धमाधम खाली हुँदैछन् काठमाडौंका घर, जताततै ‘टु लेट’का पोष्टर

काठमाडौं । सबैको सपनाको सहर हो काठमाडौं । देशका विभिन्न जिल्लाबाट काठमाडौंमा आएर व्यापार व्यवसाय र अध्ययन अध्यापन गर्ने रहेर अधिकांशको हुन्छ । त्यसैले पनि आवास तथा व्यापार व्यवसाय गर्नका लागि काठमाडौंमा भाडामा घर/कोठा पाउन सकस पर्छ । देशभरकै जिल्लाहरुबाट मानिसहरु काठमाडौं आउने भएको कारणले पनि काठमाडौंमा जनघनत्व बाक्लो छ । यो भीडमा सस्तोमा भाडामा बसेर व्यापार व्यवसाय गर्ने रहर सबेको हुन्छ । तर, त्यो रहर भने पुरा हुन धेरै प्रयत्न गर्नु पर्छ । तर, अहिले भने अवस्था फरक छ । काठमाडौं उपत्यकाका विभिन्न ठाउँमा ‘टु लेट’ सहितका पोष्टर तथा होडिङ बोर्डहरु जताततै भेटिन्छन् । काठमाडौं, ललितपुर र भक्तपुरका विभिन्न ठाउँमा आवास तथा व्यावसायिक प्रयोजनका लागि भनेर राखिएका ‘टु लेट’ पोष्टरहरु पछिल्लो समय बढेको देखिन्छ । अहिले ललितपुरको कुपन्डोलमा जताततै ‘टु लेट’ लेखिएका पोष्टरहरु भेटिन्छन् । विगतमा व्यवसायकि प्रयोजनका लागि भन्दै सटर नपाइने कुपन्डोलमा अहिले भने जताततै सटरहरु खाली भेटिन्छन् । विश्व महामारीका रुपमा फैलिएको कोरोना भाइरस (कोभिड–१९) को संक्रमण भित्रिएपछि देशको अर्थतन्त्र केही सुस्तायो । उद्योग व्यवसायहरु सुस्त भए । त्यो क्रम अझैं रोकिएको छैन । त्यसको प्रत्यक्ष असर काठमाडौं उपत्यकामा विभिन्न पेशा–व्यवसाय तथा रोजगारी गरेर बसेकाहरुलाई पनि परेको छ । लामो समयदेखि समस्या कायमै रहेपछि उपत्यकामा टिक्न गाह्रो भएको भन्दै अधिकांशले काठमाडौं छाडेर गाउँ फर्किए । कतिपयले गरेको सानोतिनो व्यापार व्यवसाय पनि छोडेर हिँडे । त्यसकारण पनि अधिकांश ठाउँका सटर तथा कोठा/फ्ल्याटहरु खाली भएको बुझिन्छ । अहिले हरेक चोक र टोलका घर र सटरमा ‘टु लेट’, ‘सटर भाडामा’, ‘कोठा भाडामा’ लेखेर टाँसिएका पोष्टरहरु भेटिन्छन् । केही भाडा रकम समेत खुलाइएको हुन्छ । आफ्नो गुजाराका लागि स–सानो व्यापार गर्नेहरु पनि भाडा तिर्न नसकेपछि सटर नै छोड्नु परेको बताउँछन् । काठमाडौंको कपनमा किराना पसल सञ्चालन गर्दै आएकी शारदा श्रेष्ठ दिन प्रतिदिन भाडा शुल्क बढ्दा समस्या भएको गुनासो गर्छिन् । विगत एक दशकदेखि किराना पसल सञ्चालन गर्दै आएकी उनले पछिल्लो समय ५ पटक सटर परिवर्तन गरिसकेकी छिन् । मैले सुरुमा मासिक ५ हजार रुपैयाँ सटर भाडा बुझाथेँ तर अहिले बढेर २५ हजार पुगिसकेको छ, अब त व्यापार नै गर्ने मन छैन, व्यापार भन्दा बढी सटर भाडा नै तिर्नु पर्छ,’ उनले भनिन् । उनी जस्ता सयौं साना व्यापारीहरुले भाडा तिर्नै नसकेर सटर नै छोडेर जाने गरेका छन् । अहिले व्यापारी मात्रै होइन भाडामा बस्नेहरु पनि गाउँ फर्किदा कोठा तथा फल्याट खाली भएका हुन् । सरकारले मंसिर ४ गतेका लागि प्रतिनिधिसभा र प्रदेशसभाको चुनाव गर्ने भनेपछि कतिपय घर फर्केका छन् । अधिकांश मानिसहरु प्रचारप्रसारका लागि एक महिना अगाडि नै गाउँ फर्केको बुझिएको छ । घरबहाल सरोकार महासंघका अध्यक्ष बलभद्र खनाल मान्छेको आर्थिक आय आर्जनको स्रोतमा संकुचन आएपछि छोडेर गइरहेको बताउँछन् । खनालका अनुसार घर भाडा अनियन्त्रित रुपमा बढेपछि कतिपय मानिसले खाली गरेर जाने गरेका छन् । ‘मान्छेसँग आर्थिक आयआर्जनको स्रोत छैन, घरबहाल अनियन्त्रित वृद्धि छ, बजारमा महँगी बढेको छ, कोभिडपछि मान्छे घर फर्कन थालेसँगै कोठा खाली हुँदै गएका हुन्,’ उनले भने । ‘पछिल्लो समय काठमाडौंमा लिभिङ रुम, बेड रुम, किचेनसहितको फ्ल्याट सिस्टमका घरहरू बढी बन्छन्, यी घरहरूमा एउटा वा दुई वटा कोठा मात्रै छुट्याएर भाडामा दिइँदैन, उपत्यका बाहिरबाट आएका सामान्य वर्गका मानिसले सिङ्गै फ्ल्याट लिन सक्दैनन्,’ उनी भन्छन्, ‘ पछिल्ला वर्षहरूमा फ्ल्याट नै भाडामा दिने प्रचलनले भाडामा बस्नेहरू पीडित बनेका छन् ।’ बहाललाई नीतिगत रूपमा नै राज्यले व्यवस्थापन गर्न नसिकेको खनालको भनाइ छ । हिजो ५ हजारमा भाडामा लगाएको कोठा आज ६/७ हजारमा लगाउन पनि टु लेट पर्चा राखेको हुन सक्ने खनालले बताए । बहालमा बस्दा सम्झौता अनिवार्य गर्नुपर्ने काठमाडौंभित्र घरबेटी र भाडावालबीच बहालमा लेनदेनको लिखित सम्झौता अनिवार्यको नियम लागू हुने भएको छ । काठमाडौं महानगरपालिकाले यसका लागि ‘बहाल व्यवस्था कार्यविधि’ को मस्यौदा तयार पारेको छ । महानगरपालिकाभित्र बस्ने तथा व्यवसाय गर्ने प्रयोजनका लागि संरचना, स्थान वा जग्गा वहाल वा लिजमा लिँदा दिँदा अनिवार्य सम्झौता गर्नुपर्ने भएको हो । यसरी गरिएको सम्झौताको एक/एक प्रति लिने दिनेले राख्ने र एक प्रति वडा कार्यालयमा बुझाउनु पर्ने काठमाडौं महानरपालिकाले बताएको छ । महानगरपालिका अुसार भाडा रकम वृद्धि कति र कसरी हुने, बिजुली, पानीको शुल्क कसले बुझाउने, वहाल कर कसले बुझाउने, मर्मत कसले गर्ने जस्ता विषय उल्लेख हुनु पर्नेछ । सम्झौतामा बहाल कर सम्बन्धी विषय उल्लेख गरिएन भने कर बुझाउने दायित्व बहालमा दिने पक्षको हुनेछ । कुनै कारणले विवाद देखिएमा मेलमिलापका माध्यमबाट समाधान गर्न सकियोस्, यही विषयमा मुद्दा मामिला गरेर समय खर्च गर्नु नपरोस् भन्ने लगायतका समस्याहरु समाधानका लागि कार्यविधि तयार गरिएको काठमाडौं महानगरपालिकाकी उपप्रमुख सुनिता डंगोलले बताइन् । बहालमा दिनेले आफूले दिएको स्थान निर्वाध उपयोग गर्न दिने, पानी, बिजुली र शौचालय अनिवार्य उपलब्ध गराउने, सुरक्षा, सुव्यवस्था र आत्मसम्माजनक व्यवहार गर्ने जस्ता प्रबन्ध मिलाउनु पर्नेछ । त्यसैगरी लिनेले समयमा बहाल रकम भुक्तानी गर्ने, आफ्नै ठानेर सुरक्षा र संरक्षण गर्ने, अरुलाई अशान्ति र हैरानी हुने काम नगर्ने जस्ता दायित्व निर्वाह गर्नुपर्ने व्यवस्था मस्यौदामा उल्लेख छ । कार्यविधि लागू हुनुअघि वहालमा लिने दिनेले व्यवस्था लागू भएको ९० दिनभित्र कार्यविधिबमोजिम सम्झौता गरेर लिने दिने वा बुझाउने गर्नुपर्ने महानगरपालिकाले जनाकारी दिएको छ । वहाल रकममा महानगरको आर्थिक ऐनमा भएअनुसार समयमा बुझाउनेलाई प्रोत्साहन र नबुझाउनेलाई जरिवाना हुने समेत महानगरपालिकाले चेतावनी दिएको छ ।

यूएईविरुद्धको खेलमा नेपालले सुरुआतमा बलिङ गर्दै

काठमाडौं । युएईविरुद्धको तेस्रो तथा अन्तिम एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेट सिरिजमा नेपालले सुरुआतमा बलिङ गर्ने निर्णय गरेको छ । कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा आज नेपालले टस जितेर पहिले बलिङ गर्ने निर्णय गरेको हो । नेपालको यस निर्णयसँगै युएईले सुरुआतमा ब्याटिङ गर्नेछ । नेपाल र युएईबीचको यस खेल निर्णायक खेलको रूपमा रहेको छ । तीन खेलको सिरिजअन्तर्गत नेपाल र युएईबीच १–१ को बराबरीमा रहेको छ । सिरिजको पहिलो खेलमा युएईले नेपाललाई ८४ रनले परजित गरेको थियो भने दोस्रो खेलमा नेपालले युएईलाई तीन विकेटले हराएको थियो ।

विश्वकप हेर्न कसरी भुक्तानी गर्ने ५ सय रुपैयाँ ?

काठमाडौं । नेपालमा विश्वकप फुटबल प्रसारणसम्बन्धी विवाद सर्वाेच्च अदालतले बुधबार टुंग्याएपछि नेपालीले पैसा तिरेर विश्वकप हेर्न पाउने भएका छन् । अब ५ सय रुपैयाँ तिरेर नेपालीले विश्वकप हेर्न पाउने भएका हुन । नेपालमा विश्वकप फुटबल प्रसारणको अधिकार खरिद गरेको मिडिया हबले बुधबार अदालतले थप शुल्क लिन पाउने गरी आदेश दिएपछि प्रसारणको तयारी थालिएको बताएको छ । मिडिया हबका अध्यक्ष सोमप्रसाद धिताल अदालतको आदेशपछि नेपालमा विश्वकप हेर्नका लागि रातदिन काम सुरु भएको बताउँछन् । ‘हामीसँग छोटो अवधि मात्र बाँकी छ, विश्वकप देखाउनका लागि आवश्यक कामहरु धेरै छन्, हामीले रातदिन नभनी काम गछौँ, ग्राहकले सुरुकै दिनदेखि थप शुल्कमा विश्वकप हेर्नपाउनुहुनेछ’, उनले भने, ‘नेपाली फुटबल प्रेमी ग्राहकले थप ५ सय शुल्क भुक्तानी गर्नुपर्याे त्यसमा हामी दुखी छौँ, तर उहाँहरुको फूटबल प्रतिको मोह हामी मार्न दिदौँनौँ, थप शूल्क लिनुपर्ने हाम्रो बाध्यता हो ।’ कसरी तिर्ने शुल्क ?  विश्वकप हेर्नका लागि ग्राहकले इन्टरनेट जडान गरिएको सेवाप्रदायक कम्पनीलाई थप शुल्ल भुक्तानी गर्नुपर्नेछ । ग्राहकले आफ्नो घरमा जुन केलवको सेटअप बस राखेको छ सोही केवल सेवा प्रदायक कम्पनीलाई थप ५ सय शुल्क तिुर्नपर्ने मिडिया हबले जनाएको छ । ‘जसरी तपाईंले इन्टरनेट र टेलिभिजनको शुल्क भुक्तानी गर्नुभएको छ, सोहीमा एड गरी अथवा प्याजेक अनुसार भुक्तानी गर्न पाइन्छ’, अध्यक्ष धितालले भने, ‘वार्षिक रुपमा भुक्तानी गर्ने ग्राहकको शुल्क प्याकेजमा नै राख्ने अधिकार सम्बन्धीत इन्टरनेट सेवा प्रदायक कम्पनीले गर्नेछ, कोहीले वार्षिक प्याकेजमा एड गर्नुहुन्छ, कोहीले नेटसँग जोडेर लिन सक्छन्, केबल, एनएसओ, डीटीएचको कम्पनीले आफ्नो तरीकाले थप ५ सय शुल्क लिनुहुनेछ ।’ उनका अनुसार मिडिया हबले भारतीय कम्पनी भायकमबाट प्रसारण अधिकार खरिद गर्न सम्झौता गरेको छ । भायकमबाट प्रसारण अधिकार लिन र विश्वकपको प्रचारप्रसार गर्नका लागि मात्रै मिडिया हबले ४१ करोड रुपैयाँ खर्च गरेको उनको भनाइ छ । उनका अनुसार विश्वकप फुटबल देखाउनका लागि ठूलो परिमाणमा खर्च लाग्ने भएपछि बाध्य भएर थप शुल्क लिनुपरेको हो । नेपालमा २० देखि २१ लाखसम्म टेलिभिजन सेटअप बक्सहरू रहेको र त्यसमध्ये १० देखि १२ लाख टेलिभिजन प्रयोगकर्ताहरूले विश्वकपको प्रत्यक्ष प्रसारण हेर्न सक्ने अनुमान मिडिया हबले गरेको छ । त्यसबापत १० लाख प्रयोगकर्ताहरूले मात्रै विश्वकप हेर्न शुल्क तिरे ५० करोडसम्म उठ्ने उक्त कम्पनीले प्रक्षेपण गरेको छ । मिडिया हबले ग्राहकबाट उठाएको थप ५ सय शुल्कमध्ये इन्टरनेट सेवा प्रदायक कम्पनीले ३० प्रतिशत रकम पाउनेछन् । ‘७० प्रतिशत मिडिया हबले र ३० प्रतिशत सम्बन्धीत कम्पनीले दिने गरी तयारी भएको छ तर यतिनै भन्ने यकिन भैसकेको छैन’, उनले भने, ‘७०–३० हुन्छ कि ६०–४० हुन्छ, फाइनल हुनबाँकी नै छ ।’ कतारको राजधानी दोहामा यही नोभेम्बर २१ देखि डिसेम्बर १८ तारिखको बीचमा विश्वकप फुटबल आयोजन हुनेछ ।