लमजुङको गाउँमा सूचना पाउन अझै कटुवालकै भर

  लमजुङ । लमजुङको गाउँ गाउँमा प्रायःजसो सबैको हात हातमा मोबाइल सेट छ । यसमा इन्टरनेटका माध्यमबाट संसारभरीको खबर प्राप्त गर्ने गरे पनि क्व्होलासोथर गाउँपालिका–८ घाम्राङ गाउँ, घिचे, घाम्राङबेँसी, साल्मेलगायतका गाउँमा स्थानीयवासीले आफ्नै गाउँको खबर प्राप्त गर्न कटुवालको भर पर्नुपर्छ । यहाँ अझै कटुवालकै भरमा सूचना दिने चलन कायम छ । घाम्राङ गाउँका दिनबहादुर गुरुङले जब गाउँपारिको डाँडामा उभिएर ठूलो स्वरमा उर्दी जारी गर्न थाल्छन्, सबै गाउँलेले आफूले गर्दै गरेको काम रोकेर कान टाडो पार्दै ध्यानपूर्वक सुन्न थाल्छन् । कटुवाल गुरुङले डाँडाबाट आफ्ना गाउँमा हुन लागेका वा हुनेवाला नयाँ सूचना वा खबर सुनाउँछन् । प्रविधिको माध्यमबाट सूचना दिने क्रम बढे पनि यहाँका बासिन्दालाई सामूहिक रुपमा सूचना खबर गर्न अहिले पनि घाम्राङ गाउँमा कटुवाल प्रथा कायमै छ । गाउँमा हुने विभिन्न भेला, कार्यक्रम तथा बैठक, विवाहलगायत काममा स्थानीयवासीलाई सहभागी गराउन कटुवालले नै खबर गर्छन् । गाउँको रीतिथितीअनुसार असिना बार्ने, बीउ बार्नेदेखि विकास निर्माणका काममा काम गराउन, सामुदायिक वनको गोडमेल, खानेपानीको मर्मतसम्हार, दाउरा काट्ने, दुःख–बिमारमा सघाउने, गाईभैँसी लेकमा लैजानेलगायत कामका लागि पनि कटुवालले नै गाउँलेलाई खबर गर्दै आएको वडा सदस्य खमाया गुरुङले बताए । ‘गाउँभरिको खबर गर्ने आधिकारिक व्यक्ति कटुवाल नै हो । यस वडा कार्यालयबाट गर्ने कार्यक्रमदेखि गाउँमा हुने सबैजसो कामको खबर गर्ने जिम्मा कटुवालको रहेको छ’, उनले भने । घाम्राङ गाउँका गमप्रसाद गुरुङले भने, ‘विश्वभरका समाचार तथा विभिन्न खबर प्राप्त गरे पनि गाउँका समाचार तथा खबर भने कटुवाल कराएपछि मात्र थाहा पाउने गरेको छु ।’ अन्य स्थानीयवासीले पनि यसरी नै गाउँका खबर कटुवालमार्फत पाउने गरेका उनको भनाइ छ । वडासदस्य गुरुङ वडा कार्यालय बाहेक गाउँका खबर कटुवालमार्फत जानकारी प्राप्त गर्ने गरेको बताउँछन् । ‘यहाँ वर्षौँं पहिलादेखि कटुवालको चलन थियो, यसलाई निरन्तरता दिन म कटुवाल बन्नुपरेको हो’, उनले भने । कटुवाल कराएबापत गुरुङले गाउँलेबाट सामूहिक रुपमा वार्षिक पाँच मुरी धान र एक मुरी कोदो प्राप्त गर्छन् । बर्सेनि गाउँमा थितिसभा बस्ने र सोही सभाले निर्णय गरेपछि मात्रै अन्नपात उठाइने चलन छ । काम परेको बेला कटुवाल कराउने तर अन्य समयमा उनले खेतीपाती गर्दै परिवार धान्दै आएका छन् । कटुवालको जिम्मेवारीमा आउने अन्न, आफूले उब्जाउने अन्न र मेलापात गरेर गुरुङले आउने नगद आम्दानीले परिवारको गुजारा चलाउँदै आएका छन् । यहाँ चलन कायम रहेकाले यसलाई बचाउनका लागि कटुवालको महत्व तथा संरक्षण आवश्यक रहेको छ । कसदरमुकामस्थित बेँसीसहर नगरपालिका–१० खासुर गाउँका स्थानीयवासी पनि गाउँको समाचार प्राप्त गर्न कटुवालको भरपर्दै आएका छन् । स्थानीय दूधप्रसाद घलेका अनुसार टोल टोलमै पुगेर कटुवाले कराएर गाउँलेले सूचना प्रदान गर्दै आएका छन् । सो गाउँका गाउँबेँसी, लेतेफाँट, कल्लेरी र डाँडागाउँमा यसरी सूचना दिने चलन छ । स्थानीय कालु दमाइ करिब २० वर्षदेखि यसरी नै उक्त टोलमा पुगेर कराएर सूचना दिँदै आएका छन् । यसरी कराएबापत उनले वर्षमा धान, मकै, कोदोलगायत अन्नबाली गाउँलेबाट उठाउने गरेका छन् । रासस

एसीसी प्रिमियर कप : मलेसियाद्वारा नेपालसामु २३६ रनको लक्ष्य

काठमाडौं । काठमाडौंमा आजदेखि सुरु भएको एसीसी प्रिमियर कपमा मलेसियाले नेपालसामु जितका लागि दुई सय ३६ रनको लक्ष्य प्रस्तुत गरेको छ । कीर्तिपुरथित त्रिभुवन विश्वविद्यालयको क्रिकेट मैदानमा समूह ‘ए’को खेलमा टस जितेर पहिला ब्याटिङ रोजेको मलेसियाले निर्धारित ५० ओभरमा नौ विकेट गुमाएर दुई ३५ रनको योगफल बनायो । मलेसियाका लागि अहमद फैजले सर्वाधिक ७६ रनको योगदान दिए । उनले ९५ बल खेल्ने क्रममा आठ चौका र एक छक्का प्रहार गरे । त्यस्तै वीरनदीप सिंहले ४६, मोहम्मद आमिरले १७, खिजार ह्यायातले २२, सैजरुल इद्रुसले २१ , विजय उन्नीले १२ तथा सायद अजिजले १३ रन बनाए । बलिङतर्फ नेपालका लागि सोमपाल कामी र सन्दीप लामिछानेले समान तीन÷तीन विकेट लिए । यसैगरी ललितनारायण राजवंशीले दुई तथा गुल्सन झाले एक विकेट लिए । नेपाल अहिले जवाफी ब्याटिङमा उत्रेको छ । रासस

खाना पकाउने इन्धनको जोहोका लागि महोत्तरीमा ‘गुइँठा’ बनाइँदै

महोत्तरी । खाना पकाउन थरिथरिका आधुनिक प्रविधि भित्रिए पनि महोत्तरीका ग्रामीण बस्तीमा अझै इन्धनका लागि ‘गुइँठा’ र ‘चिपरी’ कै भर छ । वस्तुभाउको गोबर सङ्कलन गरेर ‘गुइँठा’ ‘गोरहा’ र ‘चिपरी’ बनाउन अहिले ग्रामीण बस्तीका महिला लागि परेका देखिन्छन् । ग्रामीण क्षेत्रमा ‘गुइँठा’ र ‘चिपरी’ का लागि गोबर सङ्कलन गर्न, सुकाउन र चाङ् लगाएर राख्न व्यस्तता बढेको छ । गोबर मुछेर भित्रपट्टि छेस्काछेस्की राखेर बनाइनेलाई ‘गुइँठा’ गोरहा र चाक्लो थाल आकारको लाई ‘चिपरी’ भनिन्छ । मधेशमा खाना पकाउने इन्धनको मुख्य स्रोत मानिने यो काममा महिला व्यस्त देखिन्छन् । पहिले पहिले किसान परिवारमा पशु पाल्ने आम चलन हुँदा आफ्नै बस्तुको गोबरले पुग्ने गरेको भए पनि पछिपछि बस्तुभाउ घट्दै गएपछि चरनक्षेत्र, पानीघाट र बाटोघाटोमा बस्तुभाउले गोब्य्राउने गोबर टिप्न महिला व्यस्त देखिन्छन् । जिल्लाका सबैजसो ग्रामीण बस्तीमा अहिले आम महिला ढकी बाँसको चोयाले बुनिएको खास भाँडो, ‘छिटी’ पनि भनिन्छ बोकेर गोबर सङ्कलन गर्न र घरघरै ‘गुइँठा’ बनाउन व्यस्त देखिन्छन् । जिल्लाका १५ स्थानीय तहमध्ये १० नगरपालिकामा पनि धेरैजसो ग्रामीण बस्ती नै रहेका हुँदा सबैजसो भेगमा वर्षायाम अघिको गर्मी याममा अहिले यो काममा गृहिणी लागेका हुन् । ‘के गर्नु पकाएर खानु परिहाल्छ’, यही काममा व्यस्त देखिनु भएकी औरही–१ औरहीबजार बस्तीकी शीलावती देवीले भनिन्, ‘बर्खा लाग्नु पहिले नै गुइँठा, चिपरी थन्क्याइएन भने दुःख पाइन्छ ।’ खासमा बर्खायामका लागि आवश्यक इन्धनको जोहो अहिले नै गर्नुपर्ने हुँदा यो काम अहिले मुख्य बनेको गृहिणी बताउँछन् । अरुबेला खेतबारीका झिक्राझिक्री पनि बाल्न प्रयोग गर्न सकिने भए पनि बर्खामा सबै भिज्ने हुँदा थन्क्याएर राखेको ‘गुइँठा’ र ‘चिपरी’कै भर हुने गृहिणीको भनाइ छ । ‘के गर्नु र ?  खाना पकाएर ख्वाउने जिम्मा घरका महिलाकै हुन्छ, आफैंँले पछि पाउने दुःख सम्झेर पनि अहिले गोबर खोज्नदेखि गुइँठा र चिपरी बनाउन, चाङ लगाएर सुकाउन र राम्ररी थन्क्याउन परेको हो’, भङ्गाहा–४ रामनगर बस्तीकी रामसखी साहले भने । अहिले चर्को घाममा ‘चिपरी’ र ‘गुइँठा’ चाँडै सुक्ने भएको हुँदा गृहिणीले यसलाई मुख्य काम बनाएका छन् । वर्षभरिकै इन्धन जम्मा गर्न ‘चिपरी’ र ‘गुइँठा’ बनाउनुलाई ‘पाथ्ने’ वा ‘पथार्ने’ भनिन्छ । घरमा पशु हुनेले आफ्नै गोठको गोबर जम्मा गरेर कुरी थुप्रो लगाउने र नहुनेले सडक र चरनक्षेत्रसम्म पुगेर गोबर सङ्कलन गरेर घर वरपर ल्याएर थुपार्ने महोत्तरीमात्र नभएर मध्यपूर्वी तराईकै आम कुरो मानिन्छ । यसरी दुई/तीन दिन लगाएर थुपारिएको गोबर अर्को दुई/तीन दिन लगाएर ‘गुइँठा’ र ‘चिपरी’ पाथ्ने गरिन्छ । यसरी बनाइएका ‘गुइँठा’ र ‘चिपरी’ घाम राम्रो लाग्ने ठाउँमा चाङ् लगाएर राखिन्छ । यस्तो चाङ् एक महिनाजति घामले सुकेपछि ‘चिपरी’ र ‘गुइँठा’ पानी नचुहिने, नभिज्ने ठाउँमा थाक बनाएर राखेपछि आवश्यकता अनुसार खाना पकाउन प्रयोग गरिन्छ । मध्यपूर्वी तराईक्षेत्रमा घरपालुवा पशुबस्तु  गाई, गोरु, भैँसी र राँगाको गोबर इन्धनमा खर्च हुने भएपछि जग्गा जमिनमा उत्पादन भने कम हुने र रासायनिक मलको प्रयोग बढेको पाका किसान बताउँछन् । ‘खेतबारीमा हाल्नुपर्ने कम्पोष्ट मल बनाइने गोबर दाउरामा प्रयोग गरिन्छ’, महोत्तरीकै भङ्गाहा नगरपालिका–६ हतिसर्वाका किसान रामलक्षण यादव भन्छन्,’खेतबारी मलिलो बनाउने कम्पोष्ट मल नभएपछि उत्पादन निकै घटेको छ ।’ अब इन्धनमा गोबरको विकल्प नखोजिने हो भने जग्गाको उर्वराशक्ति ह्रास भएर यहाँका जग्गा ढड्यान उब्जा नहुने रुखो जग्गा बन्ने किसान बताउँछन् । सरकारले सर्वसाधारण किसानलाई ग्यास चुलो जडान गर्न उत्प्रेरित गर्न र गरिब जनतासम्म वन सम्पदा दाउरामा पहुँच बढाउन पहलकदमी लिनुपर्ने यादवको भनाइ छ । रासस