प्रधानमन्त्री कप क्रिकेटको उपाधि एपीएफ क्लबलाई

काठमाडौं । प्रधानमन्त्री कप एकदिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगिताको उपाधि एपीएफ क्लबले जितेको छ । दुई विभागीय टोली नेपाली सेनाको त्रिभुवन आर्मी क्लब र सशस्त्र प्रहरी बलको एपीएफ क्लबबीच केहीबेर अघि सम्पन्न फाइनल खेलमा एपीएफले साविक विजेता आर्मी क्लबलाई चार विकेटले हराउँदै उपाधि चुमेको हो । जितसँगै एपीएफले रु १० लाख पुरस्कार प्राप्त गरेको छ । उपविजेता आर्मीले पाँच लाख प्राप्त गर्यो । कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालयको क्रिकेट मैदानमा टस जितेर एपीएफले फिल्डिङ राजेपछि आर्मी क्लबले ब्याटिङ गर्ने क्रममा निर्धारित ४० ओभरको खेलमा ३० ओभरमा सवै विकेट गुमाएर एक सय ७९ रन बनायो । एक सय ८० रनको विजयी लक्ष्य एपीएफले ३८ दशमलव तीन ओभरमा छ विकेट गुमाएर पूरा ग¥यो । एपीएफका लागि भूवन कार्कीले ५५ रन बनाए । उनले ८२ बल खेल्ने क्रममा एक छक्का र चार चौका हाने । यस्तै सुमित महर्जनले ३४ रन बनाए । उनले ४५ बल खेल्ने क्रममा पाँच चौका प्रहार गरे । यस्तै कप्तान शरद् भेषवाकरले अविजित १६, प्रदीप ऐरीले २०, सन्दीप जोराले १७ र आशिफ शेखले १४ रनको योगदान दिए । बलिङतर्फ आर्मी क्लबका जितेन्द्र मुखियाले दुई, सोमपाल कामी, विक्रम सोब र सुशन भारीले एक÷एक विकेट लिए । यसअघि एपीएफलाई एक सय ८० रनको लक्ष्य दिने क्रममा आर्मी क्लबका लागि रोहितकुमार पौडेलले ४९ बनाए । यस्तै जितेन्द्र मुखियाले अविजित २४, सुशन भारीले १९, राजेश पुलामीले १८, कुशल मल्लले १६, हरि चौहानले १५, अर्जुन साउदले १३ र कप्तान विनोद भण्डारीले ११ रन बनाए । बलिङतर्फ आर्मीका अमर रौटेला र मौसम ढकालले तीन÷तीन तथा किशोर महतोले दुई विकेट लिए । यसअघि आर्मी क्लवले शुक्रबार नेपाल पुलिस क्लवलाई दुई विकेटले हराउँदै फाइनलमा प्रवेश गरेको थियो । एपीएफ क्लबले भने बिहीबार मधेस प्रदेशलाई हराउँदै फाइनलको यात्रा तय गरेको थियो । प्रधानमन्त्री कप क्रिकेटमा आर्मी पाँचौँ पटक तथा एपीएफ तेस्रो पटक फाइनल खेल्न पुगेको हो । प्रतियोगिता यही कात्तिक १३ गतेदेखि सुरु भएको हो । प्रतियोगितामा सात प्रदेशका साथै तीन विभागीय टोली सहभागी भएका थिए ।

झाँक्रीले अगुल्टो मुखमा झोस्दा युवा गम्भीर घाइते

नवलपरासी । नवलपरासीपूर्वको कावासोती नगरपालिका–१ कोइलापानीमा उपचारको बाहानामा झाँक्रीले अगुल्टोले मुखमा झोस्दा एक युवा गम्भीर घाइते भएका छन् । नौ दिनअघिको घटना सामाजिक सञ्जालमा भाइरल भएपछि यो तथ्य बाहिर आएको हो । काठमाडौँ बसेर विभिन्न प्रतियोगितामा भाग लिँदै गरेका ¥यापर समेत रहेका कावासोती–१ निवासी २० वर्षे मिलनजङ्ग कुँवर बिरामी भएर घर आएका थिए। उनको उपचारका लागि भन्दै परिवारले नौ दिनअघि घरमा झारफुक गर्न देवचुली–१२ का ४२ वर्षीय झाँक्री दीपक सार्कीलाई बोलाएको थियो । सार्कीले झारफुक गर्ने क्रममा अगुल्टोले मुखमा पटक–पटक झोस्दा कुँवर गम्भीर घाइते भएका हुन्। घाइते कुँवरको चितवनस्थित नयाँ मेडिकल कलेजमा उपचार भइरहेको परिवारजनले जानकारी दिएको छ । सामाजिक सञ्जालमा भिडियो भाइरल भएपछि शुक्रबार झाँक्रीलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय नवलपुरका प्रहरी नायब उपरीक्षक सन्तोष पाठकले जानकारी दिए। घटनाका बारेमा अनुसन्धान भइरहेको पाठकले बताए ।

गुल्मी मदाने गाउँपालिका पुर्कोटका बासिन्दाको पानी ल्याउन २ घण्टा हिँड्नुपर्ने बाध्यता

गुल्मी । गुल्मी मदाने गाउँपालिका–६ पुर्कोट दहकी पवित्रा विक हरेक विहान कम्तीमा २ घण्टा एक गाग्री पानी भर्नका लागि खर्चिन्छिन्। उनी विगत १२ वर्षदेखि हरेक विहान एक गाग्री पानी भर्नका लागि एक घण्टा पैदल दूरी गरी फुर्कोटदेखि थाम्का पुग्छिन् । यसरी दुःख गरी ल्याएको पानीले खाना पकाएपछि उनी गिट्टी कुट्न छिर्नी पुग्छिन् । विक ४६ वर्ष पुग्दा श्रीमानको मृत्यु भएपछि घर खर्चका लागि गिट्टी कुट्ने काममा लाग्नु भयो । तर एक दशकभन्दा बढी समयदेखि पानीका लागि सङ्घर्षरत उनीलगायतकाको समस्या समधानका लागि आश्वासन धेरै आएपछि व्यवहारिक रुपमा कसैले पनि काम गरेको छैन । स्थानीय सरकारले पनि समस्या समाधानमा चासो नदेखाएको भन्दै उहाँले गुनासो गरिन् । विक जस्तै फुर्सी चुँदाराको पनि दैनिकी पनि उस्तै छ । खानेपानी बोकेर जोहो गर्नुपर्ने बाध्यताका बीच उनको घरखर्च चलाउनका लागि गिट्टी कुट्नुपर्ने बाध्यता छ । जिल्लाभर चुनावी रौनकताले छोएका बेला उनी भने गिट्टै कुट्न मै व्यस्त छन् । ‘हामी हरेक दिन सडक छेउ बसी गिट्टी कुटिरहेका छौँ”, गिट्टी कुट्दै गरेकी उहाँले भन्नुभयो, ‘चुनावले होला झण्डा फहराउँदै गाडी हुँइकिएका छन् तर हाम्रो हालचाल सोध्न रोकिएको थाहा छैन ।’ उनीहरु कम्तीमा यहाँको खानेपानीको समस्या समाधान गरिदिए धन्य हुने बताउँछन्। पुर्कोट दहकै ६० वर्षे कमला चुँदारा पनि खानेपानीको समस्या समाधान छिटो होस् भन्ने कामना गर्दै आएका छन् । ‘म जान्ने भएदेखि नै खानेपानीको समस्या छ, तर समस्या समाधानमा कसैले चासो देखाएन’, उनले भने, यो समस्या समाधान भए हाम्रो दैनिकी सहज हुने थियो ।’ उनीहरूले गिट्टी कुट्ने ठाउँ छिर्नी सालझण्डी–ढोरपाटन राजमार्गअन्तर्गत मदाने गाउँपालिकामा हो । यस क्षेत्रमा प्रतिनिधिसभा सदस्यका लागि सत्तारुढ गठबन्धनको तर्फबाट नेकपा एकीकृत समाजवादी नेतृ रामकुमारी झाँक्री र नेकपा एमालेको तर्फबाट गोकर्ण विष्ट उम्मेदवार रहेका छन् । प्रदेशसभा सदस्यका लागि सत्तारुढ गठबन्धनको तर्फबाट नेकपा (माओवादी केन्द्र)का वुद्धि जिसी र नेकपा एमालेका तर्फबाट दिनेश पन्थी उम्मेदवार छन् । थाम्का टोलमा रहेको खानेपानीको समस्या केही दिनमै समाधान हुने पुर्कोट दहका वडाध्यक्ष मनिराम थापाले दाबी गरे । उनले अग्लो स्थानमा सानो बस्ती रहेकाले खानेपानी पु¥याउन लिफ्टिङ आयोजना अन्तिम चरणमा पुगेकाले केही दिनमै समाधान हुने जिकिर गरे ।