ऐतिहासिक सिन्धुलीगढीको २५५ औं विजय दिवसमा सिन्धुलीगढी चित्रकथा सार्वजनिक

सिन्धुली । सिन्धुलीगढीमा तत्कालीन अंग्रेजी फौजलाई परास्त गरेको दिनको सम्झनामा शनिवार आयोजित विजयोत्सवका अबसरमा सिन्धुलीगढी चित्रकथा सार्वजनिक गरिएको छ । समृद्ध सिन्धुली अभियान, स्टोरी साइकल र सिन्धुलीय श्रेष्ठ समाजले प्रकाशन गरेको चित्रकथा कमन्ताहरु लीलानाथ घिमिरे, हरिकृष्ण श्रेष्ठ, भुवन थापालगायतले सिन्धुलीगढीमा आयोजित एक कार्यक्रमबीच सार्वजनिक गरे । सिन्धुलीगढी भारतमा शासन गरिरहेको तत्कालीन अंग्रेज सेनालाई काठमाडौंतर्फ आउँदै गर्दा गोर्खाली फौजले पराजित गरेर लखेटेको ऐतिहासिक स्थल हो । पृथ्वीनारायण शाहको नेपाल एकिकरण अभियानलाई रोक्न आएका अंग्रेजी फौजलाई विक्रम संवत् १८२४ कोअसोज १५ गते वीर गोर्खालीले सिन्धुलीगढीमा घरेलु हतियारको भरमा लडेर परास्त गरेका थिए । संसारमा आफ्नो साम्राज्य खडा गर्न अगाडि बढेको बेलायती साम्राज्यलाई परास्त गरेको सम्झनामा हरेक बर्ष असोज १५ गते विजयोत्सव मनाइन्छ । सिन्धुलीगढी किल्ला विक्रम संवत्को १४ औं सताब्दीमा स्थापना भएको इतिहासकारहरुको भनाइ छ । सिन्धुलीगढीको संरक्षण गर्ने जिम्मेवारी लिएको कमलामाई नगरपालिकाले भने गलत मितिमा विजयोत्सव मनाउने गरेको छ । उसले इतिहासलाई बंग्याउने काम गरेको इतिहासविद्हरुले बताउँदै आएका छन् । इतिहासकारहरुसँगको छलफलपछि समृद्ध सिन्धुली अभियानले अंग्रेजलाई परास्त गरेको दिन असोज १५ प्रमाणित भएकाले त्यही दिन बिजयोत्सव मनाउन थालेको हो । कमलामाई नगरपालिकाकी उपप्रमुख देवकोटाले पहिले गलत मितिमा विजय दिवस मनाइँदै आए पनि अब असोज १५ मा अंग्रेजी सेनालाई परास्त गरेको इतिहास प्रमाणित भइसकेकाले सोही मितिमा विजय दिवस मनाउनु पर्ने बताइन् । उनले नगरपालिकाको बोर्डमा आफूले सही मितिमा विजय दिवस मनाउन प्रस्ताव गर्ने बताउँदै इतिहहासलाई कसैले पनि बंग्याउन नहुने उल्लेख गरिन् । कार्यक्रममा समृद्ध सिन्धुली अभियानका अभियन्ता लीलानाथ घिमिरेले अंग्रेजलाई परास्त गरेकै मितिमा मितिमा बिजय दिवस मनाउनु पर्ने बताउँदै बिजयोत्सव भने बर्षभरी मानाउन सक्ने बताए । उनले समृद्ध सिन्धुली अभियानले सिन्धुलीगढीको प्रवद्र्धन गर्न विभिन्न कार्यक्रम गर्दै आएको बताउँदै कमलामाई नगरपालिकासँग मिलेर यसको विकासमा सहकार्य गर्न चाहेको बताए । अर्का अभियन्ता हरिकृष्ण श्रेष्ठले अभियानले सिन्धुलीगढीमा तत्कालीन ब्रिटीस कम्पनीको सेनालाई पराजित गरेको दिनको सम्झनामा काठमाडौंदेखि सिन्धुलीगढीहुँदै जनकपुरसम्म हरेक बर्ष गर्दै राइड थ्रु सिन्धुलीगढी साइकल यात्रा गर्दै आएको जानकारी दिँदै कोभिड महामारीका कारण रोकिएको साइकल यात्रा आगामी फागुनमा साइकल यात्रा गर्ने योजना अभियानले बनाएको जानकारी दिए । साइकल यात्रामार्फत् ऐतिहासिक सिन्धुलीगढीको प्रवद्र्धन गर्न अभियानले व्यवसायिक यात्रा गराउन थालेको हो । अभियानले सिन्धुलीगढीको प्रवद्र्धन गर्न पर्यटन बोर्डसँग मिलेर काठमाडौंलगायत देशका विभिन्न स्थानमा तस्बिर प्रदर्शनी फोटो सिन्धुली आयोजना गरेको छ । यसैगरी सिन्धुलीका दुई वटा ऐतिहासिक गढीहरु हरिहरपुर गढी र सिन्धुलीगढी जोड्ने पदमार्ग निर्माणको कामको पनि अभियानले थालनी गरेको थियो । अभियानले पहिलो खण्ड हरिहरपुरगढीको घण्टेदेखि मरिण गाउँपालिकाको सीमाना सेपाहासम्म पदमार्ग निर्माण सम्पन्न गरेको छ । पृथ्वीनारायण साहकी पत्नी इन्द्रकुमारीले घन्ट चढाएको घण्टेस्थित महादेवको मन्दिरबाट पदमार्ग निर्माण गरिएको हो । यस्तै काभ्रेको नमोबुद्धदेखि ऐतिहासिक सिन्धुलीगढीहुँदै सिन्धुलीकै फिक्कलसम्म महाभारतडाँडैडाँडा पदमार्गको पनि अभियानले अध्ययन गरेको थियो ।

राउटे बस्तीमा दसैँको चटारो

दैलेख । दसैँको रौनकले राउटे बस्तीलाई छाएको छ । उनीहरुले सो पर्वको भव्य तयारीमा जुटेका छन् । फिरन्ते जीवन बिताउँदै आएका उनीहरु जाजरकोटदेखि आएर दैलेखको भगवतीमाई–१ मनघर बायुतडा लेकमा एक महिनादेखि बस्दै आएका थिए । अहिले सोही गाउँपालिकाको वडा नं १ बेँसीमा पर्ने बेस्तडा बजार नजिकै जङ्गलमा सरेका छन् । लेकमा चिसो बढ्न थालेपछि बेँसी झरेको उनीहरुको भनाइ छ । महामुखिया महिनबहादुर शाहीले बस्ती सरेपछि किनमेल गर्न सजिलो भएको सुनाए। ‘दसैँ आइसक्यो, खसीबोका र चामल किन्न सजिलो होला भनेर यहाँ सरेका हौँ, चिसो बढ्यो, दसैँ मनाएर अन्तै सर्नुपर्ला ।’ बेस्तडा जङ्गलमा काठ अभाव रहेकाले धेरै बसाइ नहुने शाहीको भनाइ छ । फिरन्ते जीवन बिताउने यो समुदायका ४६ घरधुरीमा गरी एक सय ४३ जना छन् । बस्तीमै पुगेर राउटे समुदायलाई खसी, चामल, चिसोमा न्यानो गराउने पिफर्म वितरण गरेको भगवतीमाई गाउँपालिका अध्यक्ष गणेश थापाले बताए । उनले राउटे जहाँ बस्ती सरे पनि भत्ता दिँदै आएको गुराँस गाउँपालिकालाई असोज महिनाको भत्ता वितरण छिटो गर्न भनीदिनुहोस् भनेर सताउने गरेको बताए। गुराँस गाउँपालिका–८ ले परिचयपत्र दिएर नेपाली नागरिकको रूपमा सामाजिक भत्ता बस्तीमै पुगेर वितरण गर्दै आएको छ । सरकारले अतिलोपोन्मुख यस समुदायका लागि प्रतिव्यक्ति मासिक चार हजार प्रदान गर्दै आएको छ । दसैँ नजिकिँदै गर्दा चामल, खसीबोका, नुन–तेललगायत आवश्यक सरसामानको जोहो गर्न थालेका छन् । किनमेलका लागि स्थानीय बेस्तडा बजार हँुदै दैलेख सदरमुकामसम्म पुग्ने उनीहरूको योजना छ । राउटे समुदायमा मुख्य मान्छेलाई महामुखिया भनिन्छ । महामुखिया शाही छन् भने मुखिया दुई जना सूर्यनारायण र वीरबहादुर शाही छन् । उनीहरू महामुखियाका हातबाट चामलको सेतो टीका थाप्ने, नाचगान गर्ने, खसीबोका काट्ने गर्दछन् । यो दसैँलाई ‘असोजे दसैँ’ भन्छन् । यसका लागि राउटेले अगाडि नै खसीबोका जम्मा गरिराख्छन् । दसैँका दिन सबैले आफ्नै छाप्रोमा बनाएको जाँड खान्छन् । दसैँको मुख्य दिनमा बिहानको खानपिन गरेर दिउँसो राउटेले आफ्नो परम्परागत लुगा लगाएर नाचगान गर्छन् । मुजा परेको सेतो जामा, शिरमा सेतो पगरी, खुट्टामा फलामको कल्लीजस्तो बज्ने गहना लगाएर मादल बजाई लहरै घुमी नाच्छन् । देवी–देवताको पूजा गर्ने, चाडपर्व मनाउनेलगायतका हिन्दू संंस्कारप्रति राउटे पनि विश्वास गर्छन् । यद्यपि उनीहरूको मृत्यु संस्कार भने फरक शैलीको छ । आफ्ना सदस्यको मृत्युमा जलाएर अन्त्येष्टि, काजकिरिया, जुठो बार्ने गर्दैनन् । जहाँ म¥यो त्यही गाडेर बस्ती सर्छन् । कर्णाली प्रदेशको दैलेख, सुर्खेत, सल्यान र जाजरकोटको आसपासका क्षेत्रमा यो समुदायले बसोबास गर्दै आएको छ । यिनीहरु अझक दैलेखमा बस्न धेरै रुचाउँछन् ।

चितवनमा चौध हजारले जोडे फाइबर इन्टरनेट

  भरतपुर । चितवनमा १४ हजार ग्राहकले नेपाल टेलिकमको तीव्र गतिको फाइबर इन्टरनेट जडान गरेका छन् । दूरसञ्चार कार्यालय भरतपुरका अनुसार जिल्लाका पाँच पालिकामा पुरानो टेलिफोनको प्रविधिलाई फाइबर इन्टरनेटमा परिणत गरिएको हो । माडी नगरपालिका र इच्छाकामना गाउँपालिका बाहेकका पालिकामा फाइबर इन्टरनेट जडान गरिएको छ । भरतपुर महानगरपालिकामा मात्रै नौ हजार ग्राहकले फाइबर इन्टरनेट जडान गरेका छन् । भरतपुर महानगरको मुख्य बजार क्षेत्रमध्ये क्षेत्रपुर र गौरीगञ्जमा फाइबर जडान बाँकी छ । यस्तै भरतपुर एक्सचेन्जअन्तर्गत पश्चिम चितवनका केही ठाउँ पनि बाँकी छन् । भरतपुरमा अब एक हजार ९७ मात्र पुराना ग्राहक रहेको दूरसञ्चार कार्यालय भरतपुरका प्रमुख नवीनकुमार मिश्रले जानकारी दिए । उनले २०४५ सालमा निर्माण गरिएको भरतपुर एक्सचेन्जअन्तर्गतको पुरानो प्रविधिको टेलिफोन नेटवर्क विस्थापनको अन्तिम चरणमा रहेको बताए । सामग्री अभावका कारण अहिले काम गर्न नसकिएको मिश्रले बताए । ‘सामान पर्खेर बसेका छौँ, चीनबाट आउने तयारीमा रहेको बुझिएको छ,’ उनले भने । माग गरेअनुसार आएर मङ्सिरसम्म भरतपुर एक्सचेन्जअन्तर्गतका सबै ठाँउमा फाइबर इन्टरनेट पु¥याउने उgको भनाइ छ । अहिले राप्ती नगरपालिकाको भण्डारमा फाइबर जडानको काम भइरहेको छ । रत्ननगर, खैरहनी र कालिका नगरपालिकामा पनि फाइबर इन्टरनेट पुगेको छ । पूरानो प्रविधि विस्थापित गरी नयाँ प्रविधि जडानलाई प्राथमिकतामा राखेर कार्यालयले काम गरिरहेको मिश्रले बताए । ‘जिल्लामा फाइबर इन्टरनेटको माग बढेको छ । निजी कम्पनीको भन्दा सस्तो र राम्रो छ । यस कारण ग्राहक आकर्षित छन्’, उनले भने । इन्टरनेटसँगै टेलिफोन र टेलिभिजनको सुविधा पनि प्रदान गरेको उनले बताए । इन्टरनेटको स्पिडअनुसारको शुल्क फरकफरक निर्धारण गरिएको प्रमुख मिश्रले जानकारी दिए । कनेक्ट सर्भर काठामाडौ‌ र हेटौँडामा राखिएकाले पनि नेपाल टेलिकमको फाइबर इन्टरनेट सेवामार्फत गुगल, युट्युब र फेसबुक छिटो चल्ने उनको भनाइ छ । भरतपुर शाखामार्फत ३१ हजार फाइबर इन्टरनेट वितरण गर्ने क्षमता रहेको मिश्रले जानकारी दिए । रासस