गड्डाचौकी नाकाबाट अलपत्र नेपालीको उद्धार गर्ने निर्णय

भीमदत्तनगर । कञ्चनपुरको स्थानीय प्रशासनले आज बिहानदेखि यहाँको गड्डाचौकी नाकाबाट भारतीय बजारमा अलपत्र रहेका नेपालीको उद्धार गर्ने निर्णय गरेको छ । आइतबार जिल्ला सुरक्षा समितिको बैठकले जिल्लाका अन्य नाका पूर्णरूपमा बन्द गरी गड्डाचौकीबाट स्वास्थ्य परीक्षण गरेर जिल्लामा आउन दिने निर्णय गरेको हो । यसअघि गत चैत ९ गतेसम्म गड्डाचौकी नाकाबाट भारतका विभिन्न शहरबाट करिब ७० हजार नागरिक भित्रिएका थिए । नेपाल–भारत सीमा सिल गर्नुका साथै लकडाउन थालिएयता यहाँको दोधारा चाँदनी, ब्रह्मदेव, बेलौरी र पुर्नवासलगायतका क्षेत्रमा लुकीछिपी आउने क्रम रोकिएको छैन । “दशगजामा आएर नेपाली अलपत्र पर्न थालेपछि व्यवस्थित तवरले उद्धार गरी ल्याउन गड्डाचौकी नाकाबाट आउन लिने निर्णय गरिएको हो”, कञ्चनपुरका प्रमुख जिल्ला अधिकारी नुरहरि खतिवडाले भने, “गड्डाचौकीमा स्वास्थ्य जाँचदेखि आवागमन व्यवस्थित बनाउन तयारी गरिएको छ ।” बिहानैदेखि सेना र स्वास्थ्यकर्मीको चिकित्सकसहितको टोलीले स्वास्थ्य जाँच गर्नुका साथै सशस्त्र र नेपाल प्रहरीले लाइन व्यवस्थापनलगायतमा खटिने तयारी प्रशासनले गरेको जनाएको छ । भारतमा यातायात सुचारु भएसँगै यहाँका नाकामा नेपाली अलपत्र पर्ने क्रम केही दिनयता बढ्दै गएको छ । त्यसैगरी जिल्लामा कोरोना भाइरसको जोखिम बढेको भन्दै जिल्ला प्रशासन कार्यालयले अर्को सूचना जारी नभएसम्मका लागि औषधोपचारबाहेकका सबै सेवा बन्द गर्ने निर्णयसमेत गरेको छ । औषधोपचारबाहेक तकारी बजार, फलफूल, खाद्यान्न पसल र बैंकलगायत सम्पूर्ण व्यापार व्यवसाय अर्को व्यवस्था नभएसम्मका लागि पूर्णरूपमा बन्द गरिएको प्रशासनद्वारा जारी सूचनामा उल्लेख गरिएको छ । रासस

भरुवा बन्दुक पड्किँदा ८ वर्षिय बालकको मृत्यु

काठमाडौं । सिन्धुपाल्चोक जुगल गाउँपालिका–२ किप्चेका ८ वर्षीय बालक आयुष स्याङ्बो तामाङको भरुवा बन्दुक पड्किँदा ज्यान गएको छ । आइतबार दिउँसो सोही ठाउँका अर्का १२ वर्षका बालकले आफ्नै घरमा लोड गरिराखेको भरुवा बन्दुक झिकी घरको पिँढीमा सँगै खेल्ने क्रममा अचानक भरुवा बन्दुक पड्किन गई स्याङ्बोको घटनास्थलमै मृत्यु भएको हो । उनको पेटमा गोली लागेको जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोकका प्रहरी नायब उपरीक्षक माधव काफ्लेले जानकारी दिए । रासस

कोरोना महामारीकाे साईकोडेमीक असरबाट कसरी बच्ने ?

काठमाडौं । विश्वमा कोरोना सक्रमितको संख्या बढ्दै जाँदा मानिसहरुमा यसको मनोसामाजिक असरहरु देखा पर्न थालेका छन् । संक्रमितको थुकको छिटाबाट सर्ने यो रोगले मानिसहरु नै अब एक अर्कोसँग नजिक हुन नसक्ने अवस्था ल्याइदिएको छ । दुई जना मानिस एक भएपछि चल्ने यो संसार अहिले मानिसहरु जति टाढा त्यति सुरक्षित हुने अवस्थाले मानिसहरुलाई मानसिक रुपमा ठूलो असर गरेको छ । कोरोना संक्रमणको त्रास लामो समय नहरला । तर, यसले ल्याएको असर दीर्घकालिन हुनसक्छ । त्यसैले यसले ल्याउने साईकोडेमिक असरबाट तपाई टाढा रहनुपर्छ । यसको लागि केही निश्चित विधिहरु अपनाउन सकिन्छ । आफूलाई शंका नगर्नुहोस् आफुलाई बिना कुनै कारण कोरोना लाग्यो भन्ने शंका नगर्नुहोस् । शंका तथा तनावले टाउको दुख्ने, ज्वरो आएजस्तो हुने तर नाप्दा ज्वरो नदेखिने र घाँंटी खसखस भएजस्तो लाग्ने जस्ता समस्या देखिन सक्छन् । यस्तै, रिंगटा लागेको भान हुने, कमजोरी अनुभव हुने, निद्रा नलाग्ने, मन खुसी नहुने, जोशजाँगर नहुने, छाती पोल्ने, खुट्टा पोल्नेलगायतका शारीरिक लक्षणहरु देखाउँछ जसले गर्दामलाइ साँच्चै कोरोना संक्रमण भएको हो कि भन्ने महसुस हुन्छ । त्यसैले कोरोनाको साईकोडोमीबाट बच्न आफूलाई विश्वास गर्नुहोस् । आफ्नो शरीरको रोग प्रतिरोधात्मक क्षमताप्रति विश्वास गर्नुहोस् । म सजग छु त्यसैले मलाइ कोरोना संक्रमण हुँदैन भनेर ढुक्क हुने, निश्चिन्त हुने बानी विकास गर्नुहोस् । संक्रमितको संख्या सुनेर चिन्ता नगर्नुहोस् विश्वका धेरै देशको तुलनामा हामी निकै सुरक्षित छौं । संक्रमितको पहिचान हुनु राम्रो कुरा हो । किनभने यसले रोग रोकथाममा ठूलो सहयोग गर्दछ । यदि तपाईले सुरक्षाका विधि अपनाउनु भयो भने तपाईलाई संक्रमण हुने सम्भावना निकै कम हुन्छ । निको भएर घर गएका कोरोना संक्रमित आत्माबल नै सबैभन्दा ठूलो भएको बताउँदै आएका छन् । आफूलाई सधैं टिपटप राख्नुहोस् तपाईको कार्यस्थल बन्द भएपनि वा घरबाट काम गरिरहनु भए तापनि आफ्नो दैनिकीमा परिवर्तन नल्याउनुहोस् । दैनिक दाँत माझ्ने, मेकअप गर्ने, अन्य समयमा कार्यालयमा जाँदा जस्तै सफा चिटिक्क भएर आफ्नो काम सुरु गर्नुहोस् । यसरी दैनिकीहरुमा यथावत राख्दा तपाईलाई महामारीको त्यति वास्ता पनि हुँदैन र बिरामी भएको महसुस हुँदैन । योग तथा ध्यान गर्ने आफ्नो आत्मशान्ति र भित्री शीतलताको लागि योग तथा ध्यान गर्ने बानी बसाल्नुहोस । यसले तपाईमा जीवन र जगतप्रति सकारात्मक धारणा जागृत गराउँदछ । सामाजिक संजालमा धेरै प्रतिकृया दिने बानी बन्द गर्नुहोस् सामाजिक संजालमा समाचार सेयर गर्ने, जुनै पनि विषयमा प्रतिकृया दिने काम बन्द गर्नुहोस् । एक अध्ययन अनुसार जसले धेरै पटक सामाजिक संजालमा पोस्ट गरिरहन्छ, त्यो उसको भित्री चिन्ताको विस्फोट हो । सार्वजनिक समाचारलाई हामीले पोस्ट गर्ने, हरेक कुरामा आफ्नो बिचार राख्ने तथा लाइक, कमेन्ट र सेयरको गणना गर्ने बानीलाई अनुत्पादक र प्रतिक्रियात्मक मानिन्छ । यसले तपाईमा भित्र भएको शान्तिलाई पनि भंग गर्न सक्छ । त्यसैले सामाजिक संजाललाई सिमित समय मात्र दिनुहोस् । अनावश्यक विवाद नगर्नुहोस् यो महामारीको बेला आफ्नो परिवारको तथा देशको चिन्ता गर्नुपर्ने समयमा राजनीतिका अनावश्यक पक्ष, विपक्षमा विवाद गर्नुको कुनै औचित्य छैन । तसर्थ जीवन र जगतको पक्षधर बन्ने बानी विकास गर्नुहोस् । यसले तनाब मुक्तिमा सहयोग गर्दछ । भोलिलाई सम्झेर आजलाई खेर नफाल्नुहोस् यो महामारीले अधिकांश व्यक्तिको आर्थिक अवस्था चौपट पारेको छ । आर्थिक नोक्सानीको चिन्ता गरेर समाधान हुने होइन । यो नाफा र घाटाको चक्र दिन र रात जस्तै हो । त्यसैले आशा गरौँ यो रात ढलेपछि उज्यालो हुनेछ र त्यो उज्यालोको आलोकले हाम्रो गिरेको अर्थतन्त्र अझै सुदृढ भएर आउनेछ । त्यसैले भोलिलाई सम्झेर आजलाई खेर नफाल्नुहोस् । तपाई मानसिक र शारीरिक रुपमा स्वस्थ रहे तपाईले मनग्य धन कमाउँन सक्नुहुनेछ । आफ्नो रुचि र लुकेको क्षमतालाई उजागर गर्नुहोस् यो जिन्दगीको दौडधुपमा हामी यति धेरै व्यस्त भयौं कि हामी धेरैले आफ्नो लागि समय नै निकालेनौं । त्यसैले अहिले पाएको समयलाई अवसर मान्नुहोस । किनभने फेरि यस्तो समय आउनेछैन । यो समयमा आफ्नो रुची भएको विषयहरु सिक्नुहोस् । आर्ट गर्ने, गीत गाउने, नाच्ने, कविता लेख्ने, कथा लेख्ने, मनपरेका पुस्तक पढ्ने, मुभी हेर्ने गर्नुहोस् । यो पललाई एक एक गरेर बाँच्नुहोस् । मिडिया ब्रेक लिनुहोस् कहिलेकाँही मिडिया ब्रत बस्नुहोस् । समाचार हेर्ने, सुन्ने, पढ्ने, सामाजिक संजाल चाहार्ने दिनको ३ छाक मात्र गर्नुहोस् । जसरी धेरै खाए चिनी पनि तितो हुन्छ, खाना पनि अजिर्ण हुन्छ, रक्सीले पनि बेहोश बनाउँछ त्यसैगरी मिडियाले पनि तनाव सिर्जना गरेर दिमाग ह्याङ गराउँछ । आफूलाई माया गर्नुहोस् हामी दोस्रो व्यक्तिलाई माया गर्दा गर्दै आफूलाई माया गर्न नै बिर्सन्छौं । याद राख्नुहोस् तपाईले आफ्नो ख्याल गरेमात्र दोस्रो व्यक्तिको पनि ख्याल गर्नसक्नुहुन्छ । सरसफाई गर्ने, धोएका सुकिला कपडा लगाउने, घाममा बस्ने, पोषिलो खाने, छिटो सुत्ने, छिटो उठ्ने गर्नुहोस् । दिनको १ घन्टा शरीरलाई दिनुहोस । शरीरले दिनको २३ घण्टा तपाइंलाई दिनेछ । अर्थात १ घण्टा व्यायाम गरेर शरीरलाई चार्ज गर्दा बाँकी २३ घन्टा शरीरले राम्रोसँग काम गर्छ । यो दुर्लभ स्वच्छ हावामा समय बिताउने अवसर नगुमाउनुहोस् सास हुनु जीवनको प्रतिक हो । प्राणायाम गर्ने, स्वच्छ हावा सेवन गर्ने, बन्द कोठामा भन्दा हावा लाग्ने ठाउँमा धेरै समय बिताउने गर्नुहोस् । यो दुर्लभ स्वच्छ हावा सेवन गर्ने अवसर नगुमाउनुहोस् । क्यामरामा यादहरु कैद गर्नुहोस् यो समयलाई तस्विरमा कैद गर्न नबिर्सिनुहोस् । तपाईले युट्युब हेरेर बनाएको नयाँ परिकारको तस्विर खिच्नुहोस, तपाईको बुवाले नाचेको भिडियो खिच्नुहोस्, खेलेको भिडियो खिच्नुहोस् । धेरै यादहरुलाई आफ्नो मोबाईलको क्यामरामा कैद गर्नुहोस् । चराको मिठो चिरबीर सुन्नुहोस् । हावाको संगीत सुन्नुहोस्, जनावरको भाषा बुझ्नुहोस्, मंगलध्वनि सुनेर कानलाई सिंचित गर्नुहोस् । रक्सी, चुरोट, सुर्ती, गुट्खा तथा ड्रग नखानुहोस् । यी पदार्थले शरीर र मनलाई धुजाधुजा पार्छन् । रोगसँग लड्ने क्षमता घटाउँछन् । गमला, करेसाबारी तथा खेतबारीमा काम गर्नुहोस् । तरकारी, फूल, फलफूल लगाउनुहोस् । किनभने माटोसँग खेल्दा असिम आनन्दबोध हुन्छ । सहयोगी, सकारात्मक तथा प्रिय व्यक्तिसँग नियमित सम्पर्कमा रहनुहोस् । हल्ला र भ्रमको पछि नलाग्नुहोस् । सही र आधिकारिक जानकारी लिने बानी गर्नुहोस् । हल्ला सबैभन्दा छिटो फैलिने सरुवा रोग हो । त्यसैले यसको सिकार नबन्नुहोस् । घरमा तथा मनमा यो समय पनि बितेर जानेछ, त्यसपछि हाम्रो जीवन पूर्ववत लयमा फर्किनेछ भन्ने मन्त्र राख्नुहोस् ।