नेपाल टेलिकमको प्रबन्ध निर्देशकमा संगिता पहाडी नियुक्त

काठमाडौं । सरकारले नेपाल टेलिकमको प्रबन्ध निर्देशकमा संगीता पहाडीलाई नियुक्त गरेको छ । बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले पहाडीलाई टेलिकमको प्रबन्ध निर्देशकमा नियुक्त गर्ने निर्णय गरेको सरकारका प्रवक्ता समेत रहेका सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले जानकारी दिए । तत्कालीन प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ कै कार्यकालमा गठित सिफारिस समितिले आवेदन मागेर लिखित तथा मौखिक प्रस्तुतिका आधारमा ३ जनाको नाम सिफारिस गरेको थियो । तत्कालीन सञ्चार सचिव रामकृष्ण सुवेदीको संयोजकत्वमा गठित समितिले पहाडीसँगै अनिल झा र विमल आचार्यको नाम सिफारिस गरेको थियो । उक्त प्रस्ताव नै सञ्चार तथा सूचना प्रविधि मन्त्री पृथ्वीसुब्बा गुरुङले मन्त्रिपरिषदमा पेश गरेका थिए । टेलिकमका तत्कालीन प्रबन्ध निर्देशक सुनिल पौडेलमाथि भ्रष्टाचार र अकुत सम्पत्तिको मुद्दा लागेर निलम्बन भएपछि पहाडी कार्यवाहक प्रबन्ध निर्देशकको जिम्मेवारीमाा थिईन । पहाडीले करिव ३ दशक लामो यस क्षेत्रमा अनुभव सम्हालिसकेकी छन् ।

टिकटक प्रतिबन्ध हटाउन इन्टरनेट कम्पनीलाई निर्देशन

काठमाडौं । नेपाल दूरसञ्चार प्राधिकरणले टिकटकमा लागिएको प्रतिबन्ध फुकुवा गर्न सबै इन्टरनेट सेवा र मोवाइल सेवा प्रदायकलाई निर्देशन दिएको छ । प्राधिकरणले प्रदायक संस्थाहरुलाई प्रतिबन्ध फुकुवा गर्न निर्देशन दिएको जनाएको छ । सरकारले २०८० कार्तिक महिनादेखि टिकटकमा रोक लगाएको थियो । तर, गत भदौ ६ गते बसेको मन्त्रिपरिषदको बैठकले प्रतिबन्ध फुकुवा गर्ने निर्णय गरेको थियो । मन्त्रीपरिषदले फुकुवा गर्ने निर्णय गरेपनि सबै इन्टरनेट सेवामा टिकटक फुकुवा भएको थिएन् । सरकारबाट आधिकारीक जानकारी नआएको भन्दै इन्टरनेट प्रदायकले टिकटक फुकुवा गरेका थिएनन् । प्राधिकरणको यो निर्देशन पछि अब भने सबै इन्टरनेटमा टिकटक चल्ने भएको छ ।

एनसेल एपमा अब पुलिस रिपोर्टको सुविधा

काठमाडौं- एनसेलले आफ्नो एनसेल एपमा नयाँ सुविधा थपेको छ । ग्राहकहरूले अब यो एपमार्फत प्रहरी चारित्रिक प्रमाणपत्र अर्थात पुलिस रिपोर्ट लिनका लागि सजिलैसँग आवेदन दिन सक्छन् । यो सुविधाले अब एक महत्त्वपूर्ण सार्वजनिक सेवा सहजै यो एपबाट पनि लिन सकिने भएको छ । प्रयोगकर्ताहरूले पुलिस रिपोर्टको लागि सिधै एपमार्फत आवेदन दिएर अनलाइनबाटै आफ्नो रिपोर्ट प्राप्त गर्न सक्ने कम्पनीले जनाएकाे छ । साउन २९ गतेबाट लागू हुनेगरी एनसेलले नेपाल प्रहरीको वेबसाइट https://www.nepalpolice.gov.np/ लाई आफ्नो नेटवर्कमा बिना कुनै डेटा शुल्क चल्नेगरी निःशुल्क बनाएको थियो । यसले प्रहरीमा उजुरी, पुलिस रिपोर्टका लागि अनलाइन आवेदनलगायतका सेवाहरू लिनका लागि यो वेबसाइट चलाउदा इन्टरनेटको पैसा लाग्ने छैन । ‘एक जिम्मेवार कर्पोरेट नागरिकको हैसियतले नेपाल प्रहरीसँगको सकहार्यमा विभिन्न सार्वजनिक सेवाहरू डिजिटल रूपमा एनसेल एपमार्फत उपलब्ध गराउन पाउँदा खुसी छौं,’ एनसेलका चिफ रेगुलेटरी अफिसर विशाल उपाध्यायले भने ।