पहिलो हाफमै स्पेनको बलियो कमब्याक, ३ गोलको सानदार अग्रता

काठमाडौं । फिफा विश्वकप अन्तर्गत समूह ‘एच’को रोमाञ्चक भिडन्तमा स्पेनले खेलको पहिलो हाफमै बलियो पकड बनाएको छ ।  स्पेनले पहिलो ४५ मिनेटभित्रै विपक्षी टोलीविरुद्ध ३-० को सानदार अग्रता लिएको हो । खेलको सुरुवाती मिनेटदेखि स्पेनले लगातार विपक्षीको रक्षापंक्तिमाथि दबाब बढाएको थियो । मिडफिल्डको चुस्त पासिङ र फरवार्ड लाइनको उत्कृष्ट तालमेलका कारण स्पेनले पहिलो हाफमै तीन पटक बललाई जाली चुमाउन सफल भयो । खेलको १०औं मिनेटमै बार्सिलोनाका युवा स्टार लामिने यमालले गोल गर्दै स्पेनलाई सुरुवाती अग्रता दिलाएका थिए । फरवार्ड मिकेल ओयार्जाबालले मात्र ३ मिनेटको अन्तरालमा लगातार दुई गोल गरे । उनले २१औं मिनेटमा टोलीका लागि दोस्रो र २४औं मिनेटमा व्यक्तिगत दोस्रो गोल गर्दै स्पेनलाई ३-० को स्थितिमा पुर्‍याए । विश्वकपको समूह चरणमा नकआउट यात्रा बलियो बनाउन यो खेल दुवै टोलीका लागि महत्त्वपूर्ण मानिएको छ ।  दोस्रो हाफमा विपक्षी टोलीले पुनरागमनका लागि रणनीति बदल्ने प्रयास गर्नेछ भने स्पेन आफ्नो यो बलियो अग्रतालाई जितमा बदल्दै स्पष्ट ३ अंक जोड्ने दाउमा हुनेछ । पहिलो खेलमा स्पेन केप भर्डसँग गोलरहित बराबरीमा रोकिएको थियो ।

ट्युनिसियामाथि जापानको ४–० को सानदार जित, नकआउट यात्रा थप बलियो

काठमाडौं । फिफा विश्वकप २०२६ अन्तर्गत समूह ‘एफ’ को दोस्रो चरणको खेलमा एसियाली पावरहाउस जापानले ट्युनिसियामाथि ४–० को शानदार जित दर्ता गरेको छ । मोन्टेरेस्थित एस्टाडियो बीबीभीएमा भएको विश्वकप इतिहासकै ऐतिहासिक १,००० औं खेलमा जापानले सुरुदेखि नै आक्रामक रणनीति अपनाउँदै ट्युनिसियालाई पूर्ण दबाबमा राख्यो । पहिलो खेलमा नेदरल्यान्ड्ससँग २–२ को रोमाञ्चक बराबरी खेलेको जापानले यस एकपक्षीय जितसँगै स्पष्ट ३ अंक जोडेर नकआउट चरणको यात्रा बलियो बनाएको छ ।  पहिलो खेलमा स्वेडेनसँग ५–१ को भारी अन्तरले पराजित भएको ट्युनिसियाका लागि यो लगातार दोस्रो हार हो, जसले उसको अघिल्लो चरण प्रवेशको सम्भावनालाई निकै कमजोर बनाएको छ । खेलको चौथो मिनेटमै मिडफिल्डर दाइची कामाडाले उत्कृष्ट गोल गर्दै जापानलाई सुरुवाती अग्रता दिलाएका थिए । त्यसपछि लगातार आक्रमण बुनेको जापानका लागि ३१औं मिनेटमा फरवार्ड अयासे उएडाले दोस्रो गोल थपे । दोस्रो हाफमा पनि ट्युनिसियाको डिफेन्स लाइनलाई व्यस्त राखेको जापानका लागि ६९औं मिनेटमा जुन्या इतोले काउन्टर अट्याकमा प्रहार गर्दै टोलीलाई ३९० को स्थितिमा पु‍र्याए । खेलको ८३औं मिनेटमा उएडाले व्यक्तिगत दोस्रो तथा टोलीका लागि चौथो गोल गरेपछि जापानले मैदानमा ४–० को शानदार जित सुनिश्चित ग‍र्यो ।

क्युरासाओ र इक्वेडर बराबरीमा रोकिए

काठमाडौं । फिफा विश्वकप २०२६ अन्तर्गत समूह ‘ई’ को निकै प्रतिस्पर्धात्मक खेलमा इक्वेडर र क्युरासाओले गोलरहित बराबरी खेल्दै अंक बाँडेका छन् ।  कान्सास सिटी स्टेडियममा भएको उक्त खेलमा क्युरासाओका गोलकिपर एलोय रुम नायक बन्दा बलियो टोली इक्वेडर स्तब्ध बनेको हो । पहिलो खेलमा आइभोरी कोस्टसँग १–० ले पराजित भएको इक्वेडर र जर्मनीसँग ७–१ को भारी अन्तरले पराजित भएको क्युरासाओ दुवैका लागि नकआउट चरणको यात्रा जीवित राख्न यो खेल जित्नैपर्ने दबाब थियो । इक्वेडरले खेलको सुरुवातदेखि नै बलमाथि नियन्त्रण जमाउँदै लगातार आक्रमण बुनेको थियो । कप्तान एनेर भ्यालेन्सिया, गोन्जालो प्लाटा र जोन येबोआको प्रहारलाई क्युरासाओको रक्षापंक्ति र गोलकिपरले असफल तुल्याइदिए । क्युरासाओका गोलकिपर एलाय रुमले खेलभरि कुल १२ वटा उत्कृष्ट बचाउ गर्दै इक्वेडरलाई गोल गर्नबाट पूर्ण रूपमा बञ्चित गरे।   इक्वेडरको अभागी प्रहारस् दोस्रो हाफको अन्तिम समयतिर मोइसेस काइसेडोलाई लक्षित गरी गरिएको एउटा क्रस गोलपोस्टको बारमा लागेर बाहिरिँदा इक्वेडर अग्रता लिनबाट चुकेको थियो । क्युरासाओको काउन्टर अट्याकस् रक्षात्मक रणनीति अपनाएको क्युरासाओले पनि केही राम्रा अवसर सिर्जना गरेको थियो । जुनिन्हो बाकुना र जुर्गेन लोकाडियाको प्रहारलाई इक्वेडरका गोलकिपर हर्नान गालिन्डेजले उत्कृष्ट बचाउ गरेका थिए । खेलभरि रेफ्रीले क्युरासाओका ५ जना खेलाडी (लेआन्द्रो बाकुना, जुनिन्हो बाकुना, लिभानो कोमेनेन्सिया, जुरिएन गारी र गेर्भाने कास्तानेर) लाई पहेँलो कार्ड देखाएका थिए भने इक्वेडरका जोर्डील्सिभारले पनि पहेँलो कार्ड पाएका थिए । यो बराबरीसँगै दुवै टोलीले विश्वकप २०२६ मा आफ्नो पहिलो अंक जोडेका छन् । यद्यपि, अर्को चरणमा प्रवेश गर्ने सम्भावनालाई बलियो बनाउन अब दुवै टोलीले समूह चरणको अन्तिम खेलमा गर या मरको अवस्थामा मैदान उत्रनुपर्नेछ ।