विनोद चौधरीको आत्मकथा मंगोलियन भाषामा
काठमाडौं । चौधरी ग्रुपका अध्यक्ष एवं ख्यातिप्राप्त उद्योगपति विनोद चौधरीको आत्मकथा अंग्रेजी संस्करण ‘मेकिङ्ग इट बिग’ मंगोलियन भाषामा प्रकाशित भएको छ । यसअघि चौधरीको आत्मकथा नेपाली, अंग्रेजी, हिन्दी, सर्वियन, रसियन भाषामा प्रकाशित भईसकेको छ । नेपालमा बेस्ट सेलर रहेको चौधरीको आत्मकथा अंग्रेजी भाषाका पाठकले पनि निकै मन पराएका छन् । विश्वव्यापी पाठकका लागि अमेजनमा समेत यो पुस्तक उपलब्ध रहेको छ । नेपाली पाठकका लागि देशभरका अधिकांश पुस्तक पसलमा यो पुस्तक उपलब्ध रहेको छ भने किताब यात्रामार्फत अनलाईन अर्डर गर्न सकिने व्यवस्था छ । मंगोलियन भाषाका पाठकहरूका लागि आफ्नो आत्मकथा सार्वजनिक गर्न पाएकोमा लेखक चौधरीले खुसी भएको बताए । मंगोलियन भाषाको पुस्तक सार्वजनिक गर्दै चौधरीले कथा वा विषयवस्तु जेसुकै भएपनि आम पाठकसम्म नपुगेसम्म त्यसको अर्थ नहुने उनी बताउँछन् । चौधरी नेपाली कांग्रेसको केन्द्रीय सदस्यका रुपमा पछिल्लो समय राजनीतिमा सक्रिय छन् ।
फुङ्लिङमा आगलागीबाट ६९ लाख बराबरकाे क्षति
ताप्लेजुङ । ताप्लेजुङको सदरमुकाम फुङ्लिङ नगरपालिका–४ कोप्चे टोलमा शुक्रबार भएको आगलागीमा परी ६९ लाख ३० हजार रुपैयाँ बराबर धनमाल क्षति भएको छ । ताप्लेजुङ नेपाल रेडक्रस सोसाइटीका अनुसार आगलागीमा परी उक्त रकम बराबरको धनमाल क्षति हुनाका साथै एक महिलाको मृत्यु भएको र दुई घरका परिवार विस्थापित हुन पुगेको रेडक्रसका प्रतिनिधि अर्जुन कार्कीले बताए । शुक्रबार बिहान ८ः३० बजेतिर आगलागी भएको थियो । फुङ्लिङ नगरपालिकाको दमकल प्रयोग गर्नाका साथै नेपाल प्रहरी, सशस्त्र प्रहरी, नेपाली सेना र स्थानीयवासीको सहयोगमा आगो डेढ घण्टापछि निभाइएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।
मन्त्री आलेद्वारा सहयोग
काठमाडाैं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेमबहादुर आलेले डोटीका दुई बिरामीको उपचारका लागि ३० हजार रुपैयाँ आर्थिक सहयोग प्रदान गरेका छन् ।उनले डोटीको सायल गाउँपालिका–५ घोघातलकी ४८ वर्षीया कृष्णादेवी साउद तथा डोटीकै दिपायल सिलगढी नगरपालिका–९ कलेनाका ४८ वर्षीय इन्द्रबहादुर साउदको उपचारका लागि सो सहयोग प्रदान गरेका हुन् । फागुन ३ गते माटोको ढिस्कोले पुरिएर मेरुदण्डको तीन ठाउँमा भाचिएर राष्ट्रिय ट्रमा सेन्टर काठमाडौँमा उपचार गराइ रहेकी कृष्णदेवीको अवस्था बुझ्न मन्त्री आले ट्रमा सेन्टरमा पुगेर उपचारका लागि आफ्नो व्यक्तिगततर्फबाट १५ हजार प्रदान गरेका हुन् । यसैगरी खुट्टामा एक्टिनो माइकोसिस (ढुसी) नामक सङ्क्रमणको समस्या देखिएर राष्ट्रिय ट्रमा सेन्टरमै पुगेका ४८ वर्षीय इन्द्रबहादुरलाई पनि उपचारका लागि मन्त्री आलेले रु १५ हजार आर्थिक सहयोग प्रदान गरे । साउदको करिब १२ वर्ष पहिले दायाँ खुट्टामा चोट लागेको र अहिले आएर उक्त चोटकै कारण दाहिने खुट्टामा एक्टिनो माइकोसिस नामक सङ्क्रमण देखिएको र खुट्टा नै काट्नुपर्ने अवस्था देखिएको राष्ट्रिय ट्रमा सेन्टरका चिकित्सकले जानकारी दिएका छन् । मन्त्री आलेले हाललाई दुवै बिरामीको चेक जाँचका लागि भन्दै केही उपचार सहयोग दिएको र बिरामीको थप उपचारका लागि आफूले पहल गर्ने वचनबद्धता व्यक्त गरेकाे उनको सचिवालयले जनाएको छ । मन्त्री आलेले हालसम्म सुदूरपश्चिम र मध्यपश्चिमका गरी कम्तीमा पनि एक हजारभन्दा बढी बिरामीलाई उपचारका लागि आफ्नो व्यक्तिगततर्फबाट आर्थिक सहयोग प्रदान गरी सकेकाे उनका स्वकीय अधिकृत भक्तबहादुर साउदले जानकारी दिए ।