मौसममा आएको खराबीले हवाई उडान प्रभावित, सुगम क्षेत्रका विमानस्थलको उडान नियमित

काठमाडौं । प्रतिकूल मौसमले मुलुकको हवाई उडान सामान्य प्रभावित भएको छ । मौसम प्रतिकूल भएपछि भिजिबिलिटी कमजोर हुँदा काठमाडौंबाट देशका विभिन्न दुर्गम क्षेत्रका विमानस्थलको उडान प्रभावित बनेको हो । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका महाप्रबन्धक जगन्नाथ निरौलाका अनुसार लुक्ला गन्तव्यमा बाक्लो तुवालोका कारण हवाई उडान हुन सकेको छैन । ‘मौसममा आएको खराबीका कारण दुर्गम क्षेत्रको उडान प्रभावित भएको छ । सुगम क्षेत्रका विमानस्थलको उडान नियमित रूपमा सञ्चालन भइरहेको छ,’ उनले भने । काठमाडौं विमानस्थलमा आन्तरिकतर्फ इन्स्ट्रयुमेन्ट फ्लाइट रुल्स (आइएफआर) उडान मात्र भइरहेको छ । मौसमका कारण भिजुअल फ्लाइट रुल्स (भीएफआर) उडान हुनसकेको छैन । उडान प्रभावित हुँदा गन्तव्यमा हिँडेका उल्लेख्य सङ्ख्यामा पर्यटक अलपत्र परेका विमानस्थल कार्यालयले जनाएको छ । काठमाडौंबाट तराई क्षेत्रका विमानस्थलमा उडान नियमित भइरहे पनि दुर्गम क्षेत्रका अधिकांश उडान हुन सकेको छैन । अन्तर्राष्ट्रिय विमानस्थलबाट हुने आन्तरिक उडान सामान्य प्रभावित रहे पनि अन्तर्राष्ट्रिय उडान समान्य रूपमा सञ्चालन भइरहेको छ । देशभर पश्चिमी वायु, स्थानीय वायुका साथै भारतको पश्चिम बङ्गाल आसपास रहेको न्यूनचापीय प्रणालीको समेत आंशिक प्रभाव रहेको जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । देशको पहाडी भेगमा आंशिकदेखि साधारणतया बदली रही बाँकी भागमा आंशिक बदलीदेखि मौसम सफा रहनेछ । बागमती प्रदेश र गण्डकी प्रदेशका पहाडी भागका केही स्थान तथा बाँकी पहाडी भागका केही स्थानमा तथा तराई भू-भागका एक–दुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ । अहिले काठमाडौं उपत्यका विभिन्न स्थानमा हल्का वर्षा भइरहेको छ ।

तारजालकोट क्षेत्रमा गुल्जार, १० वर्षमा फेरियो मुहार

गलकोट (बागलुङ) । झाडीले ढाकिन थालेको पाखो, त्यहीबीचमा उजाड डाँडो । १० वर्षअघि यस्तो पहिचान रहेको तारजालकोट क्षेत्र अचेल भव्य संरचनासहित गुल्जार बनेको छ । त्यो हो, पञ्चकोट । १० वर्षअघि कसैले पनि सोचेका थिएनन्, त्यो उजाड डाँडो धार्मिक पर्यटकीय क्षेत्र र तपोभूमि बन्ला भनेर । त्यही डाँडो हाल आकर्षक पर्यटकीय संरचनाले भरिएको छ, ती संरचना आन्तरिक तथा बाह्य पर्यटकलाई लोभ्याउने आधार बनेका छन् । यो क्षेत्र बाइसेचौबिसे राजाका पालमा यस्तै आकर्षक थियो भनिन्छ तर लामो समयसम्म संरक्षणको अभावमा वन्जर बन्यो । पछिल्लो समय यही तारजालकोटसहित पाँचकोटलाई एकीकृत रूपमा पञ्चकोट बनाउने सङ्कल्प गर्नुभएका पञ्चकोटका संस्थापक एवं परिकल्पनाकार मुक्तिनाथ पीठाधीश्वर स्वामी कमलनयनाचार्यको पहलमा यो धार्मिक पर्यटकीय क्षेत्र बन्न सफल भएको हो । तारजालकोट भनिने उजाड डाँडा अहिले पञ्चकोटको रूपमा विश्वचर्चित बनेको बागलुङ नगरपालिका–६ सिमका स्थानीय गोविन्द आचार्यले बताए । पञ्चकोटलाई नेपाल सरकारले १ सय पर्यटकीय गन्तव्यमा समेत सूचीकृत गरेपछि पञ्चकोटको महिमा झनै बढेर गएको उनको भनाइ छ । ‘सानातिना पाँच वटा कोट थिए, स्वामी कमलनयनाचार्यको गृह गाउँ भएकाले २०७० सालमा स्वामी यहाँ भएको एक यज्ञमा आउनुभयो, त्यसक्रममा उहाँले अहिले पञ्चकोट भएको स्थानमा ध्यान र तपश्या गर्ने क्रममा पाँचकोटको सङ्गमस्थल बनाउने परिकल्पना गर्नुभएको थियो,’ आचार्यले भने, ‘स्वामीज्यूको परिकल्पनालाई स्थानीयले साथ दिएका कारण अहिले त्यो उजाड डाँडा धार्मिक पर्यटकीयस्थल बनेको छ ।’ आचार्यका अनुसार स्वामी कमलनयनाचार्य भान्सास्थित सदाशिव आधारभूत विद्यालयमा आयोजना गरिएको महायज्ञमा आएपछि उहाँले पञ्चकोटको विकास गर्ने परिकल्पना गर्नुभएको थियो । त्यसपछि अहिले पञ्चकोटमा रहेको गरुडशिलाभित्र रहेको गुफामा कुटी बनाएर ध्यान तपश्या गर्दै आउनुभएको र २०७१ साल फागुन ९ गते पञ्चकोटमा १०८ फिट अग्लो विश्वशान्ति कलशसहित अन्य संरचना बनाउन थालिएको थियो । करिब ९० रोपनी जग्गामा अहिले दर्जनौ धार्मिक संरचना निर्माण भइसक्दा पञ्चकोटको महत्व बढेको मात्रै छैन विश्वव्यापीसमेत भइसकेको धेरैको भनाइ छ । प्राकृतिक छटाले भरिपूर्ण पञ्चकोट क्षेत्रको ताराजालकोट, कारिकोट, माझकोट, राङराङकोट र संसारकोट गरी पाँच कोटको संयुक्त रूपलाई नै पञ्चकोटका रूपमा विकास गरिएको छ, पछिल्लो समय पञ्चकोटमा स्थानीय, प्रदेश र सङ्घीय सरकारको समेत लगानी बढ्न थालेको छ । बागलुङ नगरपालिका–६ का वडा अध्यक्ष रुद्र केसीले तारजालकोटमा पञ्चकोटको संरचना बनेको र भने अन्य कोटलाईसमेत पुनःनिर्माण गरी नित्य पूजाआजा गर्न थालिएको जानकारी दिए । ‘अहिले पञ्चकोट भनिएको ठाउँ तारजालकोट हो, त्यसमाथिका चार वटा डाँडाँमा अरु कोट रहेका छन् कारिकोट, माझकोट, राङराङ्कोट र त्यो क्षेत्रकै सबैभन्दा अग्लो डाँडामा संसारकोट रहेको छ,’ केसीले भने, ‘पञ्चकोटका कारण अन्य कोटहरूमा समेत सामान्य पूर्वाधार निर्माण भइरहेका छन्, अन्य कोटमा जाने पदमार्ग, सत्तललगायत संरचना निर्माण भइरहेका छन् ।’ पञ्चकोटमा १० वर्षको अवधिमा रु ५० करोडभन्दा बढी लगानीमा विभिन्न भौतिक संरचनाहरू निर्माण भइरहेका छन् । पञ्चकोटका संस्थापक स्वामी कमलनयनाचार्यले यस भूमिलाई धार्मिक क्षेत्र बनाउन लागि १० वर्ष लागेको र अझै अन्य योजनाहरू कार्यान्वयनको चरणमा रहेको बताए । दामोदरकुण्ड, मुक्तिक्षेत्र, गलेश्वरधाम, पञ्चकोट, शालग्राम सङ्ग्रहालयसहित त्रिवेणीधामसम्मको धार्मिक क्षेत्रलाई एकीकृत गरी पञ्चकोटको विकास भइरहेको उनले जानकारी दिए । ‘कालीगण्डकीले कुँदेको पहाडमा यो विशाल संरचना त्यसै बनेको छैन, यहाँ धेरैको सहयोग, लगानी छ । हाल सरकारीस्तरबाट समेत बजेट आइरहेको छ, यहाँ राष्ट्रपतिदेखि प्रधानमन्त्रीसम्मको सवारी भइसकेको छ,’ उनले भने, ‘१०८ फिट अग्लो कलश निर्माणका लागि समय समयमा महायज्ञ गर्दै आइएको छ ।’ पञ्चकोटमा गत फागुनमा मुक्तिनाथ महाघण्ट स्थापना गरिएको छ । पञ्चधातु सुन, चाँदी, तामा, पित्तल र फलाम मिसाएर बनाइएकाले यो घण्टीलाई ‘महाघण्ट’ भनिएको स्वामीको भनाइ छ । महाघण्ट ८ वर्षदेखिको परिकल्पना हाल आएर पूरा भएको र पञ्चकोटका सम्पूर्ण योजनाले पूर्णता पाउन भने अझै १० वर्ष लाग्ने जनाइएको छ । पञ्चकोटमा अहिलेसम्म सिसमहल, गरुड शिला, गण्डकीमाताको मन्दिर, पञ्चयज्ञशाला, हनुमानको विशाल मूर्तिलगायत दर्जनौँ धार्मिक संरचना बनिसकेका छन् । विभिन्न दाताको सहयोग, महायज्ञबाट सङ्कलन भएको रकम र सरकारबाट भएको करोडौँको लगानीले यी संरचना बनेका हुन् । समुन्द्री सतहदेखि १ हजार ७५० मिटरको उचाइमा रहेको पञ्चकोटमा धार्मिक संरचना निर्माणका लागि विसं २०७१ फागुन ९ गते तत्कालीन प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति सुशील कोइरालाले शिलान्यास गरेका थिए । करिब १ सय रोपनी क्षेत्रफलमा तीन तलाको अतिथि आवास तथा कन्या गुरुकुल, रेलिङसहितको पदमार्ग निर्माण भइसकेको छ । यस्तै, गण्डकी माताको मन्दिर र गरुणशिला, सिसमहल, सत्संग भवन, गणेश मन्दिर, हनुमानको मूर्ति, पाहुनाघर बनिसकेको छ ।रासस

भानु नगरपालिकाको ‘चिल्ड्रेन पार्क’ आन्तरिक पर्यटकको रोजाइमा

काठमाडौं । तनहुँको भानु नगरपालिका–१३ सम्जुरस्थित ‘चिल्ड्रेन पार्क’ आन्तरिक पर्यटकको रोजाइमा परेको छ । स्थानीय चण्डीमाइ युवा क्लवको सक्रियतामा गत वर्ष निर्माण गरिएको पार्क आन्तरिक पर्यटकको रोजाइमा परेको छ । क्लवका अध्यक्ष अर्जुन बानियाँले यस ठाउँलाई पर्यटकीय गन्तव्यस्थल बनाउन युवाको सक्रियतामा पार्क निर्माण गरिएको जानकारी दिए। ‘यसलाई विशेषगरी टिकटक पार्कको रूपमा विकास गरिएको छ । गाउँमा पर्यटकीयस्थल बनाएर आन्तरिक पर्यटक भित्र्याउने हाम्रो मुख्य उद्देश्य हो,’ उनले भने । बानियाँका अनुसार हाल दैनिक तीन सयभन्दा बढी आन्तरिक पर्यटक यहाँ आउने गरेका छन् । ‘दसैँका बेला यहाँ रोटेपिङ हालेका थियौँ । यसले पनि आन्तरिक पर्यटकलाई लोभ्याएको छ । ३० फिट अग्लो नेपालको झण्डा फहराएका छौँ । विश्रामस्थलसमेत बनाएका छौँ। हरियाली डाँडापाखाको दृश्यले धेरैलाई लोभ्याउँछ,’ उनले भने । ओझेलमा रहेको सम्जुर गाउँको प्रचारप्रसारका लागि यहाँ पार्क निर्माण गरिएको हो । ‘आफ्नो गाउँ आफै बनाऔँ’ भन्ने अभियानअन्तर्गत गाउँका युवा र विदेशमा रहेका युवाको लगानीमा पार्क निर्माण गरिएको अध्यक्ष बानियाँले उल्लेख गरे । पार्क निर्माणका लागि भानु घर भई विदेशमा रहेकालाई आग्रह गरिएको र यसको निर्माणमा यही रहेका युवाले श्रमदान गरेका थिए । यस ठाउँलाई थप आकर्षक बनाउन अन्य पूर्वाधारसमेत निर्माण गर्ने क्लबको योजना रहेको जनाइएको छ ।