सन्दीप लामिछानेलाई ७ दिन थुनामा राख्न अनुमति
काठमाडौं । नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्व कप्तान सन्दीप लामिछानेलाई थप सात दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति दिएको छ । नाबालिगमाथि जबरजस्ती करणी गरेको जाहेरीका आधारमा पक्राउ परेका क्रिकेटर लामिछानेलाई जिल्ला अदालत काठमाडौंले २० गतेबाट गणना हुने गरी ७ दिनका लागि म्याद थप गरेको हो । सोमबार जिल्ला अदालत काठमाडौंले असोज २० गतेबाट लागू हुने गरेर ७ दिनको म्याद थप गरी अनुसन्धान गर्न अनुमति दिएको अधिवक्ता सरोज घिमिरेले बताए । उनले सन्दीपले इजलासमा आफू निर्दोष रहेको कुरा बताएको पनि प्रमाणहरु प्रस्तुत गरेको बताए । उनले भने, ‘नेपाल प्रहरीले अदालतमा प्रस्तुत गर्नुभयो, सन्दीप लामिछानेले इजलाशमा आफू निर्दोष रहेको कुरा श्रीमानसमक्ष सम्पूर्ण डिटेलहरु प्रश्तुत गर्नुभयो, म्याद थपको सम्बन्धमा श्रीमानले ७ दिनको समय दिनुभयो, यो २० गतेबाट लागू हुने गरेर दिएको समय हो, २७ गते अदालतमा फेरि हाजिर हुने शर्तमा ७ दिनको लागि म्याद थपिएको छ ।ु असोज २० गते काठमाडौंस्थित अन्तर्राष्ट्रिय विमानस्थलबाट पक्राउ परेका उनलाई बिदाका कारण अदालत बन्द रहेकाले आजमात्रै म्याद थपका लागि अदालत लगिएको थियो । १७ वर्षीया एक किशोरीले बलात्कृत भएको भन्दै उनीविरुद्ध २० भदौमा प्रहरी वृत्त गौशालामा किटानी जाहेरी दर्ता गरेकी थिइन् । सन्दीप त्यसबेला क्यारेबियन लिग क्रिकेट खेल्न गएका थिए ।
सन्दीप लामिछानेलाई म्याद थपका लागि जिल्ला अदालत लगिँदै
काठमाडौं । नाबालिगमाथि जबरजस्ती करणी गरेको जाहेरीका आधारमा पक्राउ परेका क्रिकेटर सन्दीप लामिछानेलाई म्याद थपका लागि आज काठमाडौं जिल्ला अदालतमा उपस्थित गराइँदैछ । बिदाका कारण अदालत बन्द रहेकाले आजमात्रै म्याद थपका लागि अदालत लैजान लागिएको हो । कतारको दोहाबाट बिहीबार बिहान ११ बजे काठमाडौंस्थित अन्तर्राष्ट्रिय विमानस्थल ओर्लिएपछि प्रहरीले सन्दीपलाई पक्राउ गरेको थियो । १७ वर्षीया एक किशोरीले बलात्कृत भएको भन्दै उनीविरुद्ध २० भदौमा प्रहरी वृत्त गौशालामा किटानी जाहेरी दर्ता गरेकी थिइन् ।
‘प्रेमगीत ३’ ले दुई सातामा कमायाे ३४ करोड १३ लाख रुपैयाँ
काठमाडौं । ‘प्रेमगीत ३’ ले दुई सातामा ३४ करोड १३ लाख नेपाली रुपैयाँ ग्रस कमाइ गरेको छ ।निर्माण कम्पनी आशुसेन फिल्म्सका अनुसार प्रेमगीत ३’ ले दुई सातामा विश्वव्यापी रुपमा ३४ करोड १३ लाख नेपाली रुपैयाँ ग्रस कमाइ गरेको हो । फिल्मले नेपालबाट मात्रै ११ करोड ८१ लाख रुपैयाँ र भारतबाट ५ करोड ३२ लाख भारु कमाएको छ । यस्तै फिल्मले नेपाल र भारत बाहेक अन्य देशहरुबाट दुई सातामा ९ करोड १४ लाख भारु कमाएको छ । सन्तोष सेन र छेतेन गुरुङ निर्देशित यो फिल्ममा प्रदीप खड्का र क्रिष्टिना गुरुङ मुख्य कलाकारको रुपमा रहेका छन् । हिन्दी र नेपाली संस्करणमा रहेको यस फिल्मले सुरुवाती चरण देखि नै निकै चर्चा कमाइरहेको छ ।