स्थानीय तहबाट भूमि प्रशासन सेवा प्रवाह गर्न संघीय सरकारको आग्रह
काठमाडौं । भूमि प्रशासनसँग सम्बन्धित सेवाहरू स्थानीय तहबाटै प्रवाह गर्न संघीय सरकारले आग्रह गरेको छ । भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयले बिहीबार सूचना जारी गर्दै हाल मालपोत कार्यालय र नापी कार्यालय बाट प्रवाह हुँदै आएका सेवाहरू स्थानीय तहबाट सञ्चालन गर्न इच्छुक स्थानीय सरकारलाई आवेदन दिन आह्वान गरेको हो । मन्त्रालयका अनुसार नेपालको संवैधानिक व्यवस्था अनुसार यी सेवाहरू स्थानीय तहबाट सञ्चालन गर्न सकिने व्यवस्था रहेको छ । त्यसअनुसार इच्छुक स्थानीय तहले आवश्यक जनशक्ति तथा पूर्वाधारको व्यवस्थापन आफैंले गर्नुपर्नेछ । सूचना प्रकाशित भएको मितिले सात दिनभित्र सेवा प्रवाह गर्न इच्छुक स्थानीय तहले आफ्नो विवरणसहितको पत्र मन्त्रालयमा पठाउनुपर्ने उल्लेख गरिएको छ । आवेदन [email protected], [email protected] वा [email protected] मार्फत पठाउन सकिनेछ । मन्त्रालयले सिंहदरबार, काठमाडौंबाट जारी गरेको उक्त सूचनाले स्थानीय तहलाई सेवा विकेन्द्रीकरणमार्फत नागरिकलाई सहज सेवा उपलब्ध गराउने लक्ष्य लिएको जनाएको छ ।
स्कुटरमा चढेर सुनको सिक्री लुट्ने डंगोल पक्राउ
काठमाडौं । स्कुटरमा चढेर बाटामा हिड्ने महिलाको सिक्री लुट्ने व्यक्ति पक्राउ परेका छन् । ललितपुरस्थित चिल्ड्रेनपार्क शंखमुल सडक खण्डमा पैदल यात्रा गर्ने महिलाको सुनको सिक्री लुटपाट गर्ने ३२ रिक्की डंगोल पक्राउ परेका छन् । गत सोमबार शंखमुलमा पैदलयात्रा गरिरहेकी महिलाको घाँटीमा लगाएको लकेटसहितको सुनको सिक्री लुटेर डंगोल फरार भएका थिए । सुनको सिक्री र लुटपाटमा प्रयोग भएको स्कुटर सहित पक्राउ उनलाई पक्राउ गरिएको छ । जिल्ला प्रहरी परिसर ललितपुरका अनुसार उनलाई चोरी सम्बन्धी कसुरमा थप अनुसन्धान भईरहेको छ । डंगोल डाँका चोरी मुद्दामा समेत संलग्न रहेका थिए । उनको साथबाट बा ९० प ६२७८ नं. को एभीएटर स्कुटर २ लकेट सहितको २.७ तोलाको लुटपाट भएको सुनको सिक्री १ थानसहित उनी पक्राउ परेका हुन् ।
मल आयात गर्दा सीमा नाकामा कुनै अवरोध हुँदैन, उजुरी दिए तत्काल कारबाही गर्छौं : महानिरीक्षक मगर
काठमाडौं । सशस्त्र प्रहरी बल, नेपालका अतिरिक्त महानिरीक्षक (एआईजी) गणेश ठाडा मगरले नेपाल भारत सीमा नाकामा किसानलाई मल आयात गर्दा कुनै अवरोध सिर्जना नहुने बताएका छन् । बिहीबार बसेको संघीयता सबलीकरण तथा राष्ट्रिय सरोकार समितिको बैठकमा सांसदहरुले उठाएको प्रश्नको जवाफ दिँदै उनले मल आयातमा सहजीकरण गरिएको बताएका हुन् । उनले मल आयातमा दुःख दिने कुरा पुरानो भइसकेको उल्लेख गर्दै यसवर्ष मल आयातमा नरोक्नेगरि सीमा सुरक्षा पोस्ट (बीओपी) लाई निर्देशन दिएको जानकारी दिए । उनले सीमानाकामा मल आयात गर्दा दुःख दिएको पाइएमा खबर गर्न पनि आग्रह गरे । खुला सीमाको फाइदा उठाएर मलको नाममा अरु वस्तु तस्करी हुने गरेको उल्लेख गर्दै चेकजाँच लगायतका कार्य भने भइरहेको बताए । मलको बोरामा चिनी लगायतका वस्तु आयात हुने गरेको उनको भनाई छ । तस्करी नियन्त्रणमा भने सशस्त्र प्रहरी बल निर्मम भएर लाग्ने बताए । किसानलाई भारतबाट आवश्यक मल ल्याउन भने कुनै कडाई नगरेको उनको दाबी छ । उनले भने, ‘यो साल हामीले मल आयातमा नरोक्नेगरी निर्देशन दिएका छौँ । मल आयातमा दुःख दिएको कतै जानकारीमा पाए उजुरी गर्नुहोला हामी तत्काल कारबाही गर्नेछौँ । नेपाल–भारत सीमाको ९४७ स्थानमा बाटो नै छ ।’ समितिको बैठकमा सांसदहरुले सीमा सुरक्षा पोस्ट (बीओपी)मा सशस्त्र प्रहरी बलले किसानलाई मल ल्याउन दुःख दिएको गुनासो गरेका थिए ।