थर्मल गनको कालोबजारी गरेको आरोपमा पक्राउ परेका अग्रवालसँग २५ लाख धरौटी माग

काठमाडौँ । थर्मल गन कालोबजारी गरेको आरोपमा पक्राउ परेका सुलभ अग्रवालसँग २५ लाख ५० हजार धरौटी मागिएको छ । काठमाडौँ जिल्ला अदालतले २५ लाख ५० हजार धरौटी मागेको हो । महानगरीय प्रहरी अपराध महाशाखाले अग्रवाललाई तीन साताअघि थर्मल गन कालोबजारी गरिरहेको अवस्थामा पक्राउ गरेको थियो । ४/५ हजार रुपैयाँ पर्ने थर्मल गनलाई १५ हजार रुपैयाँसम्म लिएर बिक्री गरेको अग्रवाललाई आरोप थियो । न्यायाधिश ब्रजेश प्याकुरेलको एकल इजलासले थुनछेकको आदेश सुनाएको हो । उनीविरुद्ध विभिन्न चार वटा कसुरमा मुद्धा लिएर जिल्ला सरकारी वकिल कार्यालयले अभियोगपत्र दर्ता गरेको थियो । कालोबजारी सम्बन्धी मुद्धाको सुनुवाई जिल्ला प्रशासन कार्यालयले गर्ने भएपनि एक वर्षभन्दा बढी कैद माग दावी भएपछि अदालतको क्षेत्राधिकारमा पुगेको थियो । अग्रवाल नेपालका लागि किर्गिस्तानका अवैतनिक महावाणिज्यदूत पनि थिए । सार्वजनिक पद धारण गरेको व्यक्तिले गरेको अपराधको दफा पनि उनीविरुद्ध लागु गरिएको थियो । प्रहरीले पक्राउ गरेलसगँै परराष्ट्र मन्त्रालयले उनका सम्पुर्ण सेवा सुविधा फिर्ता गरेको थियो ।

बलिउडका अभिनेता ऋषि कपुरको मृत्यु

काठमाडाैं  । बलिउड अभिनेता ऋषि कपुरको निधन भएको छ। अभिनेता अमिताभ बच्चनले ट्वीटरमार्फत उनको निधन भएको जानकारी दिएका छन्। हिजो मात्रै उनलाई स्वास फेर्न अप्ठ्यारो भएपछि ६७ वर्षे ऋषिलाई बुधबार मुम्बईको रिलायन्स फाउण्डेस अस्पतालमा भर्ना गरिएको थियो। दुई वर्ष अगाडि सन् २०१८ क्यान्सर भएको पुष्टि भएपछि एक वर्ष भन्दा बढी समय अमेरिका बसेर उपचार गरेका थिए। उनी बलिउड अभिनेता रणवीर कपुरका बाबु हुन्।

कोरोनापछिको अर्थतन्त्र : कृषिलाई प्राथमिकता दिन अर्थविद्को सुझाव

काठमाडौं । कोभिड–१९ को महामारीपछिको विश्वको अर्थतन्त्रलाई दृष्टिगत गर्दै नेपालको आगामी आर्थिक विकासका लागि कृषिलाई प्राथमिकता दिन अर्थविद्ले सुझाएका छन् । मोरङ व्यापार सङ्घ र उद्योग सङ्गठनद्वारा बुधबार आयोजित छलफलमा उनीहरुले स्थानीय कच्चा पदार्थमा आधारित उद्योगहरुको स्थापना, वैदेशिक रोजगारीबाट फर्केर आएका श्रमशक्तिलाई तत्काल कृषि क्षेत्रमा परिचालन र एग्रो इण्डष्ट्रियल लिङ्केज हुने नीतिको अवलम्बन गर्नुपर्नेमा जोड दिएका हुन् । सरकारले अविलम्ब अल्पकालीन र दीर्घकालीन नीति ल्याएमा चुनौतीलाई अवसरका रुपमा परिणत गर्न सकिने उनीहरुको धारणा छ । अर्थशास्त्री डा भेषप्रसाद धमलाले यसअघिका सम्पूर्ण योजना, नीतिलाई पुनरावलोकन गरी आगामी योजना तर्जुमा गर्नुपर्ने, संरचनात्मक परिवर्तन गर्नुपर्ने र आर्थिक विकासको केन्द्रविन्दु कृषिलाई बनाउनुपर्नेमा जोड दिए । अर्थशास्त्री डा अर्जुन बरालले विश्व आर्थिक मन्दीको अवस्थाबाट पार पाउन सम्पूर्ण नीतिमै परिवर्तन ल्याइ एग्रो प्रोसेसिङ, एग्रो इण्डष्ट्रियल लिङ्केजमा जोड दिनुपर्ने धारणा राखे । अर्थशास्त्री डा पिके झाले वैदेशिक रोजगारीबाट फर्केर आएका जनशक्तिलाई तत्काल कृषि क्षेत्रमा खपत हुने वातावरण बनाइ कृषि अर्थतन्त्रको विकासमा जोड दिनुपर्ने बताए । अर्थशास्त्री डा वेदराज आचार्यले अन्य कुराको साथसाथै शासन सञ्चालनमा पनि सुधार गरेर अगाडि बढनुपर्नेमा धारणा राख्दै नीति–नियम जतिसुकै राम्रो भए पनि कार्यान्वयन प्रभावकारी नभए नीतिको औचित्य नहुने भएकाले शासन प्रणालीमा सुधार ल्याउनुपर्ने सुझाव दिए । प्राध्यापक विजु थपलियाले आर्थिक एवं उद्योग÷व्यवसाय क्षेत्रलाई वर्तमान अवस्थाबाट पुनःजीवन दिन कार्यगत योजना बनाउनुपर्ने, रोजगारीका अवसर सिर्जना गर्नुपर्ने र निजी क्षेत्रलाई प्रोत्साहन गर्ने नीति कार्यान्वयन गर्नुपर्ने धारणा राखे । प्रदेश योजना आयोगका सदस्य पूर्ण लोक्सोमले स्थानीय स्रोतसाधनको अधिकतम प्रयोग गर्दै त्यसमा आधारित उद्योग÷व्यवसायलाई प्राथमिकता दिई स्वदेशमा रोजगारीको अवसर सिर्जना गर्ने नीति बनाउन प्रदेश सरकारले ल्याउन ध्यान पुर्याउने बताए । रासस