क्रिकेटका पूर्वकप्तान नीरज श्रेष्ठको निधन

हेटाैंडा । आठ महिनादेखि रक्त क्यान्सरको उपचार गराइरहेका मकवानपुर क्रिकेटका पूर्वकप्तान नीरज श्रेष्ठको निधन भएको छ । लामो समयदेखि नेपाल तथा भारतका विभिन्न अस्पतालमा उपचार गराइरहेका थिए । श्रेष्ठको शहीद मेमोरियल अस्पताल काठमाडौँमा आज निधन भएको क्रिकेट सङ्घ मकवानपुरका सचिव दीपेन्द्र ढकालले जानकारी दिएका हुन् । ३६ वर्षीय श्रेष्ठले मकवानपुरमा क्रिकेटको प्रवद्र्धनका लागि महत्वपूर्ण योगदान दिएका थिए । क्रिकेट सङ्घ मकवानपुरले एक शोक वक्तव्यमार्फत मकवानपुर क्रिकेट सङ्घका सदस्य एवं पूर्वकोषाध्यक्ष तथा मकवानपुरको पूर्वकप्तानसमेत रहेका श्रेष्ठको निधनले क्रिकेट क्षेत्रले आशलाग्दो युवा गुमाउनुपरेको जनाएको छ । खेलकूद विकास समिति मकवानपुरका सचिव खुशराज दाहालले खेलाडी श्रेष्ठको निधन राष्ट्रको खेल क्षेत्रका लागि अपुरणीय क्षति भएको बताएका छन् । मृतक श्रेष्ठका आमा, बुबासहित श्रीमती र एक छोरा छन् । रासस

विश्वकप एशिया छनोटः कुवेतद्वारा कतार १० रनले पराजित

काठमाडौं । आइसिसी टी–ट्वान्टी विश्वकप एशिया क्षेत्र छनोटअन्तर्गत आज भएको खेलमा कुवेतले कतारलाई १० रनले पराजित गर्दै विजयी भएको छ । सिङ्गापुरको इण्डियन एसोसिएशन क्रिकेट मैदानमा टस हारेर पहिला ब्याटिङ गरेको कुवेतले निर्धारित २० ओभरमा सात विकेट गुमाउँदै १९७ रनको योगफल बनायो । कुवेतका लागि अदनान आर्डिसले ५६ रनको उत्कृष्ट इनिङ खेले भने मिट भावसारले ३५ तथा उस्मान वहीदले २८ रनको योगदान दिए । बलिङतर्फ कतारका लागि तमोर सज्जाद र इकवाल हुसेनले समान दुई÷दुई विकेट लिए । जीतका लागि १९८ रनको विजयी लक्ष्य बोकेर मैदान उत्रेको कतार निर्धारित २० ओभरमा पाँच विकेट गुमाउँदै १८७ रनमा समेटियो । कतारका लागि तमोर शज्जादले सर्वाधिक ४६ रनको योगदान दिए भने नोमान शनवारले ३४, इनाम उक हलले २८ तथा फैसल जाभेदले २५ रन जोडे । कुवेतका शिराज खान र जनदु हमौदले दुई÷दुई विकेट झारे । यस हारसँगै तीन खेल खेलेको कतार एक खेलमा जीत तथा दुई खेलमा हार बेहोर्दै दुई अङ्क जोडेको छ । अङ्क तालिकाको अन्तिम स्थानमा रहेको कतार प्रतियोगिताबाट लगभग बाहिरिएको छ । त्यस्तै, नेपालको अघिल्लो चरण प्रवेशको सम्भावना भने कायमै रहेको छ । यसअघि दुई खेल खेलेको नेपालले एक खेलमा हार तथा एक खेलमा जीत हासिल गरेको छ । नेपाल पहिलो खेलमा कतारसँग पराजित भएको थियो भने दोस्रो खेलमा नेपालले मलेसियालाई पराजित गरेको थियो । नेपाल अङ्क तालिकाको चौथो स्थानमा छ । प्रतियोगितामा नेपालसहित मलेसिया, कतार, आयोजक सिङ्गापुर र कुवेत सहभागी छन् । उक्त प्रतियोगिताको विजेता टोलीले विश्वकपको ग्लोबल छनोटमा सहभागिता जनाउनेछन् । जारी प्रतियोगितामा आयोजक सिङ्गापुरले तीन अङ्क जोड्दै अङ्क तालिकाको शीर्ष स्थानमा छ भने समान तीन अङ्क नै जोडेको कुवेत नेट रन रेटको आधारमा दोस्रो स्थानमा छ । त्यस्तै, दुई अङ्क बटुलेको मलेसिया नेट रन रेटका आधारमा तेस्रो स्थानमा छ । नेपालले आफ्नो तेस्रो खेल भोलि कुवेतसँग खेल्नेछ । रासस

विश्वकप एशिया छनोटमा नेपालद्वारा मलेसिया सात विकेटले पराजित

काठमाडौं । सिङ्गापुरमा जारी आइसिसी टी–ट्वान्टी विश्वकप एशिया क्षेत्र छनोट खेलमा नेपालले पहिलो जीत दर्ता गराएको छ । सिङ्गापुरको इण्डियन एशोसिएशन क्रिकेट मैदानमा आज भएको खेलमा नेपालले मलेसियालाई सात विकेटले पराजित गर्दै प्रतियोगितामा पहिलो जीत दर्ता गराएको हो । यसअघि हिजो भएको पहिलो खेलमा नेपाल कतारसँग चार विकेटले पराजित भएको थियो । टस हारेर पहिले ब्याटिङको निम्तो पाएको मलेसियाले निर्धारित नौ ओभरमा सात विकेट गुमाउँदै ८३ रनको योगफल बनायो । ८४ रनको विजयी लक्ष्य बोकेर मैदान उत्रिएको नेपालले आठ ओभरमा तीन विकेट गुमाउर्दै लक्ष्य पूरा गर्यो । वर्षाले प्रभावित भएपछि २० ओभरको खेललाई छोट्टाएर नौ ओभरमा झारिएको थियो । नेपालको जीतमा कार्यवाहक कप्तान ज्ञानेन्द्र मल्लले अर्धशतक पूरा गरे । २१ बल खेलेका उनले तीन छक्का र पाँच चौका प्रहार गर्दै सर्वाधिक ५१ रनको महत्वपूर्ण योगदान दिए । त्यस्तै प्रदीप ऐरी १२ रनमा बाहिरिए भने विनोद भण्डारी अविजित १३ तथा दिपेन्द्र सिंह ऐरीले २ रन जोडे । बलिङतर्फ मलेसियाका लागि मुहम्मद सहदायत एक्लैले तीन विकेट लिए । त्यसअघि पहिले ब्याटिङ गरेको मलेसियाले निर्धारित नौ ओभरमा सात विकेट गुमाउँदै ८३ रन बनाएको थियो । उसका लागि सैयज अजीजले सर्वाधिक ३० रन जोडे भने वीरनदीप सिंहले २१ तथा अहमद फैजले नौ रन जोडे । नेपालका लागि सोमपाल कामीले तीन विकेट लिए भने वसन्त रेग्मीले दुई तथा सन्दीप लामिछाने र करण केसीले एक/एक विकेट झारे । जीतसँगै नेपालले जारी प्रतियोगितामा दुई अङ्क जोडेको छ । प्रतियोगितामा नेपालसहित मलेसिया, कतार, आयोजक सिङ्गापुर र कुवेत सहभागी छन् । उक्त प्रतियोगिताको विजेता टोलीले विश्वकपको ग्लोबल छनोटमा सहभागिता जनाउने छन् । रासस