त्रिभुवन विमानस्थल परिसरमा रेस्टुरेन्टको भाडा पौने ६ करोड रुपैयाँ

काठमाडौं । त्रिभुवन विमानस्थल परिसरमा रेस्टुरेन्ट सञ्चालनको भाडा पौने ६ करोड रुपैयाँ तोकिएको छ । नेपाल नागरिक उड्डयन प्राधिकरण अन्तर्गत रहेको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल नागरिक उड्डयन कार्यालय गौचरले विमानस्थल परिसरमा रेस्टुरेन्ट सञ्चालन गर्दा ५ करोड ७५ लाख रुपैयाँ भाडा तोकेको हो । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल नागरिक उड्डयन कार्यालयले विमानस्थलको आन्तरिक टर्मिनल भवनको नयाँ आगमन भवनको दक्षिणतर्फको एरियामा रेस्टुरेन्ट संचालन गर्न दिने भएको छ । उक्त रेस्टुरेन्ट खुला प्रतिस्पर्धाको माध्यमबाट ५ वर्षका लागि ठेक्कामा दिने कार्यालयले जनाएको छ । उक्त स्थानमा रेस्टुरेन्ट सञ्चालन ईच्छुक व्यक्ति तथा कम्पनीले ३० दिनभित्र आवेदन दिनुपर्नेछ । तर, यसअघि दुई पटक सार्वजनिक आह्वान गर्दा पनि आवेदन नपरेपछि तेस्रोपटक पुनः आह्वान गरेको हो । यसअघि गत चैत र बैशाखमा बोलपत्र आह्वान गरेको थियो ।

३० वर्षदेखि हेलिकप्टर उडाउँदै आएका अरुण : विपदमा हेलिकप्टर आवश्यक पर्दा सम्झने व्यक्ति

काठमाडौं । नुवाकोटमा बुधबार दुर्घटना भएको एयर डाइनेस्टीको ९ एन–एजेडी हेलिकप्टरका पाइलट अरुण मल्लको जन्मथलो म्याग्दीको रघुगङ्गा गाउँपालिका–२ भगवती हो । पछिल्लो पटक गत चैतमा भगवती आएका मल्लले आफन्त र छिमेकीहरूसँग जन्मथलो फर्किएर सेवानिवृत जीवन बिताउने योजना सुनाएका थिए । ‘रिटायर्ड लाइफ बिताउन गाउँ आउने योजनाअनुसार पुरानो घर मर्मत गर्न थाल्नुभएको थियो,’ अरुणका भतिज रिम मल्लले भने, ‘काका (अरुण) को योजना सुनेर उत्साहित भएका हामी दुर्घटनाको खबरले मर्माहत भएका छौँ ।’ मल्लको भगवतीमा रहेको पुर्ख्यौली घर पुरानो भएकाले जीर्णोद्धार थालिएको थियो । पुख्यौली जग्गामा खेतीपाती र पशुपालन गरेर सेवा निवृत्त जीवन बिताउने मल्लको योजना अधुरै रहेको छ । अरुणका एक जना दाजु र तीन जना दिदिबहिनी छन् । बेनीकी चन्नु मल्लसँग विवाह गरेका अरुणका दुई छोरी छन् । उनीहरूको पनि विबाह भइसकेको छ । अरुणको परिवार हाल ललितपुरमा बस्ने गरेका उनका साथी कर्णबहादुर भण्डारी (के.बी) ले बताए । ‘म्याग्दीमा बिरामीलाई आकस्मिक रूपमा अस्पताल पुर्याउन, धौलागिरि, अन्नपूर्ण हिमालमा हुने दुर्घटना तथा विपद्को समयमा हेलिकप्टर आवश्यक पर्दा सम्झने व्यक्ति नै अरुण मल्ल हुनुहुन्थ्यो,’ भण्डारीले भने, ‘रघुगङ्गा गाउँपालिका र म्याग्दी जिल्लाले मात्र नभएर नेपालले एक जना अनुभवी, साहसी पाइलट गुमाएको महसुस भएको छ ।’ करिब ३० वर्षदेखि हेलिकप्टर उडाउँदै आएका अरुणले म्याग्दीबाट वि.सं २०५६ मा निर्वाचित सांसद रहेका स्वर्गीय नारायणसिंहको कर्णाली एयरको हेलिकप्टर उडाएका थिए । द्वन्द्वकालमा हेलिकप्टर उडाएका मल्लले हेली उद्धारका काममा प्राथमिकता दिने गरेको भण्डारीले स्मरण गरे । गत वैशाख २८ गते मनाङको नासो गाउँपालिकास्थित भिस्ताङ भ्यालीमा बिरामी उद्धारका लागि अरुणले उडाएको हेलिकप्टर चढेर गएका जिल्ला प्रशासन कार्यालय मनाङका तत्कालीन नायब सुब्बा ज्ञानदीप विश्वकर्मा (कुशल) ले उनी अनुभवी र शाहसी पाइलट भएको स्मरण गरे । मृदुभाषी र आँटिला स्वभावका अरुणको निधनले जन्मथलो राखु भगवती शोकमा डुबेको छ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट रसुवाको स्याफ्रुवेसी उडेको एयर डाइनेष्टिको उक्त हेलिकप्टर मल्लले उडाएका थिए । नुवाकोटको शिवपुरी गाउँपालिका–७ सूर्यचौर क्षेत्रमा हेलिकप्टर दुर्घटना हुँदा पाइलट मल्ल र चार जना चिनियाँ पर्यटकको मृत्यु भएको छ ।

‘मिस एप्रोच’ भएपछि टर्किस एयरलाइन्सको विमान ‘ओभरसुट’

काठमाडौं । स्तनबुलबाट आएको टर्किस एयरलाइन्सको विमानले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण हुनै लाग्दा ‘ओभरसुट’ गरेको छ । फ्लाइट राडरका अनुसार बिहान ६ः१० मा अवतरण गर्ने तालिका रहेको विमान ओभरसुट भएको २० मिनेटपछि अवतरण भएको थियो । ‘मिस एप्रोच’ भएर उक्त विमानले ओभरसुट गरेको विमानस्थल कार्यालयले जनाएको छ । एक एयर ट्राफिक कन्ट्रोलर (एटिसी)का अनुसार ‘अनस्टेबल एप्रोच’ भएपछि विमानले ओभरसुट गरेको हो ।