एनसेलबाट तीनमहिनासम्म निशुल्क आईफ्लिक्स चलाउन पाउने, ५० रुपैयाँ १ घण्टाको भिडियो प्याक  

काठमाडौं । अब एनसेलका ग्राहकले विहीबारदेखि तीन महिनासम्म आइफ्लिक्सका सेवा निशुल्क चलाउन पाउनेछन् । एनसेल र आइफ्लिक्सबीच बुधबार सहकार्य गर्ने समझदारी भएको छ । तीन महिनाको समयावधिमा एनसेलका ग्राहकले राती १२ बजे देखि बिहान ५ बजे सम्म एनसेलको डेटा सेवा प्रयोग गरी आईफ्लिक्समा रहेको कुनै पनि सामाग्री निःशुल्क हेर्न तथा डाउनलोड गर्न सक्नेछन् । यसका साथै एनसेलका फोरजी ग्राहकले हरेक दिन बिहान ५ बजे देखि बेलुका ५ बजे सम्म थप २ घण्टा आईफ्लिक्सको निःशुल्क सेवा लिन सक्ने कम्पनीले जानकारी दिएको छ । एनसेलले आईफ्लिक्स अफर ल्याइएको अवसरमा कर सहित ५० रुपैयाँमा १ घण्टाको भिडियो प्याक पनि ल्याएको छ ।यो प्याक अन्तर्गत ग्राहकले  आईफ्लिक्समा रहेका कन्टेन्टहरु  मध्य कुनै पनि कन्टेन्टको एक घण्टा सम्म लिन सक्नेछन् र ग्राहकले आफ्नो आवश्यकता अनुसार यो प्याकजति पटक पनिलिन सक्नेछन् । ‘‘आफ्ना ग्राहकलाई विश्वस्तरीय मनोरञ्जन प्रदानगर्न आईफ्लिक्ससँग सहकार्य गर्न पाउँदा हामी निकै हर्षित छौं । देशको विभिन्न १९ सहरमा फोरजी सेवाविस्तार पश्चातगरिएको यो सहकार्य डिजिटल नेपालनिर्माणको कार्यमा योगदान पुर्याउनएनसेल प्रतिबद्घ रहेको प्रमाण हो र यो सेवाले डेटा तथा कन्टेन्टको बढ्दो मागलाई सम्बोधन गर्नेछ,’’ एनसेलका कर्पोरेट सर्भिसेस् डाइरेक्टर प्रणय आचार्यले भने । नेपालमा आईफ्लिक्स सेवाको शुरुवात भएको अबसरमा, थुप्रै चर्चित सिनेमा तथा टीभी शोहरु नेपाली सब टाइटलमा पनि उपलब्ध हुनेछन् । “आईफ्लिक्स स्थानीय ग्राहकहरुको मनोरञ्जनको माग पुरा गर्न अत्यन्त संवेदनशील छ । हाम्रो सामग्रीको विशाल संकलनबाट विश्वका उत्कृष्ट टीभी शो तथा सिनेमा नेपाली दर्शक तथा ग्राहकलाई आफ्नै रोजाईको डिभाइसमा डाउनलोड वा स्ट्रिम गर्ने सुविधा प्रदान गर्न हामी दत्तचित्त भएर लागेका छौं । यस सेवाको लागि एनसेल, नेपालको अग्रणी मोबाइल सेवा प्रदायकसँग सहकार्य गर्न पाउँदा हामी अत्यन्त हर्षित छौं, ” आईफ्लिक्सकालागि नेपालकी कन्ट्री लीड भावना घिमिरेले भनिन् । कम्पनीका अनुसार ग्राहकले गुगल प्ले वाआइओएस एप्पल स्टोरमागई सजिलै आईफ्लिक्स एप डाउनलोड गर्न सक्छन् र आफ्नो इमेल वा फेसबुक अकाउन्ट प्रगोग गरी एपमा रजिष्टर गर्न सक्नेछन् । एप डाउनलोडगर्दा र कन्टेन्टहरु हेर्दा विद्यमान डेटा शुल्क लाग्नेछ । एक पटकमा ग्राहकले आफ्ना ५ वटा सम्म डिभाइसमा जस्तै मोबाइल, ट्याबलेट, ल्यापटप, डेस्कटप र टीभीमा आईफ्लिक्सको सुविधा लिन सक्छन् र एकै साथै दुई वटा डिभाइसमा विभिन्न सामाग्रीहरु हेर्न सक्नेछन् ।

भाइबरबाट मोबाइलमा फोन गर्दै हुनुहुन्छ ? पाँच लाख रुपैंयाँ जरिवानामा परिएला

काठमाडौं । के तपाई भाइबरबाट मोबाइल वा ल्याण्ड लाइनमा फोन गर्दै हुनुहुन्छ ? सावधान ! पाँच लाख जरिवानामा परिएला । नेपालमा भाइबरबाट मोबाइल र ल्याण्डलाइन फोनमा कल गर्नुलाई भिओआइपी जस्तै अबैध मानिन्छ । भाइबरबाट मोबाइल र ल्याण्डलाइन फोनमा कल गर्नुलाई प्राबिधिक भाषामा भाइबर आउट भनिन्छ र यसले राजश्व छल्नुका साथै नेपाली मुद्रा अनधिकृत रुपमा विदेशिन्छ । त्यसैले नेपालमा भाइबरका प्रयोग कर्ताहरुमाथी नेपाल दुर सञ्चार प्राधिकरणले निगरानी अघि बढाएको छ । प्राधिकरणले सार्वजनिक सूचना निकालेरै कारवाहीको चेतावनी दिएको हो । ‘भाइबरको प्रयोग गरेर इन्टरनेट कल मात्रै गर्न पाउने व्यवस्था छ तर भाइबरबाट मोबाइल र ल्याण्डलाइनमा समेत फोन गरिएको उजुरी परेको छ, यसले राजश्वमा नोक्सानी पुग्ने र नेपाली मुद्रा अनधिकृत रुपमा विदेशीने देखिएपछि हामीले निगरानी बढाएका हौं’, नेपाल दुर सञ्चार प्राधिकरणका प्रवक्ता मिनप्रसाद अर्यालले भने । उनले भाइबर आउट पनि भिओआइपी जस्तै अबैधानिक भएकाले सचेत रहन उपभोक्ताहरुलाई आग्रह पनि गरे । भाइबर आउटको रिचार्जका लागि विदेशमा पैसा पठाउनुपर्ने भएकाले पनि सबैले सचेत हुनुपर्नेमा जोड दिए । भाइबर आउट गरेमा विगो बमोजिमको जरिवाना र अधिकतम ५ लाखसम्म तिनुपर्ने कानुनी व्यवस्था रहेको छ । नेपालमा भाइबर आउट सेवाका लागि इसेवाले काम गरिरहेको छ । इसेवाले आफ्नो अकाउण्टबाट क्रेडिट कार्डबिनै भाइबर आउटका लागि पैसा तिरिदिँदै आएको छ । इसेवाको आफ्नो वेभसाइटमा पनि भाइबर आउटको रकम तिर्ने सुबिधा रहेको जानकारी राखिएको छ ।

प्रत्येक वडामा एक वर्षभित्र इन्टरनेट पुर्याउन निर्देशन

काठमाडौ  । व्यवस्थापिका–संसद्, विकास समितिले एक वर्षभित्रमा प्रत्येक वडामा इन्टरनेट सेवा पुर्याउन निर्देशन दिएको छ  । सिंहदरबारस्थित समितिको कार्यालयमा आज बसेको बैठकले मुलुक संघीय प्रणालीमा गइरहेको अवस्थामा स्थानीय तहको शीघ्र विकासका लागि सूचना प्रविधिको विकास अनिवार्य भएको भन्दै आगामी कात्तिक १५ गतेसम्म नेपालको प्रत्येक गाउँमा सञ्चार सेवा पुर्याउन सम्बन्धित निकायलाई निर्देशन दिएको हो । दुई वर्षभित्रमा गाउँ गाउँमा तीव्र गतिको इन्टरनेट सेवा पुर्याउने सरकारको उद्देश्य रहे पनि काममा ढिलाइ भएको भन्दै समितिले जतिसक्दो चाँडो काम सम्पन्न गर्न निर्देशन दिएको थियो । अब एक वर्षभित्रमा गाउँ गाउँमा इन्टरनेट पुर्याउने उद्देश्यले अप्टिकल फाइबर विस्तारलाई तीव्रता दिइएको नेपाल दूर सञ्चार प्राधिकरणले जनाएको छ । “नेपालका ७५३ वटै स्थानीय तह, सामुदायिक विद्यालय, सार्वजनिक अस्पताललगायत दुर्गम हिमाली तथा पहाडी क्षेत्रमा समेत ग्रामीण दूरसञ्चार कोषलाई उयोग गरी गुणस्तरीय टेलिफोन पुर्याउन समितिले निर्देशन दिए पनि उच्च गतिमा काम हुन नसकेपछि आज पुनः निर्देशन दिइएको छ”, समितिका सभापति रवीन्द्र अधिकारीले भने । देशको ग्रामीण र दुर्गम क्षेत्रमा ब्रोडब्याण्ड इन्टरनेट सेवा पुर्याउने उद्देश्यले १, २ र ३ गरी तीन वटा प्रदेशअन्तर्गत मध्यपहाडी लोकमार्ग तथा जिल्लामा अप्टिकल फाइबर केवल ओछ्याउन नेपाल दूरसञ्चार प्राधिकरण र नेपाल टेलिकमबीच सम्झौता भएको एक वर्ष भइसकेको छ । तर टेलिकमले सोचेअनुसारको काम गर्न नसकेको समितिको ठहर छ । सोही अवसरमा सूचना तथा सञ्चारमन्त्री मोहनबहादुर बस्नेतले अप्टिकल फाइबर विस्तारमा ढिलाइ भएकाले यसलाई द्रुत गतिमा अगाडि बढाउन निर्देशन दिइसकिएको र मुलुकका विभिन्न स्थानमा देखिएको टेलिकमको नेटवर्कको समस्यालाई जतिसक्दो चाँडो समाधान गर्ने प्रतिबद्धता व्यक्त गरे। टेलिकमले प्रदेश नं १, २ र ३ का लागि पाँचथरको चिरुभञ्जाङदेखि गोरखाको आरुघाटसम्म अप्टिकल फाइबर बिछ्याउनुपर्नेछ । टेलिकमको कूल ग्राहक आधार  १ करोड ७६ लाख २ हजार २०२ छ । त्यसैगरी टेलिकमको डाटा/इन्टरनेट ग्राहक आधार ८४ लाख २५ हजार ८९४ पुगेको छ । गाउँ गाउँमा इन्टरनेट पुगेपछि कम्तीमा दुई वर्षसम्म निःशुल्क गर्ने व्यवस्था गरिएको प्राधिकरणका अध्यक्ष दिगम्बर झाले जानकारी दिए । रासस