आज कर्णाली र काठमाडौं भिड्दै, प्लेअफको यात्रामा पुग्न जित्नै पर्ने बाध्यता

काठमाडौं । त्रिभुवन विश्वविद्यालयको क्रिकेट रङ्गशालामा जारी दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत आज कर्णाली याक्स र काठमाडौं गोर्खाज भिड्दैछन् । खेल अपरान्ह ३:३० बजे हुनेछ । सोमपाल कामीको कप्तानीमा चारवटा प्रतियोगितामा सहभागी कर्णाली याक्सले एउटा मात्र जितेको छ । दुई अङ्कका साथ कर्णाली छैटौँ स्थानमा छ । प्लेअफको यात्रामा रहिरहन उसलाई आज जित्नै पर्ने बाध्यता छ । करण केसीको नेतृत्वमा रहेको काठमाडौं तेस्रो स्थानमा छ । प्लेअफको यात्रामा पुग्न काठमाडौंका लागि पनि यो खेल महत्त्वपूर्ण छ ।

एनपीएल-२ : सुदूरपश्चिमको अपराजित यात्रा कायमै, साविक विजेता जनकपुर ६ विकेटले पराजित

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) मा सुदूरपश्चिम रोयल्सले आफ्नो अपराजित यात्रालाई कायमै राखेको छ । शनिबार कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा भएको खेलमा सुदूरपश्चिमले साविक विजेता जनकपुर बोल्ट्समाथि ६ विकेटको सानदार जित निकाल्दै लगातार पाँचौं जित दर्ता गरेको हो ।  यो जितसँगै सुदूरपश्चिम रोयल्सले प्लेअफमा आफ्नो स्थान सुरक्षित गरेको छ भने साविक विजेता जनकपुरको प्लेअफ सम्भावना अब गणितीय समीकरणमा मात्र सीमित भएको छ ।  खराब सुरुआतपछि इशान र विनोदको उत्कृष्ट ‘कम्ब्याक’ जनकपुरले दिएको १४६ रनको लक्ष्य पछ्याउने क्रममा सुदूरपश्चिमको सुरुआत निकै खराब रह्यो । स्कोर बोर्डमा जम्मा १ रन जोड्दा टोलीले आफ्ना दुई प्रमुख ब्याटर गुमाइसकेको थियो ।  ओपनर जन ब्रोन ‘डायमन्ड डक’ र क्रिस लिन १ रनमै आउट भएपछि सुदूरपश्चिम दबाबमा परेको थियो । तर, त्यसपछि क्रिजमा आएका इशान पाण्डे र विनोद भण्डारीले खेलको नक्सा नै बदलिदिए । १–२ को नाजुक स्थितिबाट उकास्दै यी दुईले तेस्रो विकेटका लागि ९२ रनको महत्वपूर्ण साझेदारी गरे । इशान पाण्डेले आक्रामक ब्याटिङ गर्दै ३५ बलमा ८ चौका र १ छक्काको मद्दतले अर्धशतकीय इनिङ खेले। त्यस्तै, ओपनर विनोद भण्डारीले ४२ रनको जिम्मेवारीपूर्ण योगदान दिए । अन्त्यमा हर्मित सिंहले १० बलमै ३ छक्का र १ चौकासहित २५ रन बनाउँदै टोलीलाई १७.४ ओभरमै जित दिलाए। कप्तान दीपेन्द्रसिंह ऐरी १० रनमा अविजित रहे ।  अविनाश र स्कटको घातक बलिङ यसअघि टस जितेर ब्याटिङ रोजेको जनकपुर बोल्ट्सले निर्धारित २० ओभरमा ८ विकेट गुमाउँदै १४५ रन बनाएको थियो। जनकपुरलाई सस्तैमा समेट्न सुदूरपश्चिमका बलरहरू हाबी भए । अविनाश बोहराले ४ ओभरमा ३० रन खर्चेर महत्त्वपूर्ण ४ विकेट लिए भने स्कट कुग्गेलिनले ३ विकेट हात पारे। कप्तान दीपेन्द्रसिंह ऐरीले १ विकेट लिए । जनकपुरका लागि सञ्जय कृष्णमुर्थीले अर्धशतकीय पारी खेले । ७४ रनमा ४ विकेट गुमाएको अवस्थामा उनले ३८ बलमा ५० रन बनाउँदै टोलीलाई सम्मानजनक स्कोरतर्फ डोहोर्याएका थिए । जान निकोल लोफ्टी इटोनले ३९ रन बनाए ।  यो खेलमा जनकपुरले नियमित कप्तान अनिलकुमार साहलाई बेन्चमा राख्दै दक्षिण अफ्रिकाका वायन पार्नेललाई कप्तानी सुम्पेको थियो । तर, यो रणनीति सफल हुन सकेन । ओपनर आसिफ शेख र शुभ कंसाकार खाता नखोल्दै पेभिलियन फर्किएपछि जनकपुर सुरुदेखि नै दबाबमा परेको थियो ।  लगातार पाँच जितसहित सुदूरपश्चिम रोयल्सले उपाधि दाबेदारी बलियो बनाएको छ । उता गत वर्षको च्याम्पियन जनकपुर बोल्ट्सको भने अबको यात्रा अन्य टोलीको नतिजा र गणितीय सम्भावना माथि निर्भर रहनेछ ।

कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक मङ्सिर १५ गते बस्ने

काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठक यही मङ्सिर १५ गते बस्ने भएको छ ।      यसअघि मङ्सिर १४ गते बोलाइएको उक्त बैठक विशेष कारणले गर्दा मङ्सिर १५ गते सोमबारसम्मका लागि सारिएको कांग्रेस केन्द्रीय कार्यालयका मुख्यसचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए । बैठक सोमबार दिउँसो २ः०० बजे पार्टी केन्द्रीय कार्यालय सानेपामा बस्नेछ ।      कांग्रेसले उक्त बैठकमा उपस्थित हुनका लागि केन्द्रीय कार्यसमितिका पदाधिकारी, सदस्य, आमन्त्रित सदस्य र सातै प्रदेश कार्यसमितिका सभापतिहरूलाई निर्देशानुसार अनुरोध गरेको छ ।