विदेशमा रहेका नेपाली कोरोनाको सन्त्रासमा, स्वदेश फर्किने पर्खाइमा
काठमाडौं । कोरोनो भाइरस (कोभिड–१९) महामारीका रुपमा फैलिँदै गएपछि यतिबेला स्वदेशमा रहेकाभन्दा विदेशमा रहेका नेपालीलाई बढी पिरोलेको छ । वैदेशिक रोजगारीको सिलसिलामा विदेशमा रहेका नेपाली कोरोनाको सन्त्रासका बीच जति सक्दो छिटो स्वदेश फर्किन पाउने दिनको पर्खाइमा छन् । विश्वभर महामारीका रुपमा फैलिएको कोरोनाको सन्त्रासले देश छाडेर कोही रोजगारी त कोही अध्ययनको सिलसिलामा विदेशी भूमिमा रहेकालाई यतिबेला रोजगारी र अध्ययनभन्दा पनि स्वदेश फर्कने तीव्र इच्छाले सताएको छ । विश्वभर महामारीका रुपमा फैलिएको कोरोना भाइरसको सङ्क्रमण फैलिन नदिन नेपाल सरकारले लकडाउनको घोषणा गरेसँगै आन्तरिक एवं बाह्य उडान रोकेपछि विदेशमा रहेका नेपाली आउने सबै बाटा बन्द भएका छन् । सरकारले अन्तर्राष्ट्रिय उडान बन्द नगर्दो हो त अहिलेसम्म विदेशमा भएका लाखौँ नेपाली स्वदेश भित्रिसकेका हुने थिए, अझै पनि उनीहरु उडान खुल्ने प्रतीक्षामा छन् । कोरोना भाइरस शुरु भएको चीनमा यसको प्रभाव कम हुँदै गए पनि अन्य मुलुकमा भने सङ्क्रमित र मृत्यु हुनेको सङ्ख्या बढ्दै गएको छ । चापाकोट नगरपालिका–१ घर भइ हाल ब्रिेटन९युके०मा बस्दै आएका विष्णु थापाले लण्डनमा बस्ने नेपालीको अवस्था दयनीय रहेको बताए । दिनदिनै मृत्यु हुने र सङ्क्रमित हुनेको सङ्ख्या बढ्दै गएपछि युकेमा रहेका भूतपूर्व गोरखा सैनिक र उनीहरुका परिवार समस्यामा परेको थापा बताए । थापाका अनुसार युकेमा अधिकांश भूतपूर्व सैनिकका परिवार बसोबास गर्दै आएको र उनीहरु वृद्घवृद्घा भएको आफन्त एवं परिवार नेपालमा भएकाले समस्या दिनप्रतिदिन जटिल बन्दै गएको छ । अधिकांश भूतपूर्व गोरखा सैनिकका परिवार वृद्धवृद्धा र त्यसमाथि भाषाको समस्या हुँदा मनलागेको कुरा किनेर खान र बिरामी पर्दासमेत उपचारमा समस्या हुने गरेको थापाकाे भनाइ छ । उनले भने, “म पनि एक महिनादेखि जागिर छाडेर होम क्वारेन्टिनमा बसेको छु, अहिले बाहिर निस्कने अवस्था छैन, कतिबेला के हुनेहो भन्ने चिन्ताले सताएको छ ।” युकेको अल्डसटमा बस्दै आएका चितवनका ७७ वर्षीय भोजराज पौडेल र उनकी श्रीमती ६६ विष्णुमाया पौडेल अहिले समस्यामा परे । बुढेसकालमा विदेशी भूमिमा आफन्त कोही नभएर बेसहारा हुनुपर्दा समस्यामा परेको पौडेल दम्पतीको भनाइ छ । भोजराजले युकेबाट भने, “म बिरामी छु, बूढीले आँखा देख्दिन आफन्त कोही नहुँदा समस्यामा परेकाछाैं।” विष्णुमायाले भने, “के गर्ने छोराछोरीको भविष्यका लागि यहाँ बसेर दुःख गरेकाछौँ ।” छोराछोरीको कागजपत्र नमिलेकाले आफूहरु समस्या झेलेरै भए पनि बस्न बाध्य भएको पौडेल दम्पतीको भनाइ छ । लण्डनको एक केयर होममा स्वास्थ्यको क्षेत्रमा काम गर्दै आएकी शर्मिला राना थापाले शुरु शुरुमा कोरोना भाइरस (कोभिड १९) को सङ्क्रमणबाट बच्न आवश्यक सामग्रीको अभावमा काम गर्नु पर्दा निकै डर लागे पनि अहिले भने त्यस्तो नभएको बताए । शर्मिलाले भने, “स्वास्थ्यकर्मी भएपछि डराएर आफ्नो जिम्मेवारीबाट भाग्न मिल्दैन सुरक्षित भएर काम गर्नुपर्छ । अहिले हामी त्यसै गरिरहेका छौँ ।” शुरु शुरुमा आफूहरुले पनि पिपिइ, मास्कको अभाव झेल्नुपरे पनि अहिले भने त्यस्तो नभएको थापाले जनाएका छन् । स्याङ्जा समाज युकेका महासचिव डा बलराम ढकालले लण्डनमा रहेका नेपालीमा परेको समस्या समाधानका लागि स्याङ्जा समाज युकेले सक्दो सहयोग गर्ने बताए । कोरोना रोकथाम र नियन्त्रमा सहयोग पुग्ने भन्दै पिपिइलगायतका स्वास्थ्य सामग्रीसमेत जिल्ला प्रशासन कार्यालय स्याङ्जालाई सहयोग गरेको समेत ढकालले भने । कतारको दोहामा रहेका वालिङ नगरपालिका–८ का अजमत अलिले त्यहाँ रहेका धेरै नेपाली कोरोना सङ्क्रमणका कारण प्रभावित भएको बताए । “यहाँ रहेका केही नेपालीको रोजगारीसमेत प्रभावित भएको छ । केही कोरोना भाइरसबाट सङ्क्रमित भएका छन्”, स्याङ्जा सहयोग समाज कतारका अध्यक्षसमेत रहेका अलीले भने, “कतार च्यारिटीसँग समन्वय गरेर रोजगारी गुमेर समस्यामा परेका नेपालीलाई सहयोग गरिरहेका छौं।” जापानमा बसेर पत्रकारिता गर्दै आउनुभएका मोहन घलेले कोरोना भाइरसका कारण नेपाली विद्यार्थी र होटल व्यवसाय गर्दै आएका बढी प्रभावित भएको बताए । पत्रकार महासंघ जापानका अध्यक्षसमेत रहेका घलेले भने, “नेपालबाट अध्ययनका लागि जापान आएका विद्यार्थी समस्यामा परेका छन् ।” प्रतिव्यक्ति एक लाख राहत दिने जापान सरकारको घोषणाले धेरै लाई राहात मिलेको घलेको भनाइ छ । नेपालीको बढी रोजगारीको क्षेत्रका रुपमा चिनिएको होटल व्यवसाय बन्द गर्नुपर्दा होटल व्यवसाय गर्दै आएका नेपाली र त्यस क्षेत्रमा काम गर्दै आएका मजदुर प्रभावित भएको घलेको भनाइ छ । रोजगारीको सिलसिलामा दुवैमा रहनुभएका वालिङ नगरपालिका–१२ का जनार्दन पराजुलीले दुवैमा रहेका नेपालीको अवस्था दयनीय रहेको र रोजगारी गुमाएका नेपाली जति सक्दो छिटो सरकारको उद्धारको पर्खाइमा रहेको बताए । भारतको चण्डिगढमा रहेका चापाकोट नगरपालिका–१० का हरिप्रसाद भण्डारीले नेपाल सरकारलाई अप्ठेरोमा परेका आफ्ना नागरिकलाई जतिसक्दो छिटो नेपाल फर्काउन आग्रह गर्दै आफूहरु सरकारले भनेजति अवधिभर क्वारिन्टिनमा बस्न तयार रहेको बताए । नेपाल सरकारले विदेशमा रहेका नेपालीलाई सरकारले स्वदेश ल्याउने तयारी गरिरहेकाले केही समय धैर्य गर्न आग्रह गरे पनि विदेशमा रहेका नेपाली भने स्वदेश फर्किन आतुर रहेका छन् । भारतबाट आएकाको कोरोना परीक्षण नेगेटिभ जिल्लामा भारतबाट आएकाको कोरोना परीक्षण गरिएको गरिएको छ । बिहिबार भारतबाट आएका गल्याङ नगरपालिकाका एक व्यक्तिको कोरोना परीक्षण पिसिआर रिपोर्ट नेगेटिभ आएको छ । गण्डकी प्रदेश र ५ नं प्रदेशको सिमाना राम्दीमा गरिएको परीक्षणमा आरडिटी पोजेटिभ देखिएपछि पिसिआर परीक्षणका लागि स्वाब सङ्कलन गरेर गण्डकी स्वास्थ्य विज्ञान प्रतिष्ठान पोखरा पठाइएकामा गल्याङ नगरपालिकाका युवाको रिपोर्ट नेगेटिभ आएको स्वास्थ्य कार्यालय स्याङ्जाले जनाएको छ । स्वास्थ्य कार्यालय स्याङ्जाका प्रमुख यामप्रसाद शर्माले गल्याङबाट पठाइएको पिसिआर स्वाब परीक्षणको नतिजा नेगेटिभ आाएको र कालीगण्डकी गाउँपालिकामा शुक्रबार आरडिटी परीक्षण गर्र्दा पोजेटिभ देखिएका एक व्यक्तिको पिसियार परीक्षणका लागि स्वाब लिने तयारी भइरहेको बताए । भारतबाट आएका कालीगण्डकी गाउँपालिका एक व्याक्तिको आरडिटी दुई पटक परीक्षण गर्दा एक पटक पोजेटिभ र अर्कोपटक नेगेटिभ गरी दुईथरि नतिजा आएपछि पिसिआर परीक्षणका लागि स्वाब सङ्कलनको तयारी गरिएको हो । भारतबाट आएकालाई स्थानीय तहले बनाएको क्वारेन्टिनमा राखिएको छ भने जिल्लामा अहिले १ सय ६१ जना क्वारेन्टिनमा रहेका छन् भने तीनजना होमक्वारेन्टिनमा रहेका छन् । रासस
बैंकरका दुःख
“ओ…हो शर्मा जी, कहिले आउनु भो पहाड बाट ? के सारो मोटाउनु भएको ….पेट पनि लागेछ । पहाड त फापेछ, बैंकको जागिर जचेछ हजुरलाई । टन्न कमाउनु भो कि क्या हो ?” वाह् ! नेपाली समाज, अलिकति मोटायो भने कमायो भनिदिन्छन् । दुब्लायो भने चिन्ता पर्यो की भनिदिन्छन् । दुईचार दिन दारी काटेन भने किन बैराग्गेको भनिदिन्छन् । अचेल त बानी परिसकें म । बल्ल बल्ल चार दिनको घर विदा मिलाएर बिराटनगर गएको बसबाट उत्रँदै गर्दा छिमेकी टिकाराम सरसँग ट्याक्क बाटैमा भेट भयो । चार दिनको बिदा पनि के भन्नु र ! बिकट पूर्वि पहाडको दुर्गम शाखा र त्यसको कर्मचारी भएदेखि जानै एक दिन लाग्छ आउन एक दिन । दुई दिन बिदा त बाटैमा सकिन्छ । यो पल्ट पनि घरमा धेरै कहाँ बस्न पाउँछु र ! घर नपुग्दै श्रीमतीजीले भन्छिन्, “यो पल्ट त बिदा टन्न लिनु भाको होला नि…, हेर्नु है… जहिल्यै हतार गर्न पाइँदैन नि, मैले भन्दिएको छु, फेरि म रिसाउँछु नि ।” अनि अठार महिनाको छोरी मलाई देखेर मैसँग डराउँछिन् । “नानु बाबा हो नि, बाबा भन…” सानी छोरी डराएर रुन्छे र पर पर भाग्छे । मन अमिलो हुन्छ… थुक घुटुक्क निल्छु । “यो पल्ट त बिदा टन्न लिनु भाको होला नि ।” फेरी जिज्ञासा आउँछ । पहिलो भेटमै श्रीमतीलाई खिन्न नपारुम भनेर बिस्तरै “अँ…” मात्र भन्छु । “ल आउनुस खाना खाम् । अब यहाँ जाने… यो किन्ने … अँ त्यहाँ पनि जानु पर्छ तपाईंलाई थाहा छ ? फलानोको छोरा त विदेस गयो नि…, तपाईं राम्रो भन्नु हुन्थ्यो नि पर्तिरको छिमेकीसँग अस्ति हाम्रो सिमानामा देबाल लगाउँदा कम्ति झगडा परेन… ए साँच्चि, त्यो अंकिता थि नि… तपाईंले चिन्नु भएन ? नयाँ छिमेकी हुन् क्या, त्यो त भागी नि… ।” बल्ल बल्ल भेट भएको म सँग ऊ महिनौं देखिका उकुसमुकुस एकै सासमा यो सुनाउँ कि त्यो सुनाउँ भन्दै खसी ब्याएको सम्म सुनाउँछिन् । “ल मैले आज हजुरलाई भनेर तिन थोक तरकारी पकाएको छु । पहाडमा तरकारी पाउँदैन के खानु हुन्छ तपाईं ? पुरै दुब्लाउनु भएछ ।” बैंकको जागिर खाए देखि करिब पाँच÷छ महिना पछि घर जाँदा म आफूलाई पूर्ण र बिछट्टै परिवर्तनको वातावरणमा पाउँछु । एउटा मानविय परिवेसमा । चिटिक्क परेको लुगा, टाइ, सुट, कोट, टलक्क जुत्ता, हँसिलो मुहार अनि आत्मविश्वासका साथ ठाँटिएर कार्यालय गएको आजको बैंकिङ युवावर्ग देख्दा जोकोहिलाई पनि लोभ लाग्दो हो । आहा… कति राम्रो नोकरी, कती सुन्दर जागीर, म पनि खान पाए हुन्थ्यो । तर उनीहरुलाई के थाहा… त्यो टाइभित्रको अर्थ, कोट भित्रको अर्थ, अनि टलक्क टल्केको जुत्ता भित्रको पिडा । यो जुत्ताले कैयौं पल्ट मेरा आफ्ना सपना र रहरहरु कुल्चेका छन्, ब्यक्तिगत जीवन र जिन्दगी… मनका हजारौं आकांक्षाहरु दबिएका छन् । कार्यालय र काम ब्यस्तताले के थाहा छिमेकीको विवाहमा सरिक नहुनुको पिडा, आफन्तको मुत्युमा मलामी जान नपाउनुको पिडा, अनि सुटुक्क झिसमिसेमै श्रीमती र छोरीसँग छुट्टिनुको दुःख । फ्रन्ट डेस्कमा बसेर केवाईसी भरिरहँदा पहिलो पल्ट छोरी बामे सरेको फोनबाटै सुनेर चित्त बुझाउनुको दुःख । यो टाइ, सुट र कोटले मेरा एक युगका सपना र रहर उधारै छोडेका छन् । कहिलेकाहिँ त लाग्छ म मान्छे नभएर ढुंगा हुँ, बिहान नौ बजे देखि एकनासले बेलुका अबेरसम्म सेवाग्राहीको काम गर्दागर्दा म मेसिन हुँ, प्रबिधि हुँ, फगत मात्र ढुंगा । कोरोनाको डरले सारा विश्व… मानिस मानिससँग डराएको वेला अति आवश्यकिय सेवा भन्दै कार्यालय खोल्नुुको पिडा । खै बुझेको यो समाजले हामी बैंकरको पिडा । किन कटाक्ष गरेर सोध्छ समाजले बोनस कति खानु भो, व्हेल फेयर कति आयो, तपाईं घमण्डी हुनुहुन्छ, व्यस्त छु भन्नु हुन्छ खालि, …व्यस्त त बहाना हो काम के नै हुन्छ र बैंक मा… । दिनरात उनिहरुकै सेवामा खटिँदा पनि किन बुझ्दैन समाजले । किन बैंकरलाई मिहिनेत अनुसारको इज्जत गर्न हिचकिचाउँछन् । फेरी बैंकमा दिन प्रतिदिन जोखिम पनि त छ नि । अरु क्षेत्रको जस्तो निश्चित कार्यालय समय मात्र काम कहाँ हुन्छ र बैंकमा ! बदलिँदो प्रबिधि र परिवर्तित नितीसँग अपडेट भैरहनु पर्यो । उफ्… गाह्रो छ । समाजको मात्र के कुरा हामी बैंकरहरु ब्यक्तिगत रहर र पारिवारिक इच्छाहरुलाई दवाएर कार्यालयलाई नै घर मान्दै गर्दा र सिनियरलाई अभिभावकको नजरले हेर्दै गर्दा खालि टार्गेट मात्र किन सोधिन्छ ? काम काम मात्र किन भनिन्छ ? काम त गरिहालिन्छ नि गरिएकै छ नि । कहिलेकाहीं सदा भन्दा अलि पर सोचेर के छ घर परिवार को खवर ? बुबा आमा सन्चै हुनुहुन्छ ? भनेर सोध्दा के बिग्रिन्छ र ! बैंकका लाखौं ग्राहकलाई सिस्टमले अटो एस.एम.एस बर्थ डे विस गरिरहँदा सिनियर कर्मचारी र केन्द्रिय कार्यालयको, विभागको डेस्कटप बाट आफ्नो कर्मचारीलाई बर्थ डे विस गर्न मिल्दैन र ! कत्ति खुसी लाग्थ्यो होला… हामी सानालाई त्यति ठुलो मान्छेले बर्थ डे विस गर्दा आखिर कतिनै कर्मचारी हुन्छन् र ! के यसले कार्यक्षमता घटाउँछ हो ? ठुलो मान्छेले सानोलाई सम्झिँदा खुसी नै लाग्छ नि होइन र ! आदर बढ्छ नि होइन र ! संस्था प्रति झन् माया हुन्छ नि… लगाब हुन्छ नि । अनि त संस्थाको विकास सजिलै भै हाल्छ नि । बैंकर भनेको पेलिने बस्तु हो र ! बैंकिंग संस्था भनेको सरकारलाई चाहिएको वेला रकम सहयोग गर्ने दुहुनो गाई मात्र हो भन्ने नसोची अलिकति म, अलिकति समाज, अलिकति सरकार बदलिए त भै हाल्थ्यो नि । कहिलेकाहीं सोच्छु मैले निजी जिन्दगी जिउन पाइन, परिवारलाई खुसी राख्न पाइन, ब्यस्तताले आमा, बाबा, श्रीमती अनि छोरीलाई समय दिन पाइन । बरु जागिर छोडिदिन्छु र राजिनामाको कागज खल्तीमा राखेर कार्यालय हिँड्छु । अनायासै बाटोभरी कुराहरु खेल्छन् – म को हो र आफैंमा । ऊसँग विवाहको कुरा चल्दा केटो बैंकमा नोकरी गर्ने भनेर बैंककै परिचयले विवाह गर्न सजिलो भएको थियो । फेरी पैसा कहाँ थियो र म सँग, यही बैंकबाटै त हो नि ‘स्टाफ होम लोन’ लिएर घर बनाएको । फेरी यही बैंक त हो नि जसले मलाई पेशागत परिचय दिएको छ र बाँच्ने आधारशिला भएको छ । सम्झिन्छु, श्रावण महिना लाग्दा नलाग्दै आउने मेरो एकमुस्ट बोनस र त्यो बोनसमा श्रीमतीको यो पल्ट किन्ने रानीहारको सपना… जसले केही हदसम्म बिर्साइदिन्छ मैले उसलाई समय दिन नसकेको वर्षौंका उसका गुनासाहरु… अनि फेरि सम्झिन्छु, बोनस पछि लगत्तै दशैंमा आउने एकमुस्ट पेश्की जसले बुबा, आमा र छोरीलाई नयाँ लुगा अनि मिठो खाना । फेरी लगत्तै आउने व्हेल फेयर र फोर्स लिभको एकमुस्ट रकम जसले परिवारै नयाँ–नयाँ ठाउँमा घुम्नुको मज्जा दिन्छ र मेरा सबै तिक्ततालाई मेटाइदिन्छ । यही बैंकको नोकरीले त हो नि, जहाँ म मासिक तलब आउने आसमा किराना पसलबाट ढुक्कसँग रासन उठाई परिवार चलाउँछु । बैंक नहुनु हो त मेरो परिचयनै के पो छ र ! बाटोभरी नानाथरी कुराहरु खेलाउँदै गर्दा अनायासै झसङ्ग याद आउँछ सीईओ सर अनि डीसीईओ म्याडमको एउटा इमेल जुन हरेक बर्ष श्रावण १ गते बिहानै मेरो अफिस टेवलको डेस्कटपमा आउँछ, “शर्माजी, बधाइ छ तपाईलाई ! तपाईले हरेक वर्षजस्तै यो आर्थिक बर्षमा पनि सजिलै टार्गेट पुर्याउनु भयो, राम्रो गर्नु भयो, गुड वर्क, किप इट अप”, जसले मेरो बर्षौंको सबै गुनासा र तिक्ततालाई मेटाइ दिन्छन्, अनि मलाई फ्रस्टेशन हुनबाट बचाउँछ र बिच बाटोमै खल्तिको राजिनामा पत्र च्यातिदिन्छु र केही नसोची नयाँ जोसका साथ हतार–हतार अफिस तर्फ लाग्दछु । बिराटनगर–५ हाल मेन्छयायेम्, तेह्रथुम
क्वारेन्टिन बसेका भन्छन् : हिरासतबाट छुटेको झैं भयो !
जाजरकोट । करिब २१ दिन हिँडेर जाजरकोट सदरमुकामस्थित भेरी ज्ञानोदय क्याम्पसको क्वारेन्टिनमा शुक्रबार बसेका लोकेन्द्र सिंहमा खुशीको सीमा छैन । भारत हुँदै देशका विभिन्न ठाउँबाट कठिनपूर्ण यात्राका बीच शनिबार जाजरकोट पाइला टेकेका सिंहलाई अहिले घर पुगेझै भएको छ । हुन त उनको घर पूर्वी जाजरकोट अर्थात् सदरमुकामबाट २२ कोष टाढा रहेको छ । भारतीय हेपाहा व्यवहारबाट भारी पीडा खेपेको बताउने सिंहले भने, “यस्तै खालको आफ्नै भूमिमा क्वारेन्टिनमा बस्न पाएको भए जति दिन पनि बस्न सकिथ्यो ? उता भारतमा तल्लोस्तरको व्यवहार गर्दा आक्रोश पैदा भए पनि सहेर बस्नुपरेको थियो ।” जब नेपालमा पाइला टेकियो, हाम्रो छाती गर्वले उँचो भएको थियो । भारतमा दुई महिनाअघि ६१ केजी तौल भएको बताउने सिंह अहिले ४१ केजीमा झरेको समेत बताउँछन् । पैसा हालेर पानी किन्न खोज्दासमेत नपाएको उनको गुनासो छ । भेरी ज्ञानोदय क्याम्पसमा उहाँसँगै करिब १ सयबढी सर्वसाधारण क्वारेन्टिनमा बसेका छन् । स्थानीय सरकारसँगको सहकार्यमा अस्पताल विकास समितिका अध्यक्ष धर्मशिला बस्नेतको संयोजकत्वको टिमले अहिले क्वारेन्टिन निर्माणदेखि सबै समस्या हल गरिरहेको छ । क्वारेन्टिनमा बसेका अहिले आफ्नै भूमिमा पुगेको भन्दै परिवारसँग फोन सम्पर्क गरी कुनै चिन्ता नलिनसमेत आग्रह गरिरहेका छन् । अर्काको भूमिमा पीडाका साथ बसेको भन्दै बारेकोट गाउँपालिका–८ का रमेश विकले अब बाँच्ने ठाउँमा आएको बताए । उनले खुशीका आँसु झार्दै भने, “कम्तीमा एक दिन नजिकको क्षेत्रमा पुगिएको छ, हामीलाई उद्धार गरेर ल्याउने स्थानीय सरकार र वन तथा वातावरणमन्त्री शक्तिबहादुर बस्नेतलाई धन्यावाद दिन चाहन्छु ।” पहिले भारतीयहरुले नेपालीलाई खासै वास्ता नगरे पनि सीमा विवाद बढेसँगै निकै हेप्ने गरेको विकले बताए । कोरोना त्रासभन्दा भारतीयको हेपाहा प्रवृत्ति सबैभन्दा खतरा भएको नलगाड नगरपालिका–७ का लक्ष्य कामीले बताएका छन् । भारतको क्वारेन्टिन भनेको जेलजस्तै भएको उनको भनाइ छ । जाजरकोटको क्वारेन्टिन भनेको महलमा बसेझैँ भएको भन्दै उनले भने, “समय–समयमा जनप्रतिनिधि, पत्रकार, कर्मचारी र स्वास्थ्यकर्मी आएर के–कस्तो छ भनेर सोध्नुहुन्छ । हामीले पनि भएका समस्या भन्छौं, एकापसमा पीर, मर्का साटासाट भएको छ ।” भेरी ज्ञानोदय क्याम्पसमा कोठाको आकारअनुसारको व्यवस्थापन गरिएको अस्पताल विकास समितिका अध्यक्ष धर्मशिला बस्नेतले जानकारी दिए । क्वारेन्टिनमा बसेका कसैलाई पनि केही समस्या हुन नदिने उनको भनाइ छ । उनले भने, “हामीले क्वारेन्टिनमा बसेका नागरिकलाई घरपरिवारमा बसेझैँ गरेर व्यवस्थापन गर्न खोजिरहेका छौं। जसका कारण उहाँहरुलाई कुनै पीडा नहोस् र रोगसँग लड्ने क्षमता बढोस् ।” स्वास्थ्य सेवा कार्यालयको मातहतमा रहेको जाजरकोट अस्पतालको २ सय मिटरको दूरीमा क्वारेन्टिन निर्माण गरी बाहिरबाट आएका सर्वसाधारणलाई राखिएको प्रमुख जिल्ला अधिकारी जनकराज पन्तले जानकारी दिए । बिरामी हुँदा होस् वा अन्य केही समस्या भएमा छिटोछरितो कामकारवाही गर्न स्वास्थ्य संस्थाको नजिक राखिएको उनको भनाइ छ । प्रत्येक पालिकाबाट एक व्यवस्थापक र एक स्वास्थ्यकर्मी क्वारेन्टिनमा रहेका नागरिकको व्यवस्थापनका साथै स्वास्थ्य जाँचका लागि परिचालन गरिएको छ । त्रिभुवन मावि खलङ्गामा भेरी नगरपालिकाका र भेरी ज्ञानोदय क्याम्पसमा नलगाड नगरपालिका, बारेकोट गाउँपालिका, कुशे गाउँपालिका, छेडागाड नगरपालिका, जुनिचाँदे गाउँपालिका र कुशे गाउँपालिका स्थानीयवासीलाई राखिएको छ । ३ सयभन्दा बढी मानिस आउने आँकलनका साथ यहाँ व्यवस्थापन गरिएको सशस्त्र प्रहरी बलका प्रहरी नायब उपरीक्षक योग्य बस्नेतले बताए । क्वारेन्टिनको सुरक्षाका लागि नेपाली सेनालाई खटाएको छ । अन्य व्यवस्थापन सूचना सङ्कलन, संरचना निर्माणको काममा सशस्त्र प्रहरी, नेपाल प्रहरी खटिएको छ । क्वारेन्टिनमा खानेपानी र विद्युत्को समस्या हुँदा चुनौती भएको छ । स्थानीय तह आफैंले किट किनेर आफ्ना नागरिकलाई कोरोना परीक्षण गराउने तयारीसमेत भएको छ । क्वारेन्टिन बस्नेलाई भत्ता पश्चिम रुकुमको चौरजहारी नगरपालिकाको क्वारेन्टिनमा बस्नेलाई दैनिक १ सय ७८ दिने निर्णय भएको छ । यसअघि क्वारेन्टिनमा बसेकालाई नगरपालिका आफैले खाने व्यवस्था गरेकामा अब नगद दिने निर्णय गरेको हो । नगरपालिकाका अनुसार भारत तथा अन्य ठाउँबाट आउनेलाई १४ वटै वडाका क्वारेन्टिनमा राखिनेछ । क्वारेन्टिन बसेका व्यक्तिले खानाका लागि हरेक क्वारेन्टिनमा पकाउने भाँडाको व्यवस्था गरिएको छ । आफूले खाने थाल, कचौरा, गिलास र ओढ्ने–ओछ्याउने कपडा सम्बन्धित व्यक्तिले ल्याउनुपर्ने नियम बनाइएको छ । क्वारेन्टिनमा नगरपालिकाले मास्क, स्यानिटाइजर, साबुन, खानेपानीका लागि ड्रम, फिल्टर र शौचालय सफाइका सामग्री प्रदान गरेको छ । दाउराको समस्या हुने वडामा ग्यास र चुलाको व्यवस्था पनि गरिने नगरप्रमुख विशाल शर्माले बताए । भत्ता दिने व्यवस्थासँगै अब बिहान र दिउँसोको नास्ता तथा साँझ–बिहानको खानाको व्यवस्था क्वारेन्टिनमा बस्नेले आफैं गर्नुपर्ने छ । चौरजहारी नगरपालिकाबाट ३ हजार २ सय ४४ जना भारतका विभिन्न ठाउँमा मजदुरी गर्न गएका छन् । उनीहरु घर फर्कन शुरु गरेको र शुक्रबार मात्र ३४ जना भित्रिएको नगरपालिकाले जनाएको छ । उनीहरुलाई सम्बन्धित वडामा पठाइएको छ । रासस