नेपाल टेलिकमको सहुलियत थप तीन महिना
काठमाडौं । नेपाल टेलिकमले जीएसएम तथा सीडीएमए मोबाइल प्रयोगकर्तालाई नयाँ वर्ष तथा अन्य अवसरमा उपलब्ध गराएका विभिन्न सुविधालाई तीन महिना थप गरेको छ । उपभोक्ताले अत्याधिक रुचाएकोले यसलाई निरन्तरता दिइएको टेलिकमले जनाएको छ । यो सहुलियत आउदो कात्तिक २३ गतेसम्म कायम रहने जारी प्रेस विज्ञप्तिमा उल्लेख छ । अफर अन्तर्गत अल टाइम डाटा प्याकेज, नाइट डाटा प्याकेज, फेसबुक÷इन्स्टाग्राम डाटा प्याक, फोरजी डाटा प्याक र नाइट भ्वाइस प्याकेज रहेको जानकारी दिइएको छ । जीएसएम प्रिपेड÷पोष्टपेड तथा सीडीएमए प्रिपेड÷पोष्टपेड मोबाइलमा अल टाइम डाटा प्याकेज र नाइट डाटा प्याकेज प्रयोग गर्न सकिने छ । नाइट भ्वाइस प्याकेज अन्तर्गत २५ रुपैयाँमा राती १० बजेदेखि बिहान ६ बजेसम्म २५० मिनेट कल सुविधा सात दिनसम्म उपभोग गर्न पाइने गरी उपलब्ध गराएको टेलिकमले जनाएको छ । अल टाइम डाटा प्याकेज अन्तर्गत २५ रुपैयाँमा सात दिनसम्म चौबिसै घण्टा उपभोग गर्न पाउने गरी ६० एमबी डाटा उपलब्ध गराइएको छ । त्यसैगरी, ५० रुपैयाँमा १५ दिनसम्म चौबिसै घण्टा उपभोग गर्न पाउने गरी १२५ एमबी डाटा, १ सय रुपैयाँमा ३० दिनसम्म चौबिसै घण्टा उपभोग गर्न पाउने गरी ४ सय एमबी डाटा, २ सय रुपैयाँमा ३० दिनसम्म चौबिसै घण्टा उपभोग गर्न पाउने गरी ८५० एमबी डाटा र ३ सय रुपैयाँमा ३० दिनसम्म चौबिसै घण्टा उपभोग गर्न पाउने गरी १५ सय एमबी डाटा उपलब्ध गराइएको जाकारी दिइएको छ । त्यसैगरी, नाइट डाटा प्याकेज अन्तर्गत ४५ रुपैयाँमा ५ सय एमबी डाटा ७ दिनसम्म र ९० रुपैयाँमा १२ सय एमबी डाटा १५ दिनसम्म चलाउन पाइने कुरा उल्लेख छ । सो वाहेक २ सय रुपैयाँमा ३ जीबी डाटा र ३ सय रुपैयाँमा ६.५ जीबी डाटा तीस दिनसम्म चलाउन पाउनुको साथै नाइट डाटा प्याकेज राती १० बजेदेखि बिहान ६ बजेसम्म चलाउन पाइने कम्पनीले जनाएको छ । फेसबुक÷इन्स्टाग्राम डाटा प्याक अन्तर्गत २५ रुपैयाँमा ११० एमबी डाटा ७ दिन र ५० रुपैयाँमा २३० एमबी डाटा १४ दिन तथा एक सय रुपैयाँमा ५ सय एमबी डाटा र २ सय रुपैयाँमा ११ सय एमबी डाटा २८ दिन समयावधिका लागि उपलब्ध हुनेछ ।
नेपाल टेलिकमको सेयर मूल्य ९ वर्षयताको उच्चतम, बजार मूल्य १ खर्ब ६ अर्ब
काठमाडौं । नेपाल टेलिकमको सेयर मूल्य ९ वर्षयताको उच्चतम विन्दुमा पुगेको छ । सोमबार यस कम्पनीको सेयर प्रतिकित्ता ७१२ रुपैयाँमा कारोबार भयो । यो मूल्य २०६५ सालयताको अधिकतम मूल्य हो । सोमबार कम्पनीको पूँजीकरण १ खर्ब ६ अर्ब रुपैयाँ नाघेको छ । २०६५ भदौमा टेलिकमको सेयर प्रतिकित्ता करिव १४०० रुपैयाँमा कारोबार भएको थियो । २०६७ सालमा यस कम्पनीको सेयर मूल्य घटेर ३५० रुपैयाँसम्म झरेको थियो । गत वर्ष नेप्से परिसूचक १८८१ रुपैयाँ पुग्दा पनि नेपाल टेलिकमको सेयर मूल्य ७०६ रुपैयाँ भन्दा माथि जान सकेको थिएन । गत चैत १ गते यस कम्पनीको सेयर मूल्य ६२० रुपैयाँमा झरेको थियो । किन बढ्यो मूल्य कम्पनीको प्रबन्ध निर्देशक कामिनी राजभण्डारीले गत साता संसदीय समिति बोल्दै टेलिकमले गत आर्थिक वर्षमा खुद नाफा १५ अर्ब ४२ करोड रुपैयाँ आर्जन गरेको बताएकी थिइन् । उनको भनाई सार्वजनिक भएपछि कम्पनीको सेयर मूल्य प्रतिकित्ता ४२ रुपैयाँले बढेको छ । कम्पनीले गत वर्ष गरेको नाफा चुक्ता पुँजीभन्दा ४२ करोड रुपैयाँ बढी हो । यस कम्पनीले पहिलो पटक चुक्ता पुँजी भन्दा बढी खुद नाफा आर्जन गरेको हो । नेप्सेमा सूचिकृत कम्पनीमध्ये सेयर पुँजी, वार्षिक नाफा र संचित कोषमा बचत भएको रकमका आधारमा नेपाल टेलिकम सबैभन्दा ठूलो कम्पनी हो । टेलिकमको चुक्ता पूँजी १५ अर्ब रुपैयाँ रहेको छ । गत चैत मसान्तसम्ममा कम्पनीको संचित कोषमा ७४ अर्ब ८६ करोड रुपैयाँ रहेको छ र कम्पनीको इक्विटी करिब ९० अर्ब रुपैयाँ पुगेको छ । बजारमा अरु कम्पनीको तुलनामा नेपाल टेलिकमको सेयर सस्तो छ । कम्पनीका प्रतिसेयर आम्दानी १०३ रुपैयाँ छ । प्रतिसेयर नेटवर्थ ५९९ रुपैयाँ छ । प्रतिसेयर नेटवर्थको ५ गुणा बढी मूल्यको सेयरलाई जोखिम मुक्त सेयर मानिने गरेको नेपाल स्टक एक्स्चेञ्जका सहायक प्रवक्ता मुराहरि पराजुली बताउँछन् । यस आधारमा टेलिकमको सेयर मूल्य सस्तो र कम जोखिमयुक्त मान्न सकिने उनको भनाई छ । नेपाल टेलिकमको सेयरमा बैंक तथा वित्तीय संस्थाले लगानी गर्न थालेको कालिका सेक्यूरिटीजका प्रबन्ध निर्देशक नरेन्द्रराज सिजापतिले बताए । बैंकिङ क्षेत्रमा तरलता वृद्धिसँगै सेयरमा लगानी वृद्धि हुन थालेको छ । ‘बैंकहरुले बैंक तथा फाइनान्सको सेयर किन्न पाउँदैनन्, बीमा क्षेत्रको सेयर मूल्य माथि हुनुको साथै धेरै परिमाणमा किन्नको लागि सेयर नै पाइदैन’ सिजापति भन्छन्–‘टेलिकम कम्पनी पनि राम्रो छ, धेरै सेयर किन्न पनि पाइन्छ ।’ कम्पनीले प्रत्येक वर्ष ४० देखि ५० प्रतिशत नगद लाभांश वितरण गर्दै आएको छ । गत गर्षको नाफाबाट कम्पनीले २० प्रतिशत संचित कोषमा जम्मा गरेर पनि सेयर धनीलाई ८० प्रतिशत लाभांश दिन सक्छ । तर कम्पनीले लाभांश दरमा क्रमिक वृद्धि गर्ने नीति लिएमा ६० देखि ७० प्रतिशत नगद लाभांश वितरण गर्न सक्छ ।
बार्षिक २ अर्बको लगानी थप्दै स्मार्ट टेलिकम, काठमाडौंबाट सेवा संचालन र फोरजी घोषणा आगामी दशैंमा
काठमाडौं । निजी क्षेत्रको दूरसञ्चार टेलिकम स्मार्ट टेलिकमले बार्षिक २ अर्ब रुपैयाँको प्रविधि तथा सेवा विस्तारमा लगानी गरेको भएपनि यसले समयमा नै फोरजी सेवा दिन सकेन । स्मार्टले यही साउन १५ देखि चौथो पुस्ताको मोवाइल इन्टरनेट सेवा (फोरजी) दिने तयारी गरेको थियो । दूरसञ्चार क्षेत्रको नियमक निकय नेपाल दूरसञ्चार प्राधिकरणले पनि स्मार्टलाई उक्त समयमा फोरजी संचालन गर्न तीन महिना अगाडि नै अनुमति दिएको थियो । आवश्यक उपकरण आइनपुगेको र तयारी गर्दागर्दा नभ्याएको भन्दै स्मार्टले थप २ महिनाको समय मागेको प्राधिकरणका प्रवक्ता मीनप्रसाद आर्यालले बताए । उसले आवश्यक तयारी गरेको भएपनि सेवा सञ्चालन गर्न ढिलाई भएको विषयलाई लिखित रुपमै प्राधिकरणसमक्ष पेश गरेको छ । स्मार्टले भने नयाँ प्रविधि र सेवा विस्तारमा नयाँ उपकरण ल्याउने तथा लगानी विस्तार आक्रामक रुपमै बढाउने रणनीति बनाइरहेको छ । यो कम्पनीले वार्षिक २ अर्ब रुपैयाँ नयाँ प्रविधि र सेवा विस्तारमा लगानी गरिरेहको छ । स्मार्टले नेपाल दूरसञ्चार प्राधिकरणबाट पाएको इक्युपमेन्ट सिफारिशमा बार्षिक २ अर्बको अनुमति लिएको छ । यो अनुमति अनुसार आवश्यक उपकरण ल्याएर सेवा विस्तारको तयारी गरिरहेको पनि प्राधिकरणले जानकारी दिएको छ । ७५३ वटा बीटीएस टावर थप गर्दै स्मार्ट प्राधिकरणका अनुसार यो कम्पनीले फोरजी सेवालाई नै दृष्टिगत गरेर ३५० वटा बीटीएस टावर जडान गरिसकेको छ । थप ५० वटा जडानको क्रममा रहेको छ । यसले अझै २१३ वटा नयाँ बीटीएस टावर जडान गर्न उपकरण आयात गरिसकेको जानकारी प्राधिकरणसमक्ष दिएको छ । यसले जम्मा ५७३ वटा बीटीएस टावर बनाउने गरी प्राधिकरणबाट अनुमति पाइसकेको पनि उल्लेख छ । प्राधिकरणलाई दिएको जानकारीमा उपकरण आयात कतिपय प्रक्रियामा रहेको भन्सारमा आइपुगेका र भन्सार क्लियर गर्न बाँकी रहेकासहितका आवश्यक प्रक्रिाय पुर्याउँदा पुर्याँउदै प्राधिकरणले दिएको समयमा फोरजी संचालन गर्न नसकेको पनि उल्लेख गरेको छ । टुजीबाट एकैपटक फोरजीमा सेवा विस्तार स्मार्टले टुजीबाट एकैपटक फोरजीमा सेवा विस्तार गर्न थालेको हो । यो कम्पनीले थ्रीजी सेवा सञ्चालन गर्न माग गर्दै गत आव २०७३/०७४ मै चार अर्ब रुपैयाँको उपकरण आयात गर्न अनुमति मागेको थियो । पछिल्लो समय नयाँ पुस्ताको इन्टरनेट सेवाको प्रयोग र बजार बढेकोले स्मार्टले थ्रीजी विस्तार नगरी एकैपटक टुजीबाट फोरजीमा गएको छ । यसले थ्रीजीमा नजाने भन्दै गत वर्ष प्राधिकरणबाट लिएको लगानी अनुमतिमा २ अर्ब ४० करोड रुपैयाँको टेण्डर नै रद्द गरेको जानकारी प्राधिकरणले दिएको छ । यो कम्पनीले हाल फोरजी सेवाका लागि आवश्यक गृहकार्य गरिहेको छ । फोरजी सेवाका लागि आवश्यक उपकरण ल्याउन स्मार्टले गत वर्ष २ अर्बको उपकरण भित्र्याएको यो कम्पनीले चालू आवमा पनि २ अर्ब रुपैयाँको लगानी अनुमति मागेको छ । यस्तो लगानी कम्पनीले उपकरण आयात, सेवाको स्तर बृद्धि र नयाँ प्रविधिमा प्रयोग गर्न ल्याउने पनि प्राधिकरणको भनाइ छ । प्राधिकरणले २०६५ वैशाखमा स्मार्ट टेलिकमलाई युनिफाइड लाइसेसेन्सको अनुमति दिएको थियो । स्मार्ट टेलिकको हाल १५ लाख ग्राहक संख्या रहेको छ । कामाडौ बाहिरबाट सेवा सुरु गरेको यो कम्पनीले काठमाडौंमा पनि सेवा सुरु गरिसकेको छ । यो टेलिकमले काठमाडौंमा सेवा सञ्चलनको जानकारी प्राधिकरणलाई दिइसकेको भएपनि औपचारिक घोषणा भने गरेको छैन । यो कम्पनीले अब फोरजी लन्चसँगै कठमाडौंबाट स्मार्टको सेवा सञ्चालनको घोषणा पनि गर्ने जानकारी दिएको छ ।