छैठौं वर्षमा खल्ती, दुई सब्सक्रिप्शन प्लान ल्याउँदै

काठमाडौं । डिजिटल वालेट खल्ती छैठौं वर्षमा प्रवेश गरेको छ । माघ १२ गते बुधबार कम्पनी स्थापनाको छैठौं वर्षमा प्रवेश गरेको हो । यस अवसरमा कम्पनीले ‘खल्ती क्लब’ र ‘खल्ती प्रो’ नामक दुई सब्स्क्रिप्शन प्लान ल्याउने भएको छ । यस प्लान अन्तर्गत खल्तीले विशेष अफर र सुविधा प्रधान गर्ने जनाएको छ। साथै, खल्तीले विभिन्न साझेदारहरुसँग वार्षिकोत्सव मनाउँदै अफर र गिभअवे पनि ल्याएको छ । दैनिक ३ लाखसम्म भुक्तानी हुने गरको खल्तीमा ३१ लाख प्रयोगकर्ताको रहेको कम्पनीले जानकराी दिएको छ । खल्तीकले देशभरि ७० हजार एजेन्ट, ६० हजार व्यापारी, ५० बढी बैंक तथा वितिय संस्था, ११ सय सहकारीहरू र २५० बढी कर्मचारीको साथमा काम गरिरहेको छ। खल्तीले गत वर्ष ‘डिजिटल अपर्टुनिटि/इन्क्लुजन अवार्ड’ को श्रेणी मा ‘विट्सा ग्लोबल इनोभेसन एण्ड टेक एक्सिलेन्स अवार्ड २०२२’ र सुचना सुरक्षा व्यवस्थापन प्रणालीको लागि ‘आइएसओ २७००१ः२०१३ प्रमाणपत्र’ प्राप्त गरेको थियो ।  

माघ २४ गतेदेखि २९ गतेसम्म क्यान इन्फोटेक मेला हुँदै

काठमाडौं । सूचना तथा सञ्चार प्रविधि क्षेत्रमा विकास भएका नयाँ प्रविधिको प्रदर्शनीको उद्देश्यसहित २८औं संस्करणको क्यान इन्फोटेक प्रदर्शनी आयोजना हुने भएको छ । कम्प्युटर एशोसिएसन नेपाल महासङ्घको आयोजनामा काठमाडौँको भृक्टिमण्डपमा यही माघ २४ देखि २९ सम्म प्रदर्शनी हुने भएको हो । महासङ्घका महासचिव चिरञ्जीवी अधिकारीले छ दिनसम्म सञ्चालन हुने प्रदर्शनीको तयारी अन्तिम चरणमा पुगेको जानकारी दिए । प्रदर्शनीमा यसपटक नेपाली इनोभेसन, प्रतिभा र स्टार्टअपलाई विशेष प्रवद्र्धन गरिने उनको भनाइ छ । प्रदर्शनीमा ब्राण्डिङ, प्रडक्ट लञ्चिङसँगै आइटी करिअर काउन्सिलिङका साथै कलेज, स्टार्टअप र सफ्टवेयर पेभिलियन समेत हुनेछ । प्रदर्शनीमा क्यानका सदस्य संस्थाका साथै राष्ट्रिय तथा अन्तर्राष्ट्रिय सूचना तथा सञ्चार प्रविधिसम्बन्धी कम्पनीको सहभागिता हुनेछ । प्रदर्शनीका क्रममा नेपाल पर्यटन बोर्डमा आर्टिफिसियल इनटेलिजेन्स, बिग डेटा, मसिन लर्निङ, क्लाउड कम्प्युटिङ तथा अन्य टेक्नोलोजीका विषयमा सम्मेलन पनि हुनेछ । प्रदर्शनी साढे तीन लाख जनाले अवलोकन गर्ने आयोजकको अनुमान छ । प्रदर्शनी अवलोकनका लागि रू एक सयको टिकट काट्नुपर्नेछ भने विद्यार्थीका लागि ५० प्रतिशत छुटको व्यवस्था गरिएको छ । अवालोकनकर्ताले सूचना तथा सञ्चार प्रविधिका नवीनतम प्रविधि र उपकरणबारे जानकारी लिन र खरिद गर्न सक्नेछन् । महासचिव अधिकारीले मधेस प्रदेशमा फागुन ५ देखि ९ सम्म, सुदूरपश्चिममा फागुन १३ देखि १७ सम्म, गण्डकीमा फागुन २६ देखि ३० सम्म र बागमतीमा चैत २ देखि ६ सम्म प्रदर्शनी गर्ने तयारी रहेको जानकारी दिए ।

अब ४५ दिनमा पृथ्वीबाट मंगल ग्रहमा पुग्न सकिने

एजेन्सी । संसारका धेरै देशहरूले दशकौंदेखि मंगल ग्रहमा मानिस पठाउने तयारी गरिरहेका छन्। अमेरिकी अन्तरिक्ष एजेन्सी नासाका अनुसार पृथ्वीबाट मंगल ग्रहसम्मको यात्रा गर्न ७ महिना लाग्छ । अहिलेसम्म मंगल ग्रहमा गएका सबै रकेटहरूले लगभग उस्तै समय लिएका छन्। तर, अब नयाँ प्रविधिको सहयोगले यो यात्रा ४५ दिनमा नै गर्न सकिने भएको छ । यो नयाँ प्रविधिको नाम ‘न्यूक्लियर थर्मल एण्ड न्युक्लियर इलेक्ट्रिक प्रोपल्सन’ राखिएको छ । नासाले मानव मंगल मिशनको लागि यस्तो रकेट बनाउन लागेको हो, जसमा परमाणु ईन्धन प्रयोग हुनेछ। सो रकेट दुई प्रविधिको सहयोगमा बनाइनेछ । पहिलो, परमाणु थर्मल प्रोपल्सन, यसमा परमाणु रिएक्टर हुन्छ, जसले तरल हाइड्रोजन प्रोपेलेन्टलाई तताउँछ। विज्ञहरुका अनुसार यसो गर्दा प्लाज्मा बन्ने छ । यो प्लाज्मा रकेट नोजलबाट बाहिर निकालिनेछ, जसले रकेटलाई अगाडि बढ्नको लागि उच्च गति दिनेछ। सन् १९५५ मा अमेरिकी वायुसेना र आणविक ऊर्जा आयोगले यस्तो प्रणोदन प्रणाली निर्माण गर्ने प्रयास गरेको थियो । दोस्रो प्रविधिको नाम न्यूक्लियर इलेक्ट्रिक प्रोपल्सन हो। यसमा परमाणु रिएक्टरले आयन इन्जिनलाई बिजुली दिन्छ, जसले विद्युत चुम्बकीय क्षेत्र सिर्जना गर्दछ। यो क्षेत्रले क्सीनन् जस्ता ग्यासहरूलाई गति दिन्छ, जसले रकेटलाई अगाडि बढाउने गति प्राप्त हुन्छ । सन् २००३ र २००५ मा पनि यो प्रणाली बनाउने प्रयास वैज्ञानिकहरुले गरेका थिए । नयाँ प्रविधिमार्फत वैज्ञानिकहरूले रकेटको कार्यसम्पादन झन्डै दोब्बर गर्न सक्नेछन् । रकेट बनाउने यो अवधारणा फ्लोरिडा विश्वविद्यालयका हाइपरसोनिक्स कार्यक्रम क्षेत्रका प्रमुख प्रोफेसर रायन गोसेले दिएका हुन्। यसको पहिलो चरणको विकासका लागि उनीसँगै थप १३ जनालाई अनुसन्धानमा समावेश गरिएको छ । आयोजनाका लागि १२.५ हजार डलर उपलब्ध गराइएको छ । यो अवधारणा कार्यान्वयनमा आएपछि मानिसलाई मंगल ग्रहमा जान निकै सजिलो हुनेछ । अहिले प्रयोग भइरहेको प्रविधिमा अन्तरिक्षयानलाई पृथ्वीबाट मंगल ग्रहमा जान ७ देखि ९ महिना लाग्छ । यदि हामीले यही गतिमा मंगल ग्रहमा मानिस पठाउने हो भने हरेक २६ महिनामा एउटा उडान मंगल ग्रहमा पुग्ने विज्ञहरूको अनुमान छ। साथै, मिसन ३ वर्षसम्म मात्र चल्न सक्नेछ । तर, नयाँ प्रविधिबाट मंगल ग्रह जाने बाटो भने सहज हुनेछ । पृथ्वीबाट मंगल ग्रहको यात्रा मात्र ६।५ हप्ताको हुनेछ, जसले मिसनको लागत घटाउने र समय बढाउनेछ । अन्तरिक्षको सूक्ष्म गुरुत्वाकर्षणमा मानिसहरूलाई स्वास्थ्य समस्याहरू पनि कम हुने छन्। नासाको यो रकेट कहिले तयार हुन्छ भन्ने बारे कुनै जानकारी भने छैन ।