अर्जेन्टिनाले सन २०१८ को विश्व कप खेल्न नपाउने

काठमाडौं । अर्जेन्टिनाले सन २०१८ को विश्व कप खेल्न नपाउने सम्भावना बढेको छ । बिहिबार राती आफ्नै घरेलु मैदानमा पेरुसँग बराबरीमा रोकिएपछि रुसमा आयोजना हुने विश्व कप खेल्न नपाउने अवस्थामा अर्जेन्टिना पुगेको हो । १७ खेलबाट २५ अंक जोडेको अर्जेन्टिना छैठो स्थानमा छ । समान खेलबाट समान अंक जोडेको पेरु भने गोल अन्तरका कारण पाँचौं स्थानमा छ । अब अर्जेन्टिनाले आफ्नो अन्तिम छनौट खेल इक्वेडरसँग खेल्दैछ । सो खेल जितेपनि रुस विश्व कपमा आफ्नो सहभागीता सुनिश्चित गर्न भने अर्जेन्टिनाले अन्य टोलीहरुको खेलको नजिता कुर्नुपर्नेछ । दक्षिण अमेरिकी समुहबाट ब्राजिलले रुस विश्व कपमा आफ्नो सहभागीता सुनिश्चित गरिसकेको छ ।

नेपालको फुटवल खेल खस्कियो, फिफा वरियातमा १८१ औ स्थान

काठमाडौं । नेपाल फुटवल खेलमा कमजोर हुदै गएको छ । विश्व फुटबल महासंघ (फिफा) को विश्व वरियतामा नेपाल ६ स्थान तल झरेको छ । फिफाले सार्वजनिक गरेको वरियताअनुसार नेपाल ६ स्थान तल झर्दै १८१ औं स्थानमा पुगेको छ । अघिल्लो महिना १७५ औं स्थानमा रहेको थियो । नेपाल एएफसी एसियन कप छनोट अन्तर्गत गत हप्तामात्र नेपाल एसियाली मुलुक ताजिकिस्तानसँग पराजित भएपछि ६ अंक तल झरेको हो । त्यसबेला नेपाल ताजकिस्तानसंग २–१ ले पराजित भएको थियो । फिफाको नयाँ वरियता अनुसार नेपाल भुटानभन्दा पछि छ भने दक्षिण एसियामा चौथो स्थानमा पुगेको छ । नेपालभन्दा अघि भारत, माल्दिभ्स र भुटान छन् । फिफाको नयाँ वरियताको शीर्षस्थानमा जर्मनी हुन पुगेको छ । जर्मनीले ब्राजिललाई पछि पार्दै शिर्ष स्थानमा उक्लिएको हो । ब्राजिल दोस्रो, पोर्चुगल तेस्रो, अर्जे्न्टिना चौथो र बेल्जियम पाँचांै स्थानमा छन् ।

१३ औँ सागः पाँच खेल पोखरामा

पोखरा । युवा तथा खेलकुदमन्त्री राजेन्द्रकुमार केसीले आगामी १३ औँ दक्षिण एसियाली खेलकुद सागका लागि पोखरा उच्च प्राथमिकतामा परेको बताएका छन् । पोखरा रंगशालाको आज यहाँ निरीक्षणका क्रममा उनले पर्यटकीय नगरीका रुपमा अन्तरराष्ट्रिय स्तरमा पहिचान बनाइसकेको पोखरालाई खेलकुद माध्यमबाट पनि उत्कृष्ट गन्तव्य बनाउन सकिने बताए। मन्त्री केसीले आउँदो सागका लागि पोखरालाई गुरुयोजनाभित्र राखिएको जानकारी दिँदै निर्धारित समयावधिभित्र रंगशाला बनाउन निर्देशन दिए। सो अवसरमा राष्ट्रिय खेलकुद परिषद्का सदस्य सचिव केशवकुमार विष्टले १३ औँ सागमा पाँच–छ खेल पोखरामा सञ्चालन गर्ने लगभग तय भइसकेको जानकारी दिँदै त्यही रुपमा तयारी पनि अगाडि बढाइएको बताए। पश्चिमाञ्चल क्षेत्रीय खेलकुद विकास समितिका उपाध्यक्ष सुनिलकुमार गुरुङले खेल क्षेत्रलाई भ्रष्टाचारमुक्त गरिनुपर्नेमा जोड दिए । जिल्ला खेलकुद विकास समितिका अध्यक्ष यमबहादुर गुरुङले खेलकुदको विकासका लागि पोखरा उर्वर भूमि भए पनि प्रशिक्षकका अभाव जस्ता समस्या भोग्नुपरेको गुनासो गरे । जिल्ला खेलकुद विकास समिति कास्कीका कार्यालय प्रमुख प्रकाश बरालले पोखरा रंगशाला ४१७ रोपनी क्षेत्रफलमा फैलिएको र यहाँ पछिल्ला समयमा बहुउद्देश्यीय कबर्ड हल लगायत संरचना निर्माण भइरहेको जानकारी दिए। रासस