एथ्लेटिक्समा सात स्वर्ण पदकको छिनोपानो

  पोखरा । नवौं राष्ट्रिय खेलकुद प्रतियोगिताअन्र्तत एथ्लेटिक्स बिधातर्फ सात स्वर्णपदकको छिनोफानो भएको छ । गण्डकी प्रदेशको पोखरा रङ्गशालामा आज सम्पन्न खेलअन्र्गत एक हजार पाँच सय मिटर दौडको पुरुषतर्फ मुकेश पाल र महिलामा फुलमती रानाले स्वर्ण पदक जितेका छन् । त्रिभुवन आर्मी क्लबका मुकेशले तीन मिनेट ५२ दशमलव २१ सेकेन्ड समय खर्चदै स्वर्ण पदक जितेका हुन । सोही स्पर्धामा सशस्त्र प्रहरी बल ९एपिएफ०का अजित यादव र नागेश्वर अहिर क्रमशः दोस्रो र तेस्रो भए । अजितले तीन मिनेट ५३ दशमलव ११ सेकेन्ड समय लगाउँदै दोस्रो भए भने नागेश्वरले तीन मिनेट ५६ दशमलव पाँच सेकेन्ड समय खर्चदै तेस्रो भए । सोही स्पर्धाको महिलातर्फ सशस्त्र प्रहरी बल (एपिएफ) की फुलमती रानाले त्रिभुवन आर्मी क्लबकी सरस्वती भट्टराईलाई पछि पार्दै स्वर्ण जित्न सफल भइन् । फुलमतीले चार मिनेट ३८ दशमलव १९ सेकेन्ड समय लगाउँदै पहिलो बनेकी हुन । रजत पदक विजेता सरस्वतीले चार मिनेट ४१ दशमलव ८० सेकेन्ड समय लगाइन् । सोही स्पर्धामा त्रिभुन आर्मी क्लबकी रेखा लिम्बूले कास्य पदक हात पारिन । उनले पाँच मिनेट ०३ दशमलव ८० सेकेन्ड समय खर्चदै तेस्रो स्थानमा रहेकी हुन् । त्यसैगरी आजै भएको सटपुटतर्फ तिलक विक र चन्द्रकला लामगादेले स्वर्ण जिते । त्रिभुवन आर्मी क्लबका तिलकले सोही क्लबका चित्रबहादुर वलीलाई पराजित गर्दै स्वर्ण जितेका हुन । सोही स्पर्धामा वलीले रजत पदक जित्दा बागमती प्रदेशका ललित रावतले कास्य पदकमा चित्त बुझाए । यसैगरी एक सय मिटर दौडको पुरुषतर्फ शिवराज पार्की र महिलामा सरस्वती चौधरीले स्वर्ण जिते । सशस्त्र प्रहरी बलका शिवराजले त्रिभुवन आर्मी क्लबका युवराज विकलाई पछि पार्दै स्वर्ण जितेका हुन् । स्वर्ण विजेता शिवराजले निर्धारित दूरी १० दशमलव ५९ सेकेन्डमा पूरा गरे । सोही स्पर्धामा आर्मीका युवराजले १० दशमलव ५८ सेकेन्ड समय लगाउँदै रजत पदक जिते भने त्रिभुवन आर्मी क्लबका डिल्ली भण्डारीले कास्य पदक जिते । उनले १० दशमलव ७० सेकेन्ड समय लगाए । सोही स्पर्धाको महिला विधामा स्वर्ण विजेता त्रिभुवन आर्मी क्लबकी सरस्वतीले लुम्बिनी प्रदेशकी निशा चौधरीलाई पराजित गर्दै स्वर्ण जितेकी हुन । उनले निर्धारित दूरी १२ दशमलव १३ सेकेन्डमा पूरा गरिन । सरस्वतीले स्वर्ण पदकसहित राष्टिय कीर्तिमानसमेत कायम गरेकी छन् । उनले हिट चरणमा निशा चौधरीको नाममा रहेको रेकर्ड ब्रेक गर्दै नयाँ कीर्तिमान कायम गरेकी हुन् । निशाले हिट चरणमा १२ दशमलव १५ सेकेन्ड समय लगाएकी थिइन । सोही स्पर्धामा त्रिभुवन आर्मी क्लबकी रमिता थारुले कास्य जितिन् । रमिताले निर्धारित दूरी १२ दशमलव ९३ सेकेन्ड समय खर्चेकी थिइन् । त्यस्तै दश हजार मिटर दौडमा बागमती प्रदेशकी सन्तोषी श्रेष्ठले नेपाल पुलिस क्लबकी राजपुरा पछाइलाई पाखा लगाउँदै स्वर्ण जितेकी थिइन् ।

अन्धविश्वासले घर–सम्पत्ति छाडेर सडकमा पुर्यायो

बाग्लुङ । बुर्तिबाङ–बोङ्गादोभान सडक छेउमा एउटा सानो छाप्रो छ । छाप्रोमाथि अनकन्टार भिर, तल तमानखोला । त्यही छाप्रोमा बस्नुहुन्छ ६७ वर्षीय देवीराम दर्जीको परिवार । काठ, मुडा र पुराना जस्तापाताले बनेको छाप्रोले राम्रोसँग घाम पानी छेक्दैन । देवीरामको परिवार नौ वर्षदेखि यही छाप्रोमा आश्रय लिँदै आएको छ । ढोरपाटन नगरपालिका–२ दुलेमा पर्ने बस्ने दर्जी परिवारको अवस्था निकै दयनीय छ । छाप्रो बनाएको ठाउँ पनि देवीरामको होइन । सार्वजनिक ठाउँ भए पनि नजिक जग्गा हुनेले आफ्नो दाबी गर्दै छोड्न दबाब दिन्छन् । उनको श्रीसम्पत्ति ढोरपाटन नगरपालिका–३ सामागाउँमा छ । गाउँमा एउटा घर, गोठ र केही जग्गा जमिन पनि छ । तर उनी कहिल्यै त्यो घरमा जानुहुन्छ । घर सम्झिँदा पनि उनी झसङ्ग झस्किन्छन् । उनी झस्किनुको कारण अन्धविश्वास हो । तीन वर्षमा परिवारका आठ सदस्यको मृत्यु भएपछि दर्जी घर अशुभ भएको भन्दै नौ वर्ष अगाडि परिवार लिएर गाउँ छाडेका हुन् । दर्जी भन्छन्, ‘तीन वर्षमा मेरो तीन भाइ छोरा, दुई बहिनी छोरी, आमाबाबु र छ वर्षको भतिजी मरे, मेरो छोराछोरी ठुल्ठूलै भएर मरे, त्यो सम्झिँदा मन भक्कानिन्छ, म त निकै ठूलो पिर परेर घरबारी छाडेर यो बाटोमा आएको हुँ ।’ घरमा वर्षैपिच्छे दुई जना परिवारका सदस्यको मृत्यु भएपछि ज्योतिषकहाँ गएको र ज्योतिषले घरमा राक्षसले बास गरेको छ भनेपछि घर छाडेका उनी बताउँछन् । ‘घरमा वर्ष दिन नबित्दै तीन छोराछोरी मरे, तीन वर्षमा आठ जना आफन्त गुमाएँ, मलाई जति पिर कसलाई परेको होला त्यो बेला रु”, दर्जीले भन्नुभयो, “अति भयो र काठमाडौँमा ज्योतिषलाई हात हेराउन गएँ, ज्योतिषले घरमा राक्षसले बास गरेको छ, अरुको पनि मराण लिन्छ भन्नुभयो, छोरा र श्रीमती पनि डराए, घर अशुभ रैछ त्यही भएर गाउँ नै छाडेर हिँडेको हुँ ।’ अहिले दर्जीका कान्छा छोरा, जेठी र साइली छोरी जीवितै छन् । छोरीहरू विवाह गरेर आफ्नो घरमा छन् भने कान्छा छोरासहित श्रीमती, नाति, नातिनी र बुहारी उनीसँगै बस्दै आएका छन् । दर्जीलाई छ जनाको परिवार पाल्न अहिले हम्मेहम्मे भएको छ । घर सडक छेऊमा हुँदा गाडी गुड्दा हिलो र धुलोले ढाकिने गर्छ । उनी भन्छन्, ‘आफ्नो भएभरको घर सम्पत्ति सबै छाडेर यहाँ आइयो, यस्तो बाटोको छेऊमा छ छाप्रो पनि, गाडी चल्दा बर्खामा हिलो छ्याप्छन्, हिउँदमा धुलो उडाउँदै जान्छन्, कसलाई के भन्ने ?, यस्तो ठाउँमा बसेर होला सबैले हेला गर्छन्, बूढेसकाल लाग्यो, काम गरी खान पनि सकिन्नँ ।’ दर्जीले अहिलेसम्म आफूले गिट्टी कुटेर, बालुवा बोकेर र मादल बेचेर परिवार चलाउँदै आएको भन्दै आफ्नो बूढेसकाल लागेपछि परिवार पाल्न गाह्रो भएको बताए । छोराले पनि काम नपाएर यत्तिकै घरमा बस्ने गरेको भन्दै आफूलाई कसैले सहयोग नगरेको गुनासो गरे। ‘अहिले त बूढेसकाल लागेछ, काम गर्न पनि गाह्रो हुन्छ, अहिलेसम्म गिट्टी, बालुवा कुटेर परिवार पालेँ, अब गाह्रो होलाजस्तो लाग्छ, छोरा छ, उसले पनि कामै पाउँदैन, काम पाए त उसले कमाएर ल्याउँथ्यो होला’, दर्जीले भने, ‘म गरिब दुःखी हुँ, मलाई कसैले पनि सहयोग गरेको छैन, परिवार पाल्न गाह्रो भएको छ, केही सहयोग गरे त सजिलो हुन्थ्यो, नगरपालिका भन्छन्, गाउँपालिका भन्छन् तर हाम्लाई कसैले सहयोग गर्दैनन् ।’ दर्जीकी श्रीमती मीना पुरानो घरमा बसेको भए आफूहरू पनि अहिलेसम्म जिउँदो नरहने बताउँछन् । ‘हामी नौ वर्ष पहिले घर छाडेर यहाँ आएको हौ, त्यसबेला घर नछाडेको भए अहिलेसम्म हामीहरु जिउँदो रहने थिएनौँ, अझै पहिले नै घर छाडेका भए हाम्रा छोराछोरी पनि बाँच्ने रहेछन्, ढिलो बुद्धि आयो’, उनी भन्छन्, ‘ज्योतिषले अशुभ नभनेको भए अहिलेसम्म हामीहरू सबै मरिसक्थ्यौँ होला ।’ दर्जीले सडक छेऊमा बस्न निकै गाह्रो भएको अनुभव सुनाए। उनी बाटोमा दिनरात गाडी चल्ने हुँदा थाकेर सुत्दा पनि गाडीको आवाजले निदाउन नसक्ने बताउँछन्। ‘यस्तो ठाउँमा छ घर, घर पनि के भनौँ यस्तो छ, जतिबेला पनि गाडी चल्छन्, दिउँसभरि काम गरेर थकाइ लाग्छ, राति गाडीको आवाजले निदाउँनै दिँदैन’, उनी भन्छन् । उनले घर गतिलो नहुँदा पानी पर्दा चुहिने र हुरी चल्दा छानो र बार सबै उडाइदिने गरेको बताए। सरकारले सानो भए पनि घर बनाइदिए आफूहरूलाई ठूलो राहत मिल्ने उनी बतााउँछन् । दर्जी भन्छन्, ‘घर पानी पर्दा चुहिन्छ, हुरी चले घरको छानो र बार सबै उडाइदिन्छ, यसरी पनि रात–दिन बिताएका छौँ, सरकारले हाम्रो दुःख देखेन, सानो भए पनि ओत लाग्ने घर बनाइदिए हाम्रा लागि निकै ठूलो राहत हुने थियो ।

तिहारअघि नै झिलिमिली काठमाडौं फोटोफिचर

काठमाडौं । तिहार आउन अझै १२ दिन बाँकी छ । तर आजकल बजार डुल्दा अनि झिलिमिली देख्दा लाग्छ, तिहार आइसक्यो । संघीय राजधानी काठमाडौंको बजार आजकाल गुल्जार छ । तिहारको किनमेल गर्ने सर्वसाधारणको घुइँचो, झिलिमिली बत्ती, मिठाई मसला र फूलहरुले ढाकेको छ । तिहारले छुन हप्ता दिन अघिदेखि नै राजधानीका घरहरुमा झिलिमिली बत्ती बालिएको छ । तिहारलाई फूल, रङ र उज्यालोको पर्वको रुपमा लिइन्छ । न त जाडो, न त गर्मी । यो मौसम पनि आफैँमा मनमोहक लाग्ने खालको छ । सधैँ पैसाको कुरा र कारोबार गर्ने व्यवसायिक घराना, बैंक र बीमा कम्पनीहरु लक्ष्मीलाई आकर्षित गर्न बिजुलीको उज्यालोले झिलिमिली बनेका छन् । धनमाथि धन कमियोस् भन्ने उद्देश्यका साथ तिहारमा लक्ष्मीलाई पुजेर झिलिमिली बत्ती बाल्ने गरिन्छ । तिहार झिलिमिली बत्ती र फूलको पर्व हो । एक आपसमा खुशी बाँड्दै रमाइलो गरी देउसी र भैली खेल्दै मनाइने चाड हो, तिहार । तिहारमा दियो, बत्ती बालेर घरलाई झिलिमिली पारिन्छ । फूलको मालाले सिंगारिन्छ । अझ लक्ष्मीपूजाको साँझमा हरेक घरमा उज्यालो हुन्छ । परम्परागत दियो बाल्ने चलन हिजोआज लोप भएर आधुनिक झिलिमिली बत्तीले ठाउँ पाएको छ । जसले यतिबेला काठमाडौं उपत्यकाका बजारहरु रंगीन छन् । बजारमा सामान किन्ने र बेच्नेको भीड देख्दा तिहार आइसकेको भान हुन्छ । तिहारका लागि आवश्यक पर्ने विभिन्न सामग्री खरिद गर्ने उपभोक्ताको घुइँचो यतिबेला हरेक बजारमा देखिन्छ ।