अलैँची र सुन्तला उत्पादन बढाउन सुपर जोन कार्यक्रम
सङ्खुवासभा । कृषिमा आधुनिक प्रविधि भित्राएर आत्मनिर्भरता बनाउने उद्देश्यले छ वर्षयता कृषि परियोजना सञ्चालनमा ल्याइएको छ । सङ्खुवासभा र भोजपुर दुई जिल्ला समेटेर अलैँची र सुन्तलालाई सुपर जोन क्षेत्र बनाइ कार्यान्वयन गरिएको हो । उक्त परियोजनाअन्तर्गत सङ्खुवासभाका १० र भोजपुरका छ स्थानीय तहमा कार्यक्रम लागु गरिएको प्रधानमन्त्री कृषि आधुनिकीकारण परियोजना कार्यान्वयन एकाइ सङ्खुवासभाका प्रमुख नवराज गुरुङले जानकारी दिए । अलैँची सुपर जोनतर्फ २३ सय १३ हेक्टरमा र सुन्तला सुपर जोनतर्फ छ सय ८७ हेक्टरमा कार्यक्रम लागू गरिएको उनले बताए। सुपर जोन क्षेत्रमा अलैँची र सुन्तला उत्पादन बढाउन यो वर्ष सिँचाइ पूर्वाधार र सुधारिएको आधुनिक अलैँची भट्टी निर्माण कार्यक्रम राखिएको परियोजना एकाइ प्रमुख गुरुङले उल्लेख गरे । परियोजनाका लागि चालु आर्थिक वर्षमा पूँजीगततर्फ २० लाख र चालुतर्फ चार करोड ४७ हजार बजेट विनियोजन गरिएको उनले जानकारी दिए । परियोजना कार्यान्वयन एकाइ सङ्खुवासभाले चालु आवमा सिँचाइ पूर्वाधार, सुधारिएको आधुनिक भट्टी निर्माण र जडान कार्यक्रमलाई मुख्य प्राथमिकतामा राखेको एकाइ प्रमुख गुरुङले बताए । सिँचाइ पूर्वाधार निर्माण गर्न ७० लाख, सुधारिएको आधुनिक भट्टी निर्माण र जडानमा ४६ लाख, अलैँची बाली प्राथमिक प्रशोधन उद्योग स्थापना गर्न २५ लाख, सुन्तलाको भण्डारण गर्न मिनी चिस्यान केन्द्र स्थापना कार्यक्रमका लागि रु २१ लाख र सुन्तला बालीको क्षेत्र विस्तारमा रु २१ लाख विनियोजन गरिएको उनले जानकारी दिए। चालु आवमा अन्य २४ कार्यक्रमसमेत पारित भएका छन् । अलैँची सुपर जोन कार्यक्रम सङ्खुवासभाका १० स्थानीय तहअन्तर्गत ३२ वडा र भोजपुरका छ स्थानीय तहअन्तर्गत ३० वडामा सञ्चालन गरिएको मा छ । प्रधानमन्त्री कृषि आधुनिकीकारण परियोजना, परियोजना कार्यान्वयन एकाइले अलैँची, सुन्तला, धान, मकै, गँहु, आलु, सागसब्जी र माछालगायत कृषि क्षेत्रमा किसानलाई सहयोग पुर्याउँदै आएको छ ।
साफ यू-२० च्याम्पियनसिप फुटबलको प्रत्यक्ष प्रसारण एक्सन स्पोर्टस् एचडीमा हुने
काठमाडौं । भदौ २ गते देखि सुरु हुने साफ यू–२० च्याम्पियनसिप फुटबल प्रतियोगिताको प्रत्यक्ष प्रसारण डिश मिडिया नेटवर्कको एक्सन स्पोर्टस् एचडीले गर्ने भएको छ । हालै एएफसी च्यालेन्ज लिग छनोटको चर्च ब्वाइज युनाइटेड र पारो एफसीबीच खेलको प्रत्यक्ष प्रसारण गरेको एक्सन स्पोर्टस् एचडी च्यानलले साफ यू–२० च्याम्पियनसिपका खेलहरु पनि प्रत्यक्ष प्रसारण गर्ने भएको हो । आइतबारदेखि घरेलु मैदानमा हुने दक्षिण एसियाली क्षेत्रका २० वर्षमुनिका युवाहरुको फुटबल प्रतियोगिता (साफ यू–२० च्याम्पियनसिप) मा नेपाली टोलीको चाहना उपाधि जित्ने हुनेछ । उमेर समूहको प्रतिस्पर्धा भए पनि नेपाली टोलीमा राष्ट्रिय टिमबाट र घरेलु लिगहरुमा खेलेको अनुभवी खेलाडी रहनु बलियो पक्ष रहेको मुख्य प्रशिक्षक उर्जन श्रेष्ठ बताउँछन् । कप्तान कुशल देउवासँगै गोलकिपर जियारथ शेख, डिफेण्डर सिमान्त थापा, अश्विन घोरासैनी, विक्रम तामाङ, आयुष तिम्सिना, मिडफिल्डर निनसाङ लिम्बु, अविनाश स्याङ्तान, लक्षु थापा, फरवार्ड हरिशराज भट्ट, अनिल बम्जन, समिर तामाङ र निराजन धामीले गत वर्ष साफ यु–१९ च्यामपियन समेत खेलेका थिए । कुशल, निराजन, अश्विन, हरिशले गत वर्ष नेपाल सुपर लिग पनि खेलेका थिए । फरवार्ड समिर तामाङले गत चैतमा विश्वकप छनोट अन्तर्गत बहराइनविरुद्धको खेलमा नेपालको सिनियर टोलीबाट डेब्यु गरेका थिए । समिरको सिनियर टिमको अनुभव काम लाग्ने कुशलले बताए । ‘त्यो हाम्रो लागि एडभान्टेज हुन्छ । एक्सपोजर पाएका खेलाडीहरु छन् र टिम कम्पोज्ड बनेको छ’, कुशलले भने । दक्षिण एसियाका पाकिस्तानबाहेक ६ टोलीले च्याम्पियनसिपमा प्रतिस्पर्धा गर्नेछन् । नेपाल, श्रीलंका र बंगलादेश समूह ए मा छन् भने साविक विजेता भारत, भुटान र माल्दिभ्स समूह बी मा छन् । नेपालले १८ अगष्टमा श्रीलंकासँग खेल्दै प्रतियोगिताको सुरुवात गर्नेछ । नेपालले समूहको दोस्रो खेल २२ अगष्टमा बंगलादेशसँग खेल्नेछ । प्रतियोगिताका खेलहरु संयुक्त रुपमा दशरथ रंगशाला र सातदोबाटोको एन्फा टेक्निकल सेन्टर मैदानमा हुने कम्पनीले बताएको छ । । नेपाली टोली जियारथ शेख, कृशल मोक्तान, विशाल केसी, सिमान्त थापा, अश्विन घोरासैनी, बिक्रम तामाङ, आयुष तिम्सिना, मदन पौडेल, राम थापा, समिन घिमिरे, सरोज दर्लामी, निनसाङ लिम्बु, कुशल देउवा, अविनाश स्याङ्तान, जन प्रकाश बम, लक्षु थापा, निरज कार्की, हरिश राज भट्ट, धर्मेन्द्र कुँवर, अनिल बम्जन, समिर तामाङ, निराजन धामी, रोहन खड्गी ।
साढे ३ सय वर्ष पुरानो मन्दिरको जीर्णोद्धार
वालिङ । साढे तीन सय वर्ष पुरानो इतिहास रहेको यहाँको एक मन्दिरको जीर्णोद्धार गरिएको छ । स्याङ्जाको बिरुवा गाउँपालिका–४ मड्किना गुफास्थित शिवजी मन्दिर तथा श्री १००८ चम्पा गिरी जन्म आश्रमको जीर्णोद्धार गरिएको हो । धार्मिक एवं ऐतिहासिक दृष्टिले महत्वको स्थलका रूपमा रहेको मड्किनास्थित आश्रम तथा मन्दिर २०७२ सालको भूकम्पले क्षति पुर्याएको थियो । धेरै वर्ष पुरानो भएको र ढुंगै ढुंगाले बनाइएकाले विनाश भएपछि त्यसको संरक्षणका लागि पुरातत्व विभागले जीर्णोद्धार गरिदिएको हो । सन्यास, सन्यासीहरूको आश्रमस्थलका रूपमा पहिचान बनाएको यो ठाउँ आयुर्वेदसम्बन्धी औषधोपचार केन्द्रका हिसाबले ख्याति पाएको आश्रमका संरक्षक एवं पशुपतिनाथका महन्त वेदान्तचार्य स्वामी गोकुलानन्दले बताए । लेखपढ गर्ने सिकाइ केन्द्रका साथै धर्म, संस्कार र संस्कृतिको केन्द्रका रूपमा आश्रमको छुट्टै पहिचान रहिआएको थियो । तत्कालीन समयमा तीर्थव्रत गर्न जाने श्रद्धालु भक्तजन यही आश्रमको बाटो हुँदै जाने गरेको उनले बताए । गुठी संस्थानमा दर्ता भई सञ्चालनमा रहेको यो नारायणश्वर शिवजी मन्दिर तथा आश्रम पुरानो र जीर्ण हुँदै गएपछि जीर्णोद्धारको काम अगाडि बढेको हो । ‘धर्म संस्कार संस्कृति तथा ऐतिहासिक दृष्टिले यस ठाउँको छुट्टै पहिचान रहेको छ,’ उनले भने, ‘इतिहासको रक्षा र यस ठाउँको पहिचान नामेट हुन नदिन प्रयासरत छौँ ।’ ऐतिहासिक महत्वको यो ठाउँमा रहेका आश्रम तथा मन्दिर जीर्ण भई लथालिंग हुँदै गएपछि यसको संरक्षणका लागि चासो दिएर पुनःनिर्माण गरिएको आश्रम निर्माण समितिका सचिव कृष्ण गिरीले बताए । जीर्ण अवस्थामा रहेको आश्रम र शिवजी मन्दिरको पुनःनिर्माण तथा जीर्णोद्धार गरिएको छ । सोही ठाउँमा साधुसन्तको आवासगृह, व्यवस्थित गौशाला, हवनकुण्ड, यज्ञकुण्ड, शौचालयलगायत भौतिक संरचनाहरु निर्माण गरिएको उनले बताए । ‘समितिसँग निर्माण कार्य गर्न रकम नभएकाले सहयोगी संघसंस्थाबाट आर्थिक संकलन गरी निर्माण कार्य गर्दै आएका छौँ,’ उनले भने, ‘यस ठाउँको प्रचारप्रसारसँगै आर्थिक संकलनका लागि यसअघि महायज्ञसमेत सञ्चालन गरेका थियौँ ।’ गाउँपालिकाले यस ठाउँको महत्वका बारेमा जानकारी गराउन स्थानीय पाठ्यक्रममा चम्पा गिरी जन्मआश्रम तथा नारायणश्वर शिवजी मन्दिरको विषयवस्तुलाई समावेश गरेको छ ।