सामाजिक सञ्जालमा रमाउनाले हराउन थाले गाउँघरबाट दसैँमा पिङ
त्रिवेणी । नेपालीको महानपर्व दसैँ सोमबारदेखि सुरु हुँदैछ । सोमबार घटस्थापनासँगै यस वर्षको दसैँ घरघरमा प्रवेश गर्नेछ । घटस्थापनाको सङ्घारमा कतिपय देवीदेवताका मन्दिरमा रङरोगन, सरसफाइ चलिरहेको छ । मठमन्दिरसहित घरमा घटस्थापनाका लागि आवश्यकपर्ने पूजा सामग्रीका जोहो गर्न थालिसकिएको छ । बजारको चहलपहलले दसैँ प्रवेश गरिसकेको सङ्केत गर्न लागेको छ । तर, दसैँको पर्यायवाची जस्तै बनेको पिङ भने गाउँघरबाट हराउँदै जान थालेको छ । दसैँ प्रवेशको दिन घटस्थापना आइसक्दा पनि गाउँघरमा पिङ राख्ने सुरसार बिरलै देख्न सकिन्छ । ‘पहिले दसैँ आउनु एक साताअघि पिङका लिङ्गा खोज्ने, बाँस काट्ने, भेटे बजारमा पाउने लठ्ठा नभए, बाबियो काटी डोरी बाट्ने चटारो हुन्थ्यो,’ कावासोतीका स्थानीय विनोद सिग्देलले भने, ‘अहिले सबै नौलो जस्तो बनेको छ, गाउँघरमा पिङ राख्ने चलन घट्दै गएको छ ।’ गाउँघरका चोक, चौर, चौतारामा दसैँ लाग्नु अघिनै पिङ राख्ने चहलपलसँगै सबै भेट्ने थलो बन्ने गरेको, बालबालिकामा पिङ खेल्ने उत्साह हुने गरेको उनले स्मरण गरे । ‘कति रमाइलो हुन्थ्यो, पिङ राख्ने भनेपछि टोल छरछिमेक सबै जम्मा हुने गार्थौँ, बाहिरबाट आएका पनि जम्मा हुने बहाना बन्थ्यो, बालबालिकाको उत्साह उस्तै हुन्थ्यो,’ सिग्देलले भने, ‘पिङ मात्रै हराएन, पिङसँगै दसैँको रमाइलो पनि हराए जस्तो लाग्न थाल्यो ।’ नेपाली संस्कृति परम्परा अनुसार दसैँमा पिङ राख्ने चलन छ । अझ गाउँघरमा दसैँको टीकाको दिन एक पटक भए पनि पिङ खेलेर जमिन छाड्नुपर्छ भन्ने बिश्वास रहिआएको छ । तर, नेपाली संस्कृति बोकेको पिङ आफैमा गाउँघरबाट हराउने अवस्थामा पुगेको छ । कावासोतीका रमाकान्त पौडेलले भने, ‘सहरबजारमा त केही वर्ष पहिलेनै पिङ हराउदै गएका थिए, अब गाउँघरमा समेत हराउन थाले, यसले दसैँको उमङ्ग पनि घट्दै गएको छ ।’ बजार क्षेत्रमा सार्वजनिक स्थानको कमी, मनोरञ्जनका विभिन्न विकल्प, सामाजिक सञ्जालमा रमाउने जमात बढ्दा दसैँमा पिङ राख्ने विषय गौड बन्दै गएको उनको भनाइ छ । ‘सहर बजारमा पिङ राख्ने सार्वजनिक खाली ठाउँ पनि पाउन मुस्किल बन्न थाल्यो, त्यसमाथि मान्छे टिभी, युटुब, फेसबुक र टिकटकमा रमाउन थाले,’ पौडेलले भने, ‘सहरबजारका मानिसको दैनिकी पनि आफैमा व्यस्त हुन्छ, कसले पिङका लिङ्गा खोज्नु, कसले लठ्ठा खोज्नु ।’ गाउँघरमा भने युवा जनशक्तिको अभावमा पिङ राख्ने चलनमा कमी आएको होकी भन्ने हुप्सेकोटका रामकृष्ण चापागाईंको ठम्याइ छ । ‘रोजगारीको खोजीमा युवा जति कोही सहर पसे, कोही विदेश लागे, गाउँ घर रित्तो जस्तो बनेको छ, पिङ राख्न पनि मेहनत चाहिन्छ, जनशक्ति चाहिन्छ,’ चापागाईंले भने, ‘यसैले पहिले जस्तो चहलपहल पनि हरायो, पिङ राख्ने चलन पनि हराउँदै जान थाल्यो ।’ फाट्टफुट्ट रुपमा कही कतै पिङ राख्ने गरेको भए पनि पहिलेको भन्दा निक्कै कम भएको चापागाईंले बताए । पहिले टोल टोलमा राखिने पिङ अहिले सिङ्गो गाउँमा भेट्न मुस्किल हुने गरेको उहाँको भनाइ रहको छ । पहाडी क्षेत्रसँगै गाउँघरमा पहिले पहिले रोटे पिङ राख्ने गरेकोमा यो भने लोपै हुने अवस्थामा पुगेको उनको भनाइ छ । दसँै र तिहार जस्ता चाडमा राखिने पिङसँगै मौलिक परम्परा हराउने हो की भन्ने कतिपय सामाजिक अगुवाले चिन्ता व्यक्त गर्ने गरेका छन् । विभिन्न चाडपर्वसँगै जोडिएका परम्परा, संस्कृतिको मौलिकता गुम्न नदिन पर्वसँगै जोडिएका परम्परागत कार्यकोसमेत जगेर्ना गर्दै जानुपर्ने उनीहरुको भनाइ छ । ‘हामीले हाम्रा संस्कृति, परम्पराको मौलिकता जोगाउन, विभिन्न पर्वसँगै जोडिएका परम्परागत कार्यलाई समेत जगेर्ना गर्दै जानुपर्छ, यी सबै हराउन सक्छन्, यसका लागि सबै लाग्नुपर्छ’, कावासोती–१७, का अगुवा युक्तप्रसाद गौडेलले भने । रासस
यि हुन् दसैँमा प्रदर्शनमा आउने चलचित्र
काठमाडौं । दसैँ प्रायजसो सामान्य चलचित्रले पनि धेरै व्यापार गर्ने समयलाई बुझिन्छ । त्यसैअनुरुप यस वर्षको दसैँमा तीनवटा चलचित्र प्रदर्शन गरिने भएका छन् । कोरोना सङ्क्रमणको महामारी अगाडि नै बनेको चलचित्र ‘प्रेम गीत ३’ दसैँको अबसर पारेर आजदेखि प्रदर्शन गरिँदै छ । छेतेन गुरुङ र सन्तोष सेनको संयुक्त निर्देशन रहेको यो चलचित्र विगतको बन्दाबन्दीका कारण प्रदर्शन हुन सकेको थिएन । यो चलचित्र नेपाल र भारतमा पनि एकसाथ प्रदर्शन हुँदैछ । चलचित्र ‘प्रेमगीत ३’ नेपाली भाषासँगै हिन्दी भाषामा पनि निर्माण गरिएको छ । आशुसेन फिल्म प्रोडक्सनको ब्यानरमा निर्माण भएको चलचित्र साङ्गीतिक प्रेम कथामा आधारित हो । यसअघि ‘प्रेम गीत’ ‘प्रेम गीत २’ प्रदर्शनमा आइसकेका छन् । अभिनेता प्रदीप खड्का र नवअभिनेत्री कृष्टिना गुरुङको मुख्य अभिनय रहेको यस चलचित्रमा मनिष राउत, शिव श्रेष्ठ, सुनिल थापा, सन्तोष सेन, माओत्से गुरुङ, पुस्कर कार्की, अनुभव रेग्मी, योगीशा खत्री, जीवन भट्टराई, लक्ष्मी बर्देवालगायत कलाकारको अभिनय रहेको छ । त्यस्तै चलचित्र ‘बाबरी’ यही असोज १४ गते शुक्रबार प्रदर्शन हुँदैछ । चलचित्रमा अभिनेत्री अदिती बुढाथोकी र अभिनेता धीरज मगरको मुख्य अभिनय रहेको छ । त्रिकोणात्मक प्रेमकथामा आधारित यस चलचित्रलाई निर्देशक सुरेन्द्र पौडेलले निर्देशन गरेका छन् । यो चलचित्र नेपालसँगै विदेशमा पनि एक साथ प्रदर्शन हुँदैछ । दक्षिण कोरिया, अष्टेलिया, हङकङलगायत अन्य देशमा पनि असोज १४ गते नै प्रदर्शन हुने निर्देशक पौडेलले जानकारी दिए । बाबरी फिल्मको प्रस्तुतिमा निर्माण भएको यो चलचित्र पुष्पलता बुढाथोकी र गणेश बुढाथोकीले निर्माण गरेका हुन् । चलचित्र ‘दुई नम्बरी’ विजयादशमीको दुईदिन पछि अर्थात् असोज २१ गते प्रदर्शन गरिने भएको छ । दीपेन्द्र लामाको निर्देशनमा तयार पारिएको यस चलचित्रमा अभिनेताद्वय दयाहाङ राई, सौगात मल्ल र अभिनेत्री उपसना सिंह ठकुरीको मुख्य अभिनय रहेको छ । दीपक मनाङ्गे, अमलादेवी राई र जयश श्रेष्ठको संयुक्त लगानीमा बनेको यो चलचित्र सामाजिक कथावस्तुमा आधारित छ । यो चलचित्र पनि नेपाललगायत विदेशमा प्रदर्शन गरिने भएको छ । चलचित्र पक्षले अष्ट्रेलिया, न्युजिल्याण्ड, क्यानडा, अमेरिकामा भएका नेपाली दर्शकले चलचित्र हेर्न पाउने जानकारी दिइएको छ । चलचित्रमा नवनायिका उगेन छोदेन, बुद्धि तामाङ, शारदा गिरी, कविता आले, सुष्मा निरौलालगायत कलाकारको अभिनय छ । यसअघि चलचित्र पक्षले कात्तिक ४ गते तिहारमा प्रदर्शन मिति तोकेको थियो । त्यस्तै चलचित्र ‘हिजोआजका कुरा’दसैँ सकिएपछि र तिहारको मुखमा अर्थात् असोज २८ गते प्रदर्शन हुँदैछ । कलाकार सन्तोष पन्तले लामो समयदेखि निर्माण गर्दै आएका हाँस्य टेलिशृङ्खलालाई अब चलचित्रमा परिणत गरिएको हो । उक्त चलचित्रमा कलाकार पन्तका छोरा साकारले निर्देशन गर्नुभएको छ । कलाकार पन्त र रमा थपलियाको मुख्य अभिनय रहेको उक्त चलचित्रमा रिमा विश्वकर्मा, केकी अधिकारी, जेविका कार्की, नितेशराज पन्त, विनायक कुइँकेललगायत कलाकारको अभिनय रहेको छ । चलचित्र प्रदर्शनका लागि दसैँ, तिहार बिदा उपयुक्त मानिँदै आएको छ । अरु बेलाभन्दा दसैँमा आमदर्शक घरपरिवारसँग रमाइलो गर्ने, चलचित्र हेर्ने, मनोरञ्जन गर्ने मुडमा हुन्छन् । त्यस कारण सामान्य चलचित्र पनि व्यावसायिक हिसाबले सफल हुनेमा निर्माताको विश्वास छ । यस वर्षको दसैँमा प्रदर्शनमा आउने चलचित्र निर्माताले आफ्नो चलचित्र भिन्नभिन्न कथावस्तुमा रहेको बताएका छन् । रासस
मकै पोलेरै छाक टार्छन् महिला
दोधारा चाँदनी । कञ्चनपुरको भीमदत्त नगरपालिका–१८ की ५८ वर्षीया पार्वती धामी ठेलागाडामा मकै पोलेर बेच्छिन् । साँझबिहानको छाक टार्न झरिमा छाताको ओत लागेर पनि आफ्नो कामलाई निरन्तरता दिँदै आएकी छिन् । वृद्ध अवस्थामा पनि उनको सहारा ठेलागाडा बनेको छ । करिब छ वर्षदेखि मकै पोलेरै साँझबिहानको जोहो गरिरहेको उनले बताइन् । ‘पानी प¥यो भनेर घरमै बसेँ साँझ भोकै बस्नुपर्छ ।’ उनले भनिन्, ‘मकै बेचेर आएको पैसाले साँझ बिहान खान ठिक्क हुन्छ । यसबाट दैनिक पाँच सय जति आम्दानी हुन्छ ।’ दोधारा चाँदनीबाट प्रतिकेजी ४० रुपैयाँमा मकै खरिद गरेर महेन्द्रनगर बजारमा बेच्ने गरेको धामीले बताइन् । ‘पोलेको मकै एउटा २५ रुपैयाँमा बिक्री गर्छु मेरो पेट पाल्न ठिकै भएको छ ।’ उनले भनिन्,’मकै बेचेर आएको पैसाले चामल खरिद गरेर लग्छु साँझबिहानलाई पुग्छ । दिनमा काम नगरे साँझ चुलोे बाल्नै मुस्किल हुन्छ ।’ विसं २०५८ मा श्रीमान् बेपत्ता भएपछि उनी एकल भइन् । दार्चुलाको मालिकार्जुन–३ निवासी धामी हाल महेन्द्रनगरस्थित कटानमा कोठा भाडामा लिएर बस्दै आएकी छिन् । ‘एउटा छोरी थिइन् छोरीको पनि बिहेपछि श्रीमान्ले अर्को बिहे गरेर छोड्यो ।’ उनले भनिन्–’अहिले छोरीको सहारा म मेरो सहारा छोरी भएका छौँ ।’ धामीकी छोरी लक्ष्मी पनि महेन्द्रनगर बजारमै आइसक्रिम बेच्दै आएकी छिन् । ‘छोरीको कमाइले कोठाभाडा तिर्न र अरु खर्च चलाउन पुग्छ ,’ उनले भनिन्–’अहिले सबै कुरा महँगो भएको छ साँझबिहानको चुलो बाल्नै मुस्किल छ ।’ छोरी लक्ष्मीले मौसमअनुसारको व्यवसाय गर्ने गरेको बताइन् । ‘जति बेला जे काम पायो त्यही गर्छु काम गरेर खानु छ,’ उनले भनिन्,’दैनिक मजदूरी गरेर खान लाउन ठिक्क भएको छ ।’ सानै उमेरमा बिहे गरेकी लक्ष्मीले श्रीमान्ले दोस्रो बिहे गरेपछि निकै समस्या झेल्नु परेको बताइन् । ‘अहिले आमासँगै बस्दै आएको छु मेरो सहारा आमा, आमाको सहारा म छु ।’ उनले भनिन्,’सरकारले दिएको एकल भत्ताले राहत भएको छ ।’ जीवनमा अनेक पीडासँग जुध्दै तराई झरेको लक्ष्मीले बताईन् । उनी जस्तै पोलेको मकै बेचेर दैनिक जीवनयापन गरिरहेका थुप्रै महिला महेन्द्रनगरमा भेटिन्छन् । भीमदत्त नगरपालिका– १८ का धाना पन्तले पनि पोलेको मकै बेचेर दैनिक गुजारा चलाइरहेका छन् । रोजगारीको अन्य केही उपाय नभएपछि दुबै दम्पतीले मकै बेचेर साँझ बिहानको जोहो गर्दै आएका छन् । ‘अन्य रोजगारी केही छैन पोलेको कमाइ बेचेर जीवनयापन गरिरहेका छाँै ।’ उनले भनिन् । ‘खेती किसानी गर्न जग्गा छैन अन्य काम गर्न सीप छैन ।’ पन्तले मकै बेचेर दैनिक एक हजारसम्म आम्दानी हुने गरेको बताईन् । ‘बुढाबुढी दुबैको कमाइ दिनको एक हजार ५०० रुपैयाँ जति बचत हुन्छ यसबाट घरखर्च धान्न पुगेको छ ।’ उनले भनिन्–’छोराछारीको स्कुल खर्च पनि यसैबाट चलेको छ ।’ महेन्द्रनगरमा मकै पोलेर मात्रै थुप्रैले जीविकोपार्जन गरिरहेका छन् । मौसमअनुसार बैशाखदेखि असोज महिनासम्म फुटपाथमा बसी मकै पोलेर मनग्य आम्दानी गरिरहेको उनीहरुको भनाइ छ । महेन्द्रनगरमा दोधारा चाँदनीबाट मकै आउने गरेको छ । रासस