कतार एयरवेजले रोक्यो गौतमबुद्ध विमानस्थलमा उडान

काठमाडौं । कतार एयरवेजले भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलबाट गर्दै आएको नियमित उडान १९ दिनमै रोकेको छ । कतार एयरवेजले १५ मंसिरबाट गौतमबुद्ध विमानस्थलमा उडान रोकेको विमानस्थलका सूचना अधिकृत विनोदकुमार रावतले जानकारी दिए । कात्तिक २७ गतेदेखि भैरहवामा वाइडबडी विमान एयरबस ३३० मार्फत दोहा–भैरहवा–काठमाडौं–दोहा रूटमा दैनिक एउटा व्यवसायिक उडान गर्दै आएको कतार एयरवेजले मंसिर १५ गतेबाट उडान रोकेको हो । १९ दिनमा एयरवेजले ३८ वटा उडान तथा अवतरण गरेको थियो । सूचना अधिकृत रावतले विमान कम्पनीले कात्तिक २७ गतेदेखि मंसिर १५ गतेसम्म मात्र भैरहवामा उडान तथा अवतरणका लागि अनुमति लिएकाले त्यसपछि उडान स्थगित गरेको जानकारी दिए । उसले थप उडान अनुमति नलिएको उनले बताए । उडानको अनुमति केन्द्रबाटै हुने कानुनी प्रावधान छ । गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलबाट नेपाल एयरलाइन्स, जजिरा एयरवेज, फ्लाई दुबई र थाई एयर एसियाले भने नियमित उडान गर्दै आएका छन् ।

जब पर्यटनमन्त्री पाण्डे मध्यराति त्रिभुवन विमानस्थल पुगे…

काठमाडौं । मुलुकको व्यस्त त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको क्षमता अभिवृद्धिको काम तीव्र गतिमा भइरहेको छ । गत कात्तिक २३ गतेदेखि दैनिक १० घण्टा उडान बन्द गरेर विमानस्थल विस्तारका क्रममा समानान्तर ‘ट्याक्सी वे’, ‘इन्टरनेशनल एप्रोन’ ‘ह्याङ्गर एप्रोन’लगायत काम भइरहेको हो । नेपाल नागरिक उड्डयन प्राधिकरणले गत कात्तिक २३ गतेदेखि दैनिक १० घण्टा उडान बन्द गरेर अन्तर्राष्ट्रिय विमानस्थल विस्तारको काम भइरहेको जनाएको छ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रीप्रसाद पाण्डेले अन्तर्राष्ट्रिय विमानस्थलमा निर्माणाधीन समानान्तर ‘ट्याक्सी वे’, ‘इन्टरनेशनल एप्रोन’ ‘ह्याङ्गर एप्रोन’ लगायत कामको स्थलगत अवलोकन गरेका छन् । आज मध्यराति पर्यटनमन्त्री, पर्यटन राज्यमन्त्री अरुणकुमार चौधरी, पर्यटन सचिव डा गणेशप्रसाद पाण्डेय, नेपाल नागरिक उड्डयन प्राधिकरणका महानिर्देशक प्रदीप अधिकारीसहितको टोलीले विमानस्थलको क्षमता अभिवृद्धिअन्तर्गत भइरहेका कामको अवलोकन गरेका हुन् । प्राधिकरणअन्तर्गतको हवाई यातायात क्षमता अभिवृद्धि आयोजनाले विमानस्थलको दक्षिण-पश्चिमतर्फ समानान्तर ‘ट्याक्सी वे’, उत्तरतर्फको ‘इन्टरनेशनल एप्रोन’ र विमानस्थलको पूर्वतर्फको ‘ह्याङ्गर एप्रोन’ को काम गरिरहेको हो । यी काम पूरा गर्न करिब १५ अर्ब रुपैयाँ खर्च हुने आयोजना कार्यालयले जनाएको छ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रीप्रसाद पाण्डे सोमबार मध्यराति त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा स्तरोन्नतिपछि बन्ने धावनमार्ग बारे जानकारी लिँदै  विमानस्थलको क्षमता अभिवृद्धिका लागि भइरहेका विभिन्न कामको अवलोकन गर्दै पर्यटनमन्त्री पाण्डेले निर्माण तीव्र गतिमा भइरहेको भन्दै समयमा काम सम्पन्न हुने विश्वास व्यक्त गरे । उनले ठूलो सङ्ख्यामा जनशक्तिसहित प्रभावकारी रूपमा उपकरणको परिचालन गरेर युद्धस्तरमा भइरहेको निर्माणले विकासे आयोजनाको कामलाई गुणस्तरीय र निर्धारित समयमा सम्पन्न गर्न सकिन्छ भन्ने सन्देश दिएको उल्लेख गरे । पर्यटनमन्त्री पाण्डेले अहिले भइरहेको निर्माण सन्तोषजनक रहेको जनाउँदै निर्धारित समयमा काम सकेपछि विमानस्थलको उडान सेवा प्रभावकारी र थप गुणस्तरीय हुने विश्वास व्यक्त गरे । ‘१० घण्टा विमानस्थल बन्द गरेर निर्माण तीव्र गतिमा सबै क्षेत्रमा भइरहेको छ । आगामी चैत १८ गतेसम्म १० घण्टा विमानस्थल बन्द गरेर काम गर्ने समय तोकेका थियौँ, अहिलेको युद्धस्तरमा भइरहेको कामले त्योभन्दा पहिला सम्पन्न हुने सङ्केत गरेको छ,’ उनले भने । पर्यटनमन्त्री पाण्डेले हरेक परियोजना समयमा काम नहुने, ठेक्का तोडिने र सडक तथा भवन अलपत्र हुने अवस्था रहेको छ भन्दै यस्ता गतिविधि रोक्न सम्बन्धित स्थानीय तह, नागरिक समाजले पनि निर्माण कम्पनीलाई दबाब सृजना गर्नुपर्नेमा जोड दिए ।  विमानस्थलमा भइरहेको निर्माणको गतिले तोकिएकै समयमा काम सकिन्छ भन्ने सन्देश दिने उल्लेख गरे ।   विमानस्थल क्षमता अभिवृद्धि आयोजनाका प्रमुख दीपेन्द्र श्रेष्ठले आवश्यक जनशक्ति तथा उपकरणको पूर्ण क्षमतामा परिचालन गरेर अहिले विमानस्थलको क्षमता अभिवृद्धिको काम भइरहेको बताए । उनका अनुसार तीन सयभन्दा दक्ष जनशक्ति, आधुनिक उपकरणको सहायताले दैनिक १० घण्टा विमानस्थल विस्तारको काम भइरहेको छ । विमानस्थलको धावनमार्गसँगै समानन्तर हुनेगरी ट्याक्सी वे बनाउन लागिएको प्रमुख श्रेष्ठले जानकारी दिए । विमानस्थलको स्तरोन्नतिपछि २० देखि २५ प्रतिशत धावनमार्गको क्षमता बढ्नेछ भने एयर ट्राफिक व्यवस्थापन सहज हुने उनको भनाइ छ । विमानस्थल स्तरोन्नतिका क्रममा राति १० बजेदेखि बिहान ८ बजेसम्मका सबै उडान कटौती गरिएका छन् । उडान सुरक्षामा कुनै खतरा उत्पन्न नहोस् भनेर उडान बन्द गरेर विस्तारको काम गरिएको प्राधिकरणले जनाएको छ । नेपालमा हाल तीन अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनमा छन् । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल स्थापनाको ७४ वर्षपछि भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल र पोखरा अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनमा आएका हुन् । मुलुकको जेठो त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भएर आन्तरिकतर्फ ११ हेलिकप्टर कम्पनीसहित १९ हवाई कम्पनी र आन्तर्राष्ट्रियतर्फ तीन नेपालीसहित ३० हवाई सेवा कम्पनीले उडान गर्दै आएका छन् । काठमाडौँ विमानस्थलमा आन्तरिकमा दुईतर्फी तीन सयभन्दा बढी र अन्तर्राष्ट्रियतर्फ एक सय हाराहारी उडान हुने गरेका छन् ।

होटल सब्रिनाले १५ करोडको आईपीओ जारी गर्ने, पाँच तारे बन्ने योजना

काठमाडौं । होटल सब्रिना लिमिटेडले आईपीओ निष्कासन गर्ने भएको छ । कम्पनीको सोमबार बसेको छैटौं साधारण सभाले आईपीओ निष्काशन प्रस्ताव पारित गरेको संस्थापक तथा अध्यक्ष निराजन थापाले जानकारी दिए । ९० करोड रुपैयाँ अधिकृत पुँजी र ५३ करोड रुपैयाँ जारी पुँजी रहेको यस होटलको चुक्ता पुँजी ३५ करोड ६५ लाख रुपैयाँ रहेको छ । कम्पनीले न्यूनतम १५ लाख कित्ताको १५ करोड रुपैयाँ बराबरको सेयर सर्वसाधारणका लागि जारी गर्ने भएको हो । यसका लागि गत असार अन्तिममा कम्पनीले संस्थागत परामर्श सेवा तथा प्राथमिक सेयर निष्कासनका लागि बिक्री प्रबन्धकमा एनएमबी क्यापिटल नियुक्त गरिसकेको छ । अब नेपाल धितोपत्र बोर्डमा आर्इपीओ निष्काशनको अनुमतिका लागि आवेदन दिने अध्यक्ष निराजन थापाको भनाइ छ । काठमाडौंको बुढानिलकण्ठ ६,गणेश चोकमा रहेको होटेल सब्रिनाले क्षमता विस्तार गर्दै पाँच तारे स्तरमा स्तरोन्नती गर्नका लागि आईपीओ जारी गर्न लागेको हो । साथै कम्पनीको कर्जालाई चुक्ता गर्ने लक्ष्य रहेको अध्यक्ष थापा बताउँछन् । अपार्टमेन्ट सहित ६० वटा कोठामा सेवा सञ्चालन गर्दै आइरहेको यस होटलले अब कोठा समेत थप गर्दैछ । होटल सब्रिना सञ्चालनमा आएको तीन वर्षमै होटेल कृटिक एण्ड ब्लगर्स एशोसिएशन तथा होटेल डट कमले २०२१ मा नेपालको सर्वोत्कृष्ट होटलको उपाधिबाट सम्मानित गरेको थियो । हाल होटेलको व्यवस्थापन रोयल अर्किड होटलको ‘रिजेन्टा प्लेस’ ब्राण्डले गर्दै आएको छ ।