४ युट्युब च्यानलका संचालक पक्राउ
काठमाडौं । पिडित महिलाको तस्विरसहित चरित्र हत्या गर्ने ४ युट्युब च्यानलका संचालकहरु पक्राउ परेका छन् । युट्युब च्यानलमार्फत पिडित महिलाप्रति घृणा फैलाउने सामाग्रीहरु प्रसारण गरेकोमा उनीहरुलाई विद्युतिय कारवाही ऐन, २०६३ अन्तर्गत पक्राउ गरिएको हो । पक्राउ पर्नेमा दैनिकी खबर युट्युब च्यानलका सचालक २१ वर्षिय प्रदिप भण्डारी, हरेक पलको खबर युट्युब च्यानलका सचालक २७ वर्षिय शिशिर अधिकारी, सारैचुलिया मिडियाकी युट्युब च्यानलका सचालक पिंकल कार्की र मोडर्न अनलाइन टिभी युट्युब च्यानलका सचालक २४ वर्षिय रोधन तामाङ रहेका छन् ।
नेपाल स्काउटको ‘सम्पदा साईकल यात्रा’
काठमाडाैं । विश्व शान्तिको कामना गर्दै नेपाल स्काउटले शनिबार काठमाडौंमा ‘सम्पदा साईकल यात्रा’ निकालेको छ । अन्तर्राष्ट्रिय शान्ति दिवसको अवसर पारेर काठमाडौं उपत्यका भित्र रहेका सम्पदाहरु बुढानिलकण्ठ मन्दिर, बौद्ध स्तुपा, पशुपतिनाथ, स्वयम्भू, पाटन दरबार र भक्तपुर दरबार क्षेत्रबाट शनिबार बिहान एकैसाथ विश्व शान्तिको कामना गर्दै ‘सम्पदा साईकल यात्रा’ निकालिएको हो । युवाहरुसहितको सहभागितामा विश्वमा शान्तिको सन्देश दिने उद्देश्यले बुद्धको जन्मस्थल नेपालमा पनि सो साईकल यात्रा आयोजना गरिएको स्काउटका राष्ट्रिय अध्यक्ष लोकबहादुर भण्डारीले जानकारी दिए । उनले आफूहरुले नेपाल स्काउटलाई स्थापित संस्थाको रुपमा विकास गर्न सफल भएको दावी समेत गरे । काठमाडौंको बसन्तपुरमा एक कार्यक्रममा बीच सो साईकल यात्राको समापन गर्दै अध्यक्ष भण्डारीले हरेक नेपालीको घरघरमा पुगेर सेवा दिने गरी यसको संयन्त्रको निर्माण गरिएको पनि बताए । साईकल यात्रामा निस्केकाहरुले नेपालको राष्ट्रिय झण्डा र शान्तिको सन्देश विश्वमा फैल्याउने सन्देश दिने खालका टि सर्ट प्रर्दशन गरेका थिए ।
हिमोफिलिया भएका व्यक्तिहरुको वास्तविक तथ्यांक आउनुपर्ने
राष्ट्रिय जनगणना २०७८ मा देशभर रहेका हेमोफिलिया भएका व्यक्तिहरुको वास्तविक तथ्यांक समेट्न हिमोफिलिया सोसाइटी नेपालले माग गरेको छ । शनिवार काठमाडौंमा एक पत्रकार सम्मेलनको आयोजना गरी हिमोफिलिया सोसाइटी नेपालले राष्ट्रिय जनगणना २०७८ मा पहिलोपटक हेमोफिलिया भएका व्यक्तिहरुको पनि गणना हुने भएकाले जनगणनामा हेमोफिलिया भएका व्यक्तिहरुको वास्तविक तथ्यांक समेट्ने गरी गणना गर्न, गराउन माग गरेको हो । महासंघले हेमोफिलिया भएका व्यक्तिहरु अपांगताको ऐनभित्र परेको र अपांगता भएकाहरुको सूचिको दशौं नम्बरमा उल्लेख गरिएको भन्दै गणकहरु आउँदा घरपरिवारमा भएका हेमोफिलिकको बारेमा प्रष्ट विवरण दिन अनुरोध गरेको छ । त्यस्तै यसबारेमा गणकहरु पनि सचेत र सजग हुनुपर्ने आवश्यकता रहेको महासंघले जनाएको छ । महासंघका महासचिव दिपक न्यौपानेले बास्तविक तथ्यांक समेट्न तथा गणक र सुपरिवेक्षकहरुलाई आवश्यक तालिम उपलब्ध गराउन माग गरे । हिमोफिलिया अनुवंशीय असरका कारण रगतमा हुने फ्याक्टर कम भई रगत जम्ने कार्यमा समस्या उत्पन्न हुनगई रक्तस्राव हुने शारीरिक अवस्थाको व्यक्ति भनि सरकारले परिभाषा गरेको छ । हेमोफिलिया भएको व्यक्तिमा कुनैपनि कारणले आन्तरिक वा बाह्य रक्तस्राव भयो भने रगत नथामिने हुने, रक्तस्राव रोक्न प्लाज्मा वा एन्टिहेमोफिलिक फ्याक्टर नै उपलब्ध गराउनुपर्ने चिकित्सकहरुले बताउने गरेका छन् । विश्व हिमोफिलिया महासंघको तथ्यांक अनुसार प्रति ५ हजार पुरुष जन्ममा १ जना हिमोफिलिया समस्या लिएर जन्मन्छन् । नेपालमा करिब ३ हजार हिमोफिलियायुक्त व्यक्ति रहेको अनुमान गरेको र हिमोफिलिया सोसाइटी नेपाल मार्फत् हालसम्म ७ सय ५० जना हिमोफिलियायुक्त व्यक्तिको पहिचान भएको बताइएको छ ।