पशुपति क्षेत्र विकास कोषले आफ्नो क्षेत्रभित्र अनधिकृत रुपमा रहेका अस्थायी टहराहरु हटाउने

काठमाडौं । पशुपति क्षेत्र विकास कोषले आफ्नो क्षेत्रभित्र अनधिकृत रुपमा संचालनमा रहेका अस्थायी टहराहरु हटाउने भएको छ । पशुपति क्षेत्र विकास कोषका प्रवक्ता रेवतीरमण अधिकारीले कोषको ऐन, कानुन र निर्णयबाहेक अनधिकृत रुपमा बनाइएका अस्थायी टहराहरु हटाउने निर्णय कार्यान्वयन गर्न लागिएको जानकारी दिए । उनले फूल, प्रसादी लगायतको व्यवस्थापनका लागि स्थायी संरचना बनेकाले अस्थायी खालका टहराहरु हटाउन लागिएको स्पष्ट पारे । प्रवक्ता अधिकारीले भने, ‘पशुपति क्षेत्रको आफनै ऐन, कानुन छ । त्यस अनुसार कुन ठाउँमा केलाई व्यवस्थित गर्ने, कुन ठाउँमा दर्शनार्थीलाई के सुविधा दिने भन्ने कुरा हाम्रो पोलिसी अन्तरगत त्यहाँ पशुपतिनाथको मन्दिरमा दर्शन गर्न जाने दर्शनार्थीहरुका लागि फूलप्रसाद, त्यहाँ चढाउने मालाहरुको लागि केही पसलहरुको व्यवस्थापन गरेका छौं । त्यसबाहेक अन्यत्र जस्तो जथाभावी पसल खोल्ने हाम्रो नीति होईन । छैन र हुनु पनि हुँदैन । केही अरुनि पसलहरु राखिएको थियो । व्यवस्थित ठाउँ बनाएरपछि ती टहराहरुलाई हटाउन लागिएको हो ।’ कोषले पशुपतिनाथ मन्दिर दर्शनका लागि जाने दर्शनार्थीहरुका लागि आवश्यक फूलमाला, प्रसादी, चिनोलगायतका व्यवस्था स्थायी संरचना बनाएर व्यवस्था गरेको जनाएको छ । कोषका प्रवक्ता अधिकारीले दर्शनार्थीहरुको दर्शनका लागि आवश्यक पूजा सामग्रीलगायतका धार्मिक सामग्री पर्याप्त मात्रामा रहेको बताए ।

भारतमा ६.१ म्याग्निच्युडको भूकम्प

काठमाडाैं । भारतमा ६.१ म्याग्निच्युडको भूकम्प आएको छ । देशको दक्षिण–पूर्वी क्षेत्रमा केन्द्रविन्दु भएर भूकम्प आएको अमेरिकी भौगर्भिक सर्वेक्षणले जनाएको छ । स्थानीय समयानुसार शुक्रबार राति भूकम्प आएको हो । भूकम्पका बारेमा थप विवरण र त्यसले पारेको असरसम्बन्धी विवरण भने आउन बाँकी नै रहेको अधिकारीहरूले जनाएका छन् ।

एक दशक बढी विदेशको बसाईंपछि स्वदेश फर्केर कृषिमा लागेका म्यादेली यूवाको कथा

सांकेतिक तस्वीर गलेश्वर । दश वर्षको जापान बसाइलाई बीट मारेर आफ्नै देशमा फर्किएका म्याग्दीको मङ्गला गाउँपालिकाका कृष्ण पौडेल, १६ वर्ष मलेशिया बसेर गाउँ फर्किएका बेनी नगरपालिका २ का धु्रव थापा, लामो समय कोरियामा रोजगारी गर्नुभएका डडुवाका कृष्ण बानियाँ स्वदेश फर्केर व्यावसायिक कृषिमा लागेका छन् । लामो समयसम्म विदेशमा काम गरी कमाएको पैसा गाउँमा नै कृषि क्षेत्रमा लगानी गरेर मनग्य आम्दानी गर्न म्याग्देली युवाहरु सफल भएका छन् । विदेशबाट फर्केका युवाहरु आधुनिक प्रविधि र साधन स्रोतको प्रयोग गरी व्यावसायिक रुपमा नै कृषिमा लागेपछि गाउँमा रहेका युवाहरु पनि कृषि पेशाप्रति आकर्षित भएका छन् । जिल्लाका बेनी नगरपालिका सहित ६ वटै स्थानीय तहहरुमा पछिल्लो समय व्यावसायिक कृषि फस्टाउँदै गएको स्थानीय तहका कृषि प्राविधिकहरुले बताएका छन् । विगत दुईवर्ष यता म्याग्दीमा २८ जना युवाहरु विदेशबाट फर्केर व्यावसायिक कृषिमा लागेका छन् । ती मध्येका एक हुन् मङ्गला गाउँपालिकाका कृष्ण पौडेल । जापानमा १० वर्ष विताएका मङ्गला गाउँपालिका– २ तल्लो डडुवाका युवा पौडेलले व्यावसायिक रुपमा कृषि तथा पशुपालन गरेका छन् । परम्परागत शैलीको खेती र पशुपालनलाई विस्थापित गर्दै लकडाउनको समयमा कृषि र पशुपालनलाई व्यावसायिक आम्दानीको स्रोतको रुपमा अघि बढाएका हुन् । टिकेवी बहुउद्देश्यीय पशुपालन तथा कृषि फार्मबाट मकै, कोदो खेती रहेको बारीलाई विस्थापित गरेर चारसय सुन्तला लगाएका छन् भने करिव दुईसय बोटबाट यस वर्ष दाना उत्पादन भएको कृषक पौडेलले बताए । गतवर्ष उत्पादन भएका सुन्तला काठमाण्डौँ पु¥याएका कृषक पौडेलले यस वर्ष उत्पादन भएका सुन्तला पोखरा पु¥याउन व्यापारी घरमै आएपछि कृषक पौडेल खुशी छन् । गत वर्ष सुन्तला खेतीबाट करिव एकलाख आम्दानी गरेका पौडेलको यस वर्ष आम्दानी बढ्ने अनुमान छ । सुन्तला उत्पादन वर्षैपिच्छे नयाँ बोटहरुमा फल्र्दै गएपछि आम्दानी पनि बढेको छ । मकै कोदो लगायतको खेतीलाई विस्थापित गरेर सुन्तलासँगै गोलभेँडा, बन्दाकाउली लगायतको तरकारी खेतीबाट मात्रै मासिक रुपमा रु १५ हजार भन्दा बढी आम्दानी गरेका छन् । पौडेलले फलफूल तथा तरकारी खेतीलाई आवश्यक फलका लागि व्यावसायिक रुपमा उन्नत जातका बाख्रापालन गरेका छन् । करिव २० लाख लगानीमा विगत २ वर्षदेखि ४० वटा उन्नतजातका बोयर र स्थानीय बाख्रा पालन गरेको उनले बताए । क्रस बोयर पाठापाठी उत्पादन गरेर बिक्री गर्ने योजनासहित आधुनिक किसिमको खोर निर्माण गरेको कृषक पौडेलको भनाइ रहेको छ । उनकाे व्यावसायिक कृषि तथा पशु फार्मलाई ब्यवस्थित गर्न मङ्गला गाउँपालिकाले रु २ लाख सहयोग गरेको छ भने भेटेरीनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्रबाट घाँस काट्ने उपकरण अनुदान पाएका छन् । पौडेलले एकजनालाई रोजगारी दिएका छन् भने बुवा तेजराज र आमा टीकाकुमारी पौडेलले पनि सहयोग गरेका छन् । स्थानीय सरकारले घर नजिक कृषि सडक पु¥याएपछि कृषकले उत्पादन गरेको तरकारी तथा फलफूल र खशी बोका बिक्रीका लागि बजार पठाउन सहज भएको छ । त्यसैगरी बेनी नगरपालिका २ ज्यामरुककोटका धु्रब थापाले पनि १६ वर्ष मलेशियामा बसेर गाउँ फर्केपछि गरेको व्यावसायिक तरकारी खेतीले उनको जीवनमा हरियाली फर्काएको छ । तरकारी बेचेर मात्रै मासिक ५० हजार भन्दा बढी आम्दानी गर्दै आएका थापाले करिब ७ रोपनी बारीमा मौसमी र बेमौसमी प्रजातिका विभिन्न तरकारीहरु लगाएका छन् । रासस