ओलम्पिया र आइडियल अल्फा बिटा फुटसलको क्वार्टर फाइनलमा, पहिलो विजेतालाई १ लाख रुपैयाँ नगद

काठमाडौं । ओलम्पिया कलेज र आइडियल कलेजले प्रथम अल्फा बिटा अन्तर कलेज फुटसल प्रतियोगिताको क्वार्टर फाइनलमा प्रवेश गरेका छन् । शंखमुलस्थित शंखमुल फुटसलमा बुधबारबाट शुरु भएको फुटसल प्रतियोगितामा ओलम्पिया र आइडियलले समूह ‘बी’ मा दोहोरो जित निकाल्दै क्वार्टर फाइनलमा स्थान सुरक्षित गरेका हुन् । ओलम्पियाले ओलम्पियाले पहिलो खेलमा लिटिल एन्जल्र्सलाई ३-१ ले पराजित गर्दा दोस्रो खेलमा नामी कलेजलाई ४-० ले पराजित गर्यो । यस्तै पहिलो खेलमा नामी कलेजलाई ४-० ले पराजित गरेको आइडियलले दोस्रो खेलमा लिटिल एन्जल्र्सलाई ५-० को फराकिलो अन्तरले पराजित गर्यो । यि दुई टिमले बिहिबार समूह विजेताका लागि खेल्नेछ । दुवै कलेजको समान दुई खेलबाट ६ अंक छ । पराजित भएको लिटिल एन्जल्र्स र नामी कलेज प्रतियोगिताबाट बाहिरिएको छ । यस्तै, प्रतियोगिता अन्तर्गत बुधबारै भएको अर्काे खेलमा समूह ‘ए’ को साइपाल एकेडेमी र समूह ‘सी’ को ह्वाइटहाउस कलेजले दोहोरो जित निकालेको छ । साइपालले पहिलो खेलमा लिभरपुलमाथि ४-२ को जित निकाल्दा दोस्रो खेलमा कान्जिरोवालाई ४-० ले पराजित गर्यो । ह्वाइटहाउसले ह्वाइटफिल्ड र इनसाइड भिजनलाई समान ४-१ को नतिजामा पराजित गर्यो । अन्य खेलमा लिभरपुलले युनिग्लोबलाई, कान्जिरोवाले युनिग्लोबलाई, इनसाइड भिजनले ब्रिटिस कलेजलाई पराजित गरेको थियो । प्रतियोगिता अन्तर्गत बिहिबार पनि समूह चरणको खेलहरु हुने प्रतियोगिता संयोजक तथा पूर्वराष्ट्रिय खेलाडी हरि खड्काले जानकारी गराए । प्रतियोगितामा राजधानीका विभिन्न १६ कलेजको सहभागिता रहेको थियो । १६ कलेजलाई ४ समूहमा विभाजन गरिएको छ । हरेक समूहका शीर्ष दुई टोली क्वार्टरफाइनलमा प्रवेश गर्नेछन् । प्रतियोगिताको विजेताले ट्रफीसहित १ लाख, दोस्रो हुनेले ६० हजार, तेस्रो हुने टोलीले ४० हजार रुपैयाँ प्राप्त गर्नेछन् । त्यस्तै, प्रतियोगिताको क्वार्टरफाइनलबाट खेलको ‘म्यान अफ दी म्याच’ले १ हजार रुपैयाँ प्राप्त गर्नेछ । प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडी र सर्वाधिक गोलकर्ताले समान १० हजार रुपैयाँ प्राप्त गर्नेछन् ।  

एसीसी यू-१९ एसिया कपः नेपालद्धारा मलेसिया आठ विकेटले पराजित

काठमाडौं मलेसियामा जारी एसिसी यू-१९ युथ एसिया कपअन्तर्गत मंगलबार भएको समूह चरणको अन्तिम खेलमा नेपालले मलेसियालाई आठ विकेटले पराजित गरेको छ । क्वालालम्पुरस्थित वायुमास ओभलमा टस हारेर ब्याटिङ गरेको आयोजक मलेसियाले १५.३ ओभरमा सबै विकेट गुमाउँदै ४५ रन बनायो । छयालीस रनको विजय लक्ष्य नेपालले ५.३ ओभरमा दुई विकेट गुमाउँदै पुरा गर्यो । नेपालका लागि अनिलकुमार साहले २६ रन बनाए । उनले १५ बल खेल्दै तीन छक्का र एक चौका प्रहार गरे । कप्तान दिपेन्द्रसिंह ऐरीले तीन बल खेल्दै दुई छक्का प्रहार गरी १२ रन बनाए । आशिफ शेखले चार तथा भीम सार्कीले अविजित तीन रन बनाए । बलिङतर्फ मलेसियाका विजय उन्नीले दुई विकेट लिए । यसअघि वर्षाका कारण निर्धारित ५० ओभरको खेललाई २४ ओभरमा घटाइएको थियो । मलेसियालाई न्यून स्कोरमा सिमित गर्ने क्रममा नेपालका सन्दिप लामिछाने एक्लैले पाँच विकेट लिए । यस्तै कप्तान दीपेन्द्रसिंह ऐरी र शहाब आलमले दुई/दुई तथा अनिल शाहले एक विकेट लिए । मलेसियाका लागि यइद अजिज मुबारकले २० रन तथा कप्तान विरनदीप सिंहले १० रन बनाए । रासस

यू-१९ एसिया कप क्रिकेट प्रतियोगिताः नेपालद्धारा भारत १९ रनले पराजित

काठमाडौं । मलेसियामा जारी एसीसी उन्नाई वर्षमुनि (यु–१९) एसिया कप क्रिकेट प्रतियोगिताअन्तर्गत आइतबार भएको दोस्रो खेलमा नेपालले भारतलाई १९ रनले पराजित गरेको छ । मलेसियाको क्वालालम्पुरस्थित बायुमास ओभल मैदानमा भएको खेलमा टस हारेर ब्याटिङ गरेको नेपालले निर्धारित ५० ओभरमा आठ विकेट गुमाउँदै १८५ रन बनायो । एक सय ८६ रनको लक्ष्य पछ्याउने क्रममा भारतले ४८।१ ओभरमा १६६ रन मात्र बनाउन सक्यो । क्रिकेटमा नेपालले भारतलाई कुनै पनि प्रतियोगितामा पराजित गरेको यो पहिलो पटक हो । नेपालका लागि कप्तान दिपेन्द्रसिंह ऐरीले उत्कृष्ट खेल प्रदर्शन गरे । उनले सर्वाधिक ८८ रन बनाउनुका साथै महत्वपूर्ण चार विकेट समेत लिए । उनले १०१ बल खेल्दै दुई छक्का र ६ चौका प्रहार गरे । यस्तै, सुरुवाती व्याट्सम्यान जितेन्द्र सिंहले ३६ तथा भीम सार्कीले १५ रन बनाए । बलिङतर्फ भारतका आदित्य ठाकरे र अभिषेक शर्माले दुई/दुई विकेट लिए । भारतका लागि कप्तान हिमांशु रानाले ४६ रन बनाए । उनले ३८ बलमा एक छक्का तथा सात चौका हाने । मनोज कर्लाले ३५, अभिषेक शर्माले २७, अनुज रावलले १८ र आदित्य ठेकरेले १३ रन बनाए । बलिङतर्फ नेपालका कप्तान दीपेन्द्रसिंह ऐरीले चार तथा पवन सर्राफ र सहाब अलामले दुई/दुई विकेट लिए । यस्तै सन्दिप लामिछाने र कमलसिंह ऐरीले एक/एक विकेट बाँडे । यसअघि शनिबार भएको पहिलो खेलमा नेपाल बंगालदेशसँग दुई विकेटले पराजित भएको थियो । एसिया कपअन्तर्गत नेपालले अब समूह चरणको अन्तिम खेलमा मंगलबार मलेसियासँग खेल्नेछ । रासस