नेपाल-भारत सीमामा सशस्त्र प्रहरीको ‘हाई अलर्ट’
काठमाडौं । नेपाल-भारत सीमामा सशस्त्र प्रहरी हाई अलर्ट भएको छ । नेपाल-भारत खुला सीमाबाट अनाधिकृत रुपमा विदेशी नागरिकको प्रवेश हुने आशंकामा प्रहरीले निगरानी बढाएको हो । पछिल्लो समय छिमेकी मुलुकमा क्षेत्रीय तनाव बढेपछि नेपालको खुला सीमाबाट अवैध नागरिकको नेपाल प्रवेश हुने आशंकामा सशस्त्र प्रहरी सजग भएको हो । सुरक्षाको उच्च जोखिम रहेको भन्दै सीमामा कडाइ गरिएको प्रहरीका प्रवक्ता विष्णु प्रसाद भट्टले बताए । सार्वजनिक रुपमा बाहिर आएजस्तो अवैध रुपमा कुनै पनि विदेशी नागरिक नभित्रिएको उनको भनाइ छ । 'विशेष सुत्र प्रयोग गरेका छौं । कुनै पनि मुलुकका नागरिक अवैध तरिकाले नेपाल भित्रिएका छैनन्,’ उनले भने, 'खुला सीमामा प्रहरीले सचेत भएर निगरानी बढाएको छ । अवैध नागरिक भित्रिन्छन् भनेर सजगसमेत छौं।' खुला सीमा भएका जिल्लामा प्रहरी अर्लट भएर सुरक्षा प्रदान गरिरहेको भट्टले बताए । अवैध नागरिक र गतिविधि नहोस् भनेर प्रहरी पूर्ण रुपमा सचेत रहेको उनको भनाइ छ । अवैध घुसपैठ रोक्न २४सै घण्टा पेट्रोलिङलाई तीव्र पारिएको सशस्त्र प्रहरीका उनले बताए । सीमामा आवतजावत गर्नेहरूको परिचयपत्र जाँच, अभिलेख राख्ने र शङ्कास्पद स्थानहरूमा सूक्ष्म निगरानीलाई कडाइ गरिएको उनले सुनाए। भारतफर्तको सीमामा २४९ बीओपी रहेको उनले जानकारी दिए । एक प्लाटुनमा २० देखि ३० जना सुरक्षाकर्मी रहेको भट्टले जानकारी दिए । प्रवक्ता भट्टले वीरगञ्ज, जोगबनी, सुनौली, नेपालगञ्ज र रुपैडिया लगायतका ठूल्ठूला नाकामा ६०/७० जना प्रहरीहरू परिचालन गरिएको जानकारी दिए । सीमा सुरक्षामा भने सशस्त्र प्रहरीले सुरक्षा दिने गरेको छ । भन्सार र सीमामा सशस्त्र प्रहरीले सुरक्षा प्रदान गर्दै आएको छ । त्यसैगरी, भन्सार सम्बन्धी प्रचलित ऐन अनुसार कानुनबमोजिम काम गरिरहेको उनले बताए । व्यापारिक प्रयोजनका लागि सामान आयात गर्नेलाई कडाइ गरिएको उनले बताए । सर्वसाधारण नागरिकलाई सामान आयात गर्दा सीमामा बाहिर आएजसरी कडाइ नगरिएको उनले उल्लेख गरे ।
बकर इदका अवसरमा जेठ १४ सार्वजनिक बिदा
काठमाडौं । सरकारले यही जेठ १४ गते इस्लाम धर्मावलम्बीहरूको पर्व बकर इद (इद-उल-अज्हा) परेकाले उक्त दिन सार्वजनिक बिदा दिने निर्णय गरेको छ । मुस्लिम आयोगबाट यही जेठ १४ गते बिहीबारका दिन बकर इद (इद-उल-अज्हा) परेको व्यहोरा जानकारी प्राप्त हुन आएको उल्लेख गर्दै सो दिन सार्वजनिक बिदा दिने निर्णय गरिएको गृहमन्त्रालयका प्रवक्ता आनन्द काफ्लेले जानकारी दिए । सरकारद्वारा विसं २०८२ माघ १८ गते नेपाल राजपत्रमा प्रकाशित गरिएको सूचनाअनुसार इस्लाम धर्मावलम्बीहरूको पर्व बकर इद पर्ने दिन सार्वजनिक बिदा दिने व्यवस्था गरेको थियो । सरकारले यस पर्वको अवसरमा स्वदेश तथा विदेशमा रहेका इस्लाम धर्मावलम्बीहरूका साथै सम्पूर्ण नेपाली दिदीबहिनी तथा दाजुभाइमा शुभकामनासमेत व्यक्त गरेको छ ।
किस्ट शिक्षण अस्पतालमा अत्याधुनिक क्यान्सर उपचार सेवा
काठमाडौं । ललितपुरको ग्वार्कोस्थित किस्ट शिक्षण अस्पतालले अत्याधुनिक प्रविधि, अनुभवी विशेषज्ञ टोली तथा बहुविषयगत समन्वयमार्फत प्रभावकारी रूपमा क्यान्सर उपचार सेवा सञ्चालन गरिरहेको जनाएको छ । अस्पतालको क्यान्सर उपचार सेवा विभागको नेतृत्व वरिष्ठ क्यान्सर रोग विशेषज्ञ प्रोफेसर डा. विष्णु दत्त पौडेलले गरिरहेका छन् । अस्पतालका अनुसार यहाँ अनुभवी क्यान्सर शल्य चिकित्सक, क्यान्सर रोग विशेषज्ञ, रक्तसम्बन्धी क्यान्सर विशेषज्ञ तथा अन्य सम्बन्धित विशेषज्ञहरूको सशक्त टोली कार्यरत छ । यस टोलीमार्फत टाउकोदेखि खुट्टासम्म हुने सबै प्रकारका क्यान्सरहरूको पहिचान, शल्यक्रिया तथा सम्पूर्ण उपचार सेवा उपलब्ध हुँदै आएको छ । नेपाली बिरामीहरूलाई अन्तर्राष्ट्रिय स्तरको विशेषज्ञ सेवा सहज रूपमा उपलब्ध गराउने उद्देश्यले किस्ट क्यान्सर केन्द्रले भारतको प्रख्यात मेदान्ता गुरुग्रामसँग सहकार्य गरिरहेको बताएको छ । यस सहकार्यअन्तर्गत टेलिमेडिसिनमार्फत दोस्रो राय तथा टेलि-परामर्श सेवा समेत प्रदान गरिँदै आएको अस्पतालले जनाएको छ । भारतीय विशेषज्ञको उपस्थितिमा दुई महत्वपूर्ण कार्यक्रम यसै सहकार्यको निरन्तरता स्वरूप मेदान्ता गुरुग्राम, भारतका प्रख्यात क्यान्सर रोग विशेषज्ञ डा. सत्य पाल कटारियाको विशेष आतिथ्यतामा अस्पतालमा दुईवटा महत्वपूर्ण शैक्षिक तथा चिकित्सकीय कार्यक्रम सफलतापूर्वक सम्पन्न भएका छन् । उक्त कार्यक्रमहरूमा किस्ट शिक्षण अस्पतालका विशेषज्ञ चिकित्सकहरूसँगै विभिन्न अस्पताल तथा स्वास्थ्य संस्थाबाट आएका वरिष्ठ चिकित्सक एवं चिकित्सा विशेषज्ञहरूको उल्लेखनीय सहभागिता रहेको थियो । कार्यक्रममा क्यान्सर उपचारका नवीनतम प्रविधि, जटिल बिरामीहरूको बहुविषयगत व्यवस्थापन तथा अन्तर्राष्ट्रिय सहकार्यका विषयमा गहन छलफल गरिएको थियो ।