढेर ३६ पुगेको थियो । निकुञ्जमा क्यामेरा ट्रयापिङ विधिबाट गरिएको गणनाअनुसार २४ वटा भाले र १७ वटा पोथी तथा विश्लेषणका आधारमा थप तीन गरेर बाघको संख्या ४४ पुगेको हो । गत मङ्सिरदेखि ९१ वटा क्यामेरा ट्रयापिङबाट गरिएको अनुगमनमा बाघको संख्या बढेर ४४ पुगेको निकुञ्जका प्रमुख संरक्षण अधिकृत प्रमोद भट्टराईले जानकारी दिए । ‘यहाँ बाघका लागि खाना र बासस्थानको राम्रो वातावरण भएकाले थोरै क्षेत्रफलमा पनि धेरै बाघ छन्,’ प्रमुख संरक्षण अधिकृत भट्टराईले भने, ‘यहाँ चोरीसिकारी पनि छैन त्यसकारण बाघको संख्या बढ्दै गएको छ ।’ शुक्लाफाँटाभित्र रहेका ठूलो घाँसेमैदान, चौधर नदी, रानीताल र सिकारी तालजस्ता तालतलैया र प्रशस्त आहाराका लागि प्रजाति बढेसँगै बाघको संख्या पनि बढेको उनले बताए । शुक्लाफाँटा राष्ट्रिय निकुञ्ज पर्यटनको प्रमुख केन्द्र बन्नसक्ने भए पनि पर्याप्त प्रचार–प्रसार नहुँदा यसबाट लाभ लिन नसकिएको यहाँका पर्यटन व्यवसायी जगदीश भट्ट बताउँछन् । ‘शुक्लाफाँटा पाटेबाघका लागि प्रख्यात छ तर यहाँ बाह्य पर्यटक आएका छैनन्,’ उनले भने । कञ्चनपुर उद्योग वाणिज्य सङ्घका वरिष्ठ उपाध्यक्ष दिनेश मल्लले शुक्लाफाँटा पर्यटकका लागि उपयुक्त गन्तव्य भएकाले यसको प्रचारप्रसार गर्नसके यहाँको आर्थिक विकास टेवा पुग्ने बताए । शुक्लाफाँटा राष्ट्रिय निकुञ्ज पाटेबाघ, बाह्रसिङ्गे र गैँडालगायतका दुर्लभ वन्यजन्तुका लागि प्रसिद्ध भए पनि प्रचारप्रसारको अभावमा पर्यटक आगमनमा वृद्धि नभएको यहाँका पर्यटन व्यवसायी बताउँछन् ।

मनाङमा एक वर्षमा २१ हजार पर्यटक भित्रिए

मनाङ । हिमाली जिल्ला मनाङ आउने पर्यटक बढ्दै गएका छन् । विश्वकै १०औँ स्थानमा पर्ने जोखिमयुक्त पदमार्ग र मनास्लु पदयात्राको यात्रामा आउने विदेशी पर्यटक आगमन बढ्दो छ । विसं २०८० मा २१ हजार चार सय ९५ पर्यटक भित्रिएका अन्नपूर्ण क्षेत्र संरक्षण आयोजनाले जनाएको छ । वैशाखदेखि चैत मसान्तसम्ममा सो सङ्ख्यामा विदेशी पर्यटक भित्रिएका हुन् । तीमध्ये फ्रान्सका नागरिक बढी आगमन भएको तथ्याङ्कमा उल्लेख छ । मनाङ फ्रान्सका नागरिकको रोजाइमा पर्ने गरेको अन्नपूर्ण क्षेत्र संरक्षण आयोजनाका प्रमुख ढकबहादुर भुजेलले जानकारी दिए । उनका अनुसार फ्रान्सका एक वर्षमा दुई हजार चार सय ८२ मनाङ भ्रमणमा आएको तथ्याङ्कमा उल्लेख छ । त्यस्तै इजरायलका एक हजार आठ सय २१ र जर्मनीका एक हजार सात सय ५४ नागरिक मनाङ भ्रमणमा आएको तथ्याङ्क रहेको उनले बताए । विदेशीको रोजाइमा मनाङ प्रमुख रहने गरेको पाइएको प्रमुख भुजेलले बताए । उनले भने, ‘अन्य देशबाट पर्यटक आउने भए पनि यी देशका नागरिक बढी आउने गरेका छन्, सङ्ख्याको आधारमा यी धेरै हुन्, अमेरिका, चाइना, रसिया, भारतका पर्यटक पनि आउने क्रम बढ्दै गएको तथ्याङ्क हामीमा दर्ता भएका छन् ।’ मनाङ प्राकृतिक सम्पदाले भरिपूर्ण भएकाले पनि पर्यटकको रोजाइमा पर्ने गरेको उनको भनाइ छ । नयाँ वर्ष २०८१ को पहिलो दिनमा मात्रै एक सय १५ विदेशी पर्यटक भित्रिएको प्रमुख भुजेलले जानकारी दिए । उनका अनुसार नयाँ वर्षका दिनमा आन्तरिक पर्यटकको समेत उल्लेख्य आगमन भएको थियो । सडक सञ्जालले मनाङ आउने आन्तरिक पर्यटकलाई समेत सहज भएको उनको भनाइ छ । आन्तरिक पर्यटक पनि बिदाको समयमा भ्रमणमा आउने क्रम बढ्दो रहेको अन्नपूर्ण क्षेत्र संरक्षण आयोजनाका प्रकृति पर्यटनविद भुपेन्द्र गुरुङले जानकारी दिए ।उनले भने, ‘तीनरचार दिनको बिदा लगातार परेको अवस्थामा मनाङमा आन्तरिक पर्यटकले भरिभराउ हुन्छ, भ्रमणमा निस्कने प्रविधि नेपालीमा पनि बढ्दै गएको छ ।’ आन्तरिक पर्यटकको भने अभिलेख राखिदैन तर, पर्यटकको आगमन भने उल्लेख्य हुने गरेका उनको भनाइ छ । यहाँ भित्रिने पर्यटक अधिकांश थोराङ्ला भञ्ज्याङ हुँदै मुस्ताङ निस्कन्छन् भने केही पर्यटक लार्के भञ्ज्याङ हुँदै मनास्लुतर्फ लाग्ने गर्दछन् । आन्तरिक पर्यटकको रोजाइमा तिलिचो ताल पर्ने गरेको मनाङ ङिस्याङ गाउँपालिका(९ का वडाध्यक्ष चोल्पा गुरुङले बताए । केही दिन बिदा भएको बेलामा आन्तरिक पर्यटक तिलिचो ताललाई मुख्य गन्तव्य बनाएर आउने गरेका उनले बताए । दुई समयमा मनाङका पदमार्गमा यात्रा गर्न सकिन्छ । कोभिडको सङ्क्रमण र विसं २०७८ को बाढी पहिरोपछि यहाँ पर्यटक आवागमनमा वृद्धि हुँदै गएको छ । पर्यटक हिमाल, पहाडका दृश्य, मनाङवासीको संस्कार, संस्कृति, रीतिरिवाज, प्राकृतिक सुन्दरता हेर्न पर्यटकको आगमन हुने गर्दछ । साथै अन्नपूर्ण पदमार्गमार्फत पर्यटक मनाङबाट थोराङ्ला भञ्ज्याङ पार गरी मुस्ताङ हुँदै पोखरा पुग्ने गर्दछन् । अन्नपूर्ण पदमार्गको प्रवेशद्वार लमजुङको बेँसीसहर नगरपालिका–७ मनाङ्गे चौताराबाट यात्राको सुरूवात हुन्छ । अन्नपूर्ण पदमार्गमा लमजुङसहित मनाङ, मुस्ताङ, म्याग्दी र कास्की गरी पाँच जिल्ला जोडिएका छन् । काठमाडौँदेखि बेँसीसहरसम्म सवारी साधनमा पर्यटक आउने गर्दछन् । पछिल्लो समय सडक सहज भएपछि सवारी साधनमा नै चामे, खाङ्सारसम्म सवारी साधनमा नै पुग्ने गरेको पाइन्छ । त्यसपछि मात्रै मुख्य गन्तव्यतर्फ पदमार्गको यात्रा गर्ने गरेको भेटिन्छ । रासस