भूकम्पपछि टावर झिकिएको कारण टेलिफोन सेवामा नेटवर्क समस्या
३१ साउन । भूकम्पको त्रासले झिकिएका नेपाल टेलिकम, एनसेल र युटिएल कम्पनीका टावर अझै पनि पूर्णरुपमा जडान हुन नसक्दा राजधानीमा मोबाइल नेटवर्कको समस्या यथावत् छ । भूकम्पका बेला अग्ला घरको छतमा जडान गरिएका टेलिफोनका टावर हल्लिदा घरधनीको माग बमोजिम काठमाडाँै उपत्यकामा नेपाल टेलिकमका ३७, एनसेलका ३० र युटिएलका सातवटा टावर झिकिएका थिए । अझै पनि भूकम्पको त्रास रहेको भन्दै घरधनीले सम्झौता गर्न आनाकानी गर्दा टावर पुनःस्थापना गर्न ढिलाइ भएको टेलिकम कम्पनीहरुले बताएका छन् । दूरसञ्चार कम्पनीको नियामक निकाय नेपाल दूरुसञ्चर प्राधिकरणले दूरसञ्चार सेवाको गुणस्तर सुधार्न पटक–पटक निर्देशन दिए पनि भन्नेबित्तिकै टावर राख्ने स्थान नपाएकाले समयमै टावर पुनःस्थापना नभएको हुन सक्ने प्राधिकरणका निर्देशक आनन्दराज खनालको भनाइ छ । प्राधिकरण हाल टावर रहेका घरमा प्राविधिकमार्फत जाँच गराएर खतरा भए÷नभएको जानकारी दिई घरधनीलाई विश्वास दिलाउने कार्यमा लागेको उनले बताए । कतिपय टावर झिकिएका स्थानमा मोबाइल ट्राफिक जामले मोबाइल सेवाको स्तरीयतामा कमी आएको जानकारी दिँदै उनले त्यसको समाधानका लागि आवश्यक काम भइरहेको बताए । टावर राख्न यसअघिजस्तो घरधनीले सजिलै सम्झौता नगर्ने, मजबुत घरमा पनि त्रासले अनेकथरिका प्रश्न गर्ने, स्वास्थ्यमा असर पर्ने विकीरण उत्पन्न हुन्छ भन्ने जिज्ञासा राख्ने, बढी मूल्य माग गर्नेलगायतका समस्याले टावर जडानमा ढिलाइ हुन पुगेको टेलिकम कम्पनीको गुनासो छ । टावर झिकिएपछि राजधानीका मोबाइलका ग्राहकले ठूलो समस्या व्यहोर्नु परेको गुनासो गरेका छन् । नेपाल टेलिकमका भूकम्पका बेला झिकिएकामध्ये १० टावर राख्ने काम अन्तिम चरणमा पुगेको टेलिकमको मोवाइल सेवा निर्देशनालयका नायब महाप्रबन्धक प्रेमप्रसाद सिलवालले जानकारी दिए । टेलिकमले आगामी भदौको दोस्रो सातासम्म उक्त टावर जडान गर्ने र बाँकी टावर पूर्णरुपमा जडान गर्न दुई महिना समय लाग्ने बताएको छ । टेलिकमले झिकिएका टावर पुनःस्थापना गर्न अब ५५० किलोग्राम तौल र पाँच मिटर उचाइका कम तौल भएका टावर राख्ने उनले बताए । यसअघि टेलिकमका एक टन तौलका आठ देखि १० मिटर उचाइका टावर थिए । उनले भन्छन्,“हाल वैकल्पिक व्यवस्थाका रुपमा टेलिकमले काठमाडौँमा उपत्यकामा रहेका सात मोवाइल भ्यानमार्फत मोबाइल नेटवर्कमा देखिएको समस्या सामाधान गर्ने प्रयास गरिहेका छाँै ।” मेला, चाडवाड, भीडभाड हुने स्थान र विपद्का बेला प्रयोग हुने त्यस्ता भ्यान हाल टेलिकमले नेटवर्क समस्या भएका विभिन्न स्थानमा प्रयोग गरिरहेको छ । भूकम्पपछि नेपाल टेलिकममा मात्र २०० भन्दा बढी घरधनीले आफ्नो घरमाथिका टावर हटाउन निवेदन दिएका थिए । टेलिफोन कम्पनीले मोबाइलकर्ताको घनत्वका आधारमा उपत्यकामा करिब ५०० मिटरको दूरीमा आ–आफ्ना टावर राखेका छन् । टावर राखेबापत घरधनीलाई मासिक रु दुईदेखि २० हजारसम्म भाडा तिर्ने गर्छन् । हाल उपत्यकामा नेपाल टेलिकमका करिब ४० लाख, एनसेलका १७ लाख ६० हजार र युटिएलका दुई लाख मोबाइल प्रयोगकर्ता छन् । भूकम्पको त्रासपछि ५० भन्दा बढी घरधनीले आफ्नो घर माथिका टावर हटाउन निवेदन दिएको र त्यसमध्ये ३० वटा टावर हटाएको एनसेलले बताएको छ । त्यसरी झिकिएका टावर राख्न नयाँ योजना, अनुमति तथा स्थानको व्यवस्थापन गर्नुपर्ने भएकाले केही ढिलाइ भएको एनसेलको भनाइ छ । झिकिएका टावर पुनःस्थापना गर्न नयाँ घरधनीसँग सम्झौताको कार्य अन्तिम चरणमा रहेको जानकारी गराउँदै एनसेलका कर्पाेरेट संवाद विज्ञ मिलन शर्माले भने–“भदौ महिनाभरिमा काम सम्पन्न हुन्छ ।” उनले नेटवर्क समस्याको अस्थायी समाधानका लागि हाल एनसेलले आफूसँग भएका करिब एक दर्जन मोबाइल भ्यानमार्फत सेवा दिइरहेको जानकारी दिए । यसबाहेक एनसेलले सेवाको गुणस्तर विस्तार गर्न कार्य क्षमता वृद्धि गर्ने काम पनि सँगसँगै अघि बढाइरहेको बताएको छ । उपत्यकाका तीन जिल्लामा मोबाइल फोनको सुविधाका लागि हाल नेपाल टेलिकमका ४४३, एनसेलका ३४७ र युटिएलका ४५ टावर जडान गरिएका छन् । यसमध्ये ९५ प्रतिशतभन्दा बढी टावर घरको छतमाथि नै छन् । रासस
सामसङ ग्यालेक्सी एस ६ र एस ६ एज नेपाली बजारमा, मूल्य ७७ हजार ९ सय र ९४ हजार ९ सय
३ बैशाख । स्मार्ट फोनका पारखी नेपालीहरुका लागि प्रतिक्षाको विषय बनेको सामसङ ग्यालेक्सी एस ६ र सामसङ ग्यालेक्सी एस ६ एज नेपाली बजारमा भित्रिएको छ । विहीबार राजधानीमा एक कार्यक्रम आयोजना गरि सामसङ इलेक्ट्रोनिक्सले एस ६ र ग्यालेक्सी एस ६ एज नेपालमा भित्रिएको घोषणा गरेको हो । स्मार्ट फोनको विश्व बजारमा नविनतम प्रविधि समेटिएको एस ६ र एस ६ एजको सार्वजनिकीकरण समारोहलाई सम्बोधन गर्दै सामसङका नेपाल प्रमुख प्रणयरत्न स्थापितले नेपाली उपभोक्ताका हातमा विश्वस्तरीय स्मार्ट फोन आईपुगेको घोषणा गरे । स्थापितले एस ६ र एस ६ एजको आगमनले नेपाली स्मार्ट फोन पारखीहरुका लागि दुनियाँकै उत्कृष्ठ फिचरसहितको प्रबिधि उपलब्ध भएको दावी समेत गरे । दुबै मोबाइलमा सामसङ ड्युल कोर प्रविधिको प्रयोग गरिएको उनले जानकारी दिए । सामसङ ग्यालेक्सी एस ६ को मूल्य ७७ हजार नौ सय रुपैंयाँ तोकिएको छ भने एस ६ एजको मूल्य ९४ हजार नौ सय रुपैंयाँ निर्धारण गरिएको छ । यो मूल्य आगामी ६ महिनासम्म नघट्ने बताउँदै यदि ६ महिनायता मूल्य घटेमा घटेको मूल्य खरिदकर्तालाई फिर्ता गरिने स्थापितले बताए । के के छन् त फिचर ? सामसङ ग्यालेक्सी एस ६ र एस ६ एजमा अध्यारोमा समेत फोटो खिच्न हाई रिजोलुसन सहितको अगाडि ५ एमपी र पछाडि १६ मेगापिक्सल क्यामेरामा एफ १.९ को लेन्स रहेको छ । यी मोबाइलले ०.७ सेकेन्डमा फोटो खिच्छन् भने डब्ल्युपीसी र पिएमए सर्टिफाईड वायरलेस चार्जिङ सिस्टम पनि रहेको छ । एस ५ को ब्याट्रीको तुलनमा यी मोबाइलका व्याट्री डेढ गुणा छिटो चार्ज हुन्छन् । १० मिनेट चार्ज गरेर चार घण्टासम्म चलाउन सकिनेछ । एस ६ र एस ६ एजमा विश्वमै पहिलो पटक ६४ बिट प्लेटफर्मका साथमा १४ एनएमको मोबाइल प्रोसेसर, एलपीडिडिआर ४ मेमोरी सिस्टम र युएफएस २.० फ्ल्यास मेमोरी पनि रहेको छ । यसका साथै, ५.१ इन्चको क्वाड एचडी सुपरस्क्रिन तथा हाइपिक्सेलको ५६६ पिपिआई पनि छ । यी मोबाइलमा फाइन्ड माई मोबाइल फिचरका माध्यमबाट मोबाइलमा रहेका डकुमेन्टहरुको सुरक्षा गर्न सकिन्छ भने मोबाइल हराउँदा समेत खोज्न सजिलो हुनुका साथै मोबाइलमा रहेका डकुमेन्टहरु समेत सुरक्षित हुन्छन् ।
स्मार्टको स्पष्टीकरणप्रति प्राधिकरण असन्तुष्ट, खारेजीको चेतावनीसहित पत्र थमाउने तयारी
bikashnews २६ चैत । स्मार्ट टेलिकमले पठाएको स्पष्टीकरण पत्र प्रति नेपाल दूरसञ्चार प्राधिकरण असन्तुष्टि भएको छ । युनिफाईड लाइसेन्स लगेर पनि लामो समयसम्म सेवा सञ्चालन गर्न नसक्नुको कारणबारे प्राधिकरणले सोधेको स्पष्टीकरणबारे स्मार्टले दिएको जवाफमा प्राधिकरण सन्तुष्ट नभएको हो । स्मार्ट टेलिकमका सञ्चार अधिकृत पवन शाक्यले दिएको स्पष्टीकरणले प्राधिकरणलाई झनै रुष्ट बनाएको हो । ‘हामीले सेवा सञ्चालन गर्न नसक्नुको कारण र भावी कार्ययोजना समेत मागेका थियौं तर पत्रमा कुनै योजना पेश गरिएको छैन’ प्राधिकरणका प्रवक्ता अच्युतानन्द मिश्रले भने । स्मार्टले सेवा सञ्चालन गर्न नसकेकोमा आत्मालोचना गर्दै पत्र पठाएको प्रवक्ता मिश्रले विकासन्युजलाई जानकारी दिए । ‘स्मार्टले आत्मालोचना गरेको छ तर हामी उसको जवाफबाट सन्तुष्ठ छैनौं’ प्रवक्ता मिश्रले भनाई छ । यस विषयमा चैत २७ गते बस्ने प्राधिकरण सञ्चालक समितिको बैठक नयाँ निर्णय गर्दैछ । सञ्चालक समितिले स्मार्ट टेलिकमलाई अन्तिम मौकासहितको अल्टिमेटम दिन सक्ने मिश्रले जानकारी दिए । लामो समयसम्म लाईसेन्स होल्ड गरेर बसेकालाई कारवाही गरिने र नयाँ कम्पनीलाई लाईसेन्स दिने प्राधिकरणका अध्यक्ष दीगम्वर झाले बताउँदै आएका छन् । प्राधिकरण सञ्चालक समितिको चैत ९ गतेको बैठकले लाईसेन्स लिएर पनि सेवा सञ्चालन नगर्नुको कारणबारे स्पष्टीकरण सोध्ने निर्णय गर्दै पत्र काटेको थियो । १५ दिने अल्टिमेटमसहित प्राधिकरणले पत्र काटेपछि स्मार्ट चैत २५ गते दुई पृष्ठ लामो जवाफ पठाएको थियो । प्राधिकरणले २०६९ साल चैत २९ गते स्मार्ट टेलिकमलाई युनिफाईड लाईसेन्स दिने निर्णय गरेको थियो । स्मार्टले २०७० बैशाख पहिलो हप्ता ३५ करोड ५० लाख रुपैंयाँ दस्तुर तिरेर युनिफाईड लाईसेन्स लगेको थियो । तर दुई बर्ष पुरा हुनै लाग्दा समेत सेवा सुचारु गरेको छैन । नियमानुसार लाईसेन्स लगेको ९० दिन भित्र सेवा शुरु गर्नु पर्ने व्यवस्था छ । स्मार्टसँगै युनिफाईड लाईसेन्स पाएको युटिएलले भने अझै पनि लाईसेन्स लगेको छैन । प्राधिकरणले लाईसेन्स खारेज गर्ने चेतावनीसहित पत्र काटेपछि युटिएलले दुई महिना समय मागेको छ । स्मार्ट टेलिकममा नेपाली लगानी कर्ताका रुपमा स्क्वायर नेटवर्क प्रालिको २० प्रतिशत, सिंगापुरको लालशाहु डिष्ट्रीव्युटर्स प्रालिको ७० प्रतिशत र इजरायली कम्पनी जिलेट स्याटेलाईटको १० प्रतिशत शेयर रहेको छ । लामो समयसम्म लाईसेन्स ओगटेर बस्दा नेपालको टेलिकम क्षेत्रमा एनसेलको एकाधिकार बढ्दै गएको भन्दै प्राधिकारणले अर्काे शसक्त सेवा प्रदायकको खोजी गरिरहेको जनाएको छ ।