करेन्ट लागेर बाबु र छोराको मृत्यु
बाँके । नेपालगञ्जमा करेन्ट लागेर आज बाबु र छोराको मृत्यु भएको छ । नेपालगञ्ज उपमहानगरपालिका–१७ निवासी करिब ४० वर्षीय परसुराम कलवार र २५ वर्षीय बब्लु कलवारको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बाँकेका प्रहरी नायब उपरीक्षक रामप्रसाद घर्तीले जानकारी दिनुभयो । अटो रिक्सा चार्ज गर्ने क्रममा छोरा बब्लुलाई करेन्ट लागेको र उनलाई बचाउन खोज्दा बाबु पर्शुरामलाई पनि करेन्ट लागेर गम्भीर घाइते भएपछि उनीहरुको नेपालगञ्जस्थित नर्सिङ होममा उपचारको क्रममा मृत्यु भएको थियो । शव परीक्षणका लागि भेरी अस्पताल लगिएको छ ।
कृषिमा यान्त्रीकरणले गोरु र राँगा पाल्नुपर्ने बाध्यता हट्दै
सुदूरपश्चिम । ट्र्याक्टर, थ्रेसर मेसिनसहितका कृषियन्त्रको प्रयोगले किसान गुलाब रानालाई खेती गर्न पहिलेको भन्दा निकै सहज भएको छ । विगतमा हलगोरु पालेर खेतीको काम गर्दै आउनुभएका उहाँले पछिल्ला वर्षमा ट्र्याक्टर, थ्रेसर, रोटाभेटरजस्ता कृषियन्त्रको प्रयोग गरेर खेती गरिरहनुभएको छ । कृषियन्त्रको प्रयोगपछि खेती गर्न पहिलेभन्दा सहज भएको र आम्दानी पनि भइरहेको अनुभव उनले सुनाए । ‘गोरुले खेत खनजोत गर्दा लागत खर्च र परिश्रम बढी लाग्थ्यो,’ उनले भने, ‘कृषियन्त्रले खेती गर्न निकै सहज भएको मात्र नभई छरछिमेकमा बेला बखत काम पाउँदा आम्दानी पनि भइरहेको छ ।’ धनगढी उपमहानगरपालिका–१३ निवासी कृषक राना गाउँका अन्य किसानसँग खेती गर्दा प्रयोगमा आएका आधुनिक कृषियन्त्रको फाइदाका बारेमा छलफल गर्दै थिए। ललितसिंह राना गोरु जोतेर खेती गर्दा आफूले बाल्यकालमा गर्नुपरेको कठिन परिश्रमका दिन स्मरण गराउँदै थिए। उनले भने, ‘उतिबेला राँगा वा गोरु जोतेर कडा मेहनत गरेर खेती गर्नुपर्दा दुःख झेलेका थियौँ, अहिले सबै चिजको सुविधा पुग्दा किसान भाग्यमानी छन् ।’ समय परिवर्तनसँगै पहिलेको भन्दा कृषिकर्म गर्न सहज भइरहे पनि मौसममा देखिने परिवर्तनले निम्त्याउने समस्याबाट भने विभिन्न बाली प्रभावित हुने गरेको उनीहरुको भनाइ छ । लालितसिंहले भने, ‘हालको जस्तो मौसमी समस्या भने उहिले थिएन, उतिबेलाको समयमा हिउँदे याममा अहिलेको जस्तो शीतलहर र गर्मीयाममा डुबान र खडेरी देखिने समस्या थिएन ।’ उनले घरमा रहेको राँगा र गोरु बेचेर खेत खनजोतमा प्रयोग हुने पावर टिलरसहितको कृषियन्त्र जोडेका छन् । कृषिमा यान्त्रीकरणको बढ्दो प्रयोगसँगै तराई क्षेत्रका किसानले खेती गर्दा गोरु र राँगा पाल्नुपर्ने बाध्यता विस्तारै हट्न थालेको छ । पहिले कृषियन्त्रको सहज उपलब्धता नहुँदा किसानले खेतीको काम गर्न घरमा गोरु र राँगा पाल्नुपर्ने बाध्यता थियो । आर्थिक अवस्था कमजोर भएका कतिपय साना किसानले भने अहिले पनि गोरु र राँगा पाल्ने गरेका छन् । कृषियन्त्रको प्रयोगले खेती गर्दा लाग्ने लागत खर्च घटेको, समयको बचत हुने गरेको र कृषितर्फ युवाको आकर्षण पनि बढाउन मद्दत पु¥याएको कृषि प्राविधिकले बताएका छन् । कृषि ज्ञान केन्द्र कैलालीका प्रमुख खगेन्द्रपसाद शर्मा कृषिमा यान्त्रीकरण दर बर्सेनि बढ्दै गएको बताउँछन् । पहाडका जिल्लाको तुलनामा तराईका जिल्लामा कृषियन्त्रको प्रयोग दर बढेको जनाइएको छ । उनले भने, ‘जिल्लामा वर्षभरिमा विभिन्न कृषिसम्बन्धी कार्यक्रमका नामबाट वार्षिक झण्डै एकहजार थान सानाठूला कृषियन्त्र अनुदानमा कृषक र कृषक समूहलाई उपलब्ध भइरहेको अनुमान छ ।’ कृषि कार्यक्रमअन्तर्गत सञ्चालित ‘कष्टम हाइरिङ सेन्टर’ मार्फत कृषकलाई सहुलियत भाडादरमा कृषियन्त्र उपलब्ध गराएर कृषिसम्बन्धी काम हुने गरेको पनि छ । सरकारका विभिन्न कृषि कार्यक्रमअन्तर्गत कृषकलाई सामान्यतया ५० प्रतिशत अनुदानमा कृषियन्त्र उपकरण उपलब्ध गराउने गरिएको छ । कृषियन्त्रको प्रयोग बढ्दा काम गर्न सहज भए पनि चाहिएको बेला रासायनिक मल नपाउने समस्याले भने हैरानी खेप्नुपरेको किसानको भनाइ छ । खेत खनजोत गर्नेदेखि लिएर बाली काट्ने भित्र्याउने काममा प्रयोग हुने ट्र्याक्टर, रोटाभेटर, मिनी टिलर, पावर टिलर, धान काट्ने रिपर, गहुँ दाउने थ्रेसर, काटेको बाली सुकाउने ड्रायरलगायतका कृषियन्त्रको प्रयोग पछिल्ला वर्षमा बढेको छ । ‘हलो जोत्ने हली, ट्र्याक्टर चलाउने ड्राइभर’ भन्ने भनाइ समाजमा छ । समाजमा हलो जोत्ने भन्दा चालकको बढी मानसम्मान गरिने हुँदा कृषियन्त्र चालाउनमा युवाको आकर्षण पनि बढेको जनाइएको छ । नेपालमा अधिकांश नागरिकले अपनाएको कृषि पेसाअन्तर्गत कृषिउपजको उत्पादन गरेर हुने आम्दानीबाट जीविका चलाउने गरेका छन् । कृषकले आफूलाई वर्षभरि आवश्यक पर्ने कृषिउपज घरमै भण्डारण गरी बढी भएको कृषिउपज व्यापारीलाई बिक्री गरेर घर खर्चको आवश्यकता पूरा गर्दै आएका छन् । सुदूरपश्चिम प्रदेश सरकारले कृषि र पशुपन्छी क्षेत्रको व्यवसायीकरण, आधुनिकीकरण र बजारीकरणलाई मुख्य प्राथमिकता दिँदै आएको छ ।
नवौँ राष्ट्रिय खेलकुदमा पूर्वाधारको समस्या
कास्की । विसं २०७६ वैशाखमा लुम्बिनी प्रदेशमा भएको आठौँ राष्ट्रिय खेलकुदको समापन समारोहमा गण्डकी प्रदेशले नवौँ आयोजनाको जिम्मेवारी पायो । गण्डकीको टोलीलाई दुई वर्षपछि नवौँ आयोजनाको जिम्मेवारीसहित झण्डा हस्तान्तरण गरियो । गण्डकीमा विसं २०७७ को फागुन अन्तिम सातालाई तय भएको राष्ट्रिय खेलकुद यसबीचमा कोरोनाका कारण पटक पटक प्रभावित बन्यो । पछिल्लो पटक आगामी असोज २८ देखी कात्तिक ३ गतेसम्म प्रतियोगिताको मिति तय गरेर तयारीका काम अघि बढाइएको छ । तरपनि खेल पूर्वाधारकै चिन्ता कायमै छ । गण्डकीमा प्रतियोगिता तय भएको तीन वर्षभन्दा बढी समय भयो । तर, अहिलेपनि कतिपय खेलका पूर्वाधारनै छैनन् । गण्डकी प्रदेश अन्य प्रदेशका तुलनामा खेलकुद पूर्वाधारमा अब्बल रहेपनि नवौँलाई लक्ष्य गरी निर्माण गरिने तय भएका खेल पूर्वाधार निर्माण नहुँदा ती खेल कहाँ खेलाउने यकिन भएको छैन । खेल पूर्वाधारमा वर्षेनी बजेट विनियोजन गरिएपनि स्वीमिङ (पौडी पोखरी), सुटिङ, हक्की र रग्वी खेलका पूर्वाधार बन्न सकेनन् । प्रतियोगिताको मिति नजिकिदै जाँदा पूर्वाधार तयार नभएका खेल कहाँ खेलाउने भन्ने चिन्ता खेल पदाधिकारी र खेलाडीमा कायम छ । पोखरा रङ्गशालाभित्र पौडी पोखरी र सुटिङको पूर्वाधार बनाउन जमिन व्यवस्था गरिएको थियो । राष्ट्रिय खेलकुद परिषद्ले बजेट व्यवस्था गरेको हो । तर यी खेलका पूर्वाधार बनाउन पर्याप्त समय भएपनि कामनै सुरु हुन सकेन । नवौँ राष्ट्रिय खेलकुद प्रतियोगिताको तयारीलाई आयोजक राष्ट्रिय खेलकुद परिषद्ले विभिन्न उपसमिति गठन गरी तयारीका काम अघि बढाएको छ । खेलस्थल व्यवस्थापन उपसमितिले अहिले प्रदेशका अधिकांश जिल्लामा पुगेर खेल पूर्वाधार अवलोकन गरेको छ । यहाँ अधिकांश खेलका पूर्धाधार तयारी अवस्थामै छन् । राष्ट्रिय खेलकुद परिषद्का सदस्य एवं खेलस्थल व्यवस्थापन उपसमितिका संयोजक राजेश गुरुङले पूर्वाधार तयार नभएका खेल कहाँ खेलाउने भन्ने चिन्तामा आफूहरु रहेको बताए । सो समिति पौडीका लागि पोखरामा रहेका निजी विद्यालय र होटलका पौडी पोखरीलाई प्रतियोगिताका लागि प्रयोगमा ल्याउने योजनामा छ । आठौँ राष्ट्रिय खेलकुदमा पनि होटलको पौडी पोखरीमा प्रतियोगिता सञ्चालन गरिएको थियो । पोखरामा पूर्वाधार नभएका खेल काठमाडौँमा खेलाउने योजना रहेपनि यहाँका खेल पदाधिकारी तथा खेलाडी सबै खेल गण्डकीमै हुनुपर्ने पक्षमा छन् । ‘राष्ट्रिय खेलकुदका लागि मुख्य गरी पौडी र सुटिङको पूर्वाधार हामीसँग छैन । पूर्वाधार नभएका खेल कहाँ खेलाउने भन्ने चिन्ता रहेपनि यसलाई हामी व्यवस्थापन गछौं,’ खेलस्थल व्यवस्थापन उपसमिति संयोजक गुरुङले भने,‘राखेपका सदस्य सचिव र पौडी सङ्घको अध्यक्ष सहितको प्राविधिक टोली पोखरा आउँदै हुनुहुन्छ, उहाँहरुसँग छलफल गरेर हामी विकल्प तयार गर्छौं । पोखरा रङ्गशालामा नभएका खेलका पूर्वाधार निर्माण गर्न पर्याप्त समय छ । तर आवश्यक बजेटको सुनिश्तिता नहुँदा काम सुरु नभएको पश्चिमाञ्चल क्षेत्रीय खेलकुद विकास समितिले जनाएको छ । पोखरा रङ्गशालाभित्र पौडी र सुटिङका लागि यसअघिका दुई आर्थिक वर्षमा लगातार बजेट विनियोजन गरिएपनि सो पर्याप्त नभएको र थप बजेटका लागि स्रोत सुनिश्चित नहुँदा टेण्डर आह्वान लगायतका काम नभएको समितिका कार्यालय प्रमुख लक्ष्मण योगीले बताए । ‘पौडी पोखरीलाई ३५ करोड हाराहारीमा लागत स्टीमेट तयार गरिएकोमा सरकारले अघिल्लो वर्ष पाँच करोड छुट्टाएको थियो । योगीले भने, ‘विनियोजित बजेट अपर्याप्त रह्यो र थप स्रोतको सुनिश्तिता नहुँदा टेण्डर आह्वानलगायतका काम अघि बढाउन सकिएन ।’ पोखरा रङ्गशालाभित्र सबै खेलको पूर्वाधार अटाउन सक्ने अवस्था नभएकाले रङ्गशाला बाहिर व्यवस्थापन गरेर सुटिङ बाहेकका नवौँका सबै खेल पोखरा र गण्डकी प्रदेशमै गर्ने योजना रहेको समितिले जनाएको छ । सुटिङलाई भने गण्डकीमा सम्भव नदेखिएको र काठमाडौँमै गर्नुपर्ने बाध्ता रहेको बताइन्छ । रग्वी र हक्कीलाई प्रशिक्षणस्थल तय भएकाले समस्या नहुने समितिले जनाएको छ । नवौँलाई गठन गरिएको खेलस्थल व्यवस्थापन उपसमितिले यही भदौ १५ गतेभित्रमा प्रतियोगिताको खेलस्थल तय गर्ने योजनामा छ । खेल पूर्वाधार रहेका जिल्लामा आवास, अस्पताल, यातायात र सुरक्षालाई ध्यानमा राख्दै कुन जिल्लामा कुन खेल सञ्चालन गर्ने भन्ने निर्णय गरिने गुरुङले बताए। उनले भने, ‘प्रदेशका अधिकांश जिल्लाहरुमा रहेका खेल पूर्वाधारहरुको निरीक्षण गरेका छौँ । खेल सञ्चालन गर्न आवश्यक सबै पक्षलाई हेरेर खेलस्थलको टुङ्गो लगाउने तयारीमा छौँ ।’ नवौँ राष्ट्रिय खेलकुदका ३६ र दुई प्रदर्शनी खेलमध्येमा अधिकांश प्रदेशको राजधानी र पूर्वाधार भएका हिसाबले पोखरामानै हुनेछन् । राष्ट्रिय खेलकुदको अपनत्व सबैलाई दिलाउन प्रदेशका ११ वटै जिल्लामा कम्तिमा एक÷एक खेल खेलाउने योजना आयोजकको छ । राष्ट्रिय खेलकुदमा सात प्रदेश, तीन विभागीय र एनआरएनको एक गरी ११ टोलीले सहभागिता जनाउने निश्चित भएको प्रदेश खेलकुद परिषद् गण्डकीले जनाएको छ । प्रतियोगितामा चार सय सात स्वर्ण पदकका लागि खेलाडबीच प्रतिस्पर्धा हुनेछ । कुनै टोलीले ३६ वटै खेलमा भाग लिएको अवस्थामा एक टोलीमा सात सय आठ जनासम्म खेलाडी सहभागी हुने भएकाले प्रतियोगितामा कूल सात हजार सात सय ८८ खेलाडीमात्र सहभागी हुने सदस्य सचिव तेजबहादुर गुरुङले जानकारी दिए। खेलाडी बाहेक प्रशिक्षक, टोलीका व्यवस्थापक, रेफ्री गरी नौ हजार हाराहारीमा खेलकुदकर्मीको सहभागिता प्रतियोगितामा हुने बताइन्छ ।