आइएमईकाे ‘वर्ड भ्रमण विथ साइग्रेस’ सुरु

काठमाडौं । आइएमईको वर्ड भ्रमण विथ साइग्रेसको सुरु भएको छ । नेपालका सात वटै प्रदेशका मुख्यमुख्य शहरहरूमा गरिने उक्त कार्यक्रम आजबाट सुरु भएको हो ।  सो कार्यक्रम मङ्सिर १७ सम्म संचालन हुनेछ । वर्ड भ्रमणमा नेपालको लोकप्रिय स्टोरी टेलर साईग्रेसद्वारा श्रमका लागि विदेशमा गएका नेपाली कामदारहरुको संघर्षको कथा सँगसँगै रेमिटेन्स रकमको सही सदुपयोग र यसबाट प्राप्त हुने लाभका विषयलाई कथा मार्फत प्रस्तुती गर्ने कम्पनीले जानकारी दिएको छ । कार्यक्रमको टिकेटिङ्ग पार्टनर ‘आइएमई पे’ रहेको छ भने आतिथ्य पार्टनर रोडहाउस क्याफे रहेको छ । साथै एडुकेसन पार्टनर टेक्सस् कलेज अफ म्यानेज्मेन्ट र आइटी रहेको छ भने मिडिया पार्टनर रुटिन अफ नेपाल बन्द हुने भएको छ । उक्त कार्यक्रम आइएमई लिमिटेड र आइएमई पेका आधिकारिक सामाजिक सञ्जाल फेसबुक, युट्युब, ट्विटर, लिंकडिन पेजहरूका अतिरिक्त साईग्रेसका अफिसियल पेजहरुबाट पनि प्रसारण हुने कम्पनीले जनाएकाे छ । कार्यक्रम तालिका १।  होटल रुबस, धनगढी-  ९ नोभेम्बर, दिउँसो २ः३० बजे २।  क्लब ग्राभिटी, पोखरा-  २२ नोभेम्बर, दिउँसो ४ः०० बजे ३।  राष्ट्रिय नाच घर, काठमाडाैं-  ३ डिसेम्बर, दिउँसो ३ः३० बजे ४।  साई पार्टी प्यालेस, झापा-  १३ नोभेम्बर, दिउँसो ३ः०० बजे ५।  डि कन्सेप्ट, बुटवल- २० नोभेम्बर, दिउँसो २ः३० बजे ६।  चितवन गार्डेन रिसोर्ट चितवन १९ नोभेम्बर, दिउँसो २ः३० बजे ७।  बिपिकेआइएच्एस अडिटोरियम, धरान- १५ नोभेम्बर, दिउँसो २ः०० बजे

आज भाइटीकाः ११ बजेर २ मिनेट उत्तम साइत, कुन दिशामा फर्केर टिका लगाउने ?

काठमाडौं । यमपञ्चकसमेत भनिने तिहारको पाँचौँ दिन आज भाइटीका पर्व दिदीबहिनीले आफ्ना दाजुभाइलाई श्रद्धा, आस्था र निष्ठाका साथ दीर्घायु, आरोग्य र ऐश्वर्य प्राप्तिको कामना गर्दै परम्पराअनुसार पञ्चरङ्गी वा सप्तरङ्गी टीका लगाएर मनाइँदैछ । प्रत्येक वर्ष कात्तिक शुक्ल द्वितीयाका दिन मनाइने नेपालीको दोस्रो ठूलो चाड तिहारको मुख्य दिन आज दाजुभाइले दिदीबहिनीबाट टीका ग्रहण गर्दैछन् । आजको दिनलाई यमद्वितीया पनि भनिन्छ । दिदीबहिनीले दाजुभाइलाई टीका लगाएपछि दाजुभाइले पनि दिदीबहिनीलाई टीका लगाउने गरिन्छ । भाइटीकाको टीका आज दिनभर लगाउन कुनै बाधा नभए पनि साइत खोज्नेका लागि बिहान ११ स् ०२ बजेको रहेकाे छ । यस वर्ष भाइटीका लगाइदिने पूर्व र लगाइमाग्ने पश्चिम फर्कनुपर्ने समितिले जनाएको छ । यसो गरेमा वृश्चिक राशिमा रहेका उत्तरका चन्द्रमा दाहिने पर्नेछन् । शुभ कर्ममा चन्द्रमालाई अघि वा दाँहिने पार्नु पर्ने शास्त्रीय नियम छ ।

आज गोवर्धन पूजा गरिँदै

काठमाडाैं । कात्तिक शुक्ल प्रतिपदा एवं यमपञ्चक अर्थात् तिहारको चौँथो दिन आज गाई, गोरु र कृषकको पूजाआजा गरी मीठो खानेकुरा खान दिएर मनाइँदैछ । गाईलाई पवित्र मानी पूजा गर्ने वैदिक सनातन कालदेखिको विधि हो । गाईले दिने दूध आमाले खुवाएको दूध जत्तिकै पौष्टिक हुने भएकाले गाईलाई गौमाता भनी सम्मान गरिन्छ । स्थानीय जातका गाईमा हुने जुरोले सूर्य र चन्द्रमाबाट ऊर्जा लिई दूध, गहुँत र गोबरका माध्यमबाट मानिसमा शक्ति दिने भएकाले गाईको महत्व छ भनी आधुनिक विज्ञानले पनि प्रमाणित गरेको छ । गाईको पूजा गरी आजका दिन मीठा मीठा परिकार खान दिएमा गाईबाट पाइने शुद्धता सधैँ प्राप्त हुने धार्मिक विश्वास छ । आज गाई पूजा गरी साउन शुक्ल पूर्णिमाका दिनमा दाहिने हातमा बाँधिएको रक्षाबन्धन गाईको पुच्छरमा बाँधिदिएमा मृत्युपश्चात् गाईले स्वर्ग जानका लागि वैतरणी नदी तारिदिने धार्मिक विश्वाससमेत रहेको छ ।