एनसेलको डेटा सेन्टर अवलोकन गर्दै सञ्चारमन्त्री खरेलले गरे सहयोगको प्रतिबद्धता
काठमाडौं । सञ्चार, सूचना तथा प्रविधिमन्त्री जगदीश खरेलले सोमबार ललितपुरको नख्खुस्थित एनसेलको इन्टिग्रेटेड डेटा सेन्टरको अवलोकन भ्रमण गरेका छन् । खरेललाई एनसेलका अध्यक्ष सतीश लाल आचार्य, प्रमुख कार्यकारी अधिकृत (सीईओ) माइकल फोले तथा कम्पनी व्यवस्थापनका अन्य सदस्यहरूले स्वागत गरे । अवलोकन भ्रमणपछि बैठकका क्रममा एनसेलका अध्यक्ष र सीईओले मन्त्री खरेललाई कम्पनी, यसका सेवाहरू, अर्थतन्त्रमा पुर्याएको योगदान तथा पछिल्लो जेनजी आन्दोलनको प्रभावबारे जानकारी गराएका थिए । उक्त प्रदर्शनका कारण एनसेललाई करिब ६५ करोड रुपैयाँ बराबरमो क्षति पुगेको थियो, जसअन्तर्गत काठमाडौंस्थित मुख्य कार्यालय एनसेल आइकन सहितका संरचनाहरूमा गम्भीर नोक्सानी भएको थियो । मन्त्री खरेलले दूरसञ्चार क्षेत्रको विकासमा एनसेलको भूमिका र राष्ट्रिय अर्थतन्त्रमा पुर्‍‍याएको योगदानको प्रशंसा गरेका छन् । उनले सरकारले आवश्यक सहयोग गर्ने बताए र एनसेललाई सगरमाथा क्षेत्रमा सेवा विस्तार गर्न तथा ग्रामीण भेगका उपभोक्तालाई किफायती मूल्यमा गुणस्तरीय सेवा उपलब्ध गराउने सुनिश्चितता गर्न एनसेललाई सुझाव दिएका छन् । त्यस्तै, उनले विद्यार्थीहरूका लागि एनसेलले ल्याउन लागेको जेनजी प्याक र हरेक वर्ष १०० जना विद्यार्थीलाई छात्रवृत्ति प्रदान गर्ने कम्पनीको नयाँ पहलको प्रशंसासमेत गरे । बैठकमा एनसेलका सीईओ फोलेले प्रत्येक वर्ष देशभरबाट माध्यमिक शिक्षा परीक्षा (एसईई)मा सहभागी हुने १०० विद्यार्थीहरूलाई छात्रवृत्ति प्रदान गर्ने घोषणा गर्दै यस सामाजिक पहलका लागि १ करोड रुपैयाँको कोष व्यवस्था गर्ने प्रतिबद्धता जनाए । फोलेले निरन्तर सेवा दिने एनसेलको अटल प्रतिबद्धता, नयाँ संकल्प र सहनशीलतासहित जारी रहने बताए । सरकारको डिजिटल नेपाल निर्माण गर्ने लक्ष्यलाई एनसेलले निरन्तर साथ दिइरहेको बताउँदै उनले डिजिटलाइजेशन ड्राइभका प्रमुख आधारभूत संरचनामध्ये एनसेलको डेटा सेन्टर एक रहेको बताए । विगत दुई दशकदेखि एनसेल सूचना तथा सञ्चार प्रविधि क्षेत्रको रूपान्तरण यात्रामा देश र जनतासँगै जनतासँगै काम गर्दै आएको छ । रोजगारी सिर्जना, सामाजिक आर्थिक विकासमा हातेमालोका साथै डिजिटल नेपालको भिजनमा योगदान पुर्‍यायाउँदै एनसेल देशको विकास यात्राको अभिन्न हिस्सा रहँदै आएको छ । नेपालका सबैभन्दा ठूला करदातामध्ये एक एनसेलले गत आर्थिक वर्ष २०८१/८२ सम्ममा कर तथा शुल्क मिलाएर झण्डै ३६० अर्ब रुपैयाँ तिरेको छ । कम्पनीले देशभर प्रत्यक्ष तथा अप्रत्यक्ष रूपमा करिब १ लाख रोजगारी सिर्जनामा समेत योगदान पुर्याएको छ ।
एनसेलद्वारा नयाँ ९७१ नम्बर रेन्जको मोबाइल नम्बर वितरण सुरु
काठमाडौं । एनसेलले आम उपभोक्ताहरुको सुविधाका लागि सोमबारबाट नयाँ नम्बर रेन्ज ९७१ बाट सुरु हुने मोबाइल नम्बर उपलब्ध गराउन थालेको छ । नेपाल दूरसञ्चार प्राधिकरणले गत जेठमा एनसेललाई यो नम्बर रेन्जको नम्बरहरु वितरण गर्नका लागि अनुमति प्रदान गरेको थियो । कम्पनीका अनुसार यो नयाँ नम्बर रेन्ज प्राधिकरणको राष्ट्रिय नम्बरिङ् वितरण योजना (नेशनल नम्बरिङ् अलोकेशन प्लान) को नियम अनुरुप जारी भएको हो । प्राधिकरणद्वारा एनसेललाई जारी नम्बर रेन्ज ९८०, ९८१, ९८२, ९७० मार्फत सेवाग्राहीहरुका लागि सेवा प्रदान गर्नका लागि मोबाइल नम्बरहरु अपुग भएकोले नयाँ नम्बर रेन्ज प्रदान गरिएको थियो । 'बजारको अवस्थालाई ध्यानमा राखी नयाँ नम्बर रेन्जको अनुमति प्रदान गरेकोमा हामी प्राधिकरणप्रति आभारी छौं । आवश्यक तयारी पश्चात नयाँ नम्बर रेन्जका नम्बरहरु वितरण थालिएको छ । साधारण सञ्चार सेवा बाहेक डिजिटल कारोबार र विभिन्न सेवाहरु मोबाइलमार्फत नै लिने क्रम बढिरहेको हालको अवस्थामा नयाँ नम्बरहरुले उपझोक्ताका साथै सेवा प्रदायकहरुलाई समेत लाभ प्रदान गर्नेछ,' एनसेलका चीफ कन्जुमर विजनेस अफिसर उपङ् दत्तले भने । नयाँ नम्बरहरु वितरणसँगै एनसेलले प्रत्यक्ष अथवा अप्रत्यक्ष रुपमा मोबाइल प्रणालीमा आवद्ध भई विभिन्न प्रकारका सेवा तथा सुविधा प्रदान गर्ने सरकारी तथा गैर सरकारी संस्था, सेवाप्रदायक कम्पनी, कार्यलय, बैंक तथा वित्तीय संस्थाहरुलाई यो नयाँ नम्बर रेञ्ज आ–आफ्नो प्रणालीमा इन्ट्रिगेटरअपडेट गर्न बाँकी रहेको भए चाँडै गर्ने अनुरोध पनि गरेको छ । चुस्त सेवा प्रवाहका लागि सेवा प्रदायकहरुले आफ्नो प्रणालीमा नयाँ नम्बर रेञ्ज इन्ट्रिगेटरअपडेट गर्न आवश्यक रहेको कम्पनीले जनाएको छ । दूरसञ्चार सेवाहरू बाहेक विविध सेवा, सुविधासँग सम्बन्धित वान टाइम पासवर्ड (ओटीपी) प्राप्त गर्न, मोबाइल एप तथा वेब–आधारित सेवाहरूमा साइन अप गर्न, र विभिन्न डिजिटल कारोबार गर्न मोबाइल नम्बर अत्यावश्यक हुन्छ । सूचना प्रविधिको विकाससँगै डिजिटल भविष्यतर्फ उन्मुख भईरहेको हालको अवस्थामा, मोबाइल नम्बर विभिन्न सेवाहरू सहज र डिजिटल रूपमा लिन महत्वपूर्ण माध्यम बनेको छ ।
डिशहोमको दुईतर्फी भोइस एआई ‘खुशी’ सार्वजनिक
काठमाडौं । डिश मिडिया नेटवर्क लिमिटेड (डिशहोम) ले नेपालमै पहिलो दुईतर्फी संवादमा आधारित भोइस एआई सेवा ‘खुशी’ सार्वजनिक गरेकाे छ । कम्पनीले ‘खुशी’ मार्फत ग्राहक सेवाको डिजिटल रूपान्तरणलाई नयाँ स्तरमा पुर्याउने दाबी गरेको छ । यसअघि डिशहोमले भर्चुअल प्रिभिलेज कार्डमार्फत होटल, रेस्टुरेन्ट, रिसोर्ट, स्वास्थ्य सेवा र इलेक्ट्रोनिक सामानसहित २०० भन्दा बढी साझेदार व्यवसायमा २५ प्रतिशतसम्म छुट उपलब्ध गराएको थियो । त्यस्तै, डिशहोम गो ओटीटी प्लेटफर्ममार्फत नेपाल प्रिमियर लिग (एनपिएल) २०२५ को प्रत्यक्ष प्रसारण गर्दै उद्घाटन खेलमा दुई लाखभन्दा बढी दर्शक एकैसाथ आकर्षित गर्न सफल भएको कम्पनीले जनाएको छ । स्थानीय सन्दर्भलाई ध्यानमा राखेर विकसित गरिएको ‘खुशी’ नेपाली भाषामा प्राकृतिक, मानव–जस्तै आवाजमा संवाद गर्न सक्षम छ । यसले सेवा निष्क्रिय भएका ग्राहकसँग निरन्तर सम्पर्क राखेर पुनःनवीकरणमा प्रेरित गर्ने, प्रतिक्रिया तथा गुनासो सङ्कलन गरी सेवा केन्द्रसम्म पुर्याउने र कुराकानीकै आधारमा भावनात्मक प्रतिक्रिया विश्लेषण गरी प्रतिवेदन तयार गर्ने क्षमता राख्छ । नेटवर्क अवरोध वा अन्य प्राविधिक समस्या देखिएमा ‘खुशी’ डिशहोमको केन्द्रीय प्रणालीसँग एकीकृत भई ग्राहकलाई कलको क्रममा अवरोधको कारण, अनुमानित समाधान समय तथा प्रगतिबारे तुरुन्त जानकारी दिन पनि सक्षम बनाइने कम्पनीको दाबी छ। आगामी चरणमा डिशहोमले ‘खुशी’ लाई ग्राहक पहिचान प्रमाणीकरण, विवरण अभिलेख अद्यावधिक र सेवा तथा प्राविधिक मर्मतको समय व्यवस्थापनमा प्रयोग गर्ने तयारी गरेको छ । फेसबुक मेसेन्जर र वेबच्याटमा प्रयोग भैरहेका सामान्य च्याटबोटमा ‘खुशी’ एकीकृत गर्ने कार्य जारी रहेको र छिट्टै यो सेवा व्हाट्सएप तथा भाइबरमा पनि विस्तार गरिने जनाएको छ । कम्पनीका अनुसार नेपाली भाषामा आधारित संवाद प्रणालीलाई अझ सक्षम बनाउन अन्तर्राष्ट्रिय अनुसन्धान संस्थासँग सहकार्य गरी दीर्घकालीन परियोजना अघि बढाउने तयारीसमेत भइरहेको छ । कम्पनीका प्रवक्ताका अनुसार ‘खुशी’ को सार्वजनिकतासँगै डिशहोम अधिक डिजिटल, छरितो र मानवीय–शैलीअनुकूल ग्राहक सेवा प्रविधितर्फ अघि बढेको छ, जुन नेपालमा भोइस एआईको व्यावसायिक प्रयोगमा नयाँ मापदण्ड बन्ने अपेक्षा गरिएको छ ।