एनभीडीयाको एकाधिकारलाई चुनौती, चिनियाँ एआई चिप कम्पनीहरूको उदय

काठमाडौं । बुधबार शाङ्घाइ बजारमा चिप निर्माता मेटाएक्स इन्टीग्रेटेड सर्किट्सको सेयर सूचीकृत हुनेबित्तिकै ७०० प्रतिशतले उक्लिँदा डेजा भू (पहिले देखिएको) अनुभूति भयो । यसअघि दुई हप्ता अगाडि मात्रै मुर थ्रेड्सका सेयरहरू पहिलो दिनमै ४०० प्रतिशतभन्दा बढी उछाल आएको थियो । यी दुवै चीनका पछिल्ला कृत्रिम बौद्धिकता (एआई) चिप कम्पनीहरू हुन्, जसमा देशका लगानीकर्ताहरूले ठूलो मात्रामा लगानी गरिरहेका छन् । अमेरिकाको निर्यात नियन्त्रणबीच आफ्नै सेमिकन्डक्टर विकास गर्ने र एनभीडीयाको प्रभुत्वलाई चुनौती दिने चीनको दौड तीव्र बन्दै गएको छ । यी दुवै कम्पनीले ग्राफिक्स प्रोसेसिङ युनिट (जीपीयू) विकास गरिरहेका छन्, जुन एनभीडीयाले उत्पादन गर्ने र उन्नत एआईका लागि प्रयोग हुने चिप हो । म्याकक्युरीका इक्विटी विश्लेषक यूजिन सियाओका अनुसार अमेरिकासँगको तनाव जारी रहँदा चीनले आत्मनिर्भर सेमिकन्डक्टर इकोसिस्टम निर्माण गर्ने विश्वाससहित चिनियाँ एआई–चिप आईपीओप्रति लगानीकर्ताको उत्साह देखिएको हो । वाशिङ्टनले एनभीडीयाका सबैभन्दा उन्नत सेमिकन्डक्टर चीनमा बिक्री गर्न प्रतिबन्ध लगाएको छ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले केही एनभीडीया चिपमा निर्यात नियन्त्रण खुकुलो पारे पनि फाइनान्सियल टाइम्सका अनुसार यस महिनाको सुरुमा चीनका नियामकहरूले एआई दौडमा विदेशी प्रविधिमा निर्भरता घटाउने उद्देश्यले कम्पनीका प्रोसेसरमा पहुँच सीमित गर्ने योजना बनाइरहेका थिए । हालसम्म हुवावे, अलिबाबा र बाइडुजस्ता प्रविधि दिग्गजहरू समेत समेटिएका चीनका कुनै पनि एआई चिप निर्माताले एनभीडीयाका सबैभन्दा उन्नत प्रोसेसरसरह क्षमतायुक्त चिप विकास गर्न सकेका छैनन् । यद्यपि उपकरणजस्ता केही आपूर्ति शृंखलाका क्षेत्रमा निर्यात नियन्त्रणले चुनौती कायम राखे पनि मेमोरीजस्ता क्षेत्रमा चीनले उल्लेखनीय प्रगति गरेको छ । यहाँ चीनका एआई चिप क्षेत्रमा एनभीडीयाका प्रतिस्पर्धीहरूको अवस्था प्रस्तुत गरिएको छ । हुवावे निजी स्वामित्वको प्रविधि दिग्गज हुवावेले असेन्ड सिरिजका चिपहरू विकास गरिरहेको छ । यसको आगामी पुस्ताको मोडेल असेन्ड ९५० सन् २०२६ मा सार्वजनिक हुने तयारीमा छ । नयाँ प्रणाली घोषणा हुँदा एनभीडीयाले प्रतिस्पर्धा सुरु भइसकेको भनेको थियो । पहिलेका असेन्ड मोडेलहरू चिप–टु–चिप आधारमा एनभीडीयासँग प्रतिस्पर्धी मानिएका थिएनन् । तर हुवावेले धेरै प्रोसेसरहरू आपसमा जोडेर उच्च कार्यक्षमताका क्लस्टर निर्माण गर्दै एनभीडीयाका अत्याधुनिक प्रणालीसँग प्रतिस्पर्धा गर्न सफल भएको छ । काउन्टरपोइन्ट रिसर्चका सहनिर्देशक ब्राडी वाङका अनुसार ‘यो रणनीतिले उच्च–गति, सम्भवतः अप्टिकल इन्टरकनेक्ट प्रयोग गरेर ठूला क्लस्टरभर डाटा छिटो सार्न सहयोग गर्छ । जसका लागि अत्याधुनिक चिप आवश्यक पर्दैन र यो चीनका हालका क्षमतासँग मेल खान्छ ।’ बाइडू चीनको सबैभन्दा ठूलो खोज प्लेटफर्म बाइडूले एआईमा लगानी बढाउँदै आएको छ र चिप डिजाइनर कुनलुनसिङमा बहुमत स्वामित्व राख्छ । नोभेम्बरमा कम्पनीले कुनलुनएआई चिपका लागि पाँचवर्षे रोडम्याप सार्वजनिक गर्दै २०२६ र २०२७ मा नयाँ प्रोसेसर ल्याउने योजना घोषणा गरेको थियो । नासडकमा सूचीकृत बाइडूले आफ्ना डाटा सेन्टरमा स्वदेशी चिप र एनभीडीयाका उत्पादन दुवै प्रयोग गरेर आफ्नै एआई मोडेल सञ्चालन गर्छ । कम्पनीले चिप, सर्भर, डाटा सेन्टरदेखि एआई मोडेल र एप्लिकेसनसम्म उत्पादन गर्ने फुल–स्ट्याक प्रदायकको रूपमा आफूलाई स्थापित गर्न खोजिरहेको छ । डोयचे बैंका विश्लेषकहरूका अनुसार, ‘कुनलुनसिङ ठूला भाषा मोडेल प्रशिक्षण र इन्फरेन्स, क्लाउड कम्प्युटिङ, टेलिकम तथा उद्यमीय कार्यभारका लागि उच्च कार्यक्षमताका घरेलु एआई चिप विकासकर्ताका रूपमा उदाएको छ ।’ जेपीमोर्गनले पनि यसको एआई चिपलाई चिनियाँ हाइपरस्केलरहरूले स्थानीय समाधान प्रदायकबाट चिप खरिद बढाउँदै जाँदा ‘सबैभन्दा राम्रो स्थितिमा रहेका’ मध्ये एक मानेको छ । अलिबाबा स्थानीय रूपमा ठूला क्लाउड प्रदायकमध्ये एक अलबाबाले सन् २०१० को अन्त्यतिर एआई चिप विकास सुरु गरेको थियो । सीएनबीसीका अनुसार कम्पनीले अगस्टमा प्रशिक्षणभन्दा इन्फरेन्सका लागि विशेष रूपमा डिजाइन गरिएको नयाँ एआई चिप विकास गरिरहेको थियो। सेप्टेम्बरमा अलिबाबाका सेयरहरू बढेका थिए, जब कम्पनीले आफ्ना एआई चिपका लागि ठूलो ग्राहक सुरक्षित गरेको समाचार आयो । मर्निङस्टारकी विश्लेषक चेल्सी ट्यामका अनुसार स्व–विकसित चिपको सुधारिएको प्रदर्शन अलिबाबाको क्लाउड डिभिजनको आम्दानी वृद्धि सहयोग गर्ने प्रमुख कारणमध्ये एक हो । कामब्रिकन एआई प्रशिक्षण र इन्फरेन्सका लागि चिप विकास गर्ने कामब्रिकनले २०२५ को पहिलो छ महिनामा रेकर्ड नाफा कमाएको छ । सन् २०१६ मा स्थापना भएको यस कम्पनीको आम्दानी वार्षिक आधारमा ४ हजार प्रतिशतभन्दा बढीले बढेर २.८८ अर्ब युआन पुगेको छ भने खुद नाफा १.०४ अर्ब युआन पुगेको छ । एबरडीन समूहका लगानी निर्देशक जेमी मिल्स ओ’ब्रायनका अनुसार कामब्रिकन चीनको एआई एक्सेलेरेटर बजारमा सबैभन्दा सम्भावित विजेता हो, जुन चिप पहुँचको दृष्टिले अमेरिकी बजारको तुलनामा अझै प्रारम्भिक चरणमै छ । उनले आगामी १–२ वर्षमा उत्पादन परिपक्वता, ग्राहक स्वीकृति र इकोसिस्टम निर्माणजस्ता चुनौतीहरू क्रमशः समाधान हुँदै जाने र कामब्रिकनलाई चीनमा एनभीडीयाका डाउनग्रेडेड चिपहरूको ‘निकै राम्रो’ विकल्प बनाउने अपेक्षा व्यक्त गरे । अन्य एआई चिप कम्पनीहरू मेटाएक्सले बुधबारको आईपीओमार्फत करिब ६० करोड डलर उठाएको छ । यो कम्पनी पूर्व एएमडी कार्यकारी चेन वेइलियाङले स्थापना गरेका हुन् । सन् २०२० मा एनभीडीयाको चिनियाँ शाखाका पूर्व महाप्रबन्धकले स्थापना गरेको मुर थ्रेड्सलाई कहिलेकाहीँ चीनको एनभीडीया भनेर पनि चिनिन्छ । साउथ चाइना मर्निङ पोस्टका अनुसार कम्पनीले यस हप्ता बेइजिङमा हुने डेभलपर सम्मेलनमा आफ्नो पछिल्लो जीपीयू आर्किटेक्चर सार्वजनिक गर्ने तयारी गरेको छ । कम्पनीले आईपीओबाट प्राप्त रकम स्व–विकसित एआई प्रशिक्षण र इन्फरेन्स जीपीयू चिप उत्पादनसहित मुख्य अनुसन्धान तथा विकास कार्यलाई तीव्र बनाउन आवश्यक रहेको बताएको छ । इनफ्लेम सन् २०१८ मा पूर्व एएमडी कर्मचारीहरूले स्थापना गरेका हुन् र एआई प्रशिक्षणमा केन्द्रित डाटा सेन्टर चिप डिजाइन गर्छ । सन् २०१९ मा स्थापना भएको बिरेन टेक्नोलोजीले उच्च कार्यक्षमताका जीपीयू डिजाइन गरिरहेको छ ।  चिनियाँ नियामकले मंगलबार कम्पनीलाई आईपीओका लागि स्वीकृति दिएको छ ।

२० घण्टामा २ हजार मतदान गरे, ईश्वर पोखरेललाई लाग्यो १ घण्टा ४ मिनेट

काठमाडौं । नेकपा (एमाले) को ११औँ राष्ट्रिय महाधिवेशनअन्तर्गत नयाँ नेतृत्व चयनका लागि सुरु गरिएको मतदान २० घण्टादेखि निरन्तर जारी छ। बुधबार बिहान ९ बजेदेखि सुरु भएको मतदान निर्धारित समयभन्दा लामो समयसम्म तानिएको हो। केन्द्रीय निर्वाचन आयोगका अनुसार हालसम्म कुल २,२६२ मतदातामध्ये २००५ जनाले मतदान गरिसकेका छन् । अहिले ८० जना विद्युतीय मेसिनमा मतदान गरिरहेकाले बाँकी २७६ मत खस्न अझै बाँकी रहेको आयोगले जनाएको छ। मतदानका लागि प्रतिनिधिहरू लाइनमा बसेर पालो कुर्दै मतदान गरिरहेका छन्। निर्वाचन प्रक्रियामा हरेक घण्टामा औसतमा करिब १०० मत खसेको देखिएको छ। विद्युतीय मतदान प्रणाली प्रयोग गरिएकाले प्रत्येक मतदातालाई मतदान गर्न अपेक्षाकृत बढी समय लागेको आयोगको भनाइ छ। नेपाली वैज्ञानिकका रूपमा परिचित नुवाकोटका रिमाल दाजुभाइ राम-लक्ष्मणको प्रविधि प्रयोग गरिएको थियो । उनीहरुले बनाएको विद्युतीय मतदान प्रणाली आम निर्वाचनमा समेत प्रयोग गर्न माग उठिरहेको बेलामा नेकपा एमालेले आन्तरिक निर्वाचनमा यसका प्रयोग गरेको थियो । तर उक्त निर्वाचनमा मतदान प्रक्रिया निकै सुस्त भएपछि राम-लक्ष्मण प्रविधि काम नलाग्ने रहेछ भन्दै आलोचना भइरहेको छ । राम-लक्ष्मण दाजुभाइ एमालेले भने उम्मेदवारको संख्या धेरै भएको र मतदातामा विद्युतीय मतदान शिक्षाको कमी भएकाले मतदान ढिला भएको बताएको छ । एमाले अध्यक्षका उम्मेदवार ईश्वर पोखरेलले आफूलाई मतदान गर्न १ घण्टा ४ मिनेट लागेको निर्वाचनपछि सञ्चारकर्मीहरूलाई बताए । लामो समयसम्म चले पनि मतदान प्रक्रिया शान्तिपूर्ण र व्यवस्थित रूपमा अघि बढिरहेको छ। मतदानस्थलमा सुरक्षा व्यवस्था कडा पारिएको छ भने प्राविधिक टोली समेत सतर्क अवस्थामा राखिएको छ। २० घण्टा लामो यो मतदानलाई पार्टीभित्रको लोकतान्त्रिक अभ्यासको सशक्त उदाहरणका रूपमा हेरिएको एमाले नेता माधव ढुङ्गेलले बताए । नेतृत्व चयनमा प्रतिनिधिहरूको सक्रिय सहभागिताले एमालेको आन्तरिक लोकतन्त्रलाई व्यवहारमै अभ्यास गरिएको ढुङ्गेलको धारणा छ।

माइक्रोसफ्टपछि अमेजन पनि ओपनएआईतर्फ ? १० अर्ब डलरभन्दा ठूलो सम्झौताको संकेत

काठमाडौं । कृत्रिम बौद्धिकता (एआई) स्टार्टअप ओपनएआईले सम्भावित लगानी र आफ्ना एआई चिप्स प्रयोग गर्ने सम्झौताबारे अमेजनसँग छलफल गरिरहेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यहरूले जनाएका छन् ।  विषयसँग परिचित एक व्यक्तिका अनुसार सम्झौताका विवरणहरू अझै अन्तिम भइनसकेका र परिवर्तन हुन सक्ने अवस्थामा छन् ।  ती व्यक्तिका अनुसार लगानी रकम १० अर्ब डलरभन्दा बढी हुन सक्ने अनुमान छ । सम्भावित सम्झौताबारे ‘द इन्फर्मेशन’ले पहिलोपटक समाचार प्रकाशित गरेको थियो। यो छलफल ओपनएआईले अक्टोबरमा पुनर्संरचना पूरा गरी माइक्रोसफ्टसँगको साझेदारीका विस्तृत विवरण सार्वजनिक गरेपछि सुरु भएको हो । यसले ओपनएआईलाई पूँजी जुटाउन र फराकिलो एआई इकोसिस्टमभित्र अन्य कम्पनीहरूसँग साझेदारी गर्न थप स्वतन्त्रता दिएको छ । माइक्रोसफ्टले सन् २०१९ देखि ओपनएआईलाई समर्थन गर्दै आएको छ र हालसम्म १३ अर्ब डलरभन्दा बढी लगानी गरिसकेको छ । तर अक्टोबरमा जारी विवरणअनुसार अब माइक्रोसफ्टसँग ओपनएआईको कम्प्युट सेवा प्रदायक बन्न पहिलो प्राथमिकताको अधिकार (राइट अफ फर्स्ट रिफ्युजल) छैन । ओपनएआईले अब तेस्रो पक्षसँग पनि केही उत्पादन विकास गर्न सक्ने भएको छ । अमेजनले ओपनएआईको प्रतिस्पर्धी कम्पनी एन्थ्रोपिकमा कम्तीमा ८ अर्ब डलर लगानी गरिसकेको छ । तर ई–कमर्स क्षेत्रको दिग्गज अमेजनले तीव्र गतिमा बढिरहेको जेनेरेटिभ एआई बजारमा आफ्नो उपस्थिति अझ विस्तार गर्न खोजिरहेको हुन सक्ने देखिन्छ । माइक्रोसफ्टले पनि गत महिना एन्थ्रोपिकमा ५ अर्ब डलरसम्म लगानी गर्ने घोषणा गरेको थियो भने एनभिडियाले उक्त स्टार्टअपमा १० अर्ब डलरसम्म लगानी गर्ने जनाएको छ । अमेजन वेब सर्भिसेज (एडब्ल्यूएस) ले सन् २०१५ तिरदेखि आफ्नै एआई चिप्स डिजाइन गर्दै आएको छ । मोडेल प्रशिक्षण र बढ्दो कम्प्युट माग पूरा गर्न एआई कम्पनीहरूका लागि हार्डवेयर अत्यन्तै महत्त्वपूर्ण बन्दै गएको छ ।  एडब्ल्यूएसले २०१८ मा आफ्नो ‘इन्फरेन्टिया’ चिप्स घोषणा गरेको थियो भने यसै महिनाको सुरुमा ‘ट्रेनियम’ चिप्सको नयाँ पुस्ता सार्वजनिक गरेको हो । हालका महिनाहरूमा ओपनएआईले एनभिडिया, एडभान्स्ड माइक्रो डिभाइस (एएमडी) र ब्रडकम जस्ता चिप निर्माता कम्पनीहरूसँग सम्झौतासहित १.४ ट्रिलियन डलरभन्दा बढीको पूर्वाधारसम्बन्धी प्रतिबद्धता गरेको छ । गत महिना ओपनएआईले क्लाउड पूर्वाधार क्षेत्रमा अग्रणी एडब्ल्यूएससँग ३८ अर्ब डलर बराबरको क्षमता खरिद गर्ने सम्झौता गरेको थियो, जुन एडब्ल्यूएससँग ओपनएआईको पहिलो सम्झौता हो । अक्टोबरमै ओपनएआईले ६.६ अर्ब डलरको द्वितीय सेयर बिक्री (सेकेन्डरी सेयर सेल) टुंगो लगाएको थियो, जसअन्तर्गत वर्तमान तथा पूर्व कर्मचारीहरूले ५०० अर्ब डलरको मूल्याङ्कनमा आफ्ना सेयर बिक्री गर्न पाएका थिए।