खेलमा सहभागिता जनाउन आइपुग्याे अफगानी टोली नेपाल
काठमाडौं । काठमाडौँमा आयोजना हुने एभिसी सेन्ट्रल जोन पुरुष भलिबल प्रतियोगितामा सहभागिता जनाउन अफगानिस्तानको राष्ट्रिय भलिबल टोली आज नेपाल आइपुगेको छ । आगामी भदौ २ देखि ८ गतेसम्म हुने खेलमा सहभागिता जनाउन अफगानिस्तानको राष्ट्रिय भलिबल टोली नेपाल आइपुगेको हो । नेपाल भलिबल सङ्घका पदाधिकारीले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अफगानिस्तान टोलीलाई स्वागत गरेका छन् । नेपालले अफगानिस्तानसँग यही साउन २९ र ३० गते दुई मैत्रीपूर्ण खेल खेल्दैछ । उक्त खेल लगनखेलस्थित आर्मीको कभर्डहलमा हुनेछ । एभिसी सेन्ट्रल जोनमा आयोजक नेपालसँगै साविक विजेता तुर्कमेनिस्तान, उज्बेकिस्तान, अफगानिस्तान, माल्दिभ्स, किर्गिस्तान र बङ्गलादेश गरी सात राष्ट्रले प्रतिस्पर्धा गर्नेछन् । यही च्याम्पियनसिपमा नेपालले तीन वर्षअघि माल्दिभ्समा भएको खेलमा कास्य पदक जितेको थियो । नेपालले हालसम्म अन्तर्राष्ट्रिय भलिबलमा प्राप्त गरेको एकमात्र पदक यसै प्रतियोगिताकाे हो । एभिसी सेन्ट्रल जोन खेल्ने नेपाली भलिबल टोलीको कप्तानीको भूमिका इमबहादुर रानाले निभाउनेछन् । त्यस्तै टोलीको अन्य सदस्य खेलाडीमा हरिहजुर थापा, नरेन्द्र गिरी, विशाल विक, राजकुमार निरौला, हरि अधिकारी, दुर्गा खड्का, दीपकराज जोशी, धनबहादुर भट्ट क्षेत्री, राजेन्द्र विष्ट, कुलबहादुर थापा, टेकराज अवस्थी, विनोदबहादुर चन्द र ईश्वर थापा मगर छन् । रासस
साफ च्याम्पियनशिपः नेपालले पहिलाे प्रतिस्पर्धा भारतसँग गर्ने
भारतमा आयोजना हुने साफ यू–१५ (पन्ध्र वर्षमुनि) फुटबल च्याम्पियनशिपको उद्घाटन खेलमा नेपालले चिरपरिचित प्रतिद्वन्द्वी भारतसँग प्रतिस्पर्धा गर्ने भएको छ । भारतको कल्याणीमा हुने उक्त च्याम्पियनशिपमा नेपालसहित भारत, श्रीलङ्का, बङ्गलादेश र भूटान गरी पाँच राष्ट्रको सहभागिता रहनेछ । प्रतियोगिता आगामी भदौ ४ देखि १४ गतेसम्म सञ्चालन हुनेछ । नेपाल आगामी भदौ ४ गते हुन प्रतियोगिता उद्घाटन समारोहमा भारतसँग भिडने भएको हो । त्यस्तै नेपालले आफ्नो दोस्रो खेल भदौ ६ गते श्रीलङ्कासँग खेल्नेछ भने १० गते बङ्गलादेशसँग र १२ गते भूटानसँग खेल्नेछ । यसअघि नेपालमा नै सम्पन्न अघिल्लो श्रृङ्खलाको साफ च्यापियनशिपमा बङ्गलादेश च्याम्पियन बन्दा नेपाल चौथो भएको थियो । उक्त प्रतियोगिताका लागि यू–१५ का मुख्य प्रशिक्षक सुनिल श्रेष्ठ, सहायक प्रशिक्षक राजकुमार केसी र गोलकिपर प्रशिक्षक विनोद महर्जनले २३ सदस्यीय नेपाली टोलीको घोषणा गरेका छन् । छनोट हुने खेलाडीमध्ये गोलकिपरमा ईश्वर गुरुङ, मनोज दाहाल र जिनियस केसी छन् भने डिफेन्डरमा प्रज्ञान महर्जन, अविशेक वाइवा, प्रमिश गुरुङ, अजय चौधरी, जन लिम्बू र रोशन थापा छन् । यसैगरी, मिडफिल्डरमा जन्मेजय धामी, निराजन मल्ल, प्रदीप लम्साल, नितेश श्रेष्ठ, अशिम राई, बिपिन तुम्सिङ मगर, अमिर हमिद, मोहित गुरुङ, निराजन खत्री र अनिल चौलागाईं छन् । फरवार्डमा कृष्ण अधिकारी यादव, कृष सापकोटा, सुगन जिमी र शशाङ्क बोहरा छन् । रासस
फिफा विश्वकप छनोट खेल्ने फुटबल टोलीको घोषणा
काठमाडौं । कतारमा सन् २०२२ मा आयोजना हुने आसन्न फिफा विश्वकप फुटबल प्रतियोगिताअन्तर्गत एशिया दोस्रो चरण छनोटका लागि नेपालले आज प्रारम्भिक चरणमा ३१ सदस्यीय टोलीको घोषणा गरेको छ । नेपाली टोलीका मुख्य प्रशिक्षक योहान कालिनले प्रशिक्षणमा बोलाइएका ३६ खेलाडीमध्येबाट प्रारम्भिक चरणमा ३१ खेलाडीको घोषणा गरेको अखिल नेपाल फुटबल सङ्घ (एन्फा)ले जनाएको छ । विश्वकप छनोटमा नेपाल समूह बी मा रहेको छ । नेपालको समूहमा अष्ट्रेलिया, जोर्डन, कुवेत र चाइनिज ताइपे रहेका छन् । दोस्रो चरणको छनोट खेल आगामी भदौ १९ गतेदेखि शुरु हुनेछ । नेपालले आफ्नो पहिलो खेल कुवेतसँग खेल्नेछ । नेपालले भदौ १९ गते कुवेतसँग घरेलु मैदानमा खेल्ने तय भएता पनि दशरथ रङ्गशालाको पुनःनिर्माण कार्य नसकिदा कुवेतमा नै गएर खेल्ने पक्का भएको छ । नेपालले कुवेतसँग होम एण्ड अवे दुवै खेल कुवेतमा नै खेल्नेछ । छनोट हुने प्रारम्भिक टोलीको गोलरक्षकमा किरणकुमार लिम्बु, एलन न्यौपाने, विकेश कुथु, विशाल श्रेष्ठ छन् । डिफेन्डरमा विराज महर्जन, सरोज दाहाल, रन्जिन धिमाल, सुमन अर्याल, अनन्त तामाङ, अजित भण्डारी, देभेन्द्र तामाङ, रवि सिलवाल, दिनेश राजवंशी र बिमल पाण्डे छन् । त्यसैगरी, मिडफिल्डरमा सुनिल बल, रवि पासवान, सुजल श्रेष्ठ, विशाल राई, रोहित चन्द, विक्रम लामा, सन्तोष तामाङ, तेज तामाङ, त्रिदेव गुरुङ, हेमन गुरुङ, सुभाष गुरुङ छन् । स्ट्राइकरमा विमल घर्तीमगर, विमल राना, नवयुग श्रेष्ठ, अभिषेक रिजाल, अन्जन विष्ट र भरत खवास छन् । रासस