कस्तो छ हलमा प्रदर्शन भइरहेको ‘लाखे’ ?

काठमाडौं । शुक्रबारबाट फिल्म ‘लाखे’ प्रदर्शनरत छ । यसमा सौगात मल्ल, अनुप विक्रम शाही, आर्यन अधिकारी, सुशील सिटौला, प्रशान्त ताम्राकार, रोहित रुम्बा, अर्पण थापा, सिस्टम भण्डारी, बर्षा राउत लगायतका कलाकारहरूले अभिनय गरेका छन्। छायाङ्कन र द्वन्द्वको पक्षबाट प्रशंसा बटुलिरहेको फिल्मलाई सम्राट बस्नेतले निर्देशन गरेका हुन् । सिजन अर्यालले तयार गरेको कथा बद्लाको भावमा छ । समीर महर्जन (सौगात) एक बैंकमा म्यानेजर हुँदा बैंकिङ कसुरमा फसाइन्छ । त्यसले उनको श्रीमती सिमा (वर्षा) र छोरी सिमरन (सिस्टम)सँग अलग बनाउँछ । जेलमा समीरको भेट रकी (आर्यन) र मेटल (अनुप)सँग हुन्छ । त्यहीँबाट बैंक लुटेर आफूलाई फसाइएको बदला लिने योजना समीरले बनाउँछन् । यी दुईसँगै उनले ह्याकर प्रिन्स (सुशील) र अप्पा (रोहित)सँग बैंक लुटेर त्यहाँको पैसा एक जङ्गलमा लगेर काठमा लुकाउँछन् । नेपाल प्रहरीले यो अपराधी समाउन नसकेपछि सीआईबीका मनोज भण्डारी (अर्पण)लाई केस आउँछ । जनक अग्रवाल (प्रशान्त) को बैंकबाट लुटेको पैसा अचानक राखिएको ठाउँबाट हराउँछ । साथै, अप्पा पनि गायब भएपछि समीरले बुनेको योजनामा विभिन्न कठिनाइ आउँछ । के पैसा मनोजले लुकाए ? उनी जनककै सहयोगी हो ? वा समीरले नै नयाँ योजना बनाएका हुन ? लाखेसँग फिल्मको कथा कसरी जोडिएको छ ? यी सब प्रश्नको जवाफ फिल्म हेर्दा नै पाइन्छ । विशेषतः फिल्मको क्लाइमेक्स चर्चा भएको छ । हिमाली सुन्दरताको क्लाइमेक्स मनोरन्जक रहेको अभिनेता विनय श्रेष्ठले बताए । ‘फिल्म मेकिङमा निकै मेहनत गरिएको छ । सबै आ-आफ्नो भूमिकामा फिट छन’, विशेष शोमा फिल्म हेर्न आएका अभिनेता श्रेष्ठले भने, ‘यो प्रकारको द्वन्द्व कमै नेपाली फिल्ममा देख्न पाइन्छ । किनकि हामीलाई बजेट र प्रविधिले सहयोग गर्दैन ।’ फिल्म ‘लाखे’ का निर्देशक बस्नेतले आफू द्वन्द्व निर्देशक समेत रहेकाले यसमा प्रयास गरेको बताए । ‘विदेशी फिल्मको एक्सनमा लोभिने दर्शकलाई नेपाली प्रविधिबाटै केही देखाउन खोजेको छु । उहाँहरूको आकर्षण बढेमा हामीले मेकिङ अझैँ खर्च गर्न सक्छौँ’, निर्देशक बस्नेतले भने। करिब तीन करोड लगानीमा फिल्ममा सुसन प्रजापतिको छायाङ्कन, कविराज गहतराजको कोरियोग्राफी, अर्जुन जिसीको सम्पादन, आकाश बरालको पटकथा, अनुप न्यौपाने र आकाश बरालको संवाद लेखन छ । फिल्म नेपालभरका हलमा कात्तिक १८ देखि प्रदर्शन भइरहेको छ ।

सन्दीप लामिछानेलाई पुर्पक्षको लागि थुनामा पठाउन आदेश

फाइल फोटो काठमाडौं । क्रिकेटर सन्दीप लामिछानेलाई पुर्पक्षको लागि थुनामा पठाउन अदालत आदेश दिएको छ । १७ वर्षीया नाबालिगमाथि बलात्कार गरेको आरोप लागेका उनलाई पुर्पक्षको लागि थुनामा पठाउन अदालत आदेश दिएको हो । काठमाडौं जिल्ला अदालतमा न्यायाधीश माधवप्रसाद घिमिरेको इजलासले उनलाई पुर्पक्षको लागि थुनामा पठाउन आदेश दिएको हो । शुक्रबार दुबै पक्षको बहस सकिएको हो। बहस सकिएसँगै अदालतले आदेश दिएको हो। आज सरकारी वकिल कृष्णा भण्डारीले जवाफी बहस गरेकी थिइन्। बिहीबार प्रतिवादी लामिछानेको तर्फबाट ८ जना वकिलहरूले बहस गरेका थिए। चार जना वरिष्ठ अधिवक्ता र चार जना अधिवक्ताले बहस गरेका थिए ।

विश्वकप २०२२ : लागत २२० अर्ब डलर, फिफाले साढे ६ अर्ब डलर कमाउने, दर्शकका लागि महँगो

काठमाडौं । फिफा विश्वकप २०२२ नोभेम्बर २० बाट सुरु हुँदैछ । हरेक चार वर्षको अन्तरालमा हुने विश्वकप फुटबलको यो २२औँ संस्करण हो जुन एशियामा दोस्रो पटक आयोजना हुन लागेको हो । कतार विश्वकप फुटबल आयोजना गर्ने पहिलो अरब राष्ट्र हो भने एसियामा विश्वकप दोस्रो पटक हुन लागेको हो । २९ दिनसम्म चल्ने यस प्रतियोगितामा ३२ राष्ट्रको सहभागितामा कुल ६४ खेल हुनेछन् । जसमध्ये ४८ लिग खेल हुनेछन् । यहाँ राम्रो प्रदर्शन गर्ने १६ टोलीले अर्को चरणमा प्रवेश गर्नेछन्, जुन डिसेम्बर ३ देखि ७ सम्म प्रतिस्पर्धा चल्नेछ । सबै टोलीलाई आठ समूहमा विभाजन गरिएको छ र लिग खेलपछि प्रत्येक समूहमा पहिलो दुई स्थानको शीर्ष १६ राउण्ड र त्यसपछि आठ टोलीबीच क्वाटरफाइनल खेल हुनेछ। सेमिफाइनल खेलहरू डिसेम्बर १४ र १५ मा हुनेछ। सेमिफाइनलमा पराजित भएका दुवै टोली तेस्रो स्थानका लागि डिसेम्बर १७ मा भिड्नेछन् भने प्रतियोगिताको फाइनल खेल १८ डिसेम्बरमा हुनेछ । यस प्रतियोगितामा हुने ६४ खेल सातवटा रंगशालामा खेलाइनेछ । अहिलेसम्मकै महँगोविश्वकप आगामी नोभेम्बरबाट कतारमा हुन लागेको विश्वकप अहिले सम्मकै सर्वाधिक महँगो विश्व कपका रुपमा लिइएको छ । विश्वकपका लागि भैतिक संरचना निर्माणको काम सकिएको आयोजक राष्ट्रले जनाएको छ । यसभन्दा अगाडि रुसमा सम्पन्न विश्वकपको तुलनामा कतारमा हुन लागेको विश्वकपमा २० गुणा बढी खर्च भएको छ । रसियामा भएको विश्वकपमा १४.२ अर्ब डलर खर्च भएको थियो भने कतारमा हुन लागेको विश्वकपमा २२० बिलियन डलर खर्च हुने भएको छ । कतारले नयाँ स्टेडियम निर्माणका लागि मात्रै १० बिलियन डलर खर्च गरेको छ । यस्तै, सन् २०१४ मा ब्राजिलमा भएको विश्वकपमा ११.६ अर्ब डलर, सन् २०१० मा साउथ अफ्रिकामा भएको विश्वकपमा ३.६ अर्ब डलर, सन् २००६ मा जमर्नमा भएको खेलमा ४.६ अर्ब डलर र सन् २००२ मा दक्षिण कोरियामा भएको खेलमा कुल ७ अर्ब डलर खर्च भएको थियो । यस्तै, सन् १९९८ मा फ्रान्समा भएको विश्वकपमा २.३३ अर्ब डलर, सन् १९९४ मा अमेरिकामा भएको खेलमा ५० करोड डलर र सन् १९९० इटालीमा भएको विश्वकपमा ४ अर्ब डलर खर्च भएको थियो । सबै देशको भएको विश्वकपको तुलनामा २०२२ मा कतारमा हुने विश्वकप सबैभन्दा महँगो हुने देखिएको हो । एअर कन्डिसन युक्त रंगशाला विगतमा फिफाले प्रायःजसो जुन वा जुलाई महिनामा विश्वकपको आयोजना गर्ने गर्दथ्यो । कतारमा हुन लागेको विश्वकप भने नोभेम्बर २० बाट सुरु हुने भएको हो । विश्वकपका लागि ८ वटा रंगशाला निर्माण भएका छन् । मौसमलाई ख्याल गरेर विश्वकप खेलाउनका लागि निर्माण गरिएका रंगशालाहरुलाई एअर कन्डिसनयुक्त बनाइएको छ । यसरी पुरै रंगशालामा एअर कन्डिसन जडान गरिएको यो पहिलोपटक हो । फुटबलका फ्यानहरुलाई पनि महँगो कतारमा विश्कप हेर्न जान चाहने फ्यानहरुले टिकट, बसाई र जहाज भाडाको लागि झण्डै २० हजार डलर खर्च गर्नुपर्ने भएको छ । जसले गर्दा थोरै खर्च गरेर विश्वकप हेर्न जान चाहेका फ्यानहरुलाई निराश बनाएको छ । स्थानीय मानिसको लागि टिकटमा छुटको व्यवस्था गरिएको छ । तर, बाहिरी दशर्कहरुको लागि भने स्टेज टिकट कम्तिमा ७० देखि २२० डलर र नकआउट म्याचेच टिकट ६०० देखि १६०० डलर लाग्ने बताइएको छ । ८० प्रतिशत कोठा बुुक विश्वकपका दर्शकहरुका लागि कोठा उपलब्ध गराउनुु जुनसुकै विश्वककप आयोजक देशका लागि चुनौतीपूर्ण विषय हो । कतारमा रहेको कुल होटलमध्ये हालसम्म ८० प्रतिशत होटल बुक भइसकेको बुझिएको छ । कतारको अर्थतन्त्रमा सघाउ आयोजक राष्ट्रले विश्वकप स्वतः खेल्न पाउँछ । विश्वकप खेल्न आयोजक राष्ट्र स्वत छनोट त हुन्छ, तर त्यसका लागि पूर्वाधार तथा व्यवस्थापनका लागि ठूलो लगानी गरेको हुन्छ । जसका कारण आयोजक देशको राष्ट्रिय अर्थतन्त्र चलायमान हुने गरेको छ । कतारले विश्वकप आयोजनाबाट २० अर्ब बढी डलरको आर्थिक वृद्धि हुने अनुमान गरेको छ । विश्वकप आयोजनाका लागि देशहरूले फिफा समक्ष आवेदन दिनुपर्छ जसमा फिफाले कर छुटको सुविधा पनि अपेक्षा राख्छ । फिफाले साढे ६ अर्ब डलर कमाउने फिफाले २०२२ को विश्वकपबाट ६.५ अर्ब डलर कमाउने अनुमान गरेको छ । २०१८ को विश्वकपबाट फिफाले करिब ५.२ अर्ब डलर आम्दानी गरेको थियो भने सन् २०१४ मा ४.८ अर्ब डलर आम्दानी गरेको थियो । यस्तै, फिफाले २०१० मा ४.२ अर्ब डलर, सन् २००६ मा २.६ अर्ब डलर र सन् २००२ मा १.६ अर्ब डलर आम्दानी गरेको थियो ।