साँच्चै, केटी मान्छे लोभी हुन्छन्
यो सृष्टि उस्तो हो कि मेरो दृष्टि उस्तो हो । तर जे भन्छु देखेको भन्छु, भोगेको भन्छु अनि गरेको भन्छु । यो लेख्दै जाँदा पक्कै पनि मेरा हातले रोक्किने बाहाना खोज्लान् तर म सत्य लेख्न डगमगाउने भने छैन । शीर्षक हेरेरै बुझिसक्नुभयो होला भन्न खोजेको के हो भनेर । यो लेख्ने म स्वयम् पनि छोरी मान्छे हुँ । जन्मदैमा छोरी मान्छेले धेरै कुरा बोकेर आउने मौका पाउँछन् । जस्तै किः शङ्कालुपन, ईष्या, डाहा, नक्कल, लोभ आदि ईत्यादि । पश्चिमाको छोरीहरूको त थाहा भएन तर नेपाली छोरीहरूमा यो लोभ नामक तत्व भरिभराउ हुने गर्छ । महिलाको मुटुको तौल पुरुषको तुलनामा ५० देखि १०० ग्रामसम्म कम हुन्छ । तर महिलाको मुटुमा पुरूषको भन्दा ५० देखि १०० ग्राम लोभ बढि हुने गर्छ । मेरी आमा मेरा बाबाभन्दा लोभी हुनुहुन्छ । म आफै पनि मेरो दाजु भन्दा लोभी छु । एक प्रेमिका आफ्नो प्रेमीभन्दा लोभी हुन्छिन् । मावली जाँदा याद गर्नुभएको छ ? मामाभन्दा माइजू नै लोभी लाग्छ । दाजुभन्दा भाउजू लोभी । भाइभन्दा बुहारी लोभी । खासमा नेपाली समाजमा छोरी मान्छे लोभी हुन्छन् भन्ने कुरा ध्रुवसत्य जस्तै बनिसक्यो । महिला लोभी हुन्छन् भन्ने शीर्षक मात्रै बिकिरह्यो । तर किन ? र के का लागि ? लोभी हुन्छन् भन्ने कुराबारे कमैले मात्र विश्लेषण गरे । चेलिबेटीलाई वर्ष दिनमा माइती पुग्दा भएभरको पोको पारेर ल्याउ झै लाग्छ । माइतीकि भाउजू-बुहारीले गरगहना लगाए दाजुभाइले आफुलाई पनि दिए हुन्थ्यो भन्ने लोभ लाग्छ । खासमा लोभ हुनु राम्रो हो । इर्ष्या गर्नु चाहिँ गलत हो । लोभ भनेको आफ्नो बचाउनु हो, बचत हो । तर इर्ष्या भनेको अरूको नबचोस् भन्नू हो । छोरी मान्छेहरू लोभी होइनन् बचत गर्ने स्वभावका हुन् । हो एक महिला पुरूषको तुलनामा निकै लोभी हुन्छिन् । महिलाहरू घरको ईज्जत्, सम्मान, धन अनि भविष्यको लागि लोभी हुने गर्छन् । एउटी आमालाई, कसैले दिएको कुनै सामान वा खानेकुरा धेरै दिए हुन्थ्यो भन्ने कुराको लोभ लाग्छ ताकि घरका अरूको लागि पनि ल्याउन सकु । बाख्राको दाम्ला किन्ने लोभले आफ्नो पुरानो भएको फरिया च्यात्छिन् । सन्तानलाई संसार देखाउन पेट च्यात्छिन्, जवानी च्यात्छिन् । आमाहरू निकै लोभी हुने गर्छन् । पुराना साडीहरू फ्याक्दैनन् बरू त्यसैको डसना बनाउछन् । चुहिने बोतल काटेर गमला बनाउछन् । बढी भएका फल फ्याक्नुपर्ने तर उनी तिनै फलको अचार बनाउछिन् । हर्लिक्स सक्किएको बट्टा मिल्काउनुपर्ने तर उनी तिनैमा मह, घिउ अनि अचार राख्छिन् । साच्चै छोरी मान्छे लोभी हुन्छन् । र, मलाई लोभी हुन मनपर्छ । (गण्डकी, गोरखा)
च्यासलका १९ खेलाडीमा कोरोना सङ्क्रमण
काठमाडाैं । च्यासल युथ क्लबका १९ खेलाडीमा कोरोना सङ्क्रमण पुष्टि भएको छ । खेलाडीमा कोरोना देखिएसँगै आज हुने भनिएको शहीद स्मारक ‘ए’ डिभिजन लिगअन्तर्गतको नेपाल पुलिस क्लब र च्यासलबीचको खेल स्थगित भएको छ । च्यासलले आफ्ना १९ खेलाडीमा कोरोना देखिएपछि पुलिसविरुद्धको खेल स्थगित गर्न अखिल नेपाल फुटबल सङ्घ (एन्फा)सँग प्रस्ताव गरेको थियो । सोही प्रस्तावका आधारमा एन्फा लिग कमिटीले मेडिकल कमिटीसँग सल्लाह गरी खेल स्थगितको निर्णय गरेको हो । यसअघि च्यासल र पुलिसबीचको खेल आज दिउँसो ४ः४५ बजे हुने तय भएको थियो । सो खेलको नयाँ मिति चाँडै तय गरिने एन्फाले जनाएको छ । लिगअन्तर्गत नवौं चरणको अन्तिम खेल जावालखेल युथ क्लब र एनआरटीबीच पूर्वनिर्धारित समयअनुसार नै हुने छ । पुलिस आठ खेलबाट सात अङ्क जोड्दै ११औँ स्थानमा तथा सात खेल नै खेलको च्यासल पाँच अङ्कका साथ १३औँ स्थानमा छ ।
भारतबाट साढे १८ सय टन कन्दमुल आयात, २५ करोड बढीकाे काराेबार हुने आशा
काठमाडौं । कालीमाटी तरकारी तथा फलफूल बजारमा माघेसंक्रान्तिका लागि साढे १८ सय टन कन्दमुल भित्रिएको छ । पुस महिनामा मात्रै माघेसंक्रान्तिमा उपभोग हुने कन्दमुल (तरुल, सखरखण्ड र पिँडालु) १८ सय ४२ टन कालीमाटी तरकारी बजारमा भित्रिएको हो । गत वर्षको तुलनामा यस वर्ष कन्दमुलको आयात बढी भएको कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिका सूचना अधिकारी विनय श्रेष्ठले जानकारी दिए । उनका अनुसार माघेसंक्रान्तिका लागि गत वर्षको पुस महिनामा १५८१ टन कन्दमुल तरकारी बजारमा भित्रिएको थियो । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिको तथ्यांक अनुसार यस वर्ष १८ सय ४२ टन कन्दमुल मध्ये १३ सय १९ टन तरुल भित्रिएको छ । भित्रिएको तरुलमध्ये ९० प्रतिशत स्वदेशी र बाँकी १० प्रतिशत भारतबाट आयात भएको छ । यस्तै, २९६ टन पिँडालु र २२६ टन सखरखण्ड कालीमाटी बजारमा भित्रिएको छ । भित्रिएको पिँडालु सबै स्वदेशी र ५१ प्रतिशतभन्दा बढी सखरखण्ड भारतबाट आयात गरिएको हो । तथ्यांक अनुसार पिँडालुमा देश आत्मनिर्भर भएतापनि तरुल र सखरखण्डामा देश अझै आत्मभिर्नर हुन सकेको छैन् । सूचना अधिकारी श्रेष्ठका अनुसार अन्य वर्षको तुलनमा यस वर्ष पनि स्वेदशी पिँडालुनै कालीमाटी भित्रिएको छ । पिँडालुमा देश आत्मनिर्भर भएतापनि केही मात्रामा तरुल र पूर्ण रुपमा सखरखण्डका लागि नेपाल भारतमै निर्भर हुनुपरेको छ । ‘केही वर्ष अगाडीसम्म काठमाडौं उपत्यकामा भित्रिएका तरकारीहरु कालीमाटी तरकारी बजारमा आएपछि मात्र अन्य बजारमा पठाइन्थ्यो, तर अहिले सबै बजारमा जाने हुँदा कन्दमुलको आयात बढेको होला, अन्य बजारको तुलनामा कालीमाटीमा नै धेरै आयात हुने हुँदा हामीले आयात बढेको भन्ने गरेका हौं, उनले भने । उनका अनुसार बारा, चितवन, धादिङ, दोलखा, गोरखा, झापा, काभ्रे, मकवानपुर, नवलपरासी, मोरङ, सर्लाही, सिन्धुली लगायतका जिल्लामा मुख्त तरुल/पिँडालु उत्पादन हुन्छ । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिको तथ्यांक अनुसार गत वर्षको तुलनामा मूल्य सामान्य घटेको छ । गत वर्ष यहीं समयमा प्रतिकिलो ५९.२८ रुपैयाँ पर्ने तरुल अहिले प्रतिकिलो ६० रुपैयाँमा बिक्री भएको छ । गत वर्ष प्रतिकिलो ५१.१६ रुपैयाँ पर्ने पिँडालु घटेर ४५ र सखरखण्ड ६९.४३ रुपैयाँबाट घटेर ६५ रुपैयाँमा कारोबार भइरहेको समितिले जनाएको छ । यद्यपि, माग बढ्न थालेपछि मूल्य थप बढ्न सक्ने समितिले जनाएको छ । काठमाडौं उपत्यकामा तरकारी माग मध्ये कालीमाटी तरकारी बजारले उपत्यकाको ७० प्रतिशत माग धान्छ भने बाँकी ३० प्रतिशत बल्खु तरकारी बजारले पूर्ति गर्दै आएको छ । यस वर्षको माघेसंक्रान्तिमा काठमाडौं उपत्यकामा मात्रै २५ करोड बढीको कन्दमुलको कारोबार हुने अनुमान व्यवसायीले गरेका छन् ।