मधेशदेखि कर्णालीसम्म : २५० नयाँ टावरमार्फत एनसेलको फोरजी पहुँच सुदृढ

काठमाडौं । एनसेलले आफ्नो फोरजी नेटवर्कको पहुँच विस्तार र गुणस्तर सुधारतर्फ महत्त्वपूर्ण कदम चाल्दै गतवर्ष २०२५ मा देशभर २५० वटा नयाँ टावर जडान गरी सञ्चालनमा ल्याएको छ ।  साथै २ हजार २०० वटा टावरहरूमा क्षमता अभिवृद्धि गरेको छ । विश्वसनीय कनेक्टिभिटी एक सेवा मात्र नभई सुरक्षा, शिक्षा, व्यवसाय तथा आफ्ना प्रियजनहरूसँग सधैं सम्पर्कमा रहन लागि अत्यावश्यक बन्दै गएको बेलामा यो फोरजी नेटवर्क सुदृढीकरण र सेवा विस्तार गरिएको हो ।  सातै प्रदेशका विभिन्न स्थानीय तहहरूमा नयाँ टावरहरू स्थापना गरी सञ्चालनमा ल्याइएका छन् भने विशेषगरी मधेस, लुम्बिनी, कोशी र बागमती प्रदेशमा केन्द्रित हुँदै यो पहल अघि बढाइएको थियो । एनसेलले कर्णाली प्रदेशका दैलेखको सभापोखरी, रुकुम पश्चिमको पुर्तिमकाँडा र सल्यानको बागचौर लगायतका स्थानिय तहहरुमा टावर स्थापना गर्दै फोरजी सेवा दिइएको छ । सुदूरपश्चिम प्रदेशका डोटीको लडागडा, कैलालीको बनजरिया र कञ्चनपुरको सरस्वती टोललगायत अन्य ठाउँमा पनि टावरहरू स्थापना गरिएका छन्।  यसैगरी, मधेश प्रदेशका सिराहाको हनुमाननगर, सप्तरीको भीमपुर र धनुषाको मुसहरनियालगायत दर्जनौं स्थानहरूमा नयाँ टावर सञ्चालनमा आएपछि स्थानीयहरू उच्च गुणस्तरको भ्वाइस र मोबाइल ब्रोडब्याण्ड सेवाबाट लाभान्वित भएका छन् । कुल २५० वटा टावरमध्ये १९७ वटा टावरहरू पछिल्लो साढे दुई महिनामा स्थापना गरिएका हुन् भने स्टकमा रहेका तथा स्पेयर उपकरणको अधिकतम उपयोगमार्फत ५३ वटा नयाँ टावर सञ्चालनमा ल्याइएका हुन् । लामो समयसम्म रोकिएको सहजीकरण नेपाल दूरसञ्चार प्राधिकरणले सहज बनाएसँगै कम्पनीले नयाँ टावर स्थापनाको कामलाई तीव्र रुपमा अगाडि बढाएको थियो । नयाँ टावरहरूको संख्याका दृष्टिले मधेश प्रदेशमा १०० भन्दा बढी नयाँ टावरहरू स्थापना गरिएका छन्, त्यसपछि लुम्बिनीमा ४० भन्दा बढी र कोशी प्रदेशमा ३५ भन्दा बढी टावरहरू स्थापना भएका छन् । यसैगरी, बागमती, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशमा पनि थप टावरहरू स्थापना गरिएका छन् ।  नयाँ उपकरणको आयातमा प्रतिबन्ध लागेका बेलामा पनि एनसेलले आफ्नो फोरजी सुधार र विस्तार कार्य जारी राख्दै स्टक र स्पेयर उपकरणको प्रयोग गरी ५३ वटा नयाँ टावर स्थापना गरेको थियो । यस विस्तारले देशव्यापी रूपमा ग्राहकहरूको लागि फोरजी नेटवर्क पहुँच अझ सुदृढ बनाउने छ र सेवाको गुणस्तरमा थप सुधार हुने विश्वास कम्पनीले लिएको छ ।  एनसेलले ग्राहकहरूलाई उच्च गतिको मोबाइल ब्रोडब्यान्डमा पहुँच सुनिश्चित गर्दै जेठ २०७४ बाट फोरजी सेवा सुरु गरेको थियो । यो सेवा ७७ वटै जिल्लामा विस्तार विस्तार भइसकेको छ र कुल जनसंख्याको ९५ प्रतिशतभन्दा बढी जनतामाझ यो सेवा पुगेको छ ।

१६ करोड अमेरिकी डलर बराबरका निर्यात नियन्त्रित एनभीडीया चिप्स कसरी चीन पुगे ?

काठमाडौं । डिसेम्बर ८ मा अमेरिकाको टेक्सास राज्यका संघीय अभियोजकहरूले सार्वजनिक गरेका कागजातहरूले अमेरिका र विश्वभर फैलिएको एक विशाल तस्करी सञ्जालमाथि भइरहेको अनुसन्धानको खुलासा गरे । संघीय अधिकारीहरूले यस अनुसन्धानलाई ‘अपरेशन गेटकिपर’  नाम दिएका थिए । यो अनुसन्धान लागूऔषध तस्करी वा चोरीका सामानमा केन्द्रित थिएन, बरु एनभीडीयाका ग्राफिक्स प्रोसेसिङ युनिट्स (जीपीयू) का लागि बताए अनुसार चलाइँदै आएको गोप्य, भूमिगत आपूर्तिकर्ता सञ्जालमाथि केन्द्रित थियो । यस्ता चिप्स कृत्रिम बौद्धिकता (एआई) प्रतिस्पर्धाको मेरुदण्ड मानिन्छन् र तिनको प्रयोग सैन्य तथा नागरिक दुवै प्रयोजनका लागि हुन सक्छ । सरकारका अनुसार एउटा लुकेको तस्करी गिरोहले अमेरिकी राष्ट्रिय सुरक्षासम्बन्धी निर्यात नियन्त्रण कानुनको अवज्ञा गर्दै चिप्स चीन पठाइरहेको थियो । उक्त तस्करी सञ्जालमा अवैध रूपमा संयुक्त राज्य प्रवेश गर्ने व्यक्तिहरू, फ्रन्ट कम्पनीहरू र न्यू जर्सीमा रहेको एक गोप्य गोदाममार्फत गरिने ढुवानी सञ्चालन संलग्न थियो । जहाँ अमेरिकी सरकारका तर्फबाट काम गरिरहेका कम्तीमा एक जना भेष बदलेका (अन्डरकभर) एजेन्टले प्रवेश गरेका थिए । संघीय अनुसन्धानले पत्ता लगाएका तथ्यहरूले अत्याधुनिक चिप्समा पहुँचका लागि संयुक्त राज्य अमेरिका र चीनबीच चलिरहेको तीव्र प्रतिस्पर्धालाई उजागर गर्छ, जसले विश्व अर्थतन्त्रको भविष्य निर्धारण गर्ने धेरैको विश्वास छ । अधिकारीहरूका अनुसार उक्त तस्करी सञ्जालले अक्टोबर २०२४ देखि मे २०२५ सम्म चीनमा कम्तीमा १६ करोड अमेरिकी डलर बराबरका एनभीड‍ीया एच १०० एच २०० जीपीयू निर्यात गर्ने प्रयास गरेको थियो । चीनबाट यी चिप्सको माग अत्यन्तै ठूलो छ र हालसम्म उत्कृष्ट आपूर्ति अझै पनि संयुक्त राज्य अमेरिकामै केन्द्रित छ । चीनले आफ्नै स्थानीय एआई चिप बजार विकास गरिरहेको भए पनि देश अझै पनि एनभीडीयाको प्रविधिमा अत्यधिक निर्भर रहेको छ । सेमीएनालाइसिसका विश्लेषक रे वाङ भन्छन्, ‘मलाई लाग्छ अहिले चीनका अग्रणी  एआई मोडेलहरूमध्ये ६० प्रतिशतभन्दा बढीले एनभीडीयाको हार्डवेयर प्रयोग गरिरहेका छन् । हार्डवेयरदेखि सफ्टवेयरसम्म एनभीडीयासँग प्रणालीगत फाइदा छ । र अहिलेको अवस्थामा यी दुवै पक्षलाई एकसाथ हेर्दा चीन अझै पनि त्यसको पछि लागेर सम्हाल्ने प्रयासमै छ ।’ तथ्य संकलनका क्रममा सरकारले न्यू जर्सीको सेककसमा रहेको एक गोदाममा एक जना अन्डरकभर एजेन्ट पठायो । त्यहाँ उक्त व्यक्तिले एनभीडीया जीपीयूहरूलाई ‘सान्डकायन’ नामको नक्कली कम्पनीको ब्रान्डिङ लगाएर पुनः लेबल गरिँदै गरेको दृश्य कथित रूपमा देखेका थिए ।  सरकारका अनुसार ढुवानी तथा निर्यातसम्बन्धी कागजातहरूमा ती सामानलाई ‘एड्याप्टर’, ‘एड्याप्टर मोड्युल’ र ‘कन्ट्याक्टर कन्ट्रोलर’ भनेर गलत रूपमा वर्गीकृत गरिएको थियो । मे २८ मा न्यू जर्सीको उक्त गोदाममा षड्यन्त्रकारीहरूले भाडामा लिएका तीनवटा ट्रकहरू तस्करी गरिएका चिप्स उठाउन आइपुगेपछि अपरेशन गेटकिपर नाटकीय रूपमा उत्कर्षमा पुगेको थियो । षड्यन्त्रकारीहरूले प्रयोग गरेको भनिएको एक टेक्स्ट च्याट समूहमा एक प्रयोगकर्ताले सन्देश पठाउँदै न्यू जर्सीको गोदामसम्म सामान ल्याइरहेका एक ट्रक चालकले घटनास्थलमा प्रहरी अधिकारीहरू देखिएको र उनीहरूले कार्गोको गन्तव्यबारे प्रश्न सोधिरहेको जानकारी दिएका थिए । सन्देशअनुसार षड्यन्त्रकारीहरूले चालकहरूलाई ‘केही पनि थाहा छैन भनेर मात्र भन्नू’ भन्ने निर्देशन दिएका थिए। अभियोजकहरूका अनुसार पाँच मिनेटपछि षड्यन्त्रकारीहरूमध्ये एक जनाले सम्पूर्ण च्याट समूहमा अर्को सन्देश पठाए– यो समूह च्याट विघटन गर, सबैलाई डिलिट गर । त्यसको केही समयपछि संघीय एजेन्टहरूले त्यहाँ छापा मारेर उच्च प्रविधियुक्त उपकरणहरू नियन्त्रणमा लिए र घटनास्थलमा रहेका सामानहरू चीन पठाउन नदिन सफल भए । यो मुद्दा पछिल्ला महिनाहरूमा अनधिकृत एनभीडीया निर्यातसम्बन्धी यस्तै किसिमका धेरै कारबाहीहरू भइरहेका बेला आएको हो । थिङ्क ट्यांक ‘सेन्टर फर अ न्यू अमेरिकन सेक्युरिटी’को अनुमानअनुसार २०२४ मा मात्र १० हजारदेखि सयौं हजारसम्म एआई चिप्स चीनमा तस्करी गरिएका थिए । ‘आजको संसारमा एनभीडीयाका चिप्स गैरकानुनी रूपमा हात पार्ने धेरै तरिकाहरू छन् जस्तो मलाई लाग्छ,’ वाङले भने, ‘तपाईं विश्वभर डेटा सेन्टर स्थापना गर्न सक्नुहुन्छ, शेल कम्पनीहरू खोलेर एनभीडीयाका चिप्स किन्न सक्नुहुन्छ। अनि एनभीडीयाका लागि ट्र्याक गर्न र उचित जाँचबुझ गर्न अत्यन्तै गाह्रो हुन्छ ।’ एनभीडीयाका एक प्रवक्ताले सीएनबीसीलाई अमेरिकी सरकारको निर्यात नियन्त्रण प्रक्रिया कडा र व्यापक रहेको बताएका छन् । ‘दोस्रो बजारमा पुराना पुस्ताका उत्पादनहरूको बिक्रीसमेत कडा निगरानी र समीक्षा अन्तर्गत पर्छ,’ एनभीडीयाका प्रवक्ताले भने, ‘व्यवसाय, घर र विद्यालयहरूमा लाखौं नियन्त्रित जीपीयूहरू प्रयोगमा रहे पनि हामी सरकार र हाम्रा ग्राहकहरूसँग मिलेर दोस्रो हातबाट हुने तस्करी नहोस् भन्ने सुनिश्चित गर्न निरन्तर काम गर्नेछौं ।’ तर संघीय अभियोजकहरूले आफ्नो अनुसन्धान सार्वजनिक गरेको त्यही दिन राष्ट्रपति डोनाल्ड ट्रम्पले सामाजिक सञ्जालमा गरेको एक पोस्टले सम्पूर्ण अपरेशनलाई कमजोर पार्न सक्ने अवस्था सिर्जना ग‍र्यो । ट्रम्पले ‘ट्रुथ सोसल’ मा लेख्दै अब संयुक्त राज्यले एनभीडीयाका एच २०० जीपीयू अपरेशन गेटकिपरमा अधिकारीहरूले नियन्त्रणमा लिएका सबैभन्दा शक्तिशाली जीपीयू चीन निर्यात गर्न अनुमति दिने बताए । ट्रम्पका अनुसार ती निर्यातहरू अमेरिकी सरकारले बिक्री रकमको २५ प्रतिशत हिस्सा प्राप्त गर्ने सर्तमा अनुमति दिइनेछ । तर एनभीडीयाका सबैभन्दा उन्नत एआई चिप्स, ब्ल्याकवेल र रुबिन जीपीयू भने अझै निर्यातका लागि स्वीकृत नभएको उनले स्पष्ट पारे । अपरेशन गेटकिपरको परिणामस्वरूप दुई जना व्यवसायी पक्राउ परे भने एक ह्युस्टनका व्यक्ति र उनको कम्पनीले अत्याधुनिक एआई प्रविधि तस्करी गरेको अभियोग स्वीकार गरे । तर राष्ट्रपतिको उक्त घोषणाले अमेरिकी अभियोजकहरूका लागि मुद्दा कमजोर बनाइदिएको छ, किनकि उनीहरू उही चिप्सको तस्करी राष्ट्रिय सुरक्षाका लागि खतरा भएको प्रमाणित गर्न प्रयासरत थिए । अभियुक्तहरूको तर्फबाट बहस गर्ने रक्षा वकिलहरूले यस अवसरलाई तुरुन्तै प्रयोग गरे । भोलिपल्ट अदालतमा दायर गरिएको निवेदनमा रक्षा वकिलहरूले लेखे, ‘राष्ट्रपतिले नै उक्त दाबीलाई झुटो सावित गरिदिए, जब उनले यस मुद्दामा अधिकारीहरूले नियन्त्रणमा लिएका सबैभन्दा शक्तिशाली जीपीयू एनभीडीयाका एच २०० अब चीन निर्यात गर्न संयुक्त राज्यले अनुमति दिने घोषणा गरे ।’ केही विज्ञहरूले भने एनभीडीयाका सबैभन्दा उच्चस्तरका एआई चिप्सको तस्करी चीनमा जारी नै रहने विश्वास व्यक्त गरेका छन् ।  ‘मलाई तस्करी अचानक रोकिन्छ जस्तो लाग्दैन,’ वाङले भने, ‘एच २०० चिप्स खुला गरिनुले मात्र चीनको एआई माग पूरा हुन्छ कि हुँदैन भन्ने कुरा स्पष्ट छैन । विश्वव्यापी रूपमा हामीले देखिरहेको कम्प्युटिङ माग तीव्र गतिमा बढिरहेको छ र चीनमा पनि त्यस्तै अवस्था हुने मेरो विश्वास छ ।’

नेपाली प्रविधिमा नयाँ अध्याय : टिङ टिङले ग‍र्यो पहिलो भर्चुअल एआई प्रडक्ट लन्च

काठमाडौं । कृत्रिम बौद्धिकता (एआई) टेलिफोनी सेवामा अग्रणी टिङ टिङले नेपालकै पहिलो भव्य ‘भर्चुअल प्रडक्ट लन्च’ आयोजना गर्दै ‘टिङटिङ नेक्स्ट’ सार्वजनिक गरेको छ ।  यससँगै टिङ टिङले आफूलाई केवल एआई टेलिफोनी सेवा प्रदायकको सीमामा नराखी, एक बहुआयामिक एआई पावरहाउसका रूपमा स्थापित गरेको छ । यस लन्चलाई नेपाली प्रविधि इकोसिस्टमका लागि नयाँ मानकको रूपमा हेरिएको छ । टिङ टिङले अत्याधुनिक सञ्चार उपकरणहरू सार्वजनिक गर्नुका साथै व्यवसाय र ग्राहकबीचको सम्बन्धलाई पुनः आत्मीय बनाउने दृष्टिकोण अघि सारेको छ । यसले साधारण अटोमेसनभन्दा माथि उठेर ‘ह्युमन–एआई एम्प्लिफिकेशन’ तर्फको यात्राको संकेत गर्ने कम्पनीले जनाएको छ  । टिङ टिङले नेपाली बजारका विशिष्ट आवश्यकता र चुनौतीलाई सम्बोधन गर्न चारवटा मुख्य प्रडक्ट लाइन सार्वजनिक गरेको छ । १. टिङ टिङ भ्वाइस यस इकोसिस्टमको केन्द्रमा रहेको ‘रिरी’ नेपालमै शून्यबाट विकसित टेक्स्ट–टु–स्पीच इन्जिन हो । स्थानीय लवज, भावना र सांस्कृतिक सन्दर्भमा आधारित ‘रिरी’ले रोबोटिक वा विदेशी लवजभन्दा फरक, स्वाभाविक नेपाली आवाजमा संवाद गर्छ । २. टिङ टिङ टेक्स्ट नेपालकै सबैभन्दा ठूलो एसएमएस पूर्वाधारसँग एकीकृत यो प्रणालीले सार्वजनिक सूचना, सेवा अपडेट तथा महत्वपूर्ण सन्देशहरू छिटो र भरपर्दो रूपमा लाखौं प्रयोगकर्तासम्म पु‍र्याउने सुनिश्चित गर्दछ । ३. टिङ टिङ फर्म्स ग्राहक प्रतिक्रिया संकलन गर्ने परम्परागत शैलीलाई रूपान्तरण गर्दै यसले आवाजमार्फत प्रतिक्रिया दिने सुविधा प्रदान गर्छ । बोलेको नेपालीलाई एआईले तुरुन्तै व्यवस्थित र कार्ययोग्य डाटामा रूपान्तरण गर्ने भएकाले जटिल डिजिटल फर्महरूको झन्झट हट्नेछ । ४. टिङ टिङ एजेन्ट्स  लन्चको मुख्य आकर्षणका रूपमा प्रस्तुत यो प्रविधिले ‘सपोर्टका लागि १ थिच्नुहोस्’ जस्ता पुराना मेनु प्रणालीलाई विस्थापित गर्छ । २०० मिलिसेकेन्डभन्दा कम समयमा नेपाली लवज र आशय बुझ्दै प्राकृतिक दुईतर्फी संवाद गर्न सक्ने यो प्रणालीले ग्राहक अनुभवलाई नयाँ स्तरमा पुर्‍याउने अपेक्षा गरिएको छ । टिङ टिङ नेपालकै अग्रणी एआई सञ्चार प्लेटफर्म हो । नेपालमै जन्मिएको र विश्वका लागि निर्माण गरिएको यो प्लेटफर्मले आफ्नै एआई भ्वाइस इन्जिन तथा अत्याधुनिक प्रविधिमार्फत व्यवसायहरूलाई आफ्ना ग्राहकलाई अझ गहिरोसँग बुझ्न सहयोग गर्दै आएको छ ।