जापान सरकारद्धारा एन्फालाई आर्थिक सहयोग, फुटबलका मुख्य प्रशिक्षक कोजीको कार्यकाल थप
काठमाडौं । सातदोबाटोस्थित अखिल नेपाल फुटबल संघ (एन्फा) कम्प्लेक्स मैदानको भौतिक पूर्वाधार निर्माणका लागि ७४ लाख रुपैयाँ सहयोग गर्ने भएको छ । जापानी दूतावासद्धारा बुधबार यहाँ आयोजित कार्यक्रममा नेपालका लागि जापानी राजदूत मासासी ओगावा र एन्फाका महासचिव धीरेन्द्र प्रधानले सम्झौतापत्रमा हस्ताक्षर गरेका छन् । जापान सरकारले ग्रान्ट असिस्टेन्ट फर कल्चरल ग्रासरुट्स प्रोजेक्टअन्तर्गतबाट नेपाललाई अनुदान स्वरुप सो रकम दिन लागेको हो । एन्फा महासचिव प्रधानले उक्त रकमबाट एन्फा कम्प्लेक्समा रहेको मैदानमा दर्शकका लागि शौचालय, निर्माण, चेन्जिङ रुमको स्तर उन्नति र टेक्निकल डाइरेक्टरका लागि कार्यालय निर्माण गर्ने योजना रहेको बताउनुभयो । फुटबलका मुख्य प्रशिक्षक कोजीको कार्यकाल थप त्यस्तै राष्ट्रिय फुटबल टोलीका मुख्य प्रशिक्षक ग्यातोकु कोजीको एक वर्षका लागि कार्यकाल थप गरेको एन्फाले जनाएको छ । सन् २०१६ मार्चदेखि मुख्य प्रशिक्षकका रुपमा रहेका कोजीको आगामी महिनामा म्याद सकिँदै थियो । रासस
नेपालको पहिलो खेल जिम्बावेसँग, प्रतियोगितामा नेपाल समूह ‘बी’ मा
काठमाडौं । एक दिवसीय विश्वककप क्रिकेटको छनोट चरणमा पुग्न सफल नेपालले पहिलो खेल जिम्बावेसँग खेल्ने छ । आगामी फागुन २० गतेदेखि जिम्बावेमा शुरु हुने विश्वकप छनोट प्रतियोगितामा नेपाल समूह ‘बी’ मा रहेको छ । सो समूहमा अफगानिस्तान, हङकङ, जिम्बावे र स्कटल्यान्ड रहेका छन् । आइसीसीले शुक्रबार सार्वजनिक गरेको खेल तालिकाअनुसार नेपालले जिम्बावेसँग मार्च ४ मा, स्कटल्यान्डसँग ८ मा, फगानिस्तानसँग १० र हङकङसँग १२ मार्चमा खेल्नेछ । डिभिजन दुईको विजेता युएई समूह ‘ए’ मा रहेको छ । उक्त समूहमा वेस्ट इण्डिज, आयरल्याण्ड, पपुवा न्युगिनी र नेदरल्यान्ड रहेका छन् । समूहचरणमा सबै टिमले एकअर्कासँग एक/एक खेल खेल्नेछन् भने दुबै समूहबाट उत्कृष्ट तीन हुने टिमले सुपर सिक्सचरण खेल्नेछन् । सुपर सिक्स चरणमा एउटा टिमले तीनवटा खेल खेल्ने छन् । समूह चरणमा पाएको अंक समेत सुपर सिक्स चरणमा जोडिनेछ । यसैबीच यो चरणमा नयाँ टेष्टमान्यता प्राप्त मुलुक अफगानिस्तान, आयरल्याण्डले पनि विश्व क्रिकेट लिग च्याम्पियनसिपमा उत्कृष्ट चारभित्र पर्न सफल टिम नेदरल्याण्ड, स्कटल्याण्ड, हङकङ र पपुवा न्यूगिनी विश्वकप छनोट खेल्नेछन् । समूहको शीर्ष तीन टोली सुपर सिक्स चरणमा पुग्नेछन् । प्रतियोगितामा सहभागीहुने छ एसोसिएट टोलीमध्ये नेदरल्यान्डसहित चार टोली चार वर्षका लागि एक दिवसीय अन्तर्राष्ट्रिय मान्यता पाउनेछन् । छनोटबाट उत्कृष्ट हुने दुई टोली २०१९ मा इंग्ल्यान्डमा आयोजना हुने एक दिवसीय विश्वकप खेल्नेछन् । रासस
आर डब्लु संग्राममा ४ देशका रेस्लरहरुले प्रतिस्पर्धा गर्ने
काठमाडौं । नेपाल रिङ रेस्लिङ संघले फागुन १८ गते अन्तर्राष्टिय रेस्लिङ प्रतियोगिता आयोजना गर्ने भएको छ । संघले पोखरा रंगशालामा प्रतियोगिता आयोजना गर्न लागेको हो । आर डब्लु संग्राम नाम दिएको प्रतियोगितामा ४ देशका रेस्लरहरुले भाग लिनेछन् । नेपालका तर्फबाट नुवाकोटे टाइगर, ठाकु, डेभिड साईन, ब्लेड, भिलेन, राम, रावण र टुप्पी ग्याडले प्रस्पिर्धा गर्नेछन् । अमेरिकाका प्रोरेस्लर गेमर, भारतका मास्क म्यान, ड्यानी, आर डी एक्स, ज्थाक्स र नीलले पोखरेली दर्शकलाई मनोरञ्जन दिने छन् । त्यसैगरी महिला प्रतियोगीका रुपमा रसियाकी मेफिस्तोका र नेपाली दिलासाले सहभागिता जनाउने आयोजकले जनाएको छ । यसअघि आयोजकले नेपाल तथा भारतका विभिन्न शहरमा रेस्लिङ प्रतियोगिता आयोजना गरिसकेको छ ।