टेलिकमका १० टावर बन्द, एक दर्जन गाविस सम्पर्कविहीन

बागलुङ, २४ साउन । जिल्लाको पश्चिम भेगका १० वटा टेलिकमका ‘बिटिएस टावर’ विद्युत् अभावमा बन्द हुँदा दर्जन बढी गाविसमा सञ्चार बिच्छेद भएको छ । टावर बन्द भएपछि नेपाल टेलिकमबाट प्रवाह हुने सबै सेवा प्रभावित बनेको छ । दुई साताअघिको बाढीले २० वटा लघुजलविद्युत् आयोजनामा क्षति पु¥याएपछि त्यस क्षेत्रमा विद्युत् अवरुद्ध छ । टेलिकमको ल्यान्ड फोन, प्रिपेड, पोस्पेड, स्काइलगायतका सबै सेवा बन्द रहेको प्रयोगकर्ताले जनाएका छन् । लघुजलविद्युत् आयोजनाबाट निस्कने विद्युत्मा निर्भर रहेका ‘बिटिएस टावर’ सञ्चालनको प्रयास भइरहेको नेपाल टेलिकम बागलुङले जनाएको छ । तत्काल पाँच ठाउँको ‘टावर’ सञ्चालनमा ल्याउन आवश्यक उपकरण पठाउन लागिएको इन्जिनियर अमृत नेपालले बताए । विद्युत् रोकिएको चार दिनसम्म ब्याट्रीले धाने पनि त्यसपछि १० वटै टावर बन्द भएको उनको भनाइ छ । बोङ्गादोभान, देवीस्थान, दर्लिङ र खुङ्खानीमा केही दिनमै सेवा सुचारु हुने जनाइएको छ । अधिकारीचौर, बुर्तिवाङलगायतका गाविसमा भने समय लाग्ने देखिएको छ । तत्कालको लागि सानो क्षमताको सोलार राखेर भए पनि आंशिक सेवा सञ्चालन गर्ने योजना टेलिकमले बनाएको छ । त्यसो गर्दा बुर्तिवाङ बजार क्षेत्रमा रहेका ‘ल्याण्ड–लाइन’ टेलिफोन सञ्चालनमा ल्याउन सकिने जनाइएको छ । अन्य केही स्थानका टावरमा पनि सानो जेनेरेटर राखेर सेवा सुचारु गर्ने तयारी भइरहेको छ । “सडकमार्ग अवरुद्ध भएका कारणले पनि जेनेरटरलगायतका उपकरण पु¥याउन कठिन भइरहेको छ । ग्वालीचौरदेखि पश्चिमका गाविसमा टेलिकमको कुनै पनि नेटर्वकले काम नगरेको बुर्तिवाङका ऋतुवर्ण पौडेलले बताउनुभयो । ठूलो सङ्ख्यामा लघुजलविद्युत् आयोजना बन्द भएपछि १० हजारभन्दा बढी घरधुरी अहिले अँध्यारोमा बस्न बाध्य छन् । आयोजनाको पावर हाउस, कुलो र मुहानमा पुगेको क्षतिले कुल ८३५ किलोवाट विद्युत् उत्पादन रोकिएको छ । वैकल्पिक ऊर्जा प्रवद्र्धन केन्द्रको अनुदान सहयोग, जिविस, गाविस, साझेदार सङ्घसंस्था र स्थानीयको समेत लगानी र श्रमदानमा बनेका आयोजनामा करोडौँको क्षति पुगेको छ । ऊर्जामा आधारित लघु उद्योग समेत बन्द भएका छन् । जिल्लाको पश्चिमका निशी, भुजी र तमान खोलामा आएको बाढीले आसपासका बस्ती, भौतिक संरचना र सम्पत्तिमा ठूलो क्षति पु¥याएको छ ।

इन्टरनेटमा भाइरल बन्दै पोकमोन गो, थाहा पाउनुस् कसरी खेल्ने?

काठमाडौं २४ साउन। इन्टरनेटमा आजकल पोकमोन गो अहिले निकै चर्चित बनेको छ। सामाजिक सञ्जाल फेसबुक होस् या ट्वीटर जताततै यही गेमको बारेमा चर्चा छ। पोकम्यान गो एक अंगमेटेड रिएलिटी एप हो। यो गेम एप फोनको जिपिएस र क्यामेरामा प्रयोग गर्न सकिन्छ। कार्टुस सिरिजका फ्यानहरुका लागि पोकम्यान कुनै नौलो नाम होइन। स्मार्टफोन र आइओएस डिभाइसमा पोकम्यान गेम खेल्न सकिन्छ। सन् १९९० मा सतोशी ताजिरीले पोकम्यानको अवधारणा सुरु गरेका थिए। वास्तवमा उनलाई मसिना कीरा फट्याङ्ग्रा पक्रने धेरै सोख थियो। उनलाई खेल पनि धेरै मनपर्थ्यो। उनले दुई वस्तु मिलाएर यसको कन्सेप्ट तयार पारेका थिए। यसमा पोकमोनलाई पक्रनुपर्थ्यो। पोकमोन सन् ९० को दशकमा चर्चामा रहेको यही भिडियो गेमको नयाँ संस्करण हो। गेमप्ले आफ्नो भौगोलिक स्थान अनुसार निर्धारण गर्न सकिन्छ।  यसका लागि गुगल म्याप्सको प्रयोग गर्नुपर्छ। नियन्टिकले बनाएको पोकमोन यसै वर्ष जुलाई ५ मा लन्च भएको हो। यस गेमका धेरै खतरा समेत छन्। तर मानिसहरुमा यसप्रतिको क्रेज निकै बढ्दै गइरहेको छ। यतिसम्म कि पोकमोन खेल्नेलाई आफ्नो वरपर के भइरहेको छ, थाहा हुँदैन। कसरी खेल्ने? पोकमोन खेल्न सजिलो छ। सुरुमा आफ्नो एकाउन्ट खोल्नुपर्छ। त्यसमा आफ्नो निकनेम तय गर्नुपर्छ। तपाईं आफू रहेको स्थान सेट गर्नुस् र अनि खेल्नका लागि तयार हुनुस्। त्यसपछि तपाईंको काम नै आफू नजिकै रहेको पोकमोन खोज्नु हुनेछ।

नेपाल टेलिकमको रिचार्ज समस्या समाधान

काठमाडौं, २३ साउन ।  नेपाल टेलिकमको रिचार्ज सेवामा देखिएको समस्या समाधान भएको छ । शनिबारदेखि कम्पनीको एनटि रिचार्ज सिष्टम अपग्रेड गर्ने क्रममा एनटि रिचार्ज कार्ड मार्फत हुने रिचार्जमा विशेष प्राविधिक समस्या उत्पन्न भएको थियो । सोही दिनदेखि रिचार्ज हुन नसकेकोमा कम्पनीले ग्राहकहरुसँग क्षमा मागेको छ । उक्त समयमा ग्राहकले देखाएका धैर्यता र कम्पनीप्रति देखाएको सद्भाव प्रति कम्पनीले आभार व्यक्त गरेको छ । आइतबार दिउँसो करिव ३ बजेबाट उक्त रिचार्ज सिष्टममा आएको समस्या समाधान भई पूर्ववत रुपमा संचालन भएको कम्पनीले जनाएको छ । साथै भविष्यमा यस प्रकारको समस्या दोहोरिन नदिन कम्पनी कटिबद्ध रहेको छ ।